वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वाभाठ्ठामा शनिबार आगलगी भएको छ । आगलगीमा परि ३ जनाको दुई वटा घर पूर्ण रुपले जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
स्थानीय बनु पासवान, हिरालाल पासवान र मोतिलाल पासवानको घर जलेको प्रहरी चौकी बहुअर्वाभाठ्ठाले जनाएको छ । बनु र हिरालाल भाई हुन । दुबै जना एउटै घरमा बस्दै आएका थिए । आगलगीले बनुको घरमा रहेको नगद रु ५ लाख, रु ३ लाख २० हजार मूल्य पर्ने थ्रेसर, गरगहना धान चामल, कपडालत्ता लगायतको समाग्री जलेर नष्ट भएको हो ।
आगलगीमा बनुले वीरगंजस्थित एक बैंकबाट ऋण निकालेर घरमा राखेको नगद रु ५ लाखसमेत जलेर नष्ट भएको पिडितले जनाएका छन् । यस्तै आगलगीले मोतिलाल पासवानको घरमा रहेको धान, चामल, कपडा लत्ता लगायतको सामग्री जलेर नष्ट भएको हो । आगलगीले रु १५ लाखभन्दा बढिको क्षति भएको पिडितहरुले जनाएका छन् ।
सुरुमा बनुको घरमा आगलगी भएका कारण उनको धेरै क्षति भएको हो । वीरगंज महानगरपालिकाबाट पुगेको दुई वटा दमकल, पोखरिया नगरपालिकाबाट पुगेको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलगी हुनुको स्रोत खुल्न नसकेको प्रहरीले जनाएको छ ।