33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

भन्सार नीतिले तस्करलाई बढावा दिइरहेको छ, संशोधन जरुरी छ : प्रदिप यादव

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक प्रदिप यादवले भन्सार नीतिमा व्यापक संशोधनको आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद यादवले हुकुमी शैलीमा चलिरहेको भन्सारलाई समय सापेक्ष र आवश्यकताअनुसार नीतिगत रुपमा व्यवस्थित गर्नुपर्ने बताए ।

यादवले अवैध कारोबारलाई प्रोत्साहित गरिरहेको पेनाल्टी प्रावधान हटाउन पनि माग गरे । उनले भने “आयातकर्ताले भन्सार मूल्यको पुस्तिका भन्दा कम मूल्यको बिलबिजक पेश गरेमा भन्सारले ५० प्रतिशत पेनाल्टी तोक्छ । आव २०८०/०८१ को बजेटमा अन्त शुल्कमा समेत पेनाल्टी लिने प्रावधान राखिएको छ । पेनाल्टी जोगाउन आयातकर्ताले भन्सार किताबभन्दा बढीको बिलबिजक पेस गर्छन् र सोहीअनुसार एलसी पनि खुल्छ । जसले गर्दा नेपाली भन्सारमा पेनाल्टी लाग्दैन ।”

“अर्कोतिर बिलबिजकको वास्तविक मूल्यभन्दा बढी पठाएको रकम अवैध हुण्डीको माध्यमबाट नेपाल फर्किन्छ । तसर्थ भन्सार मूल्यांकन किताब तथा अन्तशुल्कमा लगाएको पेनाल्टी गर्दा अवैध कारोबारलाई प्रोत्साहित गरिएको देखिन्छ । यसकारण पेनाल्टी लिने प्रावधान हटाउन जरुरी छ ।” उनले भने ।

सांसद यादवले स्वदेशी उद्योग प्रवर्द्धनमा पनि वर्तमान कानुन बाधक रहेको बताए । ‘स्वदेशी उद्योगको प्रोत्साहन गर्नुछ भने पहिलो त डिप्टीमा फरक राख्नुपर्छ । हाम्रो भन्सारमा कच्चा पदार्थको डिप्टी महंगो छ, तयारी पदार्थमा सस्तो छ । यसको कारण स्वदेशी उद्योग पनि डुबिरहेको छ,’ उनले भने, ‘उदाहरणको रुपमा काँचो दाल (गोरो/मसुरो)मा १० प्रतिशत भन्सार लाग्छ । तर, तयारी दालको रुपमा आउँछ भने ९ प्रतिशत भन्सार लाग्छ । अनि स्वदेशी उद्योग कसरी बढावा भयो ? कच्चा पदार्थ आउँदा १० प्रतिशत कर लाग्ने, तयारी सामान आउँदा ९ प्रतिशत लाग्ने हुँदा स्वदेशी उद्योग त डुब्छ ।’

भारतबाट नेपालमा धान आउँदा भारतलाई २० प्रतिशत कर तिर्नुपर्ने र ५ प्रतिशत नेपाली भन्सारमा कर लाग्ने भन्दै यादवले २५ प्रतिशत तिरेर नेपालमा धान आयात गरेर उद्योगीले चामल उत्पादन गरेर विक्री गर्दा महंगो हुने गरेको बताए । ‘यसकारण अहिले तस्करलाई मजा भएको छ । भारतमा प्रत्येक केजी चामलमा ५ रुपैयाँ सस्तो छ । भारतमा सस्तो भएकाले सिधा बोर्डरबाट खुलेयाम तस्करी गरेर नेपाल ल्याइँदैछ,’ उनले भने ।

सांसद यादवले सानो सानो वस्तुमा तस्करीकै माध्यमबाट भित्रिँदा अपेक्षित राजस्व संकलन हुन नसकेको बताए । ‘जस्तै काजुको कुरा गर्ने हो भने नेपाली भन्सारमा प्रति केजी ६ सय रुपैयाँ भन्सार लाग्छ । त्यही काजु प्रत्येक केजी सय रुपैयाँमा तस्करहरु काठमाडौं पुर्याइरहेको छ । मलाई जहाँसम्म याद छ, माननीय अर्थमन्त्रीज्यू जुन काजु खानुहुन्छ, त्यो तस्करले काठमाडौं पुर्याएको काजु नै खानुहुन्छ । हामी पनि काठमाडौं बसेर खान्छौं । किनकि काजुको भन्सार भइरहेको छैन । अर्थमन्त्रीजीले कर्मचारीबाट तथ्यांक लिए हुन्छ । जुन पनि काजु आइरहेको छ, त्यो सबै तस्करी भएर आइरहेको छ । भुजिया, काजुलगायत सानो सानो सबै तस्करीमा आइरहेको छ,’ उनले भने ।

सांसद यादवले तस्करी नियन्त्रण हुनेगरी भन्सार नीतिमा संशोधन गर्न अर्थमन्त्रीलाई सुझाव दिए । ‘भारतमा ४ देखि २८ प्रतिशतसम्म रहेको जिएसटीलाई आधार मानेर कर निर्धारण गरौं । भारतमा ४ प्रतिशत कर छ, तपाई १३ प्रतिशत लिनुहुन्छ भने निश्चित रुपमा तस्करी हुन्छ । यस्तो नीतिले तस्करलाई बढावा दिइरहेको छ । यसमा अर्थमन्त्रीले गम्भीर रुपमा विचार गरेर संशोधन गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.500 sec. Memory consumption:82.48 mb