Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026
Home Blog Page 77

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

0

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ ।

आजपा प्रवक्ता तिलक थापामगरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णयप्रति गम्भिर आपती जनाएका छन् ।

विविधता र असमानताले भरिएको नेपाली समाजमा संघीयता लामो त्याग, संघर्ष र बलिदानबाट प्राप्त भएको इतिहासलाई रास्वपाले नजरअन्दाज नगरोस भन्ने विशेष आग्रह आजपाले गरेको छ ।

‘संघीयता कार्यान्वयनको सवालमा यसका संरचनालाई बलियो बनाउनुको साटो स्वेच्छाचारी ढंगले प्रदेशसभाको खारेज गर्ने प्रतिवेदन पारित गर्नु स्वयम रास्वपाको लागि पनि प्रत्यूत्पादक साबित हुनेछ । तत्काल रास्वपाले यो निर्णय फिर्ता लिई पूनरावलोकन गरोस भनी हाम्रो पार्टी विशेष आग्रह गर्दछ,’ आजपा प्रवक्ता थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२१ फागुन २०८२ को निर्वाचनमा रास्वपाले गरेको राजनीतिक वाचाविपरित संघीयता नै खारेज गर्नेगरि पछि फर्कनु सर्वथा जनमतको अपमान भएको आजपाको ठहर छ ।

‘विगतमा पूराना दलले जे विकृत अभ्यास गर्दै आएका थिए, अहिले नयाँ र विकल्प दिन्छौं भन्ने रास्वपाले पनि जनमत लिने बेलामा एकथरि र जनमत लिनेबित्तिकै ठीक त्यसको विपरित निर्णय गर्नु जनादेशको अपमान र लोकतन्त्रको उपहास हो ।

एकातिर चुनावमा संघीयता बलियो बनाउँछु भनेर सार्वजनिक प्रतिबद्धता गरेर जनमत बटुलेर सरकार बनाउने अनि एकसय दिनपनि नबित्दै जनमतलाई लत्याएर संघीयता पुनर्संरचनाको नाममा प्रदेशसभा खारेज गर्ने कुरा आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।

चुनावको क्रममा जातीय–क्षेत्रिय सेन्टिमेन्टको राजनीतिमार्फत भोट बटुलेको रास्वपाले अहिले एकाएक प्रदेशसभा खारेज गर्ने गैरजिम्मेवार प्रस्ताव पारित गरेर राष्ट्रिय राजनीतिमा नयाँ द्वन्द्व सिर्जना गरेको आजपाले जनाएको छ ।

रास्वपाका पछिल्ला निर्णय र कदम नियाँल्दा देशलाई निकास दिनेभन्दापनि असहज बनाउने षड्यन्त्रमा लागेको आजपाले जनाएको छ । ‘राईट–टु–रिकलको मान्यता बोकेको र नयाँ गर्छु भनेर विश्वास दिलाएको एक जिम्मेवार दलले यसरी खुलेआम जनादेशको विरुद्ध जाँदा सार्वजनिक पदमा बस्न मिल्छ कि मिल्दैन ? अहिले गम्भीर नैतिक प्रश्न खडा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

0

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव आदानप्रदान कार्यशाला” बिहीबारदेखि वीरगंजमा सुरु भएको छ ।

वीरगंजस्थित होटल क्लार्क रिसोर्ट गण्डकमा आयोजित दुईदिने कार्यशालाको उद्देश्य हैजाजस्ता सरुवा रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई सुदृढ बनाउनु, विगतका अनुभव तथा सिकाइ आदानप्रदान गर्नु तथा प्रभावकारी प्रतिकार्यका लागि सरोकारवालाबीच समन्वय अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ ।

“पूर्वतयारी सुदृढ बनाऔँ, प्रमाणमा आधारित अनुभव साझा गरौँ र जीवन बचाऔँ” भन्ने मूल नारासहित सञ्चालन भइरहेको कार्यशालाको अध्यक्षता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघका नेपाल प्रतिनिधि डेभिड सिर्स सहभागी थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयकी कार्यकारी निर्देशक मोना अर्याल, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल मोहम्मद मियाँ, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि रचित ओझा, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रतिनिधिहरू बालकृष्ण सेढाईं, टिकाराज पौडेल र रश्मि झालगायतकाे सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले हैजालगायत जलजन्य तथा सरुवा रोगहरूको जोखिम अझै कायम रहेको उल्लेख गर्दै समयमै पूर्वतयारी, जनचेतना अभिवृद्धि, सुरक्षित खानेपानीको सुनिश्चितता तथा स्वास्थ्य संस्थाहरूको क्षमता विकास अपरिहार्य रहेको बताएका थिए ।

उनीहरूले महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारी निकाय, स्वास्थ्य संस्था, रेडक्रस र समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साथै विगतमा हैजा नियन्त्रणका क्रममा प्राप्त अनुभव, चुनौती र सफल अभ्यासहरूको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी रणनीति निर्माण गर्न कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा हैजा नियन्त्रण तथा व्यवस्थापन, आपतकालीन स्वास्थ्य तयारी, समुदायस्तरको सचेतना, खानेपानी तथा सरसफाइ व्यवस्थापन, बहुपक्षीय समन्वय तथा महामारी प्रतिकार्य सम्बन्धी विषयमा प्रस्तुति, छलफल र अनुभव आदानप्रदान गरिने जनाइएको छ ।

आयोजकका अनुसार कार्यशालाबाट प्राप्त सुझाव तथा निष्कर्षहरूले भविष्यमा सम्भावित हैजा प्रकोपको प्रभावकारी व्यवस्थापन, जनस्वास्थ्य सुरक्षा तथा स्वास्थ्य प्रणालीको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

वीरगंजमा रोजगार मेला सम्पन्न, २० जना रोजगारीका लागि छनोट

0

वीरगंज । प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) हासिल गरेका युवाहरूलाई रोजगारीका अवसरसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले वीरगंज उद्योग वाणिज्य संघ (BiCCI) को आयोजनामा तथा QualiTY परियोजनाको प्राविधिक सहयोगमा वीरगंजमा एकदिने रोजगार मेला सम्पन्न भएको छ ।

आयोजकका अनुसार रोजगार मेलाले उद्योग क्षेत्र र प्राविधिक शिक्षालयबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै दक्ष जनशक्तिको माग र आपूर्तिबीचको दूरी कम गर्ने महत्वपूर्ण प्रयास गरेको छ । कार्यक्रममा विभिन्न प्राविधिक शिक्षालयमा अध्ययनरत तथा हालै स्नातक गरेका १५० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

मेलामा सहभागी विद्यार्थीहरूलाई रोजगार अभिमुखीकरण, प्रभावकारी बायोडाटा (CV) तयार गर्ने तरिका, रोजगार आवेदन प्रक्रिया, अन्तर्वार्ताको तयारी तथा कार्यस्थलमा अपेक्षित व्यवहार सम्बन्धी जानकारी प्रदान गरिएको थियो । सहभागीहरूले यस्ता गतिविधिले श्रम बजारमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको बताएका छन् ।

रोजगार मेलामा औद्योगिक तथा उत्पादन क्षेत्रका विभिन्न प्रतिष्ठित कम्पनीहरूको सक्रिय सहभागिता रहेको थियो । जगदम्बा इन्टरप्राइजेज प्रालि, सर्वोत्तम स्टिल, केएल दुगार प्रालि, KNP Nerolac, हिमालयन डिस्टिलरी, लाइफ स्टार फार्मास्युटिकल्स, पतञ्जलि आयुर्वेद, हुलास स्टिल इन्डस्ट्रिज तथा एपेक्स फार्मास्युटिकल्स प्रालिका प्रतिनिधिहरूले दक्ष जनशक्ति छनोटका लागि अन्तर्वार्ता सञ्चालन गरेका थिए ।

विशेषगरी मेकानिकल, इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स तथा सिभिल इन्जिनियरिङ विषयका १०० भन्दा बढी विद्यार्थीहरूको अन्तर्वार्ता लिइएको थियो । उद्योगहरूको आवश्यकता र विद्यार्थीहरूको दक्षताको आधारमा गरिएको प्रारम्भिक छनोट प्रक्रियामार्फत कम्तीमा १५ देखि २० जना विद्यार्थीहरू रोजगारीका लागि छनोट भएको जनाइएको छ । छनोट भएका विद्यार्थीहरूको नियुक्ति प्रक्रिया सम्बन्धित उद्योगहरूमा उपलब्ध पदअनुसार अगाडि बढाइने बताइएको छ ।

कार्यक्रममा सहभागी उद्योगी तथा शिक्षण संस्थाका प्रतिनिधिहरूले यस्ता रोजगार मेलाले शिक्षाबाट रोजगारीतर्फको यात्रालाई सहज बनाउनुका साथै उद्योग क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए । उद्योगको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न शिक्षालय र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा समेत जोड दिइएको थियो ।

आयोजकका अनुसार रोजगार मेला केवल रोजगारी उपलब्ध गराउने माध्यम मात्र नभई विद्यार्थीहरूलाई उद्योग क्षेत्रसँग प्रत्यक्ष परिचित गराउने, श्रम बजारको वास्तविक मागबारे जानकारी दिने तथा भविष्यको करियर निर्माणका लागि मार्गदर्शन प्रदान गर्ने प्रभावकारी प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ ।

यस्ता कार्यक्रमहरूले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, युवाहरूको रोजगारी क्षमता बढाउन तथा उद्योग क्षेत्रको दक्ष जनशक्तिको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको परियाेजनाका मृत्रदेव यादवले जानकारी दिए ।

आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा

0

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा बालाशंकर कुशवाहा, मिनादेवी साह, आर्या पाण्डे, विरवल कुशवाहा, महासचिवमा रामशरण यादव, उपमहासचिवमा प्रदिप विक्रम शाह, जयलाल मेहता, पुजा कुशवाहा, विनोद साह रहेको आजपा प्रवक्ता तिलक थापामगरले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सचिवमा दिनेश सहनी, चन्द्रिका साह, दिपेन्द्र रजक, सृजना मोची, परमेश यादव, सहसचिवमा मौजेला यादव, प्रमोद साह, विकेश यादव, अफ्रोज आलम, राहुल गुप्ता, ममता साह छन् ।

यसैगरी सदस्यहरुमा साहिल साह, प्रजिता आले मगर, रोजीना तामाङ, रुपेश तामाङ, महेश यादव, रिंकी कुमारी गुप्ता, सरोज ऋषिदेव, देवेन्द्र कुशवाहा, राजिव रजक, प्रिन्स साह, मुकेश रंगिला, संजय चौरसिया, नविन कुशवाहा, दिपेन्द्र जयसवाल, नविन चौधरी, मुकेश यादव, प्रदिप पटेल, उमेश पाण्डे, राधेश्याम साह, अमरलाल साह, राजेश वैठा, सरोज साह, नविन साह, उपेन्द्र जयसवाल, कृष्ण कुशवाहा लगायतका रहेका छन् ।

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

0

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा निकालिने दाहा उत्सव–यात्रामा कुनै पनि प्रकारका घरेलु वा अन्य हातहतियार तथा भाँठाको प्रदर्शन गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । बैठकले मोहरम पर्वका दिन वीरगंज तथा जिल्लाका अन्य स्थानहरूमा निकालिने दाहा यात्रामा हातहतियार प्रदर्शन गर्न नपाइने तथा डिजे वा अन्य बाजा प्रयोग गरी उच्च ध्वनि प्रदूषण गर्न पनि रोक लगाएको जनाएको छ ।

बैठकमा दाहा उत्सव–यात्रा स्थानीय प्रशासनले तोकेको रुटमै सञ्चालन गर्नुपर्ने, कुनै पनि धार्मिक समुदायले अर्को समुदायको भावना, आस्था तथा सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने गतिविधि गर्न नपाइने निर्णय गरिएको छ । साथै यात्राको नेतृत्व सम्बन्धित क्षेत्रका जिम्मेवार व्यक्तिले गर्ने र धार्मिक तथा सामाजिक सहिष्णुतामा असर पुग्ने गरी अन्य देशका झण्डा, लोगो वा छाप अंकित सामग्री प्रयोग नगर्न आग्रह गरिएको छ ।

यस्तै सामाजिक सञ्जालमार्फत धार्मिक समुदायबीच वैमनस्यता, भ्रम वा उत्तेजना फैलाउने खालका पोस्ट, तस्बिर तथा भिडियोहरू साझेदारी नगर्न पनि बैठकले सबै पक्षलाई अनुरोध गरेको छ । दाहा निकाल्ने क्रममा कुनै विवाद वा उच्छृङ्खल गतिविधि भएमा दुवै समुदायका अगुवाहरूले तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने सहमति भएको छ ।

मोहरम पर्वको अवधिभर मुस्लिम समुदायको तर्फबाट महबुब अली (शेरु) र हिन्दु समुदायको तर्फबाट रञ्जीत शाह सुरक्षा निकायका पदाधिकारीहरूसँग समन्वयमा रही कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष भूमिका निर्वाह गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

प्रशासनले सबै समुदायलाई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्दै पर्व मनाउन आग्रह गरेको छ ।

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

0

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार नगरसभागृहमा आयोजित नगरसभाको २०औँ अधिवेशनमा उक्त बजेट प्रस्तुत गरिएको हो ।

कार्यवाहक नगरप्रमुख इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षको आय–व्यय विवरणसहित बजेट प्रस्तुत गरेका हुन् ।

महानगरले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षका लागि प्रस्तुत बजेट अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब १९ करोड रुपैयाँ बढी रहेको छ ।

बजेटअनुसार चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ (५४.३ प्रतिशत), पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ (४४.६ प्रतिशत) तथा वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ (१.१ प्रतिशत) विनियोजन गरिएको छ ।

महानगरले बजेट कार्यान्वयनका लागि संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

बजेट प्रस्तुत गर्दै कानुले शिक्षा र स्वास्थ्य सेवा, सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन र उद्योग प्रवर्द्धन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण तथा प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

यसअघि अधिवेशनमा कार्यवाहक नगरप्रमुख आलमले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आलमको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्यहरू, वडाध्यक्ष तथा सदस्यहरू, महानगरका कर्मचारी र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

मुखदेव सुशिला प्राविधिक माविमा छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

0

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ ।

विद्यालयका संस्थापक तथा पूर्व विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्ष मुखदेव प्रसादको अध्यक्षतामा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८२ अन्तर्गत छात्रवृत्ति कार्यक्रममार्फत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो ।

विद्यालयका अनुसार विद्यार्थीहरूको शैक्षिक उन्नयन, नियमित विद्यालय उपस्थितिलाई प्रोत्साहन तथा विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत छात्र–छात्राहरूलाई पोशाक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त साहले छात्रवृत्ति तथा प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई विद्यालयमा टिकाइराख्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

प्रधानाध्यापक साहले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अभिभावक, शिक्षक तथा सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक विकास र सहभागिता बढाउने उद्देश्यले यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

अत्यधिक गर्मीका कारण वीरगंजका सबै विद्यालय दुई दिन बन्द

0
फाइल तस्बिर

वीरगंज । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले दुई दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

वीरगंज महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाद्वारा जारी सूचनाअनुसार महानगरपालिका क्षेत्रभित्र सञ्चालित बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय (मन्टेश्वरीसहित) मिति २०८३ असार ११ गते र १२ गते बन्द रहनेछन् ।

महानगरपालिकाले बढ्दो तापक्रम र गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरेको जनाएको छ । बन्द अवधिको विदा भने वार्षिक वर्षे विदाबाट कट्टा हुने गरी व्यवस्थापन गरिएको सूचनामा उल्लेख छ ।

शिक्षा प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा सबै विद्यालयलाई निर्णय कार्यान्वयन गर्न तथा अभिभावक र विद्यार्थीलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

महानगरपालिकाले मौसम अनुकूल नभएसम्म आवश्यक सतर्कता अपनाउन तथा बालबालिकाको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन समेत आग्रह गरेको छ ।

गौतम माविमा ‘विद्यार्थी उपलब्धि सम्मान समारोह’ सम्पन्न

0

वीरगंज । गौतम माध्यमिक विद्यालय, वीरगंजमा गत शैक्षिक वर्षमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका प्रतिभाशाली विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘विद्यार्थी उपलब्धि सम्मान समारोह’ भव्य रूपमा सम्पन्न भएको छ ।

विद्यालयले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै नर्सरीदेखि कक्षा ९ सम्म उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको हो । सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्दै आगामी दिनमा पनि निरन्तर मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययनमा अग्रसर हुन प्रेरित गरिएको थियो ।

विद्यालयकी म्यानेजिङ डाइरेक्टर परीक्षा पिया लामाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा हाल नारायणी अस्पताल वीरगंजका चिकित्सक डा. सफ्रोज अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर प्रयासको प्रशंसा गर्दै यस्ता उपलब्धिले विद्यालय, अभिभावक तथा समाजलाई गौरवान्वित बनाउने बताए । वक्ताहरुले विद्यार्थीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढ्न शुभकामना व्यक्त गरे ।

विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिँदै आएको बताए । उनले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना तथा थप उत्साहको विकास हुने विश्वास व्यक्त गरे ।

विद्यालयकाे सभाहलमा भएकाे कार्यक्रममा सोनम लामा, रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान, सिपेन्द्र गुप्ता लगायत शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यालयले आगामी दिनमा पनि शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र

0

वीरगंज । मधेश प्रदेशका विद्यार्थी, युवा तथा नागरिकहरूको तर्फबाट मधेश विश्वविद्यालयका उपकुलपति प्रो. डा. दीपक बहादुर शाक्यलाई विश्वविद्यालयको शैक्षिक विस्तार र सुधारका लागि ज्ञापनपत्र बुझाइएको छ ।

प्रभाकर साहको नेतृत्वमा पेश गरिएको ज्ञापनपत्रमा मधेश विश्वविद्यालय स्थापना भएको चार वर्ष बितिसक्दा पनि पूर्ण विकसित प्रादेशिक विश्वविद्यालयको रूपमा स्थापित हुन नसकेको उल्लेख गरिएको छ । विश्वविद्यालय हाल व्यवस्थापन, सार्वजनिक प्रशासन तथा कानुनसम्बन्धी सीमित कार्यक्रममै केन्द्रित रहेको भन्दै विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि तथा अन्य प्राविधिक विषयहरूको अभावप्रति चिन्ता व्यक्त गरिएको छ ।

ज्ञापनपत्रमा विश्वविद्यालयले बहुविषयक शैक्षिक संस्थाको रूपमा विकास हुनुपर्ने आवश्यकता औंल्याउँदै आधुनिक रोजगारी बजारमा माग भएका विषयहरू तत्काल सञ्चालन गर्नुपर्ने माग गरिएको छ । साथै, विश्वविद्यालयको शैक्षिक विस्तार, कार्यक्रम सञ्चालन तथा स्रोत व्यवस्थापनमा पारदर्शिता र स्वायत्तता सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

ज्ञापनपत्रमार्फत आगामी शैक्षिक सत्रभित्र विज्ञान, इन्जिनियरिङ, बीएस्सी, बीटेक तथा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालनका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न, शिक्षक भर्ती र स्रोत बाँडफाँडमा पारदर्शिता कायम गर्न तथा पूर्वाधार विकास र नयाँ कार्यक्रम सञ्चालनका लागि निश्चित समयसीमा घोषणा गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा विश्वविद्यालयलाई व्यवस्थापन, प्रशासन र कानुनमा मात्र सीमित नराखी प्रदेशस्तरीय वास्तविक बहुविषयक विश्वविद्यालयको रूपमा रूपान्तरण गर्न आग्रह गरिएको छ ।

प्रभाकर साहले मधेश विश्वविद्यालय सम्पूर्ण प्रदेशका युवाका लागि उत्कृष्टता र गर्वको केन्द्र बन्न सक्ने विश्वास व्यक्त गर्दै ज्ञापनपत्रमा उठाइएका विषयमा विश्वविद्यालय प्रशासनले सकारात्मक र समयमै पहल गर्ने अपेक्षा व्यक्त गरेका छन् ।