वीरगंज । मधेश प्रदेशको एक मात्र वीरगंज महानगरपालिकामा पाँचदलीय गठबन्धन विजयी भएकाे छ । गठबन्धनकाे तर्फबाट मेयरमा जनता समाजवादी पार्टी(जसपा)का राजेशमान सिंह र उप मेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएका हुन् ।
राजेशमानले आफ्नो निकटम प्रतिस्पर्धी निर्वतमान मेयर एवम् नेकपा एमालेका उम्मेदवार विजय कुमार सरावगी भन्दा झन्डै दोब्बर मत ल्याएर विजयी भएका हुन् । मंगलबार विहान सकिएकाे ३२ वटै वडाकाे अन्तिम मतगणना नतिजा अनुसार राजेशमानले ४६ हजार २१५ मत पाउँदा विजयले २३ हजार ६७१ मतमात्रै पाए ।
अघिल्लो पटक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरमा उठेका राजेशमान सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयले १९, ३९३ मत ल्याउँदा राजेशमान १२, १६५ मत ल्याएर तेस्रो भएका थिए ।
यसपटक दुवैले दल बदलेर चुनावी मैदानमा आएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा पुगेका हुन् भने विजय जसपा त्यागेर एमालेबाट उम्मेदवार बनेका थिए ।
राजेशमान एमालेमा जाने लगभग निश्चित भइसकेको थियो तर एमालले विजयलाई पार्टी प्रवेश गराएपछि उनी जसपामा गए । विजय कांग्रेसमा जान चाहेपनि वास्था नभएपछि एमालेमा गएर मेयर लडेका थिए ।
त्यसैगरी वीरगञ्जको उपमेयरमा पाँच दलीय गठबन्धनबाट नै कांग्रेसका आलम निर्वाचित भएका छन् । आलम आफ्नो निकटम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) पुरुषोत्तम लाल झा भन्दा तेब्बर मतले विजयी भएका हुन् ।
कांग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी लोसपाका झा ९ हजार ५ सय ६८ मत ल्याएर आफ्नो जमानत बचाउन सफल भएका छन् । आलमले झालाई २० हजार ५ सय १० मतले पराजित गरेका हुन् । आलम कांग्रेस पर्साका जिल्ला सचिव पनि हुन् ।
वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता रहेकोमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो ।
सपथ लिएको २४ घण्टा भित्र वीरगंजबासीले परिवर्तनको आभाष गर्छन : नवनिर्वाचित मेयर सिंह
वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले महानगरमा अनियमित तरिकाले गरिएका कामहरुको छानविन गरिने बताएका छन् । महानगरमा भएका सम्पूर्ण कामको छानविन गर्दै अनियमितता भएको भेटिएको खण्डमा अख्तियारमा फाइल पठाएर कारवाहीको अगाडि बढाउने सिंहले बताएका हुन् ।
मंगलबार बिहान मेयरमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपश्चात मतगणनास्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नवनिर्वाचित मेयर सिंहले भने, ‘महानगरमा यसअघिका जनप्रतिनिधिले जति पनि भ्रष्टचा गरेका छन्, ती सबै फाइल अख्तियारमा पठाउँछु, अख्तियारले छानबिन गरेर कारवाही अगाडि बढाउछ ।’
त्यस्तै आफूले सपथ लिएको २४ घण्टा भित्र वीरगञ्ज महानगरपालिकाका वासिन्दाले परिवर्तनको आभाष गर्ने सिंहले बताए । ‘जुन दिन मैले शपथ लिन्छु त्यसको २४ घण्टाभित्र जनतालाई परिवर्तनको अनुभुति हुने गरि काम गरेर देखाउँछु । वीरगञ्जवासीले दैनिक भोगिरहेका समस्या सामधान नै मेरो पहिलो र मुख्य प्राथमिकता हुनेछ,’ उनले भने ।
वीरगञ्जको सरसफाई, पानीको उचित निकास गर्दै शहरमा हुने डुबान समस्यालाई समाधान गर्नु पनि आफ्नो पहिलो काममध्ये हुने उनले बताए । त्यसैगरी सिंहले करको दर न्यूनीकरण, सहज र सुलभ स्वास्थ्य सेवा, शिक्षा, रोजगारी लगायतका विषयमा विशेषज्ञ र विज्ञहरुसँग परामार्श गरेर नगरवासीको हितमा निर्णय लिने प्रतिक्रिया दिए ।
सिंहले पाँच वर्षको आफ्नो कार्यकालमा चुनावी प्रतिबद्धता पत्रमा लेखिएको भन्दा पनि बढी काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
शहिदको शालिकमा माल्यार्पण
वीरगंज महानगरकाे मेयरमा निर्वाचित भएपछि सिंहले शहिदको शालिकमा माल्यार्पण गरेका थिए ।
मतगणनास्थल वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित श्री नृसिंह माविबाट निस्किएको बिजयी जुलुश वीरगञ्जको बिपि उद्यानस्थित शहिद स्मृती पार्कमा पुगेर नवनिर्वाचित मेयर सिंहले शहिदका शालिकमा माल्यार्पण गरेका थिए ।
मधेश आन्दोलनताका आफ्नो प्राणको आहुति दिएका सम्पुर्ण शहिदहरुको सम्झना गर्दै शहिदको सपनालाई साकार पार्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
साथै उनले घण्टाघरस्थित नेपालमा मधेश मुद्दा उठाउने पहिलो व्यक्तिमध्ये एक रामजनम तिवारीको शालिकमा पनि माल्यार्पण गर्दै श्रद्धा सुमन अर्पण गरेका थिए ।
शहिद तथा मधेश आन्दोलनका घाइतेहरुको लागि पनि विशेष योजना बनाएर काम गर्ने विश्वास पनि दिलाए । शहिदको त्याग र बलिदानबाट प्राप्त उपलब्धीको संरक्षण गर्दै आम वीरगञ्जबासीलाई शहिदको सपना पूरा भएको प्रत्याभुती दिलाउने सिंहको भनाई छ ।
वडा सदस्यदेखी मेयर सम्म कसरी पुगे राजेशमान ?
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी बुबा भुपेन्द्रमान सिंह र आमा रुकमिनि देवी श्रेष्ठका कान्छो सन्तान हुन् राजेशमान सिंह । विक्रम सम्वत् २०२७ सालमा जन्मिएका उनका एक दिदि र एक दाजु छन् । सिंहले घर नजिकै रहेको मुलुककै पूरानो मध्यमा पर्ने त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माद्यामिक विद्यालयबाट २०४२ सालमा एसएलसी परीक्षा उतीर्ण गरेका छन् ।
२०४३ सालमा वीरगञ्जकै ठाकुरराम बहुमुखी क्याम्पसमा आर्ट्स संकायमा भर्ना भएका उनले ठाकुररामबाटै प्रविणता प्रमाणपत्र तह (आईए) उतीर्ण गरेका थिए । त्यसपछि औपचारिक शिक्षालाई विराम दिएका सिंहले नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल विद्यार्थी संघबाट राजनितिक यात्राको आरम्भ गरे । नेविसंघको पर्सा जिल्ला सदस्य हुँदै आरम्भ भएको राजनैतिक जीवन सिंहले थुप्रै आरोह अवरोहहरु पार गरेका छन् ।
मिलनसार, स्पष्ट वक्ता र बोलेको कुरामा अडिग रहने सिंहको व्यक्तित्वका कारण २०५४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उनी तत्कालिन वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ छपकैयाको वडा सदस्यमा निर्वाचीत भए ।
सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहने सिंह २०६० सालमा भएको निर्वाचनमा सावीक वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचीत भए ।
पछिल्लो एक दशक देखी मधेश र मधेशी समुदायको हक अधिकारका लागि सिंह निरन्तर लड्दै आएका छन् । मुलुकमा भएका सवैखाले परीवर्तनकारी आन्दोलनमा सहभागि भएका सिंह राज्यले मधेशी समुदायमाथी गरेको विभेदको विरुद्ध निरन्तर लड्दै आए । पछिल्लो मधेश आन्दोलनको नेतृत्वदायी भूमिकाले उनको नेतृत्व अझ सशक्त बन्दै गयो ।
जनस्तरमा स्थापित भएका सिंहको केन्द्रिय राजनितिमा पनि प्रभाव बढ्दै जाँदा उनी राष्ट्रिय मधेश समाजवादी पार्टीको केन्द्रिय महासचीवमा चयन भए । सोहि पार्टीबाटै सिंह २०७० सालको संविधानसभा निर्वाचनको प्रत्याशी पनि बने । पछि उक्त पार्टी एकिकरण भई बनेको राष्ट्रिय जनता पार्टीको पनि महासचिव नै बनाउनुले उनको नेतृत्वदायी भूमिका झनझन निखारिदै गएको स्पष्ट हुन्छ ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि उनी राजपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका प्रत्याशी बने । आफ्नो राजनितिक शक्ति निरन्तर बढाउँदै लगेका सिंहले वीरगञ्जका स्थापित नेतालाई समेत पछि पार्दै लोकप्रिय मत सहित तेश्रो स्थानमा रहँदा पनि निरन्तर जनताकै माझमा सक्रिय रहे ।
राष्ट्रिय जनता पार्टी समेत एकिकरण भई जनता समाजवादी पार्टी नेपालमा रहेका सिंह कालान्तरमा उक्त पार्टी फुटेर दुई चिरा हुँदा लोकतान्त्रिक समाजवादीमा रहेपनि पुनः जसपामै फर्किएका छन् । साहिब दरवार सेवा संस्थान मार्फत जनताको सुख दुःखमा जोडिँदै आएका सिंहले कोरोना महामारीका बेला यहाँका गरीब विपन्न र असहायहरुलाई निःशुल्क भोजन गराएका थिए ।
हजारौँ आमाबुवाहरुको आँखाको अप्रेशन गराई ज्योति फर्काएका छन् । सामाजिक क्षेत्रमा प्रतिष्ठित संस्था रिलिफ सोसाईटी अफ कमर्सले उनको सामाजिक कामको उच्च मूल्यांकन गर्दै ‘विहारी लाठ कर्मवीर सम्मान’ले सम्मानीत समेत गरेको छ ।
संस्थाले मात्रै हैन, समग्र वीरगञ्जबासीले पनि उनलाई सम्मान गरेका छन् । जनताको मन र मत जितेर उनी स्थानीय सरकार स्थापनापश्चातको दोस्रो मेयरको रुपमा ऐतिहासिक मत ल्याउँदै निर्वाचित भएका छन् ।
१३ वडामा जसपा, ९ वडामा कांग्रेस र ८ वडामा एमाले विजयी
३२ वटा वडा रहेकाे वीरगंज महानगरपालिकाकाे १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ वटामा एमाले र २ वटामा लोसपाले जितेको छ ।
वडा नं १ मा जसपाका मनोज राउत कुर्मी, २ मा कांग्रेसका रियाज मिया तेली, ३ मा जसपाका बैजुलाल स्वर्णकार, ४ मा कांग्रेस जगत साह कानु, ५ मा एमाले प्रदीप चौरसिया, ६ मा लोसपामा जयप्रकाश अग्रवाल, ७ मा कांग्रेसका हिराकाजी महर्जन, ८ मा कांग्रेसकै रितेश गुप्ता, ९ मा जवहारप्रसाद गुप्ता र १० मा जसपाका सुशीलकुमार गुप्ता विजयी छन् ।
स्तै, ११ मा जसपाका अजय चौरसिया, १२ मा एमालेका सुरेश गुप्ता कानु, १३ मा एमालेकै हारा गिरी, १४ मा जसपाका महबुब एलाही, १५ मा जसपाकै रमेश यादव, १६ मा परशुराम चौरसिया, १७ मा एमालेका सञ्जिव क्षेत्री, १८ मा जसपाका उमाशंकर तिवारी, १९ मा कांग्रेसका मुकेशकुमार चौरसिया विजयी भएका हुन् ।
वडा नम्बर २० मा एमाले राम किशोर सिंह, २१ लोसपाका राधाकृष्ण रौनियार, २२ कांग्रेसका द्वारिका महतो, २३ एमालेको अवध किशोर कुशवाहा, २४ मा एमालेकै विजयप्रसाद कुर्मी, २५ मा जसपाका आशुतोष चतुर्वेदी, २६ मा कांग्रेसका शम्भुप्रसाद गुप्ता, २७ मा कांग्रेकै हृदय नारायण पटेल, २८ मा सर्युग महतो, २९ मा जसपाका धर्मेन्द्र महतो, ३० मा जसपाकै मनोजकुमार यादव, ३१ मा एमालेका जितेन्द्र यादव र ३२ मा जसपाका रियाज मिँया ठकुराई विजयी भएका छन् ।