Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 354

पर्सामा सवारी दुर्घटना ५८ प्रतिशत र ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले वृद्धि

वीरगंज । पर्सामा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्यमा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा पर्सामा सवारी दुर्घटना ५८ प्रतिशतले वृद्धि भएको छ भने सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरुको संख्यामा ५८ प्रतिशतले वृद्धि भएको छ । गत साउनदेखि माघसम्मको तुलनामा चालू आवको सोही अवधिमा सवारी दुर्घटनामा ५८ प्रतिशत र ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको पहिलो छ महिनामा भएका एक सय ३१ सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको तुलनामा चालू आवको सोही अवधिमा दुई सय सात सवारी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । जिल्लामा भएका कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

उनले सबैभन्दा बढी सवारी दुर्घटना जिल्लाको ग्रामीण भेगमा हुने गरेको र दुर्घटनाको मुख्य कारण द्रुतगतिमा सवारी साधन चलाउनु नै रहेको बताए । सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि भएसँगै दुर्घटनामा परी गम्भीर घाइते हुनेको सङ्ख्या १९ प्रतिशत र समान्य घाइतेको सङ्ख्या ५० प्रतिशतले वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत आवमा भएका सवारी दुर्घटनामा परी गम्भीर ४१ र सामान्य एक सय ८१ घाइते भएको तुलनामा चालू आवमा गम्भीर घाइते हुनेको सङ्ख्या ४९ र सामान्य घाइतेको सङ्ख्या दुई सय ७१ पुगेकोे निरीक्षक खतिवडाले जानकारी दिए । उनले बढ्दो सवारी दुर्घटनालाई न्यून गर्न ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा आयोजना गरेको चेतनामूलक कार्यक्रममा ४१ हजारभन्दा बढी व्यक्तिलाई सवारी ऐनबारे जनचेतना दिएको बताए ।

ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर

वीरगंज । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १२ जना दोषी ठहर भएका छन् । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा फैसला सुनाउँदै १२ जनालाई दोषी ठहर गरेको हो ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै दाेषी ठहर गरेकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।

यसैगरी विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ । 

त्यस्तै तत्कालीन मालपोत अधिकृत कलाधर देउजा, शोभाकान्त ढकाल, रामकुमार सुवेदीसहित १२ जनालाई अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा मङ्गलबार सकिएको थियो ।

राैतहटमा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप, एक जना घाइते

वीरगंज । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना घाइते भएका छन् ।

ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा उच्छृंखल समुहले ढुंगामुढा गर्दा स्थानीय २५ बर्षिय नरेश राम घाइते भएका हुन् ।

सरस्वती माताको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा गइरहेकाहरू माथि एक्कासि ढुंगामुढा प्रहारसँगै खुर्सानीको धूलो फालिएको प्रत्यक्षदर्शी स्थानीय बाबुलाल साहले बताए । त्यस क्रममा त्यहाँ उपस्थित रहेका प्रहरी मूकदर्शक बनेको उनको भनाई छ ।

घाइते भएका युवकका स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएकाे प्रहरीले जनाएकाे छ । उक्त क्षेत्रमा कुनैपनि धार्मिक एवं सम्प्रदायिक तनाव हुन नदिन व्यापक संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको रौतहटका प्रहरी उपरिक्षक (एसपी) महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

भ्यालेन्टाइन डे मनाउन गएकी बालिकाको प्रेमीले गरे बलात्कार

वीरगंज । सरस्वती पूजाको दिन भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिकालाई उनका प्रेमीले बलात्कार गरेको घटना बाहिरिएको छ ।

बुधवार घरबाट सरस्वती पूजा भन्दै भ्यालेन्टाइन डे मनाउन प्रेमीसँग निस्केकी १५ बर्षिय बालिकालाई सिराहाकाे सुखिपुर नगरपालिका–२ का १८ वर्षीय निकेश कुमार यादवले बलात्कार गरेकाे पिडितका परिवारले इलाका प्रहरी कार्यालय लहानमा उजरी दिएका छन् ।

घटनाको जानकारी हुनासाथ आरोपित याद‍वलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले जानकारी दिए ।

बालिका रक्ताम्मे अवस्थामा होटेलमै अचेत देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित प्रादेशिक अस्पतालमा गरि थप उपचार बिराटनगर स्थित नोबेल अस्पतालमा भइरहेको छ ।

कलैया प्रादेशिक अस्पतालमा डाईलासिस र इन्डोस्कोपी सेवाहरु सुचारु

कलैया । बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालमा लामो समयपछि डाईलासिस र इन्डोस्कोपी सेवाहरु सुचारु भएको छ । बुधबार दिउसो एक कार्यक्रमका बीच मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले अस्पतालमा रहेको तीनवटा वार्डहरुको उद्घाटन गरेपछि अस्पताल बाट प्रदान गरिने सेवाहरु संचालनमा आएको हाे ।

मुख्यमन्त्री यादवले अस्पतालमा डाइलासिस, इन्डोस्कोपी र नवजात शिशुहरुको लागी एनआईसियु वार्डहरुको उद्घाटन गरे संगै बुधबारबाट तिनवटै वाडहरुको सेवा सुचारु भएका छ । मुख्यमन्त्री यादवले आफुले नै संघको स्वास्थ राज्यमन्त्री हुँदा कलैयामा रहेको अस्पताललाई स्तर उन्नति गरि ५० शैया बनाएको र त्यसपछि आफैले १०० शैयाको अस्पताल बनाएको भन्दै हरेक जिल्लाको हरेक नागरिकले सहज उपचार प्राप्त गर्नको लागि मैले आवश्यक पर्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले डाइलासिस सेवा शुरु भए संगै दैनिक १५ जना असहाय गरिब बिपन्न बर्गकाले सेवाहरु प्राप्त गर्न सकिने बताए । बुधबार नै मुख्यमन्त्री यादवले अस्पतालको अनुगमन समेत गरेका थिए ।

अनुगमनको क्रममा मुख्यमन्त्रीलाई अस्पतालको बारेमा केही कुरा राख्दै मेसु गुप्ताले अस्पतालका लागि सिटि स्क्यान मेसिन र ईको मेसिनहरु उपलब्ध गराईदिन आग्रह समेत गरे । प्रादेशिक अस्पताल कलैयाले अब चाहिने सबै सेवा सुबिधाहरु बिस्तारै प्रवाह गर्दै जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गुप्ताले बताए ।

आइसिपि हुँदै भारत पुर्याइएको ३ क्वीन्टल भन्दा बढी गाँजासहित एक नेपाली पक्राउ

वीरगंज । भारतिय एसएसबीका जवानले ३७५ किलो गाँजासहित एक जना नेपालीलाई पक्राउ गरेका छन् । वीरगंजकाे एकिकृत जाँच चौकी (आइसिपि) नाका हुँदै भारत पुर्याइएको ठूलो परिमाणमा लागु औषध गाँजासहित मकवानपुरका अम्बर बहादुर पक्राउ परेका हुन् ।

आइसिपीसंग जोडिएको रक्सौलस्थित भारतीय आइसिपीको ४ नम्बर गेटबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ३ क्वीन्टल ७५ किलोग्राम गाँजासहित बहादुरलाई बुधबार बिहान पक्राउ गरेको हो ।

वीरगंजकाे आइसिपी नाका हुँदै भारत रक्सौलको आइसिपीमा पुगेको ना ४ च ८९७८ नम्बरको पिकअप गाडीलाई एसएसबीले शंका लागेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त पिकअप गाडीको पछाडि पट्टीको भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा भेटिएको एसएसबीका ४७ नम्बर कमाण्डेण्ट विकास कुमारले जानकारी दिए ।

प्लाष्टिकको टेपले बेरेर २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा बरामद भएपछि गाडीका चालक अम्बर बहादुर र गाँजासहितको गाडी नियन्त्रणमा लिइएको उनले बताए ।

यसअघि एक हप्ता पहिलेपनि अर्थात गत माघ २५ गतेपनि रक्सौल आइसिपीको त्यहि गेटबाट एसएसबीले नेपालबाट भारत भित्रयाउन लागिएको अवस्थामा २ क्वीन्टल ६ किलोग्राम गाँजा बरामद गरेको थियो ।

गोतामे पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार विनाेद सम्मानित

वीरगंज । गोतामे पत्रकारिता पुरस्कारबाट यसवर्ष पोखरा, कास्कीका पत्रकार सम्मानित भएका छन् । यसवर्षको गोतामे पत्रकारिता पुरस्कार पोखराका बद्री विनोद ‘प्रतीक’ सम्मानित भएका हुन् ।

वीरगंजस्थित होटल पुजनमा पुरस्कार वितरण समारोहको आयोजना गरि उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले स्वर्ण पदक सहित दोसल्ला ओढाएर पत्रकार बिनोदलाई सम्मानित गरेका हुन् ।

पत्रकार गोपालचंद्र गौतम प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान हुँदै आएको गोतामे पत्रकारिता यसबर्ष उनले पाएका हुन् ।

वीरगंजका पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा प्रतिष्ठानले स्थापना गरेको पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले जनाए ।

वीरगंज हुँदै काठमाडौं जाँदै ‘गान्धीदेखि बुद्धसम्म’ शान्ति यात्रा

वीरगंज । विश्व सामाजिक मन्चको पूर्व सन्ध्यामा बुधबार वीरगंजस्थित नेपाल भारत सीमाबाट नेपाली र भारतीय शान्ति र अहिंसाप्रेमीहरुले संयुक्त रुपमा ‘गान्धीदेखि बुद्धसम्म शान्ति पदयात्रा’ सुरु गरेका छन् । राष्ट्रिय भूमि अधिकार मन्च नेपाल, नेपाल एकता महिला समाज, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र एकता परिषद भारतले संयुक्त रुपमा यो पदयात्रा आयोजना गरेका हुन् ।

भारतबाट आएका पदयात्रीहरुलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेपाल भारत मैत्री संघका अध्यक्ष अशोक वैद्य लगायतकाले नेपाल भारत सीमास्थित मितेरी पुलमा स्वागत गरेका थिए । शंकराचार्य नेपाल प्रवेशद्वार परिसरमा आयोजित समारोहमा चर्चित भारतीय अभियन्ता राजगोपाल पिभिले वीरगंजका मेयर राजेशमान सिंहलाई बिपन्न किसानको औजार हलो उपहार दिएका थिए ।

समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले वीरगंज शान्ति र सद्भावका लागि हुने सबै प्रयत्नमा आफ्नो ऐक्यबद्धता रहने बताए । उनले पदयात्रीहरुको शान्ति यात्राको सफलताको कामना गरे ।

वरिष्ठ पत्रकार चन्द्रकिशोरले भातरीय पदयात्रीहरुले नेपाल प्रवेशका लागि वीरगंज नाकानै रोज्नुको प्रतिकात्मक संकेत पनि रहेको बताए । महात्मा गान्धीले भारत छोडो आन्दोलनको सुरुवात वीरगंज नजिकको चम्पारणबाट गरेको र गौतम बुद्धले घरपरिवार त्याग गरेर हिडेको पहिलो रात वीरगंज नजिकको रामपूर्वा गाउमा बिश्राम गरेको इतिहास रहेको उनले बताए ।

यसरी करीब २ हजार ६ सय बर्षको अन्तरालमा जन्मिएका दुई विश्व शान्ति दुतहरुको एकै ठाउमा आगमन हुनु संजोग मात्र नभई एक सन्देश पनि रहेको उनले बताए ।

भारतीय अभियन्ता राजगोपाल पिभिले गौतम बुद्ध र महात्मा गान्धिको आगमन भएको वीरगंज नाकालाई प्रयोग गरेर आफूहरुले दुबै विश्व शान्ति दुतलाई पदयात्रा मार्फत सम्झना र सम्मान गर्न चाहेको बताए ।

उनले भारतको राजधानी नयादिल्लीबाट आफूहरुले सुरु गरेको पदयात्रामा भारतका करीब २ सय अभियन्ताहरु सहभागी रहेको बताए । त्यस पछि नेपाली तथा भारतीय शान्ति पदयात्री वीरगंज हुँदै परवानीपुरसम्म पैदल यात्रा गरेका थिए ।

त्यहाँबाट उक्त टोली बस चढेर काठमाडौंतर्फ लागेको छ । टोलीले बिहीबार काठमाडौंको नारायणगोपाल चोक नजिकको शङ्खपार्कबाट भृकुटीमण्डपसम्म शान्ति पदयात्रा गर्ने राष्ट्रिय भूमि अधिकार मन्च नेपालका अध्यक्ष यामबहादुर दर्जीले जानकारी दिए ।

उनले यो अभियान सीमान्तकृत मानिसकका लागि भूमि, आवास र प्राकृतिक स्रोतहरुमा पहुँच सुनिश्चित गर्न जारी आन्दोलनको एक हिस्सा रहेको बताए । यात्राका सहभागीले काठमाडौंमा हुने विश्व सामाजिक मन्च २०२४ मा सहभागी भई भूमि अधिकार, शान्ति र सामाजिक न्यायको आवाज बुलन्द गर्ने उनले बताए ।

गान्धीदेखि बुद्ध शान्ति अभियान ५ दिन सम्म जारी रहने र यस अन्तर्गत भूमि, जीविकोपार्जन र आवासदेखि शान्तिपूर्ण र अहिंसात्मक समाज निर्माण गर्ने बिषयमा बिभिन्न ७ वटा कार्यशाला र सेमिनार हुने उनले बताए ।

पर्सामा एसपी ढुङ्गेल आउँदै

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहको सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयले मङ्गलवार ७८ जना प्रहरी उपरीक्षकहरूको एकसाथ सरुवा गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक शाहको पनि सरुवा भएको हो ।

विगत एक वर्षदेखि पर्सामा कार्यरत शाहको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा नक्साल काठमाडौँमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले मङ्गलवार जारी गरेको सरुवाको सूचनामा उल्लेख छ ।

यस्तै पर्सामा शाहको ठाउँमा अब प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल आउने भएका छन् । हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी उपरीक्षक ढुङ्गेललाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरेको हो ।

वीरगंजका एक दर्जन पसलहरुमा अनुगमन, सचेत गराउँदै लेभल विनाकाे सामग्री नष्ट गरियाे

वीरगंज । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधबार वीरगंजका एक दर्जन पसलहरुमा अनुगमन गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्याेग कार्यालय, वीरगंज उद्याेग वाणिज्य संघ र उपभाेक्ता हित संरक्षण मंचका प्रतिनिधिसहितकाे संयुक्त अनुगमन टाेलीले वीरगंजकाे घण्टाघर र माइस्थान स्थित विभिन्न पसलहरुकाे अनुगमन गरेकाे हाे ।

नियमित अनुगमन अन्तर्गत वीरगंजकाे घण्टाघर र माइस्थान क्षेत्रका ११ वटा पसलहरुकाे अनुगमन गरिएकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगंजका प्राविधिक अधिकृत सुरेश कुमार सिंहले जानकारी दिए ।

अनुगमनकाे क्रममा खाजा तथा मिठाई पसलहरुमा पत्रपत्रिकाकाे प्रयाेग र लेभल नभएकाे प्याकिङ सामग्रीहरु भेटिएकाे उनले वताए । पत्रपत्रिकामा खाजा खुवाउनु नहुने र विना लेभलकाे प्याकिङ सामग्री बिक्री गर्नु नहुने सचेत गराउँदै लेभल विनाकाे साग्रीहरु नष्ट गरिएकाे अधिकृत सिंहले वताए ।

अनुगमन टाेलीलाई देख्नै वितिकै अधिकांश पसलका संचालकहरु पसलकाे सटरहरु बन्द गरेर फरार भएका थिए । खुला रहेका पसलहरु मध्ये अनुगमन टाेली पुगेका पसलका संचालहरु नै भेटिदैन थिए । पसलमा भेटिएकाहरु पनि कागजपत्र देखाउन सकेका थिएन । 

अनुगमन टाेलीमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि बह्रमदेव यादव, घरेलु तथा साना उद्याेग कार्यालयका प्रतिनिधि सुरज राम, वीरगंज उद्याेग वाणिज्य कार्यालयका प्रतिनिधि मनाेज कुमार दास, उपभाेक्ता हित संरक्ष मंचका प्रतिनिधि विशाल झा, प्रहरी र पत्रकारकाे सहभागिता रहेकाे थियाे ।