Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

0

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक पण्डाल निर्माण गरी कलश स्थापना गरेर सामूहिक रूपमा नवरात्र मनाउने परम्परा विस्तार हुँदै गएको हो ।

बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा आइतबार पर्सा र बाराका विभिन्न गाउँमा बाजागाजासहित कलश यात्रा निकालिएको छ । नवरात्र व्रत बस्ने महिला तथा भक्तजनहरू कलश यात्रामा सहभागी भई गाउँनजिकका जलाशयबाट जल भरेर धार्मिक विधिअनुसार कलश स्थापना गरेका छन् ।

गाउँगाउँमा आयोजना गरिएका कलश यात्रामा महिला तथा व्रतालुहरूको उत्साहजनक सहभागिता देखिएको थियो । बाजागाजा, भजनकीर्तन र धार्मिक जयघोषसहित निकालिएका यात्राले गाउँको वातावरण भक्तिमय बनेको थियो ।

सामूहिक रूपमा आयोजना गरिएका धार्मिक कार्यक्रमले स्थानीयस्तरमा आपसी सद्भाव, एकता र सांस्कृतिक परम्परालाई समेत बलियो बनाउँदै लगेको स्थानीयहरूको भनाइ छ ।

नवरात्रको नौ दिनसम्म देवी दुर्गाका विभिन्न स्वरूपको पूजा–आराधना गरिने भएकाले भक्तजनहरूले व्रत, पूजापाठ तथा भजनकीर्तन गरी धार्मिक अनुष्ठान गर्ने गर्छन् । पछिल्लो समय गाउँगाउँमा सामूहिक रूपमा नवरात्र मनाउने चलन बढ्दै जाँदा स्थानीय धार्मिक तथा सांस्कृतिक गतिविधिमा समेत रौनक थपिएको छ ।

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

0

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा आइतबार निकालिएको दोस्रो चुनरी यात्रामा करिब १० हजार महिला तथा भक्तजन सहभागी भएको आयोजकले जनाएको छ ।

वीरगंजकाे माइस्थानस्थित गहवामाई मन्दिर परिसरबाट बाजागाजा र धार्मिक उत्साहका साथ सुरु भएको चुनरी यात्रामा देवीका विभिन्न स्वरूप झल्काउने आकर्षक झाँकीसमेत प्रदर्शन गरिएको थियो । यात्रामा सहभागी महिला तथा भक्तजनले धार्मिक आस्थासहित उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

गत वर्षदेखि सुरु गरिएको चुनरी यात्रालाई यस वर्ष थप भव्य र व्यवस्थित रूपमा आयोजना गरिएको आयोजकले जनाएको छ । यात्राका क्रममा सहभागी भक्तजनको सुरक्षा तथा व्यवस्थापनका लागि परिषद्का स्वयंसेवक, स्थानीय प्रशासन र विभिन्न संघसंस्थासँग समन्वय गरिएको थियो ।

धार्मिक आस्था, परम्परा र संस्कृतिको संरक्षण गर्दै वीरगंजकाे धार्मिक पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यले चुनरी यात्रालाई निरन्तरता दिइएको विश्व हिन्दू परिषद् नेपालले जनाएको छ ।

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

0

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष डा. बिशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कविता खड्का, सचिवमा सुरेश बिडारी र कोषाध्यक्षमा अजमत अली अन्सारी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा गीता भण्डारी, सूर्य शुभचिन्तक, रेणु गुप्ता, देवी सापकोटा, नवराज रिजाल, किशुन दयाल श्रीकृष्ण र देवराज खरेल चयन भएका छन् ।

साधारण सभालाई सम्बोधन गर्दै प्रतिष्ठानका संस्थापक एवम् वरिष्ठ सल्लाहकार जगदिश शर्माले साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै संस्थाको प्रतिष्ठा अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

साहित्यकार गणेश प्रसाद लाठले वीरगंजमा पठन संस्कृतिको विस्तार गर्दै नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्नुपर्ने बताए । उनले पुस्तक मेलालगायत साहित्यिक कार्यक्रम आयोजना गर्न आग्रह गर्दै पर्यावरण र प्रकृतिजस्ता विषयलाई पनि साहित्यसँग जोड्नुपर्ने धारणा राखे ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले व्यावसायिक सहरका रूपमा परिचित वीरगंजको साहित्यिक पृष्ठभूमिको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले प्रतिष्ठानलाई वीरगंज मात्र सीमित नराखी मधेश प्रदेशका साथै मकवानपुर र चितवनका साहित्यकारलाई समेत समेट्ने सशक्त संस्थाका रूपमा विकास गर्न सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा र पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष गौतमले अग्रजहरूको सम्मान गर्दै उनीहरूका सल्लाह र सुझावलाई आत्मसात् गरी सहकर्मीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नयाँ पुस्तालाई साहित्यसँग जोड्दै प्रतिष्ठानलाई थप सुदृढ र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्न पहल गर्ने बताए ।

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

0

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी शक्तिपीठ, मन्दिर र घरघरमा दुर्गा भवानीको पूजा आराधनाको तयारी गरिएको छ।

मैथिल जनबोलीमा ‘दशहरा’ भनिने यस पर्वका अवसरमा देवी दुर्गाको महिमासम्बन्धी भजन, कीर्तन र मङ्गलधून गुञ्जिन थालेका छन्। देवी शक्तिपीठ तथा दुर्गा प्रतिमा निर्माणस्थलमा धार्मिक गतिविधि बढेका छन् भने गाउँ तथा नगरमा दुर्गा मेलाको तयारीसमेत तीव्र पारिएको छ।

मिथिला क्षेत्रमा वर्षमा दुईवटा नवरात्र मनाउने परम्परा छ। असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको अवधिलाई शारदीय नवरात्र र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको अवधिलाई वासन्ती नवरात्र भनिन्छ। मैथिली संस्कृतिविद् एवं अवकाशप्राप्त सहप्राध्यापक ध्रुव रायका अनुसार मिथिला क्षेत्रमा ‘दशहरा’ भन्नाले विशेषगरी शारदीय नवरात्रलाई बुझिन्छ।

नवरात्रको पहिलो दिन प्रसिद्ध देवी शक्तिपीठ तथा मन्दिरमा घटस्थापनाका लागि बिहानैदेखि कलशयात्राको तयारी गरिएको छ। मिथिला परम्पराअनुसार अविवाहित किशोरीहरूले धार्मिक महत्त्वका नदी तथा तलाउबाट नयाँ शुद्ध घडामा पवित्र जल ल्याएर देवीको प्रतिमा र मन्दिर परिसरमा सिञ्चित गर्छन्। त्यसपछि सोही जलको कलश स्थापना गरी घटस्थापना विधि सम्पन्न गरिन्छ।

महोत्तरीको औरही नगरपालिका–७ भोइलस्थित सोनासती (सोनामाई) स्थान, बर्दिबास–४ स्थित पञ्चधुरा माईस्थान, जलेश्वरस्थित सन्सारी माई र राजदेवी मन्दिरमा विशेष धार्मिक कार्यक्रमको तयारी गरिएको छ। ती स्थानमा एक हजार आठ कन्याले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड र भार्गवसरलगायतका धार्मिक जलाशयबाट पवित्र जल ल्याएर कलशयात्रा गर्ने कार्यक्रम रहेको छ।

यस अवसरमा मन्दिर तथा दुर्गा प्रतिमा स्थापना गरिएका स्थानमा जौ, तिल, गहुँ, धान र मकैसहित जमरा राखिनेछ। यस वर्ष महोत्तरीका विभिन्न ४० स्थानमा दुर्गामेला आयोजना हुँदैछन्। सोनामाई, जलेश्वर, मटिहानी, रामगोपालपुर, गौशाला र सीतापुर बजारका दुर्गामेला विशेष आकर्षणका रूपमा रहनेछन्।

मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई र सोनामाई, सप्तरीका सकरा भगवती, कङ्कालिनी माई र छिन्नमस्ता तथा जनकपुरस्थित राजदेवी मन्दिर र बाराको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन्। यी स्थानमा नवरात्र अवधिभर श्रद्धालुको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ।

दशहरा सुरु भएसँगै गाउँ तथा नगरका विभिन्न स्थानमा दुर्गा प्रतिमा निर्माण गरी मेला आयोजना गर्ने तयारी भइरहेको छ। युवाहरू लिङ्गे पिङ गाड्न जुटेका छन् भने घरघरमा देवी दुर्गाको पूजाअर्चना र चण्डी पाठ गर्ने परम्परालाई निरन्तरता दिइँदैछ।

नवरात्र अवधिमा देवी दुर्गाका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको क्रमशः पूजा आराधना गरिन्छ। दशमीका दिन देवीको पूजाविसर्जन गरी प्रसादस्वरूप जमरा ग्रहण गरेपछि मैथिल परम्पराअनुसार शारदीय नवरात्र सम्पन्न हुन्छ।

यसैबीच, पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन महोत्तरीमा जिल्ला सुरक्षा समितिले एकीकृत सुरक्षा योजना लागू गरेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित एक हजार ३३१ सुरक्षाकर्मी परिचालन गरिएको छ।

असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने दशहरा पर्वले धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावलाई बलियो बनाउने विश्वास मिथिला क्षेत्रमा रहिआएको छ।

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

0

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–६ निवासी करिब ३७ वर्षीया रिजवना खातुन रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार साँझ भएको दुर्घटनामा साइकलमा सवार रिजवना र उनका श्रीमान् ४० वर्षीय सबु मोहम्द, मोटरसाइकल चालक २५ वर्षीय अजय महतो र मोटरसाइकलमा सवार २२ वर्षीय विवेक महतो घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएकी रिजवनाको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा साँझ ७ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक विमल खतिवडाले जानकारी दिए।

प्रहरीका अनुसार सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको बीआर ०५ एएफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

0

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक पूजाआराधना गरिँदैछ ।

नवरात्रका अवसरमा घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राख्ने परम्परा छ । घटस्थापनापछि माता शैलपुत्रीको आह्वान गरेर पूजा गरिन्छ ।

शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये पहिलो स्वरूप हुन् । देवीकवच र मार्कण्डेय पुराणलगायत धार्मिक ग्रन्थमा गिरिराज हिमालयकी पुत्री पार्वतीलाई शैलपुत्रीका रूपमा उल्लेख गरिएको छ । हिन्दू धार्मिक मान्यताअनुसार नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजाआराधना गरी भक्तजनले सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्छन् ।

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

0

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।

पर्साको छिपहरमाई गाउँपालिका–१, मिर्जापुर निवासी अनरजित साह तेलीको नाममा दर्ता रहेको बा १८ प २५११ नम्बरको हिरो होन्डा स्प्लेन्डर मोटरसाइकल चोरी भएको हो ।

सवारीधनीका अनुसार घण्टाघरस्थित एक पसलअगाडि पार्किङ गरेर राखिएको मोटरसाइकल अज्ञात व्यक्तिले चोरेर लगेका हुन् । घटनासम्बन्धी सीसीटीभी फुटेजमा दुई जना अज्ञात व्यक्ति मोटरसाइकल लिएर गएको देखिए पनि उनीहरूको पहिचान हुन नसकेको उनले बताए ।

दसैँ सुरु हुनै लाग्दा वीरगंजको मुख्य व्यस्त चोकबाटै मोटरसाइकल चोरी भएपछि सवारीसाधनको सुरक्षा र चोरी नियन्त्रणमा प्रहरीको सक्रियतामाथि प्रश्न उठेको छ । प्रहरीको नियमित ड्युटी रहने स्थानबाटै चोरी हुनु सुरक्षा चुनौतीका रूपमा देखिएको छ ।

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

0

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु भएको छ ।

शनिबारदेखि सुरु भएको तालिममा जिल्ला सहकारी संघ, पर्साका कार्यसमिति सदस्य तथा कर्मचारीसहित १२ वटा सहकारी संस्थाका २८ जनाको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन जिल्ला सहकारी संघ, पर्साका अध्यक्ष हरिन्द्र सिंहले गर्नुभएको हो । उद्घाटनका क्रममा अध्यक्ष सिंहले पर्सामा स्याहारसम्बन्धी व्यावसायिक योजना तयार गरी सहकारीमार्फत विभिन्न प्रकारका स्याहार सेवा सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले एकीकृत रूपमा स्याहार सेवा प्रदान गर्दा सहकारीका सदस्य तथा स्याहारकर्ताको आर्थिक सशक्तीकरण हुनुका साथै सेवाग्राहीसमेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिमको मुख्य उद्देश्य स्याहार सेवा प्रदान गर्न नयाँ सहकारी स्थापना गर्न चाहने तथा विद्यमान सहकारीलाई स्याहारमुखी सेवामा रूपान्तरण गर्न चाहनेहरूलाई चरणबद्ध मार्गदर्शन प्रदान गर्नु रहेको छ । साथै, सहकारी स्थापना वा स्तरोन्नतिका क्रममा उचित निर्णय लिन सहजीकरण गर्ने तथा बाल स्याहार सहकारी सञ्चालनका लागि व्यावसायिक योजना तयार गर्न सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य राजेश पण्डितले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा मुख्य सहजकर्ता सुरज पण्डित र सहयोगी सहजकर्ता रामाकान्त चौधरीले सहजीकरण गरिरहनुभएको छ ।

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

0

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन गराएको छ ।

विद्यालयको स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा सञ्चालन गरिएको सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत शनिबार वीरगंजस्थित घण्टाघरको शिव मन्दिर परिसरमा निःशुल्क भोजन सेवा आयोजना गरिएको हो ।

संस्थाले प्रत्येक महिनाको एक शनिबार निःशुल्क भोजन सेवा सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत आयोजित कार्यक्रममा करिब २४० जनाले भोजन ग्रहण गरेका थिए ।

कार्यक्रममा गौतम समाज कल्याण संस्थाका अध्यक्ष गणेश क्षेत्री, उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, अल्भिन रेन्जर, सिपेन्द्र गुप्ता, सौराज प्रधानलगायत विद्यालयका शिक्षक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

विद्यालयको स्वर्ण जयन्तीलाई उत्सवमा मात्र सीमित नराखी समाजसेवा, सहयोग र मानवीय करुणाको भावना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै समाजमा सकारात्मक योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘दशैं–तिहार भन्दै जनता अलपत्र पार्न पाइँदैन’ : प्रभु साह

0

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढीपीडितसहित देशभरका बाढी तथा प्राकृतिक विपद्का पीडितलाई तत्काल राहत उपलब्ध गराउँदै पुनर्निर्माणको काम अघि बढाउन छुट्टै प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन् ।

दशैं, दीपावली, छठलगायतका चाडपर्वको अवसरमा आजपा काठमाडौं उपत्यका विशेष कमिटीले शनिबार काठमाडौंको कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना सन्देश दिदै अध्यक्ष साहले बाढीपीडितको अवस्था अझै पनि दयनीय रहेको भन्दै उनीहरूको पीडालाई बेवास्ता गरेर चाडपर्व मनाउन नसकिने बताएका हुन् ।

आजपा अध्यक्ष साहले भने, “बाढीपीडितको अवस्था विजोग छ । बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व हुन्छ ?” उनले विपद्मा परेका नागरिकलाई राज्यले अभिभावकत्व प्रदान गर्नुपर्ने भन्दै राहत वितरणसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रभावकारी र दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भोटेकोशी बाढीबाट प्रभावित नागरिकसहित देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारको पुनस्र्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । तत्काल राहत, क्षतिको मूल्यांकन, सुरक्षित पुनस्र्थापना तथा भौतिक संरचनाको पुनर्निर्माणलाई एउटै योजनाअन्तर्गत अघि बढाउन अधिकारसम्पन्न प्राधिकरण गठन गर्नुपर्ने माग उनले सरकारसंग गरे ।

अध्यक्ष साहले चाडपर्वको समयमा बजारमा हुने महँगी, कालोबजारी र मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोपसमेत लगाए । नागरिकले चाडपर्व मनाउने समयमा दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र उचित मूल्य सुनिश्चित गर्नुपर्ने भए पनि सरकारले त्यसतर्फ प्रभावकारी अनुगमन गर्न नसकेको उनले बताए ।

विशेषगरी चाडपर्वका बेला खाना पकाउने ग्यास तथा घरायसी प्रयोजनमा प्रयोग हुने विभिन्न सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने साहको भनाइ छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र उपभोक्तामाथि मनपरी मूल्य थोपर्ने प्रवृत्तिमाथि कडाइका साथ निगरानी गर्न उनले सरकारसँग आग्रह गरे ।

साहले चाडपर्वका नाममा अत्यावश्यक सार्वजनिक सेवा अवरुद्ध हुन नहुनेमा पनि जोड दिए । शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवा २४सै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै उनले नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका सेवामा चाडपर्वको प्रभाव पर्न दिन नहुने बताए ।

“दशैं, दीपावली वा छठका नाममा अत्यावश्यक सेवा बन्द गर्न मिल्दैन,” आजपा अध्यक्ष साहले भने, “स्वास्थ्य सेवा र शान्ति सुरक्षा २४सै घण्टा सुनिश्चित हुनुपर्छ ।”

चाडपर्वका बेला ठूलो संख्यामा मानिस आवतजावत गर्ने भएकाले शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए । विशेषगरी बढी भिडभाड हुने धार्मिक तथा पर्यटकीय स्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन, सार्वजनिक यातायातलाई व्यवस्थित गर्न तथा नागरिकको आवागमन सहज बनाउन सरकार र सुरक्षा निकायले विशेष योजना बनाउनुपर्ने साहको भनाइ छ ।

उनले सार्वजनिक यातायातमा हुने मनपरी भाडा असुली तत्काल नियन्त्रण गर्नसमेत माग गरे । चाडपर्वको समयमा यात्रुको चाप बढ्ने मौका छोपेर यातायात व्यवसायीले मनपरी भाडा लिने तथा यात्रुलाई दुःख दिने अवस्था आउन नदिन प्रभावकारी अनुगमन र कारबाही आवश्यक रहेको उनले बताए ।

त्यस्तै, राजमार्ग तथा मुख्य सडकमा हुने अवरोध तत्काल हटाउने व्यवस्था मिलाउनुपर्नेमा पनि साहले जोड दिए । बाढी, पहिरो वा अन्य कारणले सडक अवरुद्ध भएमा यात्रु तथा सर्वसाधारण लामो समयसम्म अलपत्र पर्ने अवस्था आउन नदिन सम्बन्धित निकायलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्नुपर्ने उनले बताए ।

साहले चाडपर्वलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्ने बताए । मुख्य सडक तथा राजमार्गमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाउँदै दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थापन तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्न उनले सरकारसँग आग्रह गरे ।

उनले विद्युत् आपूर्ति, खानेपानी, सञ्चार तथा आकस्मिक उद्धार र राहतजस्ता सेवामा कुनै समस्या आउन नदिन सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्नुपर्ने बताए । चाडपर्वका बेला कुनै पनि स्थानमा आपतकालीन अवस्था सिर्जना भए तत्काल उद्धार तथा राहत पु¥याउने संयन्त्र सक्रिय हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष साहले चाडपर्वलाई केवल उत्सवको रूपमा नभई विपद्मा परेका नागरिकको पीडा सम्झने अवसरका रूपमा पनि लिनुपर्ने बताए । राज्यले सबै नागरिकलाई समान रूपमा हेर्दै विपद्पीडित, गरिब तथा विपन्न परिवारको जीवन सहज बनाउनेतर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले देशभरका नागरिकलाई दशैं, दीपावली तथा छठलगायतका पर्वको शुभकामना दिँदै चाडपर्वका समयमा सरकारलाई नागरिकको सुरक्षा, सेवा र सहजताका विषयमा संवेदनशील बन्न आग्रह गरे ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष पासाङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा आजपा सहअध्यक्ष तिलक थापामगर, उपाध्यक्ष धनकुमारी मगर, महासचिव त्रिभुवन साह, उपमहासचिव देवी पण्डित रेग्मी, प्रवक्ता सुभाष साह, सचिव बिजय यादव लगायतको सहभागिताका रहेको कार्यक्रमका सञ्चालक एवं उपत्यका विशेष कमिटी सचिव रवि ध्वज कार्कीले जनाएका छन् ।