वीरगंज । वीरगंजकाे विर्तास्थित त्रिजुद्ध माविमा ५ दिने नि:शुल्क आँखा तथा दाँत परीक्षण शिविर सुरु भएको छ । वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र साहिब दरबारको आयोजनामा आइतबारदेखि ५ दिने शिविर सुरु भएको हो ।
विद्यार्थी संख्या धेरै भएको हुँदा पढाई प्रभावित नहुने गरी ५ दिनसम्म सबै विद्यार्थीको आँखा तथा दाँत जाँच गर्ने गरी शिविरको आयोजना गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले बताए ।
शिविरमा विद्यार्थीहरुको आँखा तथा दाँतको परीक्षण गरिने वीरगंज सामुदायिक आँखा अस्पतालका व्यवस्थापक प्रेम घिमिरेले जानकारी दिए । शिविरमा अस्पतालका नेत्र विशेषज्ञ प्रभात चौरसिया नेतृत्वको टोलीले विद्यार्थीहरुको आँखा जाँच गरीरहेको छ ।
शिविरमा आँखाको समस्या देखिएकाहरुलाई नि:शुल्क रुपमा औषधि समेत वितरण गरिएको घिमिरेले जानकारी दिए ।
पछिल्लो समयमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालयमै शिविरको आयोजना गरेर सबै विद्यार्थीको नि:शुल्क जाँच गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक नविन मिश्राले बताए ।
साहिब दरबारले यसअघि वीरगंजकाे अन्य विद्यालयमा पनि आँखा तथा दाँत शिविर सम्पन्न गरीसकेको छ ।