12 April 2025
KALIKATIMES.COM

वीरगंज नाकामा भेटिन थाले कोभिडको नयाँ भेरीएन्टका सङ्क्रमित

वीरगंज । लामो समयपछि वीरगंज नाकामा फेरि कोरोना सङ्क्रमित फेला पर्न थालेका छन् ।

नेपाल प्रवेश गर्ने देशकै मुख्य नाका वीरगंज नाकामा सञ्चालित हेल्थ डेस्कमा भइरहेको परीक्षणमा पछिल्लो दुई दिनमा कोरोनाका दुई सङ्क्रमित फेला परेका हुन् । दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण भेटिएको हेल्थ डेस्क प्रमुख तथा वीरगंज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए । 

सङ्क्रमण पुष्टि हुनेमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेको जानकारी उनले दिए । 

नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बिहीबार दिउँसोसम्म ४६ जनाको एन्टिजेन जाँच गर्दा तीमध्ये धादिङ जिल्ला घर भएका ५९ वर्षीय पुरुषमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको ठाकुरले बताए । उनी भारतको कलकत्ताबाट रेलको यात्रा गरेर नेपाल फर्कँदै थिए । 

यसअघि बुधवार पनि हेल्थ डेस्कमा ५५ जनाको एन्टिजेन जाँच गर्दा एक भारतीय नागरिकमा पनि कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको थियो । कलकत्ताबाटै रेलको यात्रा गरेर रक्सौल हुँदै काठमाडौँ घुम्न आएको भारतीय पर्यटकहरूको समूहमा रहेकाहरूको एन्टिजेन जाँच गर्दा कलकत्ता निवासी २५ वर्षीय युवकमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको ठाकुरले बताए ।

बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएका धादिङका पुरुषलाई वीरगंजकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा लगेर राखिएको जानकारी ठाकुरले दिए । सङ्क्रमण पुष्टि भएका भारतीय युवकलाई भने सोही दिन भारतीय प्रहरीको जिम्मा लगाएर नाकाबाट भारत फर्काइएको उनले बताए । 

सङ्क्रमण पुष्टि भएका दुवै जनाको स्वाब नमुना जिन सिक्वेन्सीङको लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी पनि ठाकुरले दिए । वीरगंज नाकामा चालु आर्थिक वर्षमा पहिलो पटक दुई जनामा कोरोनाको सङ्क्रमण भेटिएको ठाकुरले बताए ।

ठाकुरका अनुसार छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोरोनाको नयाँ भेरियन्ट जेएन.वानको सङ्क्रमण फैलिँदै गएपछि नेपाल प्रवेश गर्ने मुख्य स्थल नाका वीरगंजमा निगरानी बढाइएको छ ।

कोरोना सङ्क्रमणको पहिलो लहरदेखि नै वीरगंज नाकामा सञ्चालित हेल्थ डेस्कमा पुस महिना सुरु भएदेखि नै भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गर्न थालिएको हो । भारतबाट रेल, बस र निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूलाई वीरगंज नाकामा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले परीक्षण गरेपछि मात्रै भित्रिन दिने गरेका छन् ।

हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार भारतबाट लामो यात्रा गरेर आउनेहरूलाई नाकामा रोकेर सुरुमा स्क्रिनिङ गरिन्छ । त्यस क्रममा ज्वरो वा खोकीको लक्षण देखिएकाहरूको एन्टिजेन जाँच गरिन्छ । ठाकुरले भने, ‘भारतमा पुनः सङ्क्रमण बढेपछि नाकामा हामीले निगरानी र सतर्कता बढाएका छौँ । तर अहिलेसम्म दुई जनामा मात्र कोभिड पोजेटिभ भेटिएको छ ।’

‘भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूको मात्र स्क्रिनिङ गर्ने गरिएको उनले बताए । स्क्रिनिङ गर्दा शंकास्पद लाग्यो भने उनिहरुको एन्टिजेन टेष्ट गर्ने गरेका छौँ,’ उनले थपे । तीन चारदिन यतादेखि भने हेल्थ डेस्कमा दैनिक २०० देखि २५० जनाको स्क्रिनिङ र ५० देखि ६० जनाको एन्टिेजन जाँच गर्दै आएको पनि उनले बताए ।  

नाकाको हेल्थ डेस्कमा दुई जना स्टाफ नर्स, तीन जना हेल्थ असिस्टेन्ट, दुई जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेण्ट गरी ८ जना स्वास्थ्यकर्मीको टोली कार्यरत रहेको जानकारी पनि उनले गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:6.024 sec. Memory consumption:82.48 mb