वीरगञ्ज । होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले होटल तथा पर्यटन व्यवसायलाई पनि उद्योगसरह मान्यता दिन माग गरेको छ । संघका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको होटल व्यवसायीको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर उक्त माग गरेको हो ।
देशको आर्थिक विकासमा ‘होटल तथा पर्यटन व्यवसाय’ क्षेत्रको महत्वपूर्ण भूमिका भएको भन्दै व्यवसायीहरुले यस क्षेत्रलाई तंग्रिन र विकास गर्नमा सघाउनका लागि पनि उद्योग सरह मान्यता दिनुपर्ने उनीहरुको माग छ । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल व्यवसाय भएको उनीहरुको भनाइ छ ।
‘होटल तथा पर्यटन व्यववसाय’लाई उद्योग सरह मान्यता दिने कुरा हामीले यसअघि पनि उठाउँदै आएको विषय हो । यस्तो मान्यताले उद्योगहरुलाई प्राप्त हुने सहुलियत र सुविधाहरु हामीले पनि पाउने आधार बन्छ । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको स्थापित माध्यम भएको र देशको आर्थिक विकासको राज्यद्वारा नै चिन्हित गरिएको महत्वपूर्ण क्षेत्र रहेको ‘होटल तथा पर्यटन व्यवसाय’लाई तंग्रिन र विकास गर्नमा यसले मद्धत मिल्ने छ’ मन्त्री रिजाललाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।’
होटललाई उद्योग सरह मान्यता दिएको खण्डमा व्यवसायीले राज्यबाट विभिन्न सुविधा प्राप्त गर्ने भएको हुनाले व्यवसायीलाई प्रोत्साहन मिल्ने होटल व्यवसायी हरि पन्त बताउँछन् । होटल व्यसायीलाई उद्योगमा दर्ता गराउने तर नाफामूलक व्यवसायको रूपमा मात्रै हेर्नु ठिक नभएको उनले बताए ।
मन्त्री रिजालले छिट्टै नितिगत र प्रक्रियागत अड्चनहरुलाई सच्याएर होटल तथा पर्यटन क्षेत्रलाइ पनि उद्योग सरह मान्यता दिने बताएका छन् । होटल व्यवसायीहरुले उठाएको विषय जायज भएको बताउँदै मन्त्री रिजालले मागको सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।