वीरगंज । बाराको सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकार (सर्राफ) हत्या काण्डको अनुसन्धान लगभग टुंगो लागिसकेको बताइएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज सापकोटाले सर्राफ हत्याकाण्डको अनुसन्धान प्रहरीले लगभग टुङ्गो लगाइसकेको बताएका हुन् ।
संचारकर्मीहरुसंग कुरा गर्दै सिडिओ सापकाेटाले सर्राफको मृत्युको कारण उनको व्यक्तिगत आचरण भएको वताए । हत्या प्रेम सम्बन्धका कारण भएको पुष्टि गर्दै उनले भने, ‘सरार्फको हत्याकाण्ड कुनै आपराधिक समूहले गरेको होइन, व्यक्तिगत आचरणको कारण हो । हत्याको विश्लेषणमा व्यक्तिगत आचरणले मृत्यु भएको हो । सुरक्षा चुनौती केही पनि छैन ।’
उनले थपे, ‘मृतक सर्राफको एउटा महिलासँग अनैतिक सम्बन्ध थियो । त्यही सम्बन्धका कारणले महिला र उनका आफन्तले मिलेर हत्या गरेको अनुसन्धानमा पाइएको छ ।’ यद्यपि अनुसन्धान पूरा टुङ्गो लागेपछि बारा प्रहरीले बुधवार पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने उनले बताए ।
सापकोटाका अनुसार प्रेम सम्बन्ध कै कारण सर्राफमाथि यसअघि पनि आक्रमण भएको थियो । ‘अन्य केही सबुत पनि फेला परेका छन् । त्यस कारण हामीले प्रेम सम्बन्धकै कारण हत्या भएको हो भनी निर्क्योल निकालेका हौँ,’ उनले भने ।
प्रहरीले हत्यामा संलग्न रहेको आशङ्का एक महिलासहित ८ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक (एसपी) सुरेश काफ्लेले वताए । जसमा पाँच जना नेपाली र अन्य भारतीय रहेको प्रहरी स्रोतको दाबी छ । पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले खुलाएको छैन ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार पक्राउ परेकी महिला राधा गुप्ता हुन् । उनी मदरसा टोलमै बसोबास गर्छिन् । पक्राउ परेका मध्येका एक भारतीय नागरिक मनोज गुप्ता छन् ।
राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन् । उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । प्रिन्सिपल स्वर्णकार विवाहित हुन् ।
सर्राफमाथि सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा आएको चार जनाको समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट गम्भीर रूपले घाइते भएका उनको उपचारका क्रममा वीरगंजस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा मृत्यु भएको थियो । उनको मङ्गलवार हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारिक स्रोतले जनाएको छ ।
उनको हत्याको विरोधमा पर्सा, बारासहित मधेस प्रदेशका सम्पूर्ण निजी विद्यालयले मङ्गलवार बिदा दिएका थिए भने व्यवसायीहरूले कलैया बजार बन्द समेत गरेका थिए ।
यसैबीच, अभिभावक सङ्घ, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी बाल एकता बोर्डिङ स्कूलका सञ्चालक/प्रधानाध्यापक रूपेश सर्राफको हत्याको आरोपमा पक्राउ परेका व्यक्ति तथा मुख्य अपराधीलाई कडा कारबाई गर्न माग गरेको छ । अपराधीलाई कानूनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिलाउन तथा बारावासीलाई शान्ति सुरक्षा व्यवस्था मिलाउन सङ्घका अध्यक्ष सन्दीपकुमार साहले विज्ञप्तिमा जनाएका छन् ।