वीरगंज । वीरगंज महानगरपालिकाले थप १० हजार बोरा युरिया मल पाउने सहमतिपछि आफूले कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको छ । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह नेतृत्वमा कृषकहरुले आइतबार कृषि सामग्री कम्पनीको ४ ट्रक मल नियन्त्रणमा लिएको थियो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पाैडेल र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार ४ बुँदे सहमति भएपछि मल फिर्ता भएकाे हाे । जसमा वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै साता उपलब्ध गराउने उल्लेख छ ।
यस्तै कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल वीरगंजलाई उपलब्ध गराउने सहमति पनि भएको छ । यो सहमतिपछि वीरगंज महानगरपालिकाले आफूले नियन्त्रणमा लिएको ४ ट्रक युरिया मल कृषि सामग्री कम्पनीको जिम्मा लगाएको छ ।
वीरगंज महानगर र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालय वीरगंजकाे समन्वयमा संचार सम्पर्क एवम् टेलिफाेन बार्ता गर्दा कृषि सामग्री कम्पनीका का.मु. प्रबन्धक संचालक र संघिय सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री समेतकाे सहमती प्राप्त पछि वीरगंज महानगरलाई थप १० हजार बाेराे युरिया मल उपलब्ध गराउने सहमती भएकाे जनाइएकाे छ ।
ओमानबाट भारतहुँदै आएको मल वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा कृषकहरुले आइतबार वीरगंज १६ स्थित भुटनदेवी ईनर्वामा रहेकाे भण्डारणबाट लाेड भई अन्य जिल्लामा जान लागेकाे मलका ट्रकहरु नियन्त्रणमा लिएका थिए ।
दिउँसो १ बजे पर्वतका लागि छुटेको एउटा, धनुषाको ढल्केबरका लागि २ ट्रक र रौतहटको चन्द्रनिगाहपुरका लागि छुटेको एउटा ट्रकलाई मेयर नेतृत्वको कृषकहरुले नियन्त्रणमा लिएका थिए ।