Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 94

जगरनाथपुरमा रास्वपाको प्रथम भेला सम्पन्न, प्रशुराम साह बने गाउँपालिका सभापति

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जगरनाथपुर गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले प्रशुराम साहको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका समिति गठन गरेको हो ।

नवगठित समितिको सभापतिमा प्रशुराम साह, उपसभापतिमा नुर आलम राउत गद्दी तथा सचिवमा जन्नजय प्रसाद यादव चयन भएका छन् । त्यसैगरी समितिकाे सदस्यहरूमा रिता देवी, सुनिल प्रसाद यादव, म. हविल गद्दी, हरिकिशोर मुखिया विन, रामबाबु प्रसाद चौहान, सुनिल कुमार चौरसिया, अनिता कुमारी र सोनामती देवी चुनिएका छन् ।

भेला रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राको सभापतित्व तथा रास्वपा मधेश प्रदेश सभापति ई. तपेश्वर यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भेलामा जिल्ला सभापति हरि पन्त, उपसभापति तुलसा पौडेल अधिकारीलगायत पार्टीका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न वडा समितिका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

रास्वपा बाराको बैठकमा कुटाकुट, दुई नगर सभापतिसहित तीन जना घाइते

0

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठक शनिबार तनावग्रस्त बनेको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित बैठकमा संस्थापन पक्ष र संस्थापक कार्यकर्ताबीच विवाद चर्किँदा कुटाकुटको अवस्था सिर्जना भएको हो ।

झडपमा रास्वपाका महागढीमाई नगर सभापति बिक्रम यादव, सिम्रौनगढ नगर सभापति साहेब अन्सारीसहित तीन जना घाइते भएका छन् । घाइतेहरूको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

रास्वपा बाराका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका कार्यकर्ताले बैठकमा पुराना तथा संस्थापक कार्यकर्तामाथि हातपात भएपछि स्थिति तनावपूर्ण बनेको आरोप लगाएका छन् । उपचाररत महागढीमाई नगर सभापति बिक्रम यादवले प्रतिनिधिसभा सदस्य अरविन्द साहले आफ्नो हात समातेर बाहिरबाट ल्याइएका व्यक्तिमार्फत कुटपिट गराएको आरोप लगाए ।

असन्तुष्ट पक्षका अनुसार स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टिकट पहिले नै बिक्री गरिएको सूचना बाहिरिएपछि सो विषयमा स्पष्टीकरण माग्दा विवाद सुरु भएको थियो । बैठकमा नयाँ प्रवेश गरेका व्यक्तिहरूले कार्यसमितिमा कब्जा गर्न खोजेको तथा लामो समयदेखि संगठन निर्माणमा लागेका कार्यकर्तालाई पाखा लगाइएको भन्दै संस्थापक पक्ष रुष्ट बनेको बताइएको छ ।

केन्द्रबाट प्रतिनिधि कामनी चौधरीलाई पठाएर विवाद समाधानका लागि विस्तारित बैठक राखिए पनि स्थिति नियन्त्रण बाहिर गएको सहभागीहरूले बताएका छन् । विवाद बढेपछि आक्रोशित कार्यकर्ताहरूले बैठकस्थलमा उपस्थित बाराका चारै जना सांसदहरूमाथि समेत हातपातको प्रयास गरेका थिए ।

स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले क्षेत्र नं. १ का सांसद गणेश धिमाल, क्षेत्र नं. २ का सांसद चन्दन सिंह, क्षेत्र नं. ३ का सांसद अरविन्द साह, क्षेत्र नं. ४ का सांसद रहबर अन्सारी तथा केन्द्रीय प्रतिनिधि कामनी चौधरीलाई सुरक्षा घेराभित्र राखेर बैठकस्थलबाट बाहिर निकालेका थिए ।

यता, बैठकस्थलबाट बाहिरिएका सांसदहरूले कलैयास्थित बरेवा दरबार होटलमा पत्रकार सम्मेलन गर्दै सञ्चारमाध्यममा आएका सांसदहरु लेखेटिए समाचारको खण्डन गरेका छन् । सांसद गणेश धिमाल, चन्दन सिंह र अरविन्द साहले बैठकमा कुनै अप्रिय घटना नभएको दाबी गर्दै आफूहरूमाथि कुटपिट नभएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले जिल्ला अधिवेशनको सन्दर्भमा बैठक आयोजना गरिएको र निष्काशित पक्षले कार्यक्रम बिथोल्न खोजेको आरोप लगाए । उनले विवादका बाबजुद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको दाबी गरे ।

गत वैशाख २७ गते रास्वपाको केन्द्रीय समितिले बारा जिल्ला कार्यसमिति विघटन गरेको थियो । त्यस लगतै फैरी जेठ ६ गते संस्थापक जिल्ला सभापति चन्दन स्वर्णिकारकाे रास्वपाले सदस्यता खारेज गरेपछि जिल्ला संगठनभित्रको विवाद झन् गहिरिँदै गएको देखिएको छ ।

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

0

वीरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहलाई आफ्नो राजनीतिक सल्लाहकार (Political Advisor) पदमा नियुक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद साहले अर्जुन शाहको अनुभव, योग्यता, क्षमता, राजनीतिक सुझबुझ, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा रहेको योगदानलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी राजनीतिक सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको वताए ।

सांसद साहले संसदीय कार्य, जनसम्पर्क, नीति तथा परामर्श तथा निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित विविध विषयमा आवश्यक राजनीतिक सुझाव, सल्लाह र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांसद साहले जेनजी अगुवा समेत रहेका अर्जुन शाहलाई जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न राजनीतिक सल्लाहकारमा न्युक्त गरेको जनाएका छन् ।

क्रियाशील युवा पत्रकार मञ्चको बैठक सम्पन्न, रक्तदान कार्यक्रम गर्ने निर्णय

0

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो कार्यसमिति बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । बैठकले संस्थालाई थप विस्तार गर्ने तथा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने लगायत महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले पहिलो चरणमा पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा कार्यरत १० जना पत्रकारलाई सदस्यता वितरण गर्ने निर्णय गरेको जनाएको छ । साथै नेपाल रेडक्रस सोसाइटी पर्सामा रगतको अत्यधिक माग रहेको तथा रक्तसञ्चार केन्द्रको अनुरोधलाई मध्यनजर गर्दै आगामी जेठ २३ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको छ ।

संस्थाका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय विषयवस्तु तथा जनसरोकारका मुद्दालाई आगामी दिनमा प्राथमिकताका साथ उठाउने निर्णय समेत गरिएको बताइएको छ ।

बैठकमा संस्थाका निवर्तमान अध्यक्ष प्रणय साह, उपाध्यक्ष वीरेन्द्र साह, सचिव ओमप्रकाश सराफ, कोषाध्यक्ष उपेन्द्र कुमार बरै लगायत सदस्यहरू सुनिल ओझा, आरोहण साह, मुकेश यादव, कान्हिया बर्नवाल, अर्जुन पण्डित तथा दिपेश ठाकुरको उपस्थिति रहेको थियो ।

रास्वपा बारा विस्तारित बैठकमा तनाव, सांसदहरू बैठक स्थलबाट लखेटिए

0

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव उत्पन्न हुँदा प्रतिनिधिसभा सदस्य (सांसद)हरू बैठक स्थलबाटै लखेटिएका छन् ।

शनिबार कलैयामा आयोजित बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्यहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह सहित पार्टीका नेताहरू सहभागी भएका थिए ।

बैठकमा सहभागी कार्यकर्ताहरूका अनुसार सांसद पक्षले संस्थापक समूहलाई दबाबमा पार्न खोजेपछि विवाद चर्किएको थियो । विवाद बढ्दै जाँदा आक्रोशित कार्यकर्ताले सांसदहरूलाई धक्का दिँदै बैठक स्थलबाट बाहिर निकालेका थिए ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ । घटनापछि बैठकस्थल केहीबेर तनावग्रस्त बनेको थियो ।

यही जेठ ६ गते मात्रै बाराका संस्थापक जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज गरिएपछि रास्वपा बारा जिल्लाभित्रको आन्तरिक विवाद थप गहिरिएको बताइएको छ ।

पर्सामा १६औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

0

वीरगंज । पर्सामा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । वीरगंजस्थित नारायणी रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य सचिव गुप्ताले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई अनुशासनका साथ आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्न आग्रह गरे । प्रमुख अतिथिका रूपमा बोल्दै उनले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सफल बनाउन सुरक्षा, व्यवस्थापन तथा प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्ने बताए ।

पर्सा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । प्रतियोगितामा वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, संखुवा प्रसौनी गाउँपालिका र ठोरी गाउँपालिकाका ३७५ विद्यार्थी सहभागी भएका छन् ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो लगायत विभिन्न खेल समावेश गरिएका छन् । जिल्लाभरका विद्यालयका छात्र–छात्राबीच हुने प्रतिस्पर्धाले खेल प्रतिभा पहिचान तथा खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको समितिले जनाएको छ ।

पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख महमद नाजिर हुसेन, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला, नेपाली सेनाको श्री जंग गण वीरगंजका उपसेनानी सन्देश तामाङ, नेपाल कबड्डी संघका केन्द्रीय सचिव महम्द फिरोज शेख, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, पत्रकार शम्भु कुमार सुमन तथा एथलेटिक्स प्रशिक्षक विश्वेश्वर पटेल र आकाश पटेल लगायतको सहभागिता रहेको थियो ।

दुर्गा प्रसाईंलाई आइतबारसम्म रिहा गर्न सर्वोच्चको आदेश

0

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई धरौटी वा जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

संयाेजक प्रसाईंलाई पर्सा जिल्ला अदालतले आगामी आइतबारसम्म हिरासतमै राख्न अनुमति दिएको थियो । तर सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले आगामी आइतबारभित्रै अनुसन्धान सक्न परमादेश दिएको हो ।

अदालतले उक्त अवधिभित्र मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोहीअनुसार प्रक्रिया अघि बढाउन र निर्णय हुन नसकेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

संहिताको दफा १५ अनुसार अनुसन्धानको क्रममा हिरासतमा रहेको व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिए अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमतिमा धरौटी वा जमानतमा रिहा गर्न सक्ने व्यवस्था रहेको छ । सर्वोच्च अदालतले सोही कानुनी व्यवस्थाअनुसार प्रसाईंको हकमा थपिएको म्याद सकिने दिन रिहा गर्न आदेश दिएको हो ।

प्रसाईंलाई पक्राउपछि अनुसन्धानका लागि दुई पटक गरी सात दिन म्याद थप गरिएको थियो । उनी घाँटीको क्यान्सरबाट पीडित रहेको तथा नियमित उपचाररत अवस्थामा रहेको उल्लेख गर्दै अदालतले थुनामा राखिरहनु उपयुक्त नदेखिएको जनाएको छ ।

आदेशमा भनिएको छ, “निज भागी जाने वा प्रमाण लोप गर्ने वस्तुनिष्ठ आधार कारणसमेत लिखित जवाफबाट विद्यमान नदेखिएको स्थितिमा निजलाई थप अवधि थुनामा नै राखी मुद्दा पुर्पक्ष गर्नु पर्नेसम्मको मनासिब अवस्था देखिएन ।”

वीरगंज आएका प्रसाईंलाई गत सोमबार राति उनी बसेको सिद्धार्थ दियालो होटलबाट प्रहरी नियन्त्रणमा लिएको थियो । त्यसपछि उनका समर्थकहरूले प्रसाईंको रिहाइको माग गर्दै वीरगंजमा प्रदर्शन गर्दै आएका छन् ।

मधेश क्रिकेट लिगको उपाधि लगातार दोस्रो पटक बारालाई

0

वीरगंज । मधेश क्रिकेट लिगको दोस्रो संस्करणको उपाधि बाराले लगातार दोस्रो पटक जितेको छ । वीरगंजस्थित टीबी साह क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा बाराले धनुषालाई १२८ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङ गरेको बाराले २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । बाराका लागि सुशान्त सिंहले ५१ रन तथा अरनिको यादवले ५० रनको अर्धशतकीय योगदान दिएका थिए । धनुषाका रुपेश यादव र आयुष यादवले समान २/२ विकेट लिए ।

१९४ रनको लक्ष्य पछ्याएको धनुषा १४ ओभर ४ बलमा ६५ रनमै समेटियो । बाराका कमल गुप्ता ले ३.४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे ।

अरनिको यादव ब्याटिङसँगै बलिङमा पनि प्रभावशाली प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका बाराका कप्तान अनिल साह १५७ रन र १३ विकेटसहित ‘प्लेयर अफ दि सिरिज’ घोषित भए ।

मधेश प्रदेश क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा मधेश प्रदेशका आठवटै जिल्लाका टिम सहभागी थिए । विजेता टोलीलाई मधेश खेलकुद परिषदका सदस्य सचिव शिवजी गुप्ताले ट्रफी तथा पुरस्कार राशी बराबरको चेक वितरण गरेका थिए ।

सो अवसरमा नेपाल क्रिकेट संघका उपाध्यक्ष राेशन सिंह, नेपाल क्रिकेट संघ मधेश प्रदेशका अध्यक्ष सुभाष जयसवाल, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता सुधिर पटेल, प्याप्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्याप्सन वीरगंजका सचिव अमित आलोकले गरेका थिए ।

विद्यार्थीलाई सुरक्षित डिजिटल प्रयोगबारे प्रशिक्षण

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा एवं सामुदायिक प्रहरी सेवा अन्तर्गत एलाइड युथ सोसाइटीद्वारा वीरगंजस्थित मुन लाइट सेकेन्डरी स्कुलमा प्रभावकारी साइबर अपराध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ९ र १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा साइबर सुरक्षा, डिजिटल जिम्मेवारी तथा अनलाइनमार्फत बढिरहेका विभिन्न जोखिमबारे जानकारी प्रदान गरिएको थियो । अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत विद्यार्थीहरूलाई जिम्मेवार, सचेत तथा सुरक्षित डिजिटल नागरिक बन्न प्रेरित गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रम विद्यालयका संस्थापक तथा सञ्चालक श्याम केसी को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका निर्देशक सुल्भ केसी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम सफल बनाउन विद्यालय प्रशासनले पुर्‍याएको सहयोग, आतिथ्यता तथा समन्वयप्रति आयोजक संस्थाले हार्दिक आभार व्यक्त गरेको छ ।

कार्यक्रमको नेतृत्व अंकित झाद्वारा गरिएको थियो भने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सोनी नेम्हाफुकीले प्रशिक्षण प्रदान गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्कीको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिएसपी कार्कीले पछिल्लो समय सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग बढ्दै गइरहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई सचेत र जिम्मेवार ढंगले डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरे । उनले साइबर अपराधबाट बच्न व्यक्तिगत विवरण सुरक्षित राख्न, अपरिचित लिंक तथा सन्देशप्रति सतर्क रहन र कुनै पनि अनलाइन गतिविधिमा विवेकपूर्ण निर्णय लिनुपर्ने बताए ।

उनले युवापुस्तालाई प्रविधिको सही उपयोग गर्दै सकारात्मक र सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्दै साइबर सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे ।

श्रीर्सियामा निःशुल्क आँखा शिविर, ३४ जनामा मोतियाबिन्दु भेटियो

0

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत पर्साको श्रीर्सिया क्षेत्रमा निःशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकमार्फत आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

कार्यक्रम तिलगंगा आँखा अस्पताल र सामुदायिक आँखा केन्द्र वीरगंजको संयुक्त प्राविधिक सहयोगमा सम्पन्न भएको हो भने सशस्त्र प्रहरी बल नेपाल बिओपि श्रीर्सियाले कार्यक्रमको सहजीकरण गरेको थियो । शिविरमा एक दिने मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी परीक्षण तथा पहिचान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साका गणपति मोहन बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । साथै सशस्त्र प्रहरी बल नेपाल बिओपि श्रीर्सियाका प्रहरी निरीक्षक समराज खड्का, मेडिकल संयोजक महेश सिंह धामी, छपकैया क्षेत्रका वरिष्ठ प्रहरी नेत्र राणा लगायतको विशेष उपस्थिति रहेको थियो ।

शिविरमा कुल २११ जनाको आँखा परीक्षण गरिएकोमा ३४ जनामा मोतियाबिन्दुको समस्या फेला परेको आयोजकले जनाएको छ । मोतियाबिन्दु देखिएका बिरामीहरूको तिलगंगा आँखा अस्पताल मार्फत निःशुल्क शल्यक्रिया गरिने जानकारी दिइएको छ । साथै अन्य सेवाग्राहीलाई आवश्यकताअनुसार आइड्रप तथा औषधि वितरण गरिएको थियो ।