Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

वीरगंज जल्दैछ, तपाईं मन्दिर गएर पूजा गर्नु भयो ? कि मस्जिद गएर नमाज ?

spot_img
spot_img

हाम्रो वीरगञ्ज जहाँ लठ्ठी हान्नु भन्दा अघि चिया खाएर कुरा मिलाउने चलन थियो। जहाँ मुस्लिमहरुको होटेलमा हिन्दूहरु गएर खानुपिउनु र हिन्दुहरुको होटेलमा मुस्लिमहरु खानुपिउनु रमाईलो गर्नु गर्वको कुरा थियो। तर आज ? आज तिनै गल्लीहरूमा कर्फ्यु छ, स्कूल बन्द छन्, अनि साना बालबालिकाहरूले धर्मको नाममा ‘दुश्मन’ चिन्न थालेका छन्।

वीरगञ्जको ऐतिहासिक अस्तित्व – अब विगत मात्रै हो ? वीरगञ्ज सधैं सीमाको शहर हो तर विभाजनको कदापी होइन। संस्कृतिको पुलको रूपमा यहाँ व्यापार मात्रै होइन, विभिन्न धार्मिक समुदायबीच सदभाव सहितको बलियो सम्बन्ध पनि हुँदै आएको थियो।तर हिजोको हनुमान जयन्तीको शोभा यात्रामा भएको घटनाले वीरगञ्जको शिर झुकायो जहाँ कयौं वर्षको सद्भाव लथालिंग पारिदियो। न त हिन्दूले जिते, न मुसलमानले। हार त वीरगञ्जको आत्माले खायो।

“ए बाबा ! तिमीहरू दुवै जना मस्जिदतिर हिँड्ने हो कि मन्दिरतिर – मलाई फरक पर्दैन।तर घर त एउटै हो नि! किन धार्मिक हिंसा फैलाउदैछौं ? हिजो भात पकाउने मेरो भाँडा फुट्यो, झ्यालका सिसा फुट्यो।अब हामी के खाउँला? फेरी नयाँ सिसा किन्न पैसा कहाँबाट जुटाउँला?“– वीरगञ्जको सानो गल्लीमा एउटा आमाको आँखाबाट खसेको आँसुले गरेको प्रश्न हो यो।

हिजो वीरगञ्जमा भएको धार्मिक झडपले केवल समाजको सन्तुलन मात्र भत्काएको छैन, हजारौँ वर्षदेखि बनेको आपसी विश्वासलाई पनि चिरिएको छ। अनि सबैभन्दा पीडादायी कुरा के छ भने-हामी अझै दोष लाउँदैछौं, आफैंबाट होइन, अरूबाट सुरू गरिरहेका छौं। कसले सुरु गर्‍यो भन्ने भन्दापनि किन यस्तो भयो भनेर सोध्न सक्ने हिम्मत गरौंम न? हो हामी अदालत होइनौं, तर हामी सचेत नागरिक हौं। हामी फैसला नगर्न सक्छौं, तर प्रश्न गर्न सक्ने अधिकार त पक्कै छ।किन हिजोको शोभा यात्रामा बिना हेलमेटको एउटा बाइकमा ४/५ जना झुण्डिएर सर्कस देखाउने जस्तै हुडदबंगबाजी गरे? किन प्रशासनले पूर्वानुमान गरेर सुरक्षा मिलाएन? किन मुस्लिम समुदायमा हिन्दुहरुको शोभा यात्रा आगमन हुदाँ मुस्लिम युवाले ढुंगा उठाए? किन हामी सबै चुप लागेर भिडियो खिचिरहेका थियौं? यी सबै प्रश्नहरू मिलेर एउटै उत्तर दिन्छन्- हामी सबै दोषी छौं।

तर ती सबै घटनालाई निहालेर हेर्यौ भने त्यहाँ न कुनै धर्म पीडित भए, न त कुनै सम्प्रदाय नै। हार्ने वा पीडित त ती बालबालिकाहरु भए, जो बिहान स्कूल जान पाएन्न। ती आमा भए, जसको घरको सिसा र पानीको भाँडो फुट्यो।ती ६० वर्षीय वृद्ध भए, जो घर फर्किरहँदा हातमा गोलि प्रहार भयो।ती बुबा भए, जसले काममा आज जान पाएका छैनन्, किनकि शहर नै बन्द छ।यति हुदाँ हुदै पनि सबभन्दा दुःखको कुरा के छ भने – दुबै पक्ष अझै पनि आफ्नो-आफ्नो धार्मिक संगठनको पछाडि उभिएर “हामी त सही थियौँ” भनेर जिकिर गरिरहेका छन् तर मेरो आत्मामा एउटै प्रश्नले टोकिरहेको छ: के हाम्रो तपाईको भगवान/अल्लाह खुशी छन्? तपाईं हामीले मिलेर कसैको पसल जलाएर, कुनै आमाको घर तोडेर, वा कुनै बालकको सपना कुचलेर?

वीरगञ्ज सहरको पीडा नै हेर्यौ भने अहिले एउटै घरका दुई कोठाबीचको भित्ता बनेको छ।वीरगञ्ज त केवल शहर मात्रै होइन, यो त हाम्रो माया, हाम्रो इतिहास, हाम्रो बचपन हो। हामी सबैका लागि त्यो कुनै न कुनै रूपमा “घर” पनि हो। तर आज त्यही घरमा आगो बलिरहेको छ – धर्मको नाममा, अहंकारको नाममा।

केही दिनअघि, एउटा स्थानीय शिक्षकले मलाई भने,“पढाउने विषय राजनीति थियो, तर विद्यार्थीहरूले सोधे- सर, धर्म के हो? किन मान्छे मारिन्छ धर्मका लागि?” मैले उत्तर दिन सकिनँ। किनभने हामी अहिले कानुन पढिरहेका छौं, तर व्यवहारमा धर्मको नाममा जंगली कानून लागू हुँदैछ।

बिगतका दिनमा यस्ता घटनालाई केलाएर हेर्यौ भने पहिला भन्दा अहिले यस्ता घटनाहरु हामिले जहाताहा सुनिराको छौ भने कहिलेकाही हामी प्रत्यक्ष दर्शी भै यस्ता घटनाहरु सामना गर्नु परिरहेको छ।कहिले सरस्वती पुजाको बिसर्जनमा मुस्लिम समुदायसंग झडप, त कहिले गणेश पुजाको बिसर्जनमा मुस्लिम समुदायसंग पथरावपछी कर्फयु जारि।यी सबै घटनाहरु राज्य, प्रशासन, नागरिक समाज र धार्मिक अगुवाहरूको चरम लापरवाहीले गर्दा हुने गरेको छ।हाम्रो देशमा खास गरि मधेश प्रदेशमा विभिन्न सम्प्रदायसँग सम्बन्धित “धार्मिक संरक्षण समितिहरू”, “धार्मिक जागरण परिषदहरू”, “संस्कृति बचाउ अभियान” लगायत थुप्रै संघसंस्थाहरू स्थापित हुदै गएको छ।तर यी विभिन्न जागरण-मञ्च,-दलहरु जब धार्मिक सहिष्णुताको सवाल आउँछ, जब समुदायबीच संवाद आवश्यक हुन्छ, जब विभिन्न यात्रा वा पर्वमा विभाजनको खतरा देखिन्छ- त्यही बेला यस्ता संगठनहरू मौन बस्छन्, तटस्थ हुन्छन् वा झन् उन्माद फैलाउने भाषामा बोल्न थाल्छन्।यी संगठनहरू यदि साँच्चिकै धर्मका रक्षक हुन् भने, उनीहरूले सम्पूर्ण समाजको बीचमा सेतु बन्नु पर्छ, दुश्मनी होइन। तर देखिन्छ, कतिपय संगठनहरू धर्मको नाममा आफ्नो राजनीतिक एजेन्डा थोपर्ने, सत्ता वा प्रभावको लोभमा विभाजन निम्त्याउने काममा लागि परेका छन।अहिले खास गरी बिरगंजमा धर्मको नाममा राजनितिकरण गर्दै मुल समस्याको खम्बा नै गाड्न खोजेका हुन।कुनै पनि धर्म र राजनीति जब अत्यधिक मिसिन्छन्, तब त्यसको असर सिधै समाजमा पर्छ र त्यो बेला धार्मिक आस्थालाई मत संकलनको उपकरण बनाइन्छ, विभिन्न समुदायबीच ‘हामी’ र ‘तिमी’ भन्ने भावनालाई गहिरो पार्ने र हिंसालाई ‘प्रतिशोध’ को रूपमा वैधता दिने प्रयास गराईन्छ्।

यदि धार्मिक स्वतन्त्रता र कानुनको दायराभित्रको व्यवहारको कुरो गर्यौ भने नेपालको संविधानले धारा २६ मा प्रत्येक नागरिकलाई आफ्नो धर्म पालना र संरक्षण गर्न पाउने अधिकार दिएको छ। तर सोही धारा भन्छ-अरूको धर्म, आस्था र सार्वजनिक शान्तिमा असर पुग्ने कार्य गर्न पाइँदैन।त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ अनुसार कुनै पनि भीड, नारा, प्रदर्शन, वा उक्साहटले हिंसा निम्त्याउने सम्भावना भएमा, त्यो कार्य दण्डनीय हुन्छ।यसको अर्थ कुनै पनि धर्म समुदायको जुलुस, यात्रामा उग्र नारा, हुडदबंगीय प्रबृति, हिंसात्मक प्रतिक्रिया, अर्को धर्ममा द्वेष फैलाउनु यी सबै कार्य गैरकानुनी हो र यसमा सजायको भागिदार बन्नुपर्छ। किनकी कानुन एउटा यस्तो तराजु हो, जसमा न भावनाको भारी हुन्छ, न जात–धर्मको पक्षपात ।

कुनै पनि धर्मले डर होइन, प्रेम सिकाउनुपर्छ।आज यदि वीरगञ्जमा हिन्दु-मुस्लिम समुदायबीच सदभाव कायम हुन सकेको छेन भने, त्यो धर्मको असफलता होइन- त्यो त हाम्रो असहिष्णुताको परिणाम हो। यदि हामीले यस्ता घटनालाई एक अर्कालाई थुपार्दै गयौम भने, भोली यो आगो काठमाडौं, नेपालगञ्ज, धनगढी हुदै मेची देखी महाकालीसम्म सर्दै जान सक्छ।त्यसैले धर्म कुनै पनि होस्, अन्तिममा त्यो तपाईं र मेरो मानवता जगाउने माध्यम हुनुपर्छ। यदि त्यसैको नाममा हामी मर्दैछौं भने, हामीले धर्म हैन, केवल उन्मादलाई पूजा गरिरहेका छौं।त्यसैले या त तपाई आफूलाई सोध्नुस वा आफ्ना बालबालिकालाई सोध्नुस, आफ्नो हिन्दु समुदायलाई सोध्नुस वा आफनो मुस्लिम समुदायलाई सोध्नुस की वीरगञ्ज जलिरहेको बेला, तपाईं मन्दिर गएर पूजा गर्नु भयो? कि मस्जिद गएर नमाज ?

कन्हैया चौरसिया
(कानुन विद्यार्थी)

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...