वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी थरुइनीमाथि मुद्दा दर्ता भएको छ । गाउँपालिका अध्यक्ष प्रदीप जयसवाललाई दुर्व्यवहार गरेकी उपाध्यक्ष थरुइनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले अभद्र व्यहार मुद्दा दर्ता गरेकाे हाे ।
गाउँपालिका अध्यक्ष जयसवालले उपाध्यक्ष विरुद्ध दिएकाे किटानी जाहेरीकाे आधारमा अभद्र व्यवहार र कुटपिट गरेको आरोपमा थरुइनी विरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
अध्यक्ष जयसवालले जाहेरीकाे साथ साथै थरुइनीले कुटपिट गरेको सिसी क्यामेराको फुटेज (भिडियो) प्रमाण पेश गरेपछि प्रहरीले मुद्दा दर्ता गरेकाे हाे ।
सुरुमा उपाध्यक्ष थरुइनीले गाउँपालिका अध्यक्ष जयसवालले अन्य जनप्रतिनिधिसँग मिलेर आफूलाई दुर्व्यवहार गर्दै कुटपिट गरेको सञ्चारमाध्यमलाई बताएकी थिइन । कुटपिटबाट आफू घाइते भएको भन्दै थरुइनी उपचार गराउन वीरगञ्जस्थित नारायणी अस्पतालसमेत पुगेकी थिइन ।
तर, त्यसकाे भोलीपल्ट अध्यक्ष जयसवालले उपाध्यक्षद्वारा लगाईएको सबै आरोपहरु निराधार भएको बताउँदै उल्टै आफूमाथि थरुइनीले बोत्तल प्रहार गर्दै दुर्व्यवहार गरेकाे बताएका थिए । उनले पत्रकार सम्मेलन गरेर उक्त घटनाको सिसीटिभी भिडियो आफूसँग सुरक्षित रहेकाे र उपाध्यक्ष थरुइनीले गरेकाे आफुमाथी गरेकाे दुर्व्यवहार विरुद्धकाे कारवाहीबाट बच्न उल्टै अस्पताल पुगेकाे जनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले पनि थरुइनीविरुद्ध अभद्र व्यहारकाे मुद्दा दर्ता भएकाे वताए । उनले भने “उपाध्यक्ष थरुइनी विरुद्ध मुद्दा दर्ता भएकाे छ, पक्राउ पुर्जी पनि जारी भएको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेकाे छ, कानुनी पक्रिया अनुसार कारवाही पक्रिया अगाडी बढाउँन्छ ।”