Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
Home Blog Page 76

पर्सा–३ मा जसपा नेता जटाशंकर यादव एमालेमा प्रवेश

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नम्बर १ निवासी तथा जनता समाजवादी पार्टी (जसपा) का वडा कमिटी अध्यक्ष जटाशंकर यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

रंगपुरस्थित एमाले सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, पर्सा–३ का प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डे तथा नेता हरीबाबु चौधरीले खादा तथा टीका लगाएर यादवलाई पार्टीमा स्वागत गरेका हुन्।

बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिगाशन साहको सक्रिय पहल र समन्वयमा सम्पन्न उक्त कार्यक्रमलाई एमालेले संगठन विस्तारको महत्वपूर्ण कडीका रूपमा लिएको जनाएको छ। स्थानीय तहमा प्रभावशाली छवि बनाएका यादवको आगमनले बहुदरमाई क्षेत्रमा एमालेको सांगठनिक पकड थप मजबुत हुने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।

यसअघि बिहीबार पनि जसपाका मधुसुधन चौरसियासहितका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका थिए। पर्सा–३ मा युवा उम्मेदवार पाण्डेले विकास, सुशासन र स्थायित्वका एजेन्डा अघि सार्दै जनसमर्थन बढाइरहेको एमाले स्रोतको दाबी छ।

एमाले वृत्तले यस प्रवेशलाई पर्सा–३ मा पाण्डेको पक्षमा देखिएको बढ्दो जनलहरको संकेतका रूपमा व्याख्या गरेको छ। पछिल्लो समय विभिन्न दलका स्थानीय नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने क्रम तीव्र बन्दै जाँदा पर्सा–३ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

छिपहरमाई–३ मा कांग्रेसको घरदैलो, रमेश रिजाललाई विजयी गराउने प्रतिबद्धता

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर ३ झलमहिया, जयमंगलापुर, बुडगायी गाउँमा नेपाली कांग्रेसको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाउँदै कांग्रेसका उम्मेदवार रमेश रिजाललाई अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयले रिजाललाई आशीर्वाद दिँदै विकास र समृद्धिका एजेन्डामा अघि बढ्न समर्थन रहने बताएका थिए ।

कार्यक्रममा उम्मेदवार रिजालसँगै कांग्रेसका नेता शंकर प्रसाद चौधरी, रमेश पाण्डे, नवीन सिंह, श्रीकान्त प्रसाद यादव, धर्मेन्द्र कुमार पटेल तथा वडा नम्बर ३ का बुथ सभापति कृष्ण सिंहलगायतको उपस्थिति रहेको थियो।

घरदैलोका क्रममा रिजालले जनताका समस्या, गुनासा र सुझाव सुन्दै आगामी दिनमा जनचाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर ४ मा कांग्रेसले प्रचार–प्रसार अभियानलाई थप तीव्र बनाएको जनाएको छ।

वीरगंज–२३ मा जसपा त्याग्दै २५० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने वीरगंज महानगरपालिका वडा नम्बर २३ का जसपाका वडा इकाई कमिटी अध्यक्षसहित २५० भन्दा बढी स्थानीय नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

शुक्रबार बिहान प्रसौनीमा आयोजित पार्टी प्रवेश तथा वडा भेलामा जसपाका वडा इकाई कमिटी अध्यक्ष जमुना यादव, सचिव मनोज कुमार यादव तथा स्थानीय नेता नन्दु किशोर यादव, कालिम अन्सारी, जयराम साह गोढ, जगरनाथ महतो, कृष्णा कुशवाह, रुदल सहनी र श्याम किशोर यादवलगायत नेता–कार्यकर्ताले एमाले रोजेका हुन् ।

कार्यक्रममा नवप्रवेशीहरूलाई पर्सा–१ का एमाले उम्मेदवार प्रदीप यादवले अबीर टीका लगाएर स्वागत गर्दै वडा नम्बर २३ मा एमाले थप सशक्त बनेको दाबी गरे । उनले ‘जेनजी आन्दोलन’ पश्चात देश र संविधानको रक्षा गर्न सक्ने एकमात्र शक्ति एमाले भएको जिकिर गरे। मधेस आन्दोलनबाट प्राप्त संघीयता र समावेशीताजस्ता उपलब्धिको संरक्षण एमालेले नै गर्न सक्ने विश्वासका आधारमा आफूले उम्मेदवारी दिएको पनि उनले बताए।

यादवले पर्सा–१ मा प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूमाथि कटाक्ष गर्दै जनतासँग जोडिएका नेतृत्वको अभाव रहेको टिप्पणी गरे। “कोही बाहिरका जिल्लाबाट आएका होटल व्यवसायी छन्, कोही उद्योगपति। ती उम्मेदवारहरू जनताको दुःख–सुखमा कहिल्यै देखिएनन्, चुनावका बेला मात्र भोट माग्न आउँछन्,” उनले भने।

उनले कोरोना महामारी तथा खानेपानी संकटजस्ता विपत्तिका बेला जनतासँगै खटिएको नेतृत्वको मूल्यांकन गरी फागुन २१ को निर्वाचनमा मतदान गर्न मतदातासँग अपिल गरे।

एमाले वडा कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, वडाध्यक्ष अवध कुशवाहालगायतको उपस्थिति रहेको थियो।

पर्सा ३ मा रुपेश पाण्डेलाई जिताउन ३ केन्द्रिय नेता खटाइयाे

वीरगंज । नेकपा एमाले ले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टीका उम्मेदवार रुपेश कुमार पाण्डेयलाई जिताउन चुनावी अभियान सुदृढ गर्न तीन जना शीर्ष नेतालाई खटाउने निर्णय गरेको छ।

पर्सा–३ मा उम्मेदवार पाण्डेयको पक्षमा जनलहर बढ्दै गएको निष्कर्षसहित पार्टी नेतृत्वले केन्द्रीय उपमहासचिव योगेश भट्टराई, अध्यक्ष केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे लाई उक्त क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको हो।

उम्मेदवार पाण्डेयका अनुसार तीनै जना नेता आगामी आइतबारदेखि पर्सा–३ मा आएर चुनावी अभियानमा सक्रिय रूपमा खटिनेछन्। चुनाव अवधिभर उनीहरू क्षेत्रमै रहेर संगठन परिचालन, चुनावी रणनीति तथा कार्यक्रम व्यवस्थापनमा प्रत्यक्ष निर्देशन र निगरानी गर्ने जनाइएको छ।

शीर्ष तहका नेताहरूको आगमनले आफ्नो जित थप सुनिश्चित हुने विश्वास व्यक्त गर्दै पाण्डेयले पर्सा–३ मा आयोजना हुने एमालेका प्रमुख चुनावी कार्यक्रमहरूमा तीनै जना नेताको सहभागिता रहने बताए। उनले अभियानलाई अझ प्रभावकारी बनाउँदै मतदातासँगको प्रत्यक्ष सम्पर्कलाई तीव्रता दिइने उल्लेख गरे।

राससको ६५औँ वार्षिकोत्सवमा हिमाल लम्साल पुरस्कृत

वीरगंज । राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट आलेख समाचारका लागि रासस वीरगंज कार्यालय प्रमुख हिमाल लम्साल पुरस्कृत भएका छन् । उनलाई उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट सम्मान प्रदान गरिएको हो।

सम्मान ग्रहणपछि लम्सालले राससमा सेवा प्रवेश गरेको छोटो दुई वर्षकै अवधिमा प्राप्त यस उपलब्धिले आफ्नो जिम्मेवारी अझ बढाएको अनुभूति गराएको बताए । उनले उक्त सम्मानले आगामी दिनमा अझ सक्रिय, जिम्मेवार र तथ्यपरक पत्रकारितामा समर्पित भएर कार्यसम्पादन गर्न थप प्रेरणा दिएको उल्लेख गरे।

राससको वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने पत्रकार तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु, ‘पम्प स्प्रे’ मार्फत विषादी छर्किँदै

वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टेको बढ्दो प्रकोप नियन्त्रण गर्न ‘पम्प स्प्रे’ मार्फत विषादी छर्ने अभियान सुरु गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र मलेरिया जस्ता रोगको संक्रमण फैलिन नदिन अभियान सञ्चालन गरिएको बताP ।

चिसो मौसम अन्त्य हुँदै गर्मी सुरु भएसँगै लामखुट्टेको संख्या बढ्न थालेपछि नियन्त्रणात्मक उपायस्वरूप विषादी छर्ने कार्य अघि बढाइएको प्रमुख सिंहको भनाइ छ।

बिहीबारदेखि सुरु भएको अभियानअन्तर्गत दोस्रो दिन घण्टाघर देखि पावरहाउस चोकसम्मको मुख्य नाला तथा पानी जमेको खाली स्थानहरूमा विषादी छर्किने कार्य केन्द्रित गरिएको थियो। महानगर प्रमुखको निर्देशनमा बिहान १० बजेदेखि नै पम्पमा विषादीयुक्त घोल तयार गरी नाला तथा पानी जम्ने स्थानहरूमा छर्किने कार्य भइरहेको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले जानकारी दिए ।

महानगरका अनुसार ३२ वटै वडामा दैनिक रूपमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने कार्य सञ्चालन भइरहेको छ। वीरगंजमा चिसो र गर्मी मौसममा लामखुट्टेको अत्यधिक प्रकोप देखिने भएकाले महानगरले वर्षमा दुईपटक नियमित रूपमा विषादी छर्ने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

विकास, सुशासन र रोजगारीमा केन्द्रित पर्सा २ की उम्मेदवार रिमा यादवको प्रतिबद्धता पत्र

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ की नेकपा (एमाले) उम्मेदवार रिमा कुमारी यादवले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्। “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्यसँगै पर्सा–२ को चौतर्फी रूपान्तरणमा केन्द्रित कार्ययोजना अघि सारेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

प्रतिबद्धता पत्रमा उनले सचेत सांसदको रूपमा नीति निर्माण तहमा सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन् । संसदमा कानुन निर्माणका क्रममा मधेसको भू–धरातल, सीमावर्ती क्षेत्रका समस्या र पर्सावासीका आवश्यकतालाई प्रतिविम्बित गराउने गरी नीतिगत बहस गर्ने उनले जनाएकी छन् । साथै पर्सागढी गुरुयोजना र सिँचाइ आयोजना जस्ता ठूला योजनालाई राष्ट्रिय प्राथमिकतामा पार्न बजेट पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

कृषि क्षेत्रतर्फ किसानमैत्री नीति, मल र बीउको स्थायी समाधान तथा कृषि उपजको भण्डारणका लागि चिस्यान केन्द्र निर्माणलाई प्राथमिकतामा राखिएको छ । कृषि अनुदान वास्तविक किसानसम्म सोझै पुग्ने व्यवस्था मिलाउन र कृषि बिमा सहज तथा प्रभावकारी बनाउन नीतिगत पहल गर्ने उल्लेख छ।

स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधारका लागि क्षेत्रभित्र विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, उपकरण र दक्ष जनशक्तिको व्यवस्था तथा महिलाहरूको पाठेघर क्यान्सर परीक्षण र उपचारलाई निःशुल्क र प्रभावकारी बनाउने योजना समेटिएको छ।

विद्यालयहरूलाई प्रयोगात्मक तथा प्राविधिक शिक्षामा केन्द्रित गर्दै विषयगत शिक्षक दरबन्दी सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ।

सांस्कृतिक तथा पर्यटकीय धरोहर संरक्षणअन्तर्गत पर्सागढीको ऐतिहासिक पहिचानलाई प्रवर्द्धन गर्दै गुरुयोजनासहित पूर्वाधार विकास र विन्दवासिनी मन्दिर लगायत धार्मिक स्थलहरूलाई पर्यटन सर्किटमा जोड्ने योजना अघि सारिएको छ।

सुशासन र जनउत्तरदायित्वतर्फ “सांसदसँग सवाल” कार्यक्रममार्फत नियमित जनसंवाद, सार्वजनिक सुनुवाइ तथा सरकारी सेवामा पारदर्शिता र गुणस्तरमा कडा निगरानी गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

उम्मेदवार यादवले विकास, सेवा र रोजगारीमुखी एजेन्डासहित सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी बनाउन मतदातासँग अपिल गरेकी छन्।

पर्सा ४ काे जगरनाथपुरमा रमेश रिजालकाे घरदैलाे, मतदाताबाट टीका र समर्थन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा बिहीबार नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल घरदैलो कार्यक्रममा सहभागी हुँदा स्थानीय मतदाताले स्वागत गर्दै समर्थन जनाएका छन्।

बिहीबार दिउँसो मत माग्ने क्रममा रिजाल घरघरमा पुग्दा घरभित्रबाट स्वस्फूर्त रूपमा निस्किएका महिला, युवा तथा बृद्धबृद्धाले टीका लगाएर स्वागत गरेका थिए। सो अवसरमा मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार रिजालले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै समाधानका लागि नेपाली कांग्रेस का योजना र प्रतिबद्धताबारे अवगत गराएका थिए।

घरदैलो कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद, नेपाल महिला संघ पर्साकी सभापति किरण शर्मा, वडाध्यक्ष, वडा सदस्यका साथै कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले घरदैलो अभियानले मतदातासँगको सम्बन्ध अझ सुदृढ बनाएको उल्लेख गर्दै आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सक्रिय रहने बताएका छन्।

पर्सा–३ मा रुपेश पाण्डे झन बलियो : जसपाका युवा नेता चौरसिया सहित सयौं जना एमाले प्रवेश

0

वीरगंज । जनता समाजवादी पार्टीका प्रभावकारी युवा नेता तथा बिन्दवासिनी गाउँपालिका प्रमुखका प्रत्यासी मधुसुदन चौरसियाको नेतृत्वमा सयौं जना नेता तथा कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन्।

चौरसिया सहित एमाले प्रवेश गर्नेहरूमा ओकिल मियाँ, नन्दु साह कानु, सोयल अख्तर, प्रभु बैठा लगायतका सक्रिय नेता तथा कार्यकर्ताहरू रहेका छन्।

काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा नवप्रवेशीहरूलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको समृद्धि, सुशासन र विकासका लागि एमाले सक्षम र भरोसायोग्य शक्ति भएको उल्लेख गर्दै नवप्रवेशीहरूको आगमनले पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे।

सो अवसरमा नवप्रवेशी नेताहरूले स्थानीय तहदेखि संघीय तहसम्म विकास र स्थायित्वका लागि एमालेको नेतृत्व आवश्यक रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले पर्सा ३ का एमालेका उम्मेदवार रुपेश पाण्डेलाई जिताउन सक्रिय भुमिका खेल्न प्रतिवद्धता समेत जनाए ।

सयौंको संख्यामा नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेसँगै पर्सा क्षेत्र नं. ३ मा एमाले अझ बलियो बनेको नेताहरूले बताएका छन्। यसले पर्सा क्षेत्र नं. ३ का उम्मेदवार पाण्डेको जित सुनिश्चित हुने दाबी समेत गरिएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको सक्रिय सहकार्य र निरन्तर पहलले पर्सामा पार्टी संगठन सुदृढ हुँदै गएको एमाले स्रोतले जनाएको छ । पार्टीले पर्सा क्षेत्र नं. ३ मा संगठन विस्तार र निर्वाचन परिचालनलाई थप प्रभावकारी बनाउन हजरालाई विशेष जिम्मेवारी समेत दिएकाे छ ।

प्रादेशिक अस्पताल पोखरियाको एक्सरे सेवा अवरुद्ध, ठेकेदारले पार्टपुर्जा झिकेर लग्यो