Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
Home Blog Page 75

घरदैलोमा सुशील कानु : स्थानीय समस्या सदनसम्म पुर्‍याउने प्रतिवद्धता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले आइतबार पर्सागढी नगरपालिका–९ का बडेर्वा र तेलिया तथा वडा नम्बर ७ को फुलवारीयामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराए। उनले घण्टी छापमा मतदान गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा सहयोग गर्न आग्रह गरे।

मतदातासँगको संवादमा कानुले प्रजातन्त्र स्थापनादेखि नै विभिन्न राजनीतिक दलहरूले भ्रष्टाचार गर्दै आएको आरोप लगाउँदै त्यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पारेको दाबी गरे। “अब परिवर्तनको समय आएको छ, मुलुकलाई सही दिशामा डोर्‍याउन घण्टी छापमा मतदान आवश्यक छ,” उनले भने।

कानुले क्षेत्रका दीर्घकालीन समस्या, तिनका कारण र सम्भावित समाधानबारे स्थानीयसँग खुला छलफल समेत गरेका थिए। निर्वाचित भएपछि महिलाहरूका लागि घरमै बसेर सिक्न सकिने प्राविधिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै उनले कृषि तथा पशुपालन तालिम, सिलाइ–कटाइजस्ता कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने योजना सुनाए। “यस्ता तालिमले पारिवारिक आम्दानी बढाउन महत्वपूर्ण टेवा पुग्नेछ,” उनले बताए।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले कृषि क्षेत्रमा जङ्गली जनावरबाट हुने क्षतिको समस्या उठाएका थिए। कानुले सो समस्याको समाधानका लागि प्रभावकारी नीति निर्माण, उचित क्षतिपूर्ति व्यवस्था र दीर्घकालीन कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “किसानको पसिनाको सम्मान हुने व्यवस्था गर्न म सदनमा निरन्तर आवाज उठाउनेछु,” उनले भने।

घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले कानुलाई नयाँ सोच र स्पष्ट योजनासहित जनताको समस्या प्रत्यक्ष सुन्ने उम्मेदवारका रूपमा चित्रण गर्दै यसपटक परिवर्तनका लागि रास्वपालाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

वीरगंज–२१ मा प्रदीप यादवको घरदैलो, सूर्य चिन्हमा मतदान गर्न अपिल

वीरगंज । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नम्बर २१ मा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। आइतबार बिहानदेखि विभिन्न टोल–टोलमा पुग्दै उनले स्थानीय मतदातासँग भेटघाट र संवाद गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

घरदैलोका क्रममा मतदातासँग कुराकानी गर्दै पूर्व मन्त्री समेत रहेका यादवले पर्साको विकास, समृद्धि र स्थिर सरकारका लागि एमालेको जित आवश्यक रहेको बताए। आफूले विगतमा सांसद र मन्त्रीका रूपमा गरेको कामको उल्लेख गर्दै उनले आगामी योजनाहरू पूरा गर्न जनताको साथ अपरिहार्य रहेको धारणा राखे।

“मैले खानेपानी मन्त्रीका रूपमा यस क्षेत्रमा गरेका काम र अबका योजनाहरूलाई पूर्णता दिन एमालेको जित अनिवार्य छ,” यादवले भने, “जनताको विश्वास र समर्थनले नै क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौँ।”

कार्यक्रमका क्रममा स्थानीयवासीहरूले सडक, ढल निकास, खानेपानी, बिजुली, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्या तथा मागहरू राखेका थिए। यादवले ती विषयहरू ध्यानपूर्वक सुन्दै समाधानका लागि ठोस योजना बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका विकास कार्यलाई निरन्तरता दिने र आवश्यक सुधार गर्दै अघि बढ्ने बताए।

घरदैलो कार्यक्रममा नेकपा (एमाले) का स्थानीय नेता–कार्यकर्ता तथा वडाका जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

पर्सा–२ मा एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश, रिमालाई जिताउने प्रतिबद्धता

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी परित्याग गरी एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्। शनिबार वडा कमिटी वीरगंज–१७ अलौले आयोजना गरेको चुनावी रणनीतिक छलफल कार्यक्रममा रास्वपाका युवा नेता धिरज उपाध्याय को नेतृत्वमा युवाहरू एमालेमा आबद्ध भएका हुन्।

नवप्रवेशीहरूलाई पार्टीका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं. २ का इन्चार्ज बिजय कुमार सरावगी तथा वडा अध्यक्ष सन्जु छतकुली ले अबिर र खादा लगाई स्वागत गरे।

कार्यक्रमका प्रमुख अतिथि सरावगीले देश निर्माणमा एमालेको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीलाई पुनः विजयी गराउन समर्थन मागे। उनले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवलाई जिताउन सबै नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे।

नवप्रवेशीहरूले पनि उम्मेदवार यादवको जित सुनिश्चित गर्न दिनरात खट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा उषमान अंसारी, अजय साहलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

रोजगारीदेखि गरिबी निवारणसम्म: रुपेश पाण्डेयको चुनावी एजेन्डा

वीरगंज । नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डेयले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको प्रतिबद्धतामा रोजगारी, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र सामाजिक सुरक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

घोषणा पत्रमा स्वदेशमै रोजगारी सिर्जना कार्यक्रम सञ्चालन गर्ने, साना तथा मझौला उद्योगलाई सहुलियत ऋण उपलब्ध गराउने तथा स्टार्टअप र सूचना प्रविधि क्षेत्रमा प्रोत्साहनका कार्यक्रम अघि सारिएका छन्।

कृषि तथा पशुपालनतर्फ कृषिमा आधुनिकीकरण र मेकानाइजेसन, मल र बीउमा अनुदान तथा युवालाई कृषि उद्यममा आकर्षित गर्ने नीति समावेश गरिएको छ।

स्वास्थ्य क्षेत्रअन्तर्गत जिल्ला अस्पताल स्तरोन्नति, निःशुल्क आधारभूत स्वास्थ्य सेवा विस्तार र स्वास्थ्य बीमा कार्यक्रम सुधार गर्ने योजना उल्लेख गरिएको छ। शिक्षा क्षेत्रमा सार्वजनिक विद्यालय सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड र डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिइएको छ।

त्यस्तै, पूर्वाधार विकासतर्फ सडक र पुल निर्माण, जलविद्युत आयोजना तीव्रता तथा सिँचाइ र खानेपानी परियोजना विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ। सामाजिक सुरक्षामा वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता निरन्तरता र गरिबी निवारण कार्यक्रम विस्तार गर्ने योजना घोषणा पत्रमा समेटिएको छ ।

गौतम स्कुलको “शाइनिङ स्टार्स–२०८२” भव्य रूपमा सम्पन्न

वीरगंज । गौतम स्कुल वीरगंज द्वारा आयोजित “शाइनिङ स्टार्स–२०८२” कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयकी निर्देशिका परीक्षा पिया लामाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन ईसीईसीका सहायक विभाग प्रमुख सुमिन महर्जन ले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले आजका नानीबाबु भोलिको भविष्य भएको उल्लेख गर्दै अभिभावकले बालबालिकाको समग्र विकासमा विशेष ध्यान दिनुपर्ने बताए। उनले शिक्षा केवल पाठ्यपुस्तकमै सीमित नहुने धारणा राख्दै यस्ता सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचका साथ अघि बढ्न उनले विद्यार्थीहरूलाई प्रेरित गरे।

अन्य वक्ताहरूले पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप अपरिहार्य रहेको धारणा व्यक्त गरे। यस्ता कार्यक्रमले आत्मविश्वास वृद्धि गर्नुका साथै अन्तरनिहित प्रतिभा उजागर गर्न मद्दत पुग्ने उनीहरूको भनाइ थियो।

कार्यक्रमको तेस्रो दिन यूकेजी कक्षाका विद्यार्थीहरूको दीक्षान्त समारोह विशेष आकर्षण बनेको थियो। साना विद्यार्थीहरूले दीक्षान्त टोपी र प्रमाणपत्रसहित नयाँ शैक्षिक यात्रातर्फ अघि बढ्ने प्रतिबद्धता जनाउँदै खुसीयाली साटासाट गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन, नाटक तथा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए। रंगीन पोशाक, आकर्षक मञ्च सजावट र सजीव सांस्कृतिक वातावरणले कार्यक्रमलाई अझ विशेष बनाएको थियो। आत्मविश्वासपूर्ण प्रस्तुति र अनुशासित सहभागिताले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको जनाइएको छ।

कार्यक्रममा विद्यालयका निर्देशक सोनम लामा, रुङ्गटा ग्रुप अफ इन्डस्ट्रिजका निर्देशक नारायण रुङ्गटा, नेपाल मेडिसिटी अस्पताल का अस्थिरोग विशेषज्ञ डा. रञ्जन झा, स्नायु शल्यचिकित्सक डा. फिरोज अफजल, ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रमको सञ्चालन संयोजक सौराज प्रधानले गरेका थिए। समग्रमा “शाइनिङ स्टार्स–२०८२” ले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढ बनाउन सफल भएको विद्यालय प्रशासनले जनाएको छ।

बिक्कीको पहलमा निशुल्क आँखा शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका–२० अपौनीमा शनिबार बृहत् निशुल्क आँखा शिविर सम्पन्न भएको छ। स्थानीय युवा समाजसेवी बिक्की सिंहको पहलमा आयोजित शिविरमा ठूलो संख्यामा स्थानीय बासिन्दाले सेवा लिएका छन्।

नेराप्रावी अपौनीमा आयोजित शिविरमा नारायणी सेन्ट्रल अस्पतालका चिकित्सक डा. सन्तोष यादव नेतृत्वको टोलीले आँखा परीक्षण गरेको थियो। करिब पाँच घण्टासम्म सञ्चालन भएको शिविरमा स्थानीय करिब ४ सय जनाले आँखा परीक्षण गराएको पहलकर्ता बिक्की सिंहले जानकारी दिए।

उनका अनुसार शिविरका क्रममा ४० जनामा आँखा शल्यक्रिया आवश्यक पर्ने अवस्था देखिएको छ। परीक्षणमा सहभागी महिला तथा पुरुषलाई आवश्यक परामर्श र उपचारका लागि सिफारिससमेत गरिएको जनाइएको छ।

स्थानीयले सहज रूपमा विशेषज्ञ सेवा पाएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन्।

पर्सा–२ मा एमाले एकाइ अध्यक्षसहित युवाहरू रास्वपामा प्रवेश

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण बढ्दै गएको देखिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा आयोजित कार्यक्रममा वडा नम्बर १० का एमाले एकाइ अध्यक्षसहित युवाहरूको ठूलो समूह रास्वपामा प्रवेश गरेको हो।

कार्यक्रममा वडा नम्बर १० का एमाले एकाइ अध्यक्ष अशोक शाह कानु, वडा सदस्यका उम्मेदवारहरू शेखर अग्रवाल, रेनु कर्ण र जयकुमारीको नेतृत्वमा युवाहरूको समूह पार्टीमा आबद्ध भएको बताइएको छ। यसका साथै वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ र ९ का युवाहरू पनि रास्वपामा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले टीका र खादा लगाएर स्वागत गरे। उनले युवाहरूको सक्रिय सहभागिताले पर्सा–२ मा परिवर्तनको राजनीतिक चेतना अझ सशक्त बन्दै गएको बताए।

यसै अवसरमा भेट्रारान फुटबल क्लबका अध्यक्ष सविन बस्नेतसहितको समूहलाई पनि पार्टीमा स्वागत गरिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता लखन कुमार गुप्ताले पछिल्लो समय विभिन्न वडाबाट युवाहरू संगठित रूपमा पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बनेको जानकारी दिए।

गौरमा कर्फ्यु उल्लङ्घन गर्ने १८ जना पक्राउ, झडपपछि सुरक्षा कडा

रौतहट । रौतहटको गौर नगरपालिकामा जारी कर्फ्यु आदेश उल्लङ्घन गरेको आरोपमा १८ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार निषेधित क्षेत्रमा आवतजावत गर्ने तथा समूह बनाएर भेला हुन खोज्नेहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रशासनका अनुसार सदरमुकाम गौरमा लागू कर्फ्यु आदेश अवज्ञा गर्दै हिँडडुल र समूहगत भेला हुन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरिएको छ। कर्फ्यु क्षेत्रमा कुनै पनि व्यक्ति आवतजावत, भेला, सभा, जुलुस वा प्रदर्शन गर्न पूर्णरूपमा रोक लगाइएको प्रशासनले जनाएको छ।

कर्फ्युको दायरामा पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्मको क्षेत्र समेटिएको छ।

प्रहरीका अनुसार गौर नगरपालिका–६ स्थित सवगढा क्षेत्रमा दुई समुदायबीच पुनः झडप भएपछि स्थिति तनावपूर्ण बनेको हो। विवाद शुक्रबार साँझबाट सुरु भई शनिबारसम्म जारी रहेपछि प्रशासनले सुरक्षा सतर्कता बढाएको छ। हालसम्म कुनै ठूलो मानवीय क्षति नभएको र अवस्था नियन्त्रणमा रहेको जनाइएको छ।

झडपका क्रममा तीन वटा गाडी र दुई वटा मोटरसाइकलमा आगजनी भएको तथा गौरस्थित एक पेट्रोल पम्पमा तोडफोड गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले घटनाको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहेको जानकारी दिए।

यसैबीच, फागुन ८ देखि इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व रमजान सुरु भएको सन्दर्भमा प्रशासनले सबै पक्षलाई संयमता अपनाउन, धार्मिक सहिष्णुता कायम राख्न तथा कर्फ्यु पूर्णरूपमा पालना गर्न आग्रह गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी परिचालन गरी संवेदनशील क्षेत्रमा निगरानी कडा पारिएको छ।

झबराहा टोलमा सुशील कानुको घरदैलो, कृषि र स्वास्थ्य सुधारको प्रतिबद्धता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु ले पर्सागढी नगरपालिकाको झबराहा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। उनले झबराहा टोलसहित आसपासका क्षेत्रमा अस्पतालको अभाव, खेलकुद पूर्वाधारको कमी तथा कृषकहरूले लामो समयदेखि भोग्दै आएको मल र सिँचाइ पानीको समस्यालाई गम्भीर रूपमा लिएको बताए।

“कृषि नै यहाँको मुख्य आधार हो,” कानुले भने, “किसानले समयमै मल र सिँचाइ पानी नपाएसम्म समृद्धिको कल्पना गर्न सकिँदैन।” उनले निर्वाचित भएमा कृषि, स्वास्थ्य र स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

युवालाई लक्षित गर्दै उनले स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने, स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरे। स्थानीय तहमै रोजगारीका अवसर विस्तार भएमा वैदेशिक रोजगारीमा जान बाध्य युवालाई आफ्नै गाउँ–ठाउँमै भविष्य निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

त्यसैगरी, प्रभावकारी अस्पताल व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच तथा शिक्षाको गुणस्तर सुधार रास्वपाको प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै कानुले जनताको आधारभूत आवश्यकतामा केन्द्रित विकास मोडेल आवश्यक रहेको बताए।

घरदैलोका क्रममा झबराहा र बढनिहार क्षेत्रका ज्येष्ठ नागरिकहरूले उम्मेदवार कानुलाई समर्थन जनाउँदै परिवर्तनको पक्षमा नारा लगाएका थिए। कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषक समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

घरदैलो कार्यक्रमले झबराहा क्षेत्रमा रास्वपाप्रति बढ्दो आकर्षण र परिवर्तनको अपेक्षा झल्काएको सहभागीहरूको भनाइ थियो।

पर्सा–२ मा रिमा कुमारी यादवको घरदैलो अभियान जारी, शिक्षा–स्वास्थ्य–कृषि प्राथमिकतामा

वीरगंज । नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादव ले शुक्रबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएकी छन्। उनले पर्सागढी नगरपालिका वडा नं. ५ अन्तर्गत बहुअरावा र हर्दियामा पुगेर घरदैलो कार्यक्रम सम्पन्न गरिन्।

घरदैलोका क्रममा उम्मेदवार यादवले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गुनासो तथा सुझाव सुनेकी थिइन्। स्थानीय समस्याबारे जानकारी लिँदै उनले क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइन्।

उम्मेदवार यादवले गुणस्तरीय शिक्षा, सहज तथा सुलभ स्वास्थ्य सेवा तथा आधुनिक कृषि प्रणालीमार्फत स्थानीय जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य विजय सरावगी, नेता मुकेश द्विवेदी, गोकर्ण पाठक, सिंघासन साह, लियाकत अली, अजय साह, पूर्व वडा अध्यक्ष असलम आलम, अशोक यादव लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।