वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार ३२ वर्षीय जसवन्त यादव निर्वाचित भएका हुन् ।
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेर चौथो स्थानमा सिमित भएका यादवले यसपाली भने एमालेको उम्मेदवार बनेर जसपाकै उम्मेदवार एंव निवर्तमान अध्यक्ष प्रदीप् जयसवाललाई १ हजार ८३१ मतको फराकिलो अन्तरले हराउँदै सखुवाप्रसौनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
यादवले ६६४१ मत पाउँदा जसपाका जयसवालले भने ४८१० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका शैलेन्द्र कुमार यादव २ हजार ५१३ मत, नेकपा माओवादी केन्द्रका अफजल हुसेन ५६८ मत, राप्रका देवनारायण प्रसाद थारु २२६ मत र नेपाल सुशासन पार्टीका बृजमाेहन प्रसाद चाैधरी २०० मत पाएका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छन् । नेकपा एमालेकी उम्मेदवार एवं निवर्तमान उपाध्यक्ष फुलमति कुमारी थरुनीलाई २१२ मतान्तरले पछि पार्दै बिष्ट विजयी भएकी हुन् ।
बिष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छिन् भने निवर्तमान उपाध्यक्ष थरुनीले ४ हजार २ सय ५६ मत पाइन्।