कलैया । बारा क्षेत्र नं. २ मा उप-निर्वाचन नजिकिए संगै चुनावी सरगर्मी बढ्दै गएकाे छ । बैशाख १० गते हुने चुनाव अब मात्र ५ दिन वाकी रहँदा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले आफ्नाे चुनावी गतिविधिलाई समेत तिब्र पारेका छन् । यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव समेत उम्मेदवार रहेका कारण झन चुनावी नतिजा चासाेकाे बिषय बनेकाे छ ।
यस क्षेत्रकाे चुनावी प्रतिस्पर्धामा जसपाका अध्यक्ष एवम् पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादव सहित जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा, नेकपा एमालेका उम्मेदवार पुरुषाेत्म पाैडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल, आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली लगायत ३६ जना छन् । तर स्थानिय जानकारका अनुसार मुख्य प्रतिस्पर्धी यही पांच उम्मेदवार हुन् ।
जसपाका अध्यक्ष यादव पांच दलिय सत्ता गठबन्धनका उम्मेदवार हुन् । जुन गठनबन्धनमा जसपासहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टी छन् । अरु दलका उम्मेदवार एकलै एकलै चुनावी प्रतिस्पर्धामा छन् ।
गत संघीय निर्वाचनमा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ३ सय ४५ मत ले पराजित गर्दै जसपाका उम्मेदवार रामसहाय यादव विजयी भएका थिए । जुन अहिले उपराष्ट्रपति बनेपछि उप चुनाव हुन लागेकाे हाे ।
जसपा र एमालेका साझा उम्मेदवार बनेका जसपा नेता रामसहाय यादवले १३ हजार ८ सय २२ मत पाएर जित हासिल गरेका थिए । कांग्रेस–माओवादी गठबन्धनबाट उठेका माओवादीका शिवचन्द्र कुशवाहाले १३ हजार ४ सय ६८ मत पाए । जसपाबाटै बागी उठेका रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत पाएका थिए । जसपाका वागी बनेका रामकिशाेर अहिले उपेन्द्र यादवकाे साथमा छन् ।
मंसिरको चुनावमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार नै थिएनन् । स्वतन्त्र भने धेरैजना उठेका थिए, तीमध्ये अरूण ज्ञवालीले ७ हजार ६ सय ९८ मत ल्याएका थिए । यहाँ जनमत पार्टीले २७ सय २५ र नागरिक उन्मुक्ति पार्टीले ११ सय ११ मत पाएका थिए ।
अर्कोतर्फ यस क्षेत्र अन्तर्गत पर्ने ५ स्थानीय तहमा जसपा र कांग्रेस २/२ वटामा विजयी भएका छन् भने एउटामा नेकपा एमाले विजयी भएकाे छ । ४४ वडा मध्ये १५ वडामा जसपाले एक्लै जितेको छ भने नेपाली कांग्रेसले १३ वटा वडाध्यक्ष जितेको छ । माओवादीले जितेका दुई र एकीकृत समाजवादी तथा लोकतान्त्रिक समाजवादीले जितेका एक/एक वडासमेत जोड्दा सत्ता गठबन्धनका भागमा ३४ वडा पर्दछन् । एमालेले १० वटा वडा जितेको छ ।
करैयामाई गाउँपालिका, देवताल गाउँपालिकामा जसपाका उम्मेदवार विजयी भएका छन् भने महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरि पचरौता नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
नेकपा एमालेबाट महागढीमाई नगरपापिलकाको मेयरमा निर्वाचन लडेका नेता राजाबाबु साह समेत जसपामै सक्रिय छन् । उनी स्थानिय निर्वाचनमा महागढीमाई नगरपालिकाको मेयरमा दोश्रो स्थान प्राप्त गरेका थिए । प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट चुनाव जितेका उनका बुवा शारदाशंकर प्रसाद साह यसअघि नै जसपामा प्रवेश गरि सकेछन् । उम्मेदवार यादवको घरदैलो अभियानमा प्रदेश सभा सदस्य शरदाशंकर साह र राजाबाबु साहको सक्रिय सहभागी रहेको देखिन्छ ।
जनमत पार्टीले माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई चुनावअघि भित्र्याएर उम्मेदवार बनाएको छ । जनमतबाट उम्मेदवार कुशवाहा भए पनि मतदाताको दैलोमा मत माग्न सिके बढी सक्रिय छन् । जसपाको बलियो संगठनको जगमा चुनाव लडेका यादवसँग नेपाली कांग्रेस, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । घरदैलोमा यादवसँग समर्थक दलका स्थानीय नेता र जनप्रतिनिधि सँगसँगै हुन्छन् ।
एमालेले जितेका वडा र पालिकामा पनि कांग्रेस-जसपाको गठबन्धन बन्दा एमालेको मत कम हुने देखिन्छ । कारण, बारा-२ मा जसपा र कांग्रेस नै पहिलो र दोस्रो शक्ति हुन् । यसलाई वडा तहको शक्ति सन्तुलनले पुष्टि गर्छ ।
जस्तो-क्षेत्र नम्बर २ मा पर्ने कोल्हबी नगरपालिकाको वडा नम्बर ८ मा २७ सय मतदाता छन् । यहाँ एमालेले वडाध्यक्ष जितेको छ, तर दोस्रो र तेस्रो रहेका कांग्रेस र जसपाको मत जोड्दा एमाले कमजोर हुन जान्छ । एमालेले पालिका प्रमुख जितेको पचरौता नगरपालिकामा पनि जसपा र कांग्रेसको गठबन्धन हुँदा एमाले स्वतः अल्प मतमा पर्छ ।
यस निर्वाचन क्षेत्रमा पर्ने करैयामाई गाउँपालिका र देवताल गाउँपालिका प्रमुख जसपाले जितेको छ । ३३ हजार मतदाता रहेको महागढीमाई नगरपालिको मेयर कांग्रेसले जितेको छ, जहाँ जसपाको मत दोस्रो स्थानमा छ । जसपाले प्रमुख जितेको देवताल गाउँपालिकाका कुल ७ वडामध्ये कांग्रेस र जसपाले ३–३ वटा जितेका छन् भने लोसपाले एउटा जितेको छ । एमाले, जनमत कसैले पनि यहाँ जितेका छैनन् ।
करैयामाई गाउँपालिकाका कुल ८ वडामध्ये सत्ता गठबन्धनले ६ र एमालेले २ वडा जितेका छन् । जनमतले एउटै जितेको छैन । पचरौता नगरपालिकामा एमाले र जसपाले ४–४ वडा जितेका छन् भने लोसपाले एउटा जितेको छ । यहाँ पनि कांग्रेस–जसपा गठबन्धनको भोट एउटा ठाउँमा हुँदा एमाले स्वतः कमजोर हुन्छ ।
मंसिरमा यस निर्वाचन क्षेत्रभरिबाट करिब २७ सय मत ल्याएको जनमत पार्टीले ४४ मध्ये एउटा पनि वडा जितेको छैन । स्थानीय तहमा उसका उम्मेदवार प्रतिस्पर्धामै आएको देखिँदैन । माओवादीको मत कुशवाहाभन्दा बढी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्ना उम्मेदवार अरूण ज्ञवालीतर्फ ट्रान्सफर गराउन सक्ने सम्भावना बढी छ ।
सिके राउत उम्मेदवारी दर्तादेखि नै बारामै बसेर उपेन्द्र यादवलाई हराउने रणनीति बुनिरहेका छन् । राउतले गढीमाई मन्दिरछेउमा कार्यालय स्थापना गरेका छन् । राउतलाई अहिलेसम्मको गणितले भने पटक्कै साथ दिएको छैन । उनी आफ्ना उम्मेदवारको पक्षमा मत माग्नुभन्दा पनि यादवबारे भ्रम फिँजाउन सक्रिय रहेको कोल्हबीका राकेश यादवले बताए । यस क्षेत्रको गणितले जनमत पार्टीको अवस्था एमालेको भन्दा कमजोर देखाउँछ ।
करिब ३० प्रतिशत यादव जातिको बसोबास रहेको यो क्षेत्र भारतीय सीमासँग जोडिएको छ । विकासका पूर्वाधार खासै नबनेको र कृषिमा निर्भर रहेको यस क्षेत्रमा करिब दुईतिहाई मधेशी समुदायको बसोबास छ ।
जसपाको बलियो संगठनात्मक पकड रहेको यस क्षेत्रमा कांग्रेस र माओवादीले समेत साथ दिँदा उपेन्द्र बलियो देखिन्छन् । तर सिके राउतले सप्तरीबाट आएर उठेको प्रचार भइरहेकाले यादवमाथि पनि जित निकाल्नु चुनौतीपूर्ण भने पक्कै छ ।
कुल २ लाख ३ हजार जनसंख्या रहेको बारा २ मा १ लाख ५ हजार २ सय ४८ जना मतदाता छन् । यादवपछि क्रमशः मुस्लिम, वैश्य, दलित समुदायका मतदाता रहेका छन् । पहाडे समुदायको प्रभाव कमै छ ।
०६४ साल पहिला यादव समुदायले प्रतिनिधित्व गरेको यो क्षेत्रमा २०६४ सालमा माओवादीबाट शिवचन्द्र कुश्वाहाले प्रतिनिधित्व गरेका थिए । त्यसपछि २०७० मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका रामअयोध्या यादवले प्रतिनिधित्व गरे । त्यसपछि २०७४ र २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा रामसहाय प्रसाद यादव निर्वाचित भए ।