Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 355

कांग्रेस र कम्युनिष्टहरु सत्तामा बसेर देशलाई लुटिरहेका छन् : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)ले जनयुद्ध दिवसको अवसरमा मंगलबार वीरगंजमा “दलतन्त्रको उपहार : नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने” विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै आजपाका अध्यक्ष प्रभु साहले कांग्रेस र कम्युनिष्टहरुले सत्तामा बसेर देशलाई लुटीरहेको आरोप लगाएका हुन् ।

पूर्वमन्त्री समेत रहेका अध्यक्ष साहले भने,‘ कांग्रेस र कम्युनिष्टबिच कुनै फरक छैन । उनिहरुको पार्टीको नाम र झण्डा मात्रै फरक छ । तर काम एउटै छ । जसरी हुन्छ शासन सत्तामा बसेर देशलाई लुट्ने । जनतालाई कंगाल बनाउने ।’

पुराना दलहरुलाई डाँकाको संज्ञा दिदै साहले डाँकाहरुको गिरोहमा आफनो पार्टी साधु बनेर आएको जिकिर गरे । आजपा फरक धरातल र धारबाट बनेको पार्टी भएको उनले बताए । उनले भने,‘ उनिहरुको काम देश लुट्ने हाम्रो काम देश बनाउने हो ।’

माओवादीको ११ वर्षे जनयुद्ध जायज भएपनि त्यसबाट माओवादीकै नेता मालामाल भएको तर जनता भने कंगाल बन्दै गएको आरोप साहले लगाए । अध्यक्ष साहले जनयुद्ध नेपाल र नेपालीको अवस्था बदल्न र तल्लो वर्गका जनतालाई मालिक बनाउने उदेश्यले भएपनि त्यो उदेश्य पूरा हुन नसकेको बताए । साहले भने,‘ जनयुद्धकै कारण माओवादी नेता मालमाल भए तर जुन जनताले रगत बगायो, बलिदानी दियो ,ती जनता झन् कंगाल बन्दै गइरहेका छन् ।’

उक्त कार्यक्रममा जसपा परित्याग गरि बारा जिल्लाको बारागढीको नेता सुरेस प्रसाद साह, लक्ष्मी साह, दुलार पासवान, रामदेव मुखिया, इसा महमद मिया, महिन्द्र मुखिया, रामा यादव, राजिन्द्र साह, बिरेन्द्र मुखिया लगायत नेता कार्यकर्ताहरु पार्टीमा प्रवेश समेत गरेकाे आजपाका नेता उमेश कुशवाहाले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा आजपाका केन्द्रीय उपाध्यक्ष समिना हुसेन, अशोक लामा, महासचिव त्रिभुवन साह, केन्द्रीय उपमहासचिव मधेश प्रदेश ईन्चार्ज सुधिर यादव, केन्द्रीय सचिव बाबुराम कौशिक, ईस्लाम हवारी, स्थायी कमिटि सदस्य एवम् पर्सा अध्यक्ष ईन्चार्ज कदम रसुल, पार्टीको स्थायी कमिट सदस्य बबिता यादव, विजय यादव मन्सुरी, नरेश तुरहा, केन्द्रीय सदस्य राजकिशोर साह, बसन्त चौधरी लगायतकाे उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन पर्सा जिला सचिव विश्वराज पटेलले गरेका थिए ।

वडा कार्यालयको सेवा प्रवाह चुस्त बनाउन मेयर सिंहको निर्देशन

वीरगंज । वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त र सहज बनाउन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वडा सचिवहरुलाई निर्देशन दिएका छन् । मंगलवार महानगरपालिकाको सभाकक्षमा वडा सचिवहरुसँगको बैठकलाई सम्बोधन गर्दै मेयर सिंहले सेवा प्रवाहमा कुनै सम्झौता नगर्न आग्रह गरेका हुन् । 

वडा कार्यालयमा आउने सेवाग्राहीको काम विना कुनै झण्झट तत्काल गर्न महानगरभित्रका ३२ वटै वडा सचिवलाई उनले निर्देशन दिए । मेयर सिंहले वडा कार्यालयमा सुशासन कायम राख्न आग्रह गर्दै कार्यालय समय भित्र सबै कर्मचारी कार्यालयमा उपस्थित हुनुपर्ने अन्यथा कारबाहीको भागीदार बन्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

महानगरमा विकास निर्माणका कार्यसँगै सेवा प्रवाह चुस्त र सहज बनाउने अभियानमा आफु लागि परेको र यसमा कर्मचारीको तर्फबाट लापरबाही भए असह्य हुने उनले बताए ।

वडा सचिवहरुलाई निर्देशन दिँदै मेयर सिंहले भने, ‘कर्मचारीहरुमा ईमान्दारिता र लगनशीलता भयो भनेमात्रै सुशासन कायम हुनसक्छ । तसर्थ तपाईहरुले सेवाग्राहीलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

उक्त बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराई, महानगरले गठन गरेको सुशासन समितिका संयोजक प्रदीप चौरसिया, समितिका सदस्य, मेयरका प्रेस सल्लाहकार महेश दास लगायतको सहभागीता रहेको थियो ।

सबैठवामा स्वास्थ्य प्रयोगशाला भवनको सांसद यादव र मेयर सिंहद्वारा शिलान्यास

वीरगंज । वीरगंज महानगरपालिकाले वडा नं. २३ सबैठवामा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न सुरु गरेको छ ।

सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनु पर्ने बाध्यता हटाउन र नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण कार्य सुरु गरेको हो ।

यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको प्रयोगशाला भवनको सोमबार शिलान्यास गरिएको छ ।

भवनको पूर्व मन्त्री एवं पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादब र वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

भवनको शिलान्यास गर्दै पूर्व मन्त्री यादबले महानगरको ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बन्न लागेको भन्दै खुशी व्यक्त गरे ।

यस्तै महानगर प्रमुख सिंहले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

महानगरको ग्रामिण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु लागिरहेको भन्दै उनले यसमा सबैको साथको आवश्यकता रहेको बताए ।

मुल्य अभिवृद्धि करसमेत गरि ६६ लाख ५१ हजार ५ सय ३७ रुपैयाँमा निर्माण हुन लागेको प्रशोगशाला भवनको स्यारन बिजी कन्सट्रक्सन प्रा.लि.ले ठेक्का सकार गरेको छ ।

धर्म र अध्यात्मका बारेमा बुझ्न सके जीवन सार्थक हुन्छ : उपराष्ट्रपति यादव

वीरगञ्ज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धर्म र अध्यात्मका बारेमा बुझ्न सके जीवन सार्थक हुने बताएका छन् । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १४ पिपरामा आइतवारदेखि सुरु भएको श्री सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुंज एवम् ९ दिवसीय श्री विष्णु महायज्ञको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले महायज्ञले मानव–मानवबीचमा शान्ती, सुब्यवस्था, सहिष्णुता तथा आपसी भाइचारा जगाउने बताए । 

उनले भने, ‘महायज्ञले मानवमानव विच शान्ती, सुब्यवस्था, धार्मिक सहिष्णुता, भाइचारा र स्नेहको अतुलनीय सन्देश प्रवाह गर्ने विश्वास लिएको छु । सनातनी धर्म ग्रन्थमा भएका उपदेशहरु अध्ययनसँगै पालना गर्नुपर्ने आवश्यक्ता भएको छ । यसले परस्पर सहयोगी भावलाई सुदृढ र सबल बनाउनुका साथै सुख र खुशीको महसुस गराउँछ ।’

महायज्ञमा हुने विभिन्न क्रियाकलापले मानवलाई अध्यात्म बुझ्न मद्धत गर्ने बताउँदै उनले यसलाई मानवजीवनमा आत्मसाथ गर्न पनि आग्रह गरेका छन् । महायज्ञमा जानकी मन्दिरका १०८ श्री जगतनन्दन दास महाराज पगला बाबाले यज्ञ सञ्चालन गर्नेछन् । 

महायज्ञ शुभारम्भ समारोहमा उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । 

महायज्ञ व्यवस्थापन समितिका संयोजक अनिल कुमार रुंगटाको अध्यक्षतामा भएकाे कार्यक्रमको संचालन सञ्चारकर्मी उज्जवल घिमिरेले गरेका थिए । 

जनमत पार्टी पर्सामा सय भन्दा बढीले गरे प्रवेश

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नं. १ काे प्रथम वडा अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले रामनाथ मेहताको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति गठन गरेकाे छ ।

अधिवेशनमा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ, पुर्व बरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदी, जिल्ला सचिव शशी पाण्डे, नेता कृष्ण पटेल, युवा जनमत संघ वीरगंजका संयोजक सन्जय सिंह, युवा नेता उदय यादव लगायतले शुभकामना व्यक्त गरेका थिए ।

साेही कार्यक्रममा पचास भन्दा बढी स्थानीयहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेकाे पार्टीका पर्सा अध्यक्ष सर्राफले जानकारी दिए ।

त्यसै गरि आइतबार नै बिन्दवासिनी गाउँपालिका वडा नम्बर -५ मा पनि वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले स्थानीय नेता नन्दलाल पटेलको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेकाे अध्यक्ष सर्राफले वताए ।

यसैगरी शनिबार पनि जनमत पार्टीकाे पर्सा जिल्ला कार्यालय वीरगंजमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे थियाे ।

साे कार्यक्रममा जनमत पार्टीका नेता तथा पुर्व बरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदीको पहलमा वीरगंज वडा नम्बर २५ का उदय तिवारी, जय प्रकाश पटेलको नेतृत्वमा विशाल सह तुरहा, सुरेश साह तुरहा, नागेन्द्र साह कानु लगायत दुई दर्जन ब्यक्तिहरु बिधिवत रुपमा जनमत परिवारमा आबद्ध भएका थिए ।

जनमत पार्टीमा प्रबेश गर्नेहरुलाई पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्यहरु करिना बेगम, मुकेश द्विवेदी, बिधालाल प्रसाद, अनिता रौनियार, महिला नेता अन्जना गुप्ता, जिल्ला सचिव शशी पान्डे, कोषाध्यक्ष अभिसेख तिवारी, युवा नेताहरु संजय सिंह, लोकेश कर्ण लगायतले माला एवं अबिर लगाई पार्टीमा स्वागत गरेका थिए । 

शिक्षा बिकास तथा समन्वय इकाई पर्सा दुई महिनादेखि प्रमुख विहिन, सेवा प्रवाह प्रभावित

वीरगंज । शिक्षा बिकास तथा समन्वय इकाई पर्सा दुई महिनादेखि प्रमुख विहिन भएकाे छ । इकाई प्रमुख अशाेक राैनियारकाे मंसिर २९ गतेदेखि छिपहरमाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सरुवा भएदेखि हाल सम्म प्रमुख विहिन रहेकाे छ ।

इकाई प्रमुख नहुँदा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयबाट प्रदान हुने सेवा प्रवाह प्रभावित भएकाे छ । जिल्लान्तर सरुवा, शिक्षक नियुक्ति, बढुवा र पदस्थापना लगायतका कामहरु प्रभावित भएकाे सेवाग्राहीहरुले वताएका छन् । इकाई कार्यालयबाट प्रवाह हुँने सेवा कार्यालय प्रमुख नहुँदा संचालन हुन नसकेकाे कार्यालयमा भेटिने कर्मचारीहरु बताउँन् ।

यसका साथै दुई महिनादेखि कर्मचारीहरु तलब खान सकेका छैनन् । निमित प्रमुखका जिम्मेवारी पाएका विद्यालय निरिक्षकले खाता संचालन गर्ने अख्तियारी नपाएका कारण कर्मचारीहरु तलब समेत खाना नपाएकाे कर्मचारीहरुले वताएका छन् ।

विभिन्न कामकाे लागि इकाई कार्यालय पुगेका सेवाग्राहीहरु काम नहुँदा यस्तै फर्कने गरेका छन् । कार्यालयमा भटिएका कर्मचारीहरु पनि कार्यालय प्रमुख नहुँदा काम विहिन भएका छन् । 

समाजवादी प्रेस संगठन पर्साकाे प्रथम बैठक सम्पन्न

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे प्रथम बैठक आइतबार वीरगंजमा सम्पन्न भएकाे छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले मनाेज पटेल नेतृत्वकाे निर्वतमान जिल्ला कार्यसमितिलाई धन्यावाद ज्ञापन गरेकाे छ ।

त्यसैगरी बैठकले फागुन ११ गते वनवाेज कार्यक्रम गर्ने निर्णय गरेकाे छ । साेही वनभाेज कार्यक्रममा नवनिर्वाचित कार्यसमितिकाे प्रमाण पत्र र परिचय पत्र वितरण गर्ने पनि निर्णय गरेकाे संगठनका सचिव विनाेद पटेलले जानकारी दिए ।

यसैगरी बैठकले संगठनका केन्द्रिय सचिव बृजलाल पासवानका काका नन्दलाल पासवानकाे यही माघ २२ गते ५८ बर्षकाे उमेरमा असामयिक निधन भएकाेमा दु:ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चाैधरीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा पर्सा जिल्ला अध्यक्ष एवम् प्रचार विभाग प्रमुख बालगाेपाल थापा, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, केन्द्रिय सचिवद्वय वृजलाल पासवान, नेपाेलियन चेपाङ्ग,  केन्द्रिय सदस्यद्वय रेविन्द्र कार्की, मनाेज पटेल, सल्लाहकार संजय साह लगायत जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे ।

पटेर्वासुगाैली र वीरगंजबाट खैराे हिराेइनसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले लागु औषध खैराे हिराेइनसहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले खैराे हिराेइनसहित पटेर्वा सुगाैली गाउँपालिकाबाट एक जना पुरुष र वीरगंज महानगरपालिकाबाट एक जना महिलालाई नियन्त्रणमा लिएकाे हाे । 

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ निचुटा निवासी २० बर्षिय पुलेमन मुखियालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

मुखियाको घरमा खैरो हिरोइन जस्तो देखिने लागु औषधको बिक्री वितरण भैरहेकाे सूचना प्राप्त खटिएको प्रहरी टोलीले निज मुखियाकाे घरमा खानतलासी गर्दा लागु औषध फेला परेपछि उनलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए ।

मुखियाकाे घरबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम १३ मि.ग्राम, चरेश जस्तो देखिने पदार्थ १४ ग्राम ४७ मि.ग्राम, सेतो पदार्थ १ ग्राम ९४ मि.ग्राम, डिजिटल तराजु १ थान र नगद रु २९ हजार ७० रुपैया फेला परेको प्रवक्ता थापाले जानकारी दिए ।

यसैगरी प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२१ हनुमान चोक स्थित सडकखण्डबाट वीरगंज महानगरपालिकाकाे वडा नं.२१ परवानीपुर निवासी ३० बर्षिय फुलसन खातुनलाई नियन्त्रणमा लिएकाे छ । 

हनुमान चोक स्थित सडकखण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको सार्बजनिक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार खातुनको साथमा रहेको कालो हेण्ड ब्याग भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २० प्याकेट गरी जम्मा १०५ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरी चाैकी परवानीपुरका बरिष्ठ प्रहरी नायब निरिक्षक याेगेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका दुबै जना विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेकाे प्रहरीले जनाएकाे छ ।

चिल्ड्रेन ग्राडेन स्कुलमा निशुल्क दन्त शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ७ कुमाल्ह टाेलमा रहेकाे चिल्ड्रेन ग्राडेन स्कुलमा शुक्रबार निशुल्क दन्त शिविर सम्पन्न भएकाे छ ।

स्कुलकाे आयाेजना र स्माइल डेन्टल केयर एण्ड पाेली क्लीनिक वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे शिविरमा एक सय ५ जनाकाे दाँतकाे परिक्षण गरिएकाे विद्यालयले जनाएकाे छ ।

विद्यालय प्राङ्गणमा भएकाे शिविरमा क्लीनिकका डा भावना कुमारी झा, डा शलिनी गिरी, डा बन्धना ठाकुर, डा प्रिया मण्डलले विद्यार्थीहरुकाे दाँतकाे परिक्षण गरेका थिए ।

विद्यालयकी संचालक एवम् प्रिन्सपल राेशनी श्रीवास्तवकाे अध्यक्षतामा भएकाे शिविरमा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, स्माइल डेन्टल क्लीनिकका संचालक डा. अमिर आलम, पत्रकार दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे । 

अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा

वीरगंज । अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा भएको छ । टुर्नामेन्टको आयोजक अल्पाईन माध्यमिक विद्यालयले बिहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएकाे जनाएकाे छ ।

वीरगंजमा शनिबारदेखि सुरु हुने प्रतियाेगितामा वीरगंज महानगरका अल्पाईन, मिनीलेन्ड, विपिएस, पीसजोन, ग्लोबल, बाल एकता, पर्सा म्यानेजमेन्ट, डेसिमल, मेरीगोल्ड, ममता माद्यमिक विद्यालय गरि १६ वटा निजी विद्यालयहरुकाे सहभागिता हुने छन् ।

माघ २७ गते शनिबारदेखि सुरु हुने प्रतियाेगिता फागुन १९ गतेसम्म हुने आयोजक अल्पाईन माद्यमिक विद्यालयका सञ्चालक एवम् प्रतियोगिताका सँयोजक बिनोद कुमार उपाध्यायले जानकारी दिए । प्रतियोगितामा सहभागी भएका टिमहरुलाई चार वटा ग्रुपमा बिभाजन गरिएको तथा प्रतियोगिता वीरगंज नारायणी रँगशालामा आयोजना हुने उपाध्यायले बताए ।

विगतको समयमा नेपालमा क्रिकेट खेलको क्रेज तिर्ब गतिमा बढीरहेकोले खेलाडीहरुको हौसला प्रदान गर्न र पर्सा जील्लामा क्रिकेट खेलाडीहरु राष्ट्रिय  रुपमा बढाउनका निमित सो प्रतियोगिता आयोजना गर्न लागिएकाे प्रतियोगिता संयोजक विशाल कुमारले बताए ।

प्रतियोगितामा पर्सा क्रिकेट संघ लगायत क्रिकेटसंग सम्बन्धित निकायको पनि उपस्थी ति रहने अल्पाईन स्कुलका क्रिकेट कोच कलामुदिन अंसारीले जानकारी दिए । प्रतियोगिताको कुल लागत ६ लाख रहेको आयोजकले जनाएकाे छ ।

विद्यालय प्राङ्गणमा भएकाे पत्रकार सम्मेलनमा क्याम्पसका क्रिकेट खेलाडीहरु, अन्तराष्ट्रिय अम्पायर हिरालाल यादव, बासु कर्ण लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।  पत्रकार सम्मेलनको संचालन पत्रकार राम मण्डल्ले गरेका थिए ।