Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 93

पोखरियामा ५.५ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

0

वीरगंज । पर्साको पोखरिया नगरपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब ११ः३० बजे पोखरिया नगरपालिका–९ स्थित एक टहरामा छापा मार्दा ५.५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो ।

प्रहरीले उक्त पदार्थसहित पोखरिया–९ निवासी बिजुली राउत कम्करका अन्दाजी २० वर्षीय छोरा विशाल राउत कम्करलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद गरिएको पदार्थसहित पक्राउ परेका राउत कम्करलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

भेरी अस्पतालमा औषधि अभावदेखि अनियमिततासम्मका आरोप, निष्पक्ष छानबिनको माग

0

नेपालगंज । पश्चिम नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था भेरी अस्पताल यतिबेला औषधि अभाव, आर्थिक अनियमितता, स्टोर आगलागी तथा प्रशासनिक सेटिङका आरोपका कारण विवादमा तानिएको छ । अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट निराजन सुबेदी, तत्कालीन फार्मेसी इन्चार्ज तथा हालका स्टोर इन्चार्ज उदयवीर शाही र वर्तमान मेडिकल सुपरिटेन्डेन्ट नवीन धर्नालमाथि विभिन्न प्रश्न उठिरहेका छन् ।

अस्पताल स्रोतका अनुसार पूर्व मेसु सुबेदीको कार्यकालमा औषधि खरिद, स्टोर व्यवस्थापन तथा सप्लाइ प्रक्रियामा “सेटिङ समूह” सक्रिय रहेको आरोप लाग्दै आएको थियो । अहिले सोही समूहलाई जोगाउन तथा पुराना फाइल र अनियमितता दबाउन स्वास्थ्य मन्त्रालयको उच्च तहसम्म पहुँच प्रयोग भइरहेको चर्चा अस्पतालभित्र चुलिएको बताइएको छ ।

स्रोतका अनुसार बिरामीले चिकित्सकको पुर्जी लिएर फार्मेसी पुग्दा १० मध्ये १–२ वटा मात्रै औषधि पाउने अवस्था रहेको छ । विशेषगरी विष सेवन गरी इमर्जेन्सीमा आउने बिरामीका लागि आवश्यक ‘प्रलिडोक्जिम’ (Pralidoxime) जस्ता अत्यावश्यक औषधि लामो समयदेखि अभाव रहेको दाबी गरिएको छ ।

यता, कमिसनका लागि एउटै कम्पोजिसनका विभिन्न ब्रान्डका औषधि अत्यधिक मात्रामा खरिद गरिएको तथा करोडौँ मूल्य बराबरका औषधि गोदाममै म्याद गुज्रिएको आरोप पनि लागेको छ । स्रोतका अनुसार Veltico Injection, Dabirom 110, Atenol 25, Bactolac लगायतका औषधि ठूलो परिमाणमा एक्सपायरी भएका छन् भने थप लाखौँ मूल्यका औषधि म्याद सकिने अवस्थामा पुगेका छन् ।

भेरी अस्पतालको औषधि स्टोरमा भएको आगलागी घटनामाथि समेत गम्भीर प्रश्न उठाइएको छ । आगलागीपछि ठूलो परिमाणमा औषधि “रिटर्न” गरिएको, स्टक मिलानका नाममा हिसाब मिलाइएको तथा केही प्रमाण नष्ट गरिएको आशंका कर्मचारीहरूले व्यक्त गरेका छन् । उक्त घटनाबारे अख्तियारसँग पत्राचार भएको चर्चा भए पनि आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

यसैबीच सार्वजनिक भएका भनिएका ह्वाट्सएप संवादहरूमा कम मूल्यका सामानलाई उच्च मूल्यमा खरिद देखाउने, खरिदलाई टुक्र्याएर कोटेशनमार्फत प्रक्रिया मिलाउने तथा सीमित समूहको प्रभावमा निर्णय गरिने विषय उल्लेख गरिएको दाबी गरिएको छ ।

उदयवीर शाहीको जीवनशैलीमाथि समेत प्रश्न उठाइएको छ । स्रोतका अनुसार छोटो समयमै उनले करोडौँको घरजग्गा जोडेको तथा महँगो BYD विद्युतीय गाडी प्रयोग गरिरहेको चर्चा भइरहेको छ । साथै सरकारी जिम्मेवारीमै रहँदा अनुमति प्रक्रियाबिनै भारतको दिल्लीमा पीएचडी अध्ययन गरिरहेको विषयले थप विवाद सिर्जना गरेको बताइएको छ ।

यता वर्तमान मेसु नवीन धर्नाल आएपछि अस्पतालभित्र “पुराना विषय बाहिर नलानु” र “भ्रष्टाचारका कुरा मिडियामा नबोल्नु” भन्ने प्रकारको ब्रिफिङ भइरहेको चर्चा समेत कर्मचारीहरूले गरेका छन् । यद्यपि, यी आरोपबारे अस्पताल प्रशासनले औपचारिक प्रतिक्रिया दिएको छैन ।

स्थानीय नागरिक तथा सेवाग्राहीहरूले भने सरकारी अस्पतालभित्रको यस्तो अवस्थाले गरिब बिरामी प्रत्यक्ष मारमा परेको बताएका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायले औषधि खरिद, स्टोर आगलागी, एक्सपायरी औषधि, प्रशासनिक सेटिङ तथा सम्पत्ति वृद्धिसम्बन्धी विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

लिटिल बडी प्रि–स्कुलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

0

वीरगंज । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटिल बडी प्रि–स्कुलमा आइतबार निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकको सहकार्यमा आयोजित शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

विद्यालयका निर्देशक विजय कुमार बलले बालबालिकामा सानैदेखि दाँतको सरसफाइ र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए । उनले चिकित्सकको सुझावले बालबालिकामा दन्त स्वास्थ्यसम्बन्धी सकारात्मक बानी विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

शिविरमा दन्त चिकित्सक डा. आमिर आलम र डा. भावना कुमारी झाले विद्यार्थीहरूको दाँत परीक्षण गर्नुका साथै अभिभावकलाई दन्त सरसफाइ, नियमित परीक्षण तथा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएका थिए ।

डा. झाले बालबालिकामा अत्यधिक गुलियो खाने बानीका कारण दाँतसम्बन्धी समस्या बढ्दै गएको उल्लेख गर्दै समयमै परीक्षण गराउन अभिभावकलाई आग्रह गरिन् ।

विद्यालयकी सुप्रिया पौडेलको संयोजनमा सम्पन्न कार्यक्रममा करिब १५० जनाले सेवा लिएको विद्यालयले जनाएको छ । साथै शिविरमा सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकलाई स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकमा थप उपचारमा विशेष छुटको व्यवस्था गरिएको जानकारी दिइएको छ ।

विद्यालयका मिडिया संयोजक दिपु कुमार वर्णवालका अनुसार विद्यालयले आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ ।

मधेश प्रदेशमा कार्यसम्पादनमा उत्कृष्ट बन्दै जिप्रका पर्सा सम्मानित

0

वीरगंज । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित भएको छ ।

उत्कृष्ट कार्यसम्पादन गरेबापत मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकलाई प्रशंसापत्रसहित सम्मान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहलगायत विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा पर्सा उत्कृष्ट ठहरिएको हो ।

सम्मान प्राप्त गरेपछि प्रहरी उपरीक्षक पाठकले उक्त उपलब्धि सम्पूर्ण प्रहरी कर्मचारीको सामूहिक मेहनत र नागरिकको सहयोगको परिणाम भएको बताएका छन् ।

सशस्त्र प्रहरीले विपन्न दलित एकल महिलाका लागि बनाइदियो घर

0

वीरगंज । सशस्त्र प्रहरी बल नेपालको “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत वीरगंज महानगरपालिका–२२ मनिहारी निवासी विपन्न एकल दलित महिला छिमी मलिलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ ।

स्वर्गीय चोकट म‍लिकी श्रीमती छिमी मलिको आर्थिक अवस्था कमजोर भई कष्टकर जीवनयापन गर्दै आएको अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा, सम्बन्धित वडाका जनप्रतिनिधि तथा सहयोगी व्यक्तिहरूको पहलमा घर निर्माण गरिएको हो ।

सशस्त्र प्रहरी बलको जनशक्ति परिचालन गरी निर्माण सम्पन्न गरिएको उक्त घर आइतबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको जनाइएको छ । वर्षौंदेखि असुरक्षित तथा अस्थायी टहरामा बस्दै आएकी मलिलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले घर निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न, असहाय तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि विभिन्न जनसेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

नवनिर्मित घर प्राप्त गरेपछि छिमी मलिले सुरक्षित आवासको सपना पूरा भएको भन्दै सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गरेकी छन् ।

पर्सामा १६औं राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न, ठोरी प्रथम र पर्सागढी दाेस्राे

0

वीरगंज । पर्सामा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । वीरगंजस्थित नारायणी रंगशालामा आयोजित प्रतियोगितामा सबैभन्दा बढी पदक जित्दै ठोरी गाउँपालिका प्रथम भएको छ ।

आयोजक पर्सा जिल्ला खेलकुद विकास समितिका अनुसार ठोरी गाउँपालिकाले १५ स्वर्ण, ९ रजत र ४ कास्य गरी कुल २८ पदक जित्दै उपाधि हात पारेको हो । त्यसैगरी पर्सागढी नगरपालिकाले ९ स्वर्ण, १० रजत र ८ कास्यसहित २७ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ भने वीरगंज महानगरपालिकाले ४ स्वर्ण, ५ रजत र ९ कास्य गरी १८ पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा कबड्डी पुरुषतर्फ वीरगंज महानगरपालिका र कबड्डी महिलातर्फ पर्सागढी नगरपालिका प्रथम भएका छन् । यस्तै भलिबल पुरुषतर्फ धोबिनी गाउँपालिका तथा भलिबल महिलातर्फ ठोरी गाउँपालिका विजेता बनेका आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताहरूलाई पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक कुमार साह कानुले ट्रफी र मेडल प्रदान गरेका थिए ।

प्रतियोगितामा वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका, कालिकामाई गाउँपालिका तथा धोबिनी गाउँपालिकाका ३७५ विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो लगायत विभिन्न खेल समावेश गरिएको थियो । प्रतियोगिताको उद्घाटन शनिबार मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले गरेका थिए ।

पत्रकार आचारसंहिताबारे पर्सामा अनुशिक्षण, पेशागत मर्यादामा ध्यान दिन आग्रह

0

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा पत्रकार आचारसंहिता सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महासंघको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न संचारमाध्यमका नयाँ पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन महासंघका केन्द्रीय सचिव अशोक तिवारीले गरेका थिए । कार्यक्रममा बोल्दै सचिव तिवारीले पत्रकारहरूले पेशागत मर्यादा र आचारसंहिताको पालना गर्दै पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

उनले पत्रकारले आफ्नो आचरणप्रति सचेत नभए आलोचना हुने उल्लेख गर्दै सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिन आग्रह गरे । साथै सरकारले गरेको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेको बताउँदै आन्दोलनका कार्यक्रमहरू सफल बनाउन सबै पत्रकारलाई सहभागी हुन आह्वान समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे संचालन पत्रकार महासंघ पर्साका सचिव विजय चाैहानले गरेका थिए ।

अनुशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले प्रशिक्षण दिएका थिए । उनले पत्रकार आचारसंहिताको व्यवहारिक पक्ष, समाचार सम्पादनमा अपनाउनुपर्ने सावधानी तथा पत्रकारिताका वर्तमान चुनौतीबारे सहजीकरण गरेका थिए ।

लामिछानेले पत्रकारितामा सत्यतथ्य, निष्पक्षता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिम्मेवार समाचार सम्प्रेषण, सञ्चारमाध्यमको विश्वसनीयता तथा पत्रकारको पेशागत मर्यादासम्बन्धी विषयमा समेत प्रशिक्षण दिइएको थियो ।

वीरगंज मेनरोडलाई शहरी मार्ग कायम गर्न माग गर्दै प्रदर्शन

1

वीरगंज । वीरगंजको मेनरोडलाई शहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार प्रदर्शन गरेका छन् ।

वीरगंज संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले थाल बजाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदर्शनकारीहरूले मेनरोड परिक्रमा गर्दै घण्टाघरसम्म पुगेर शहरी मार्ग घोषणा गर्न सरकारसँग आग्रह गरेका हुन् ।

संघर्ष समितिका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन राजपथलाई मेनरोडबाट हटाइसकिएको छ । साथै नेपाल सरकारको आधिकारिक वेबसाइट तथा सरकारले प्रकाशन गर्ने ‘रोड डायरी’ मा समेत आवश्यक संशोधन भइसकेको दाबी गरिएको छ । यस्तो अवस्थामा अब मेनरोडलाई औपचारिक रूपमा शहरी मार्ग घोषणा गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाको समेत उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले मेनरोडलाई शहरी मार्ग कायम गरिए यातायात व्यवस्थापन, व्यापारिक गतिविधि तथा शहरी सौन्दर्यीकरणमा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।

माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत प्रदर्शनकारीहरूले दिएका छन् । वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारले सरकारलाई शीघ्र माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

माउन्ट मकालुमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

0

वीरगंज । वीरगंज महानगरपालिका–१० अशोक वाटिकास्थित माउन्ट मकालु सेकेन्डरी स्कुलको आयोजनामा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

शिविर वीरगंज कम्युनिटी आई सेन्टर तथा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा अनुभवी अप्टोमेट्रिस्ट प्रभात चाैरसियाले विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरूको आँखा परीक्षण गरेका थिए ।

शिविरमा श्रीती चौधरी र ओमप्रकाश चौधरीले सहजीकरण तथा आवश्यक सहयोग प्रदान गरेका थिए । शिविर अन्तर्गत सेवाग्राहीहरूलाई निःशुल्क पूर्ण आँखा परीक्षण सेवा उपलब्ध गराइएको थियो भने चस्मा खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसका साथै मोतियाबिन्दु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइने जानकारी पनि दिइएको छ।

विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तवका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यालय समुदायमा आँखा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै आँखा सम्बन्धी समस्याको पहिचान गर्नु रहेको हो ।

विद्यालय प्रशासनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

जनताको आधारभूत अपेक्षा पूरा गर्न सरकार किन असफल ?

0

राज्यको मुख्य दायित्व भनेको नागरिकलाई सहज सेवा, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र उत्पादनमुखी वातावरण उपलब्ध गराउनु हो । तर विडम्बना, आज पनि आम नेपालीले यिनै आधारभूत आवश्यकता प्राप्त गर्न संघर्ष गर्नुपरेको अवस्था छ । सरकारका ठूलाठूला योजना, भाषण र घोषणाभन्दा जनताले दैनिक जीवनमा अनुभूति गर्ने सेवा नै महत्वपूर्ण हुन्छ । यदि सरकारले केही आधारभूत क्षेत्रमा मात्र प्रभावकारी काम गरिदिने हो भने नागरिकको जीवनस्तरमा ठूलो परिवर्तन आउन सक्छ ।

सबैभन्दा पहिलो आवश्यकता सरकारी कार्यालयबाट सहज सेवा प्रवाह हो । अहिले पनि अधिकांश सरकारी कार्यालयमा ढिलासुस्ती, अनावश्यक झन्झट, बिचौलियाको प्रभाव र कर्मचारीको गैरजिम्मेवार व्यवहारले सर्वसाधारण हैरान छन् । एउटा सामान्य सिफारिस वा कागजात बनाउन नागरिकले दिनौं धाउनुपर्ने अवस्था छ । सेवा लिन पुगेका नागरिकलाई सम्मानपूर्वक छिटो र पारदर्शी सेवा दिने संस्कार विकास गर्नु आजको आवश्यकता हो । सरकारले प्रविधिको प्रयोग बढाउँदै सेवा प्रक्रियालाई सरल र जनमैत्री बनाउन सके जनतामा राज्यप्रति विश्वास बढ्ने थियो ।

दोस्रो, सामुदायिक विद्यालयको अवस्था सुधार्नु अत्यन्त जरुरी छ । धेरै विद्यालयमा विद्यार्थी संख्या बढी भए पनि शिक्षक अभाव छ भने कतिपय विद्यालयमा आधारभूत पूर्वाधारसमेत छैन । कतै भवन छैन, कतै शौचालय छैन, कतै विज्ञान प्रयोगशाला वा पुस्तकालयको अभाव छ । विद्यार्थी संख्याको आधारमा शिक्षक व्यवस्थापन र आवश्यक पूर्वाधार निर्माण गर्न सके मात्रै सामुदायिक विद्यालयप्रति अभिभावकको भरोसा बढ्न सक्छ । शिक्षामा असमानता हटाउन सरकारले सरकारी विद्यालयलाई वास्तवमै गुणस्तरीय बनाउनुपर्छ ।

तेस्रो, सरकारी अस्पतालमा सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको प्राथमिक दायित्व हो । अहिले पनि धेरै अस्पतालमा चिकित्सक, औषधि र उपकरणको अभाव देखिन्छ । उपचारका लागि बिरामीले निजी अस्पतालको महँगो शुल्क तिर्न बाध्य हुनुपरेको छ । गरीब र मध्यम वर्गका नागरिकले सामान्य उपचारका लागि समेत आर्थिक संकट झेल्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । सरकारी अस्पतालमा पर्याप्त जनशक्ति, औषधि र व्यवस्थापन सुधार गर्न सके स्वास्थ्य सेवा धेरै हदसम्म सर्वसुलभ बन्न सक्छ ।

चौथो, कृषकका समस्याप्रति सरकार गम्भीर हुन आवश्यक छ । नेपाल कृषि प्रधान देश भनिए पनि किसानले समयमै मल र बिउ पाउँदैनन् । सिँचाइ अभावका कारण उत्पादन प्रभावित हुन्छ । कृषकले उत्पादनको उचित मूल्यसमेत पाउन सकिरहेका छैनन् । यदि सरकारले समयमै मल, गुणस्तरीय बिउ र सिँचाइको भरपर्दो व्यवस्था गरिदिने हो भने कृषकको उत्पादन बढ्ने मात्र होइन, देश आत्मनिर्भरतातर्फ अघि बढ्न सक्छ ।

वास्तवमा जनताले सरकारसँग असम्भव कुरा मागेका छैनन् । उनीहरूको अपेक्षा केवल आधारभूत सेवा सहज, पारदर्शी र प्रभावकारी होस् भन्ने मात्र हो । यदि सरकारले शिक्षा, स्वास्थ्य, कृषि र सेवा प्रवाहजस्ता आधारभूत क्षेत्रमा इमान्दारीपूर्वक सुधार गर्न सके जनताले ठूलो उपलब्धि महसुस गर्ने थिए । विकासका चर्का नाराभन्दा जनताको दैनिक जीवन सहज बनाउने काम नै सरकारको वास्तविक सफलता मानिनेछ ।