Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
Home Blog Page 92

पर्सागढी–८ मा जसपा उम्मेदवार टेमानीको घरदैलो, अगुवा कार्यकर्ताको समर्थन

वीरगंज । पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक टेमानीको घरदैलो अभियान बुधबार पर्सागढी नगरपालिकाको वडा नं. ८ मा सम्पन्न भएको छ।

घरदैलो अभियानअन्तर्गत हरपुरस्थित अगुवा कार्यकर्ता भेला आयोजना गरिएको थियो । भेलामा सहभागी स्थानीय अगुवा कार्यकर्ताहरूले क्षेत्रका विभिन्न समस्या उम्मेदवार टेमानीसमक्ष राख्दै यसपटक विकासप्रेमी, अनुभवी र शिक्षित उम्मेदवारलाई जिताउनुपर्ने धारणा व्यक्त गरे ।

कार्यकर्ताहरूले विगतमा चुनाव जितेर गएका नेताहरू जनताको समस्या बुझ्न नआएको गुनासो गर्दै कुनै पनि प्रलोभनमा नपरी जसपाका उम्मेदवार टेमानीलाई अत्याधिक मतले विजयी गराउन मतदातासँग आग्रह गरे । साथै, जसपाका अगुवाहरू अन्य पार्टी प्रवेश गरेको भन्ने हल्ला निराधार भएको भन्दै भ्रममा नपर्न मतदाताहरूलाई सचेत गराए ।

पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिकाका विभिन्न वडा र टोलमा जसपाको बलियो जनसमर्थन रहेको दाबी गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा छाता छापमा मतदान गर्न आग्रह गरिएको थियो ।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार अशोक टेमानीले आफू क्षेत्रका समस्या प्रति जानकार रहेको बताउँदै नीतिगत तहमा पुगेर जनताको समस्या समाधान गर्न निर्वाचनमा होमिएको स्पष्ट पारे । उनले विगतदेखि नै जनसेवामा सक्रिय रहेको उल्लेख गर्दै अब नीति निर्माणको तहबाट जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उम्मेदवार टेमानीले विकासका लागि इमानदार, अनुभवी र शिक्षित नेतृत्व आवश्यक रहेको भन्दै जसपाको छाता छापमा मतदान गर्न मतदाताहरूलाई आग्रह गरे।

पर्सा ४ काे छिपहरमाईमा कांग्रेस उम्मेदवार रिजालको घरदैलो, जनतासँग प्रत्यक्ष संवाद

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ अन्तर्गत मिर्जापुर र भालुवहियामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

पूर्वमन्त्री तथा निर्वतमान सांसदसमेत रहेका उम्मेदवार रिजालले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याबारे जानकारी लिएका हुन्। उनले जनताका गुनासा र आवश्यकता सुन्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलोका क्रममा रिजालले नेपाली कांग्रेसको नीति, कार्यक्रम तथा विकास एजेन्डाबारे जानकारी गराउँदै स्थानीयस्तरका समस्या समाधानका लागि आफू दृढतापूर्वक लाग्ने बताए। उनले “जनतासँगको प्रत्यक्ष संवाद नै परिवर्तनको बलियो आधार हो” भन्दै जनताको भरोसामै आधारित राजनीति गर्ने स्पष्ट सन्देश दिए।

स्थानीयवासीहरूले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता विषयमा चासो व्यक्त गर्दै यसपटक प्रभावकारी र जवाफदेही प्रतिनिधित्वको आवश्यकता औंल्याएका थिए।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सह–सचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद, प्रदेश क्षेत्रीय सभापति दिपेन्द्र सिंहलगायत छिपहरमाईका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पर्सा ४ मा रास्वपाले पार्टी प्रवेशबारे झुटो प्रचार गरेको आरोप

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी प्रवेशको विषयमा झुटो र भ्रामक प्रचार फैलाएको आरोप लागेको छ।

दुई दिनअघि ठोरीमा सम्पन्न रास्वपाको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस गाउँपालिका सभापतिसहित विभिन्न दल परित्याग गरी ३५० जना रास्वपामा प्रवेश गरेको दाबी गरिएको थियो । तर सो दाबी पूर्ण रूपमा गलत र अफवाह मात्र रहेको स्थानीय तथा कांग्रेस नेताहरूले बताएका छन्।

रास्वपा पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले चुनावी फाइदाका लागि ठूलो संख्यामा पार्टी प्रवेश भएको भन्दै झुटो प्रचार गरेको कांग्रेसको आरोप छ ।

कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादवका अनुसार ठोरीमा आयोजित कार्यक्रममा कांग्रेस ठोरी गाउँपालिका सभापति सन्तोष श्रेष्ठ मात्र पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका हुन् । श्रेष्ठ बाहेक अन्य कुनै पनि कांग्रेस नेता वा कार्यकर्ताले पार्टी नछाडेको उनले स्पष्ट पारे । साथै, श्रेष्ठको प्रवेशले ठोरी कांग्रेसलाई कुनै असर नपरेको पनि यादवले बताए।

स्थानीय स्रोतका अनुसार उक्त कार्यक्रममा कुल ३५० जनाको उपस्थिति नै नभएकाले त्यति ठूलो संख्यामा पार्टी प्रवेश भएको दाबी विश्वासयोग्य नरहेको बताइएको छ । यसै कारण अन्य राजनीतिक दलहरूले रास्वपासँग ३५० जना प्रवेश गरेको नामावली सार्वजनिक गर्न माग गरेका छन् ।

यसअघि पनि रास्वपाले विभिन्न कार्यक्रममा सयौँको संख्यामा पार्टी प्रवेश भएको दाबी गर्दै आएको भए पनि वास्तविक सहभागिता न्यून रहने गरेको आरोप लगाइएको छ । त्यसैले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी उम्मेदवार शाक्यले आफूलाई बलियो देखाउन भ्रम फैलाउँदै आएको अन्य राजनीतिक दलहरूको आरोप छ ।

सहिदका सपना अधुरा रहन दिँदिनँ : उम्मेदवार सर्राफ

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज वडा नम्बर–१८ इनर्वामा मधेस आन्दोलनका वीर सहिद धर्मराज सिंहकी आमासँग जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सर्राफको भेट भावुक क्षणमा परिणत भएको छ।

सहिद धर्मराज सिंहको तस्बिरअघि शिर निहुराउँदै सर्राफले मधेस आन्दोलनका सम्पूर्ण सहिदहरूको सपना साकार पार्न जीवनभर संघर्ष गर्ने कठोर संकल्प व्यक्त गरे। सहिदको आमाबाट प्राप्त आँसु, पीडा र आशीर्वादलाई उच्च सम्मानका साथ स्वीकार गर्दै उनले सहिदको बलिदानी कहिल्यै बिर्सन नदिने प्रतिबद्धता जनाए।

आशीर्वाद ग्रहणपछि सर्राफले भने, “सहिदको रगतले लेखिएको इतिहास मेट्न दिइने छैन। अधिकार, पहिचान र सम्मानका लागि सहिदले देखेका सपना पूरा नभएसम्म मेरो संघर्ष रोकिने छैन।”

उनले मधेस आन्दोलन कुनै विगतको सम्झनामा सीमित नभई आज पनि जिउँदो र सान्दर्भिक मुद्दा भएको उल्लेख गर्दै सहिदको बलिदानीबाट प्राप्त उपलब्धि जोगाउन तथा आन्दोलनका एजेन्डा बचाउन आफू उम्मेदवार बनेको स्पष्ट पारे।

सर्राफले सहिदको बलिदानीलाई सत्ता र स्वार्थ केन्द्रित राजनीतिले ओझेल पार्न खोजिएको आरोप लगाउँदै त्यसविरुद्ध जनताको बलमा लड्ने अठोट दोहोर्‍याए। सहिद परिवारको पीडालाई राज्यले बेवास्ता गर्नु गम्भीर अपराध भएको टिप्पणी गर्दै उनले भने, “सहिदको सम्मान भाषणमा होइन, अधिकारको कार्यान्वयनमा देखिनुपर्छ।”

सहिदकी आमाबाट प्राप्त आशीर्वादलाई आफ्नो संघर्षको शक्ति ठान्दै सर्राफले मधेस आन्दोलनका सहिदप्रति सधैं निष्ठावान् रहने प्रतिबद्धता व्यक्त गरे।

‘लहलहीमा नपरी बुझेर मात्रै आफ्नो अमूल्य मत दिनुहोस्’ : जसपा उम्मेदवार टेमानी

वीरगंज । पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान पर्सागढी नगरपालिकाको वडा नं. ३ अन्तर्गत झुलीटार, विरुवागुठी, भाबराहलगायतका टोलहरूमा उत्साहपूर्वक सम्पन्न भएको छ। जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार टेमानीले घरदैलो अभियानलाई तीव्र बनाएसँगै पर्सा क्षेत्र नं. २ मा जसपाको प्रभाव झनै मजबुत बन्दै गएको देखिएको छ।

घरदैलो अभियानमा स्थानीय युवा, महिला तथा वृद्धवृद्धाको उल्लेखनीय सहभागिता रहेको थियो। यस क्रममा उम्मेदवार टेमानीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, पीडा र अपेक्षाबारे जानकारी लिएका थिए। संवादका क्रममा स्थानीय महिला मतदाताहरूले विगतमा निर्वाचित नेताहरूबाट पटक–पटक धोका पाएको गुनासो व्यक्त गर्दै चुनावका बेला मात्र देखिने र जितेपछि बेपत्ता हुने प्रवृत्तिले क्षेत्रका समस्या कहिल्यै समाधान हुन नसकेको बताएका थिए।

स्थानीय युवाहरूले पनि ठूलो–ठूलो नारा बोकेर भोट माग्ने तर राजनीतिलाई व्यापार बनाउने पुराना अनुहारहरूप्रति आक्रोश व्यक्त गरे। उनीहरूले यस्ता उम्मेदवारलाई यसपटक मतपत्रमार्फत जवाफ दिने चेतावनी दिँदै पर्सा क्षेत्र नं. २ का जनताहरू अब सचेत भइसकेको बताए। पुराना उम्मेदवारहरू अहिले पनि उम्मेदवारी दिएर जनतामाझ नआएको उल्लेख गर्दै उनीहरूले विकल्पका रूपमा जसपा उम्मेदवार अशोक टेमानी नै उपयुक्त रहेको धारणा राखे।

शिक्षामा अब्बल तथा सफल उद्योगीका रूपमा परिचित टेमानीले जनताको वास्तविक समस्या समाधान गर्ने उद्देश्यले चुनावी मैदानमा उत्रिएको भन्दै स्थानीय मतदाताहरूले उनलाई पूर्ण समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो अभियानकै क्रममा मतदाताका गुनासालाई सम्बोधन गर्दै उम्मेदवार टेमानीले जनताको समस्या, किसानका पीडा र क्षेत्रका आवश्यकतालाई गहिरोसँग बुझेर समाधान खोज्न आफू उम्मेदवार बनेको बताए। उनले लहलहीमा नपरी सक्षम, इमानदार र जनताप्रति उत्तरदायी व्यक्तिलाई मत दिन आग्रह गरे।

उनले भने, “तपाईंहरू एउटै पार्टीलाई जिताएर पाँच वर्षसम्म हेर्नुहोस्, काम भएन भने ढुंगा हान्नुस्। राम्रो मान्छे छानेर आफ्नो अमूल्य मत प्रयोग गर्नुहोस्।” मतदाताको एउटै भोटले ठूलो परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै उनले उम्मेदवारको क्षमता, पृष्ठभूमि र कार्यक्षमताको मूल्याङ्कन गरेर मात्र मत दिन आग्रह गरे।

घरदैलो अभियानमा जसपाका नेता–कार्यकर्ता, स्थानीय युवा, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

जनताको सुखदुःखमा साथ दिने नेतालाई जिताउनुस् : एमाले उम्मेदवार प्रदीप यादव

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले जनताको सुखदुःखमा सधैं साथ दिने नेतालाई मात्रै मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।

मंगलबार वीरगंजमा आयोजित नेकपा एमाले शुभेच्छुक पर्सा जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले चुनावका बेला मात्र देखिने र अरु समयमा जनताबाट टाढा रहने नेताहरू पुनः उम्मेदवार बनेर आएको टिप्पणी गरे। त्यस्ता नेताहरूबाट जनताले सजग रहनु आवश्यक रहेको उनको भनाइ थियो।

“जनताको हरेक सुखदुःख, आपत–विपतमा निरन्तर साथ दिने उम्मेदवारलाई नै भोट दिएर जिताउनुस्,” यादवले भने। उनले यसपटकको निर्वाचनमा पर्साका चारै निर्वाचन क्षेत्रमा जनताको सेवामा खटिने उम्मेदवारलाई मैदानमा उतारेकाले एमालेले चारै क्षेत्रमा अत्यधिक बहुमतका साथ जित हासिल गर्ने दाबीसमेत गरे।

यादवले पर्सा जिल्लाका विभिन्न पालिकामा पानीको चरम अभाव हुँदा आफू खानेपानी मन्त्रीको हैसियतमा जनताको घर–घरमा पुगेर सेवा गरेको स्मरण गराए। उनले त्यस बेला अहिले उम्मेदवार बनेर आएका धेरै नेताहरू जनताको दैलोमा नदेखिएको दाबी गरे।

“वीरगंजसहित पर्साका पालिकामा पानीको हाहाकार हुँदा म मन्त्रीको रूपमा जनताको घरमा पुगेँ, पानी खुवाएँ,” उनले भने, “त्यसैले फागुन २१ गतेको मतदानमा जनताले दुख र विपतमा साथ दिने नेता चुन्नुहुनेछ भन्नेमा म विश्वस्त छु।”

उनले आगामी निर्वाचनमा एमालेले जित हासिल गर्दै संविधानको संरक्षण र देशको स्थायित्व सुनिश्चित गर्ने दाबीसमेत गरे।

प्याब्सन टी–२०ः सनलाईट क्वार्टरफाइनलमा, सेन्ट जेभियर्स र मुनलाईट सेमिफाइनल प्रवेश

वीरगंज । वीरगंजमा जारी प्याब्सन अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा सनलाईट माध्यमिक विद्यालय क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने सेन्ट जेभियर्स र मुनलाईट माध्यमिक विद्यालय सेमिफाइनलमा पुगेका छन्।

प्रतियोगिताको पहिलो खेलमा सनलाईट मावि र अल्पाईन मावि आमनेसामने भएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको अल्पाईन माविले भिजिबिलिटी कम भएका कारण ११ ओभरमा सीमित खेलमा ९ विकेटको क्षतिमा ३६ रन मात्र बनायो। जवाफमा सनलाईट माविले ३७ रनको लक्ष्य १ विकेटको नोक्सानीमा ४.२ ओभरमै पूरा गर्दै ९ विकेटले जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो।

दोस्रो खेलमा सेन्ट जेभियर्स मावि र गौतम मावि भिडेका थिए। टस जितेर ब्याटिङ रोजेको सेन्ट जेभियर्सले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ६६ रन बनायो। जवाफमा गौतम मावि ८ विकेट खर्चिए पनि ६२ रनमै समेटिएपछि सेन्ट जेभियर्स मावि ४ रनले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

तेस्रो खेलमा मनकामना मावि र मुनलाईट मावि बीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको मनकामना माविले १५ ओभरमा ९ विकेटको क्षतिमा ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा मुनलाईट माविले १४.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि ५ विकेटको जितसहित सेमिफाइनल यात्रा तय गर्‍यो।

प्रतियोगिताअन्तर्गत भोलि माघ २१ गते बाँकी दुई क्वार्टरफाइनल खेलहरू हुनेछन्। जसमा बीरगन्ज एकेडेमी र गोल्डेन फ्युचर तथा डीएभी र सनलाईट मावि बीच प्रतिस्पर्धा हुनेछ।

पर्सा ४ काे छिपहरमाईमा कांग्रेसको चुनावी गतिविधि तीव्र, उम्मेदवार रमेश रिजाल सक्रिय

वीरगंज । पर्सा क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले छिपहरमाई गाउँपालिका वडा नम्बर–२ मा मंगलबार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्।

पूर्वमन्त्री एवं निर्वतमान सांसदसमेत रहेका उम्मेदवार रिजालले घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै यसपटकको निर्वाचनमा आफुलाई अन्तिम पटक सहयाेग गर्न आग्रह गरे । देश अहिले विषम परिस्थितिमा रहेको उल्लेख गर्दै उनले संकटका बेला कांग्रेसले नै सधैं निकास दिएको इतिहास रहेको स्मरण गराए।

उनले लोकतन्त्रको रक्षा, स्थायित्व र विकासका लागि नेपाली कांग्रेसको जित अनिवार्य रहेको बताउँदै मतदातालाई सचेत निर्णय लिन आग्रह गरे । स्थानीय विकास, सेवा प्रवाह र जनताका समस्या समाधानमा कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सह–सचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त यादव, प्रदेश क्षेत्रीय सभापति दिपेन्द्र सिंहलगायत छिपहरमाईका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका विषयमा आफ्ना गुनासा र सुझावहरू राखेका थिए भने उम्मेदवार रिजालले तिनलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

पर्साका चारै क्षेत्रमा एमालेको जित सुनिश्चित छ : उम्मेदवार रुपेश पाण्डे

वीरगंज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर–३ का उम्मेदवार रुपेश पाण्डेले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेको जित सुनिश्चित हुने दाबी गरेका छन् । मंगलबार आयोजित एमाले पर्साको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एकजुट भएर लागेमा चारै क्षेत्रमा सहज रूपमा विजय हासिल गर्न सकिने बताए।

उम्मेदवार पाण्डेले वर्तमान अवस्थामा चारैतर्फबाट एमालेमाथि आक्रमण भइरहेको उल्लेख गर्दै पार्टीभित्रका सबै कमजोरी, असमझदारी र मनमुटावलाई त्यागेर एकताबद्ध रूपमा अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । उनले फागुन २१ गते हुने निर्वाचनमा जिल्लाभरका नेता–कार्यकर्ताहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।

उनले विगतमा विभिन्न कारणले पार्टीबाट निष्क्रिय भएका नेता तथा कार्यकर्ताहरूलाई पुनः पार्टीमा फर्किन र सक्रिय भूमिकामा आउन पनि आग्रह गरे । एमाले बलियो बनाउन सबैको योगदान आवश्यक रहेको उनको भनाइ थियो ।

नेकपा एमाले पर्साका अध्यक्ष विश्वभर शर्माको अध्यक्षता तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादव, क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादव, क्षेत्र नम्बर–४ का उम्मेदवार जालिम मियाँलगायत जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बहुदरमाई नगरपालिका प्रमुख सिंगासन साह नेकपा एमालेमा प्रवेश

वीरगंज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष तथा बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेली नेकपा एमालेमा प्रवेश गरेका छन्। मंगलबार आयोजित एमाले पर्साको जिल्लास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनलाई एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

एमाले पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादवका निकट मानिने तेली मंगलबार मात्र एमाले प्रवेश गरेका हुन्। यसअघि जसपाबाट निर्वाचित वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह पनि एमाले प्रवेश गरिसकेका थिए। यद्यपि, उनलाई पनि मंगलबारकै कार्यक्रममा उपाध्यक्ष बादलले पार्टीमा स्वागत गरेका थिए।

पूर्वमन्त्री एवं पर्सा १ का निर्वतमान सांसद प्रदीप यादव माघ ५ गते एमाले प्रवेश गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसमेत उपस्थित रहेका थिए । सोही राजनीतिक घटनाक्रमको निरन्तरताका रूपमा सिंगासन साह तेलीको एमाले प्रवेशलाई हेरिएको छ।

स्रोतका अनुसार बहुदरमाई नगरपालिकाका प्रमुख तेलीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट प्रमुखको टिकट पाउने आश्वासनपछि मात्र पार्टी प्रवेश गरेका हुन्। उनको प्रवेशसँगै पर्सा क्षेत्र नम्बर–२ मा पनि एमाले थप बलियो बनेको बताइएको छ । पर्सा क्षेत्र नम्बर–२ बाट एमालेकी उम्मेदवार रिमा कुमारी यादव रहेकी छन्।

पूर्वमन्त्री प्रदीप यादवले यसअघि जनता समाजवादी पार्टी नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गर्दा सिंगासन साह तेली र राजेशमान सिंह उनीसँगै थिए । पछिल्लो समय मधेशवादी राजनीतिबाट अलग हुँदै उनीहरू एमालेमा समाहित भएका हुन्, जसको उद्देश्य आगामी निर्वाचनमा जसरी पनि विजय सुनिश्चित गर्नु रहेको नेताहरूको भनाइ छ।