Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 356

बारामा नक्कली नोटसहित ५ जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले जितपुरबाट बुधबार नक्कली नोट सहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ ।

सर्लाहीकाे चन्द्रनगर गाउँपालिका वडा नं. ३ निवासी रामचन्द्र महतो कोईरी, बाराकाे परवानिपुर गाउँपालिका वडा नं. ५ निवासी सुमित साह, संतोष पटेल, वीरगंज महानगरपालिकाकाे वडा नं. १० निवासी बिशाल कुमार श्रीवास्तव र निरज श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराकाे प्रवक्ता प्रहरी नायब उपरिइक दधिराम न्याैपानेले जानकारी दिए ।

जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा नं.७ जितपुर बजारमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा तत्काल १ जना र उक्त कार्यमा संलग्न अन्य ४ जना विभिन्न ठाउँहरुबाट पक्राउ गरीएकाे प्रवक्ता न्याैपाने वताए ।

उनका अनुसार पक्राउ परेकाकाे साथबाट एक हजार दरको नोट ६१ थान नक्कली नोट र भारतीय सिमकार्ड सहितको मोबाईल ७ थान समेत बरामद भएकाे छ । निजहरुलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको सम्पन्न भएको छ । ‘स्वास्थ्यको लागि खेल ’ भन्ने नाराका साथ सुरु विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको बुधबार सम्पन्न भएको हाे ।

श्री रामस्वरूप रामपृत चाैरसिया माध्यमिक बिधालय झौवाँगुठीको चौरमा भएको प्रतियाेगिताकाे समापन समाराेहलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता खेलाडीहरूको महान उत्सव भएको बताए ।

उनले खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने भएकोले खेलाडी देशको लागि शान्तिदुत पनि भएको बताए । खेलको माध्यमबाट विश्वमा शान्ति ल्याउन सकिने भएकोले सहभागी टिमका खेलाडीलाई उनले प्रसंसा गरे ।  

खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उनले विश्वास समेत व्यक्त गरे । प्रतियोगिताले बिन्दबासिनी गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने पनि वताए । 

खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै अध्यक्ष तिवारीले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिए । १९ देखि शुरु भएको विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिता गाउँपालिका अन्तर्गतका १४ वटा विद्यालयहरुले भाग लिएका खेल २४ गते सम्पन्न भएको गाउँपालिका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले बताए ।

बिन्दबासिनी गाउँपालिकाको सहयोग र शिक्षा शाखाको आयोजनामा सुरु भएको विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा तीन किसिमका खेल भएको थियो ।

म्युजिकल सेयर खेलमा १४ वटा विद्यालय सहभागी थिए भने शोर्ट फुटमा ५ वटा विद्यालय र जेब्लिङ थ्रो – ५ विद्यालय सहभागी भएका थिए । २४ गते सम्पन्न भएको खेलमा मावि तर्फको खेलमा श्री रा.रा.चौ. मावि प्रथम भएको थियो भने श्री रा.रा. चौ. दोश्रो र मसरुर आधारभूत विद्यालय तेश्रो भएको थियो ।

तेस्तै प्रावि तर्फको खेलमा मसरुर आधारभूत विद्यालय प्रथम भएको थियो भने भगवती नेरा प्रावि दोश्रो र रा रा चौ मावि तेश्रो भएको थियो ।

विद्यालय प्रधानध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखा प्रमुख मिथलेश कुशवाहा, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसी, शसस्त्र प्रहरी बल अमरपट्टीका प्रहरी निरीक्षक सागर मल्ल, गाउँपालिका अन्तर्गत विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सहजीकरण प्रधानध्यापक मुक्लेश गद्दीले गरेका थिए ।

बारामा टिपरकाे ठक्करबाट पूर्व अनुसन्धान अधिकृत थापाकाे मृत्यु

वीरगंज । बाराको कलैया उपमहानगरपालिका १६ मा बुधवार बेलुकी टिप्परको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृतको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका – ५ घुसुकपुर निवासी पूर्व अनुसन्धान अधिकृत ६० वर्षीय विष्णु थापा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
 
पिलुवाबाट कलैया तर्फ आउँदै गरेको ना ३० प ९८३० नम्बरको मोटरसाइकलमा सवार थापालाई विपरीत दिशाबाट जाँदै गरेको ना ८ ख २१९५ नम्बरको टिपरले उक्तरझिटकैया गाउँ नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ ।

कानुनमन्त्रीलाई प्रश्नः के अब खेतमा क्यासिनो चलाउने ?

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल भारत सीमाभन्दा पाँच किलोमिटर भित्र क्यासिनो सञ्चालन गर्ने प्रावधान सच्याउन माग गरेका छन् ।

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायीक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकको छलफलमा भाग लिँदै सांसद यादवले सीमाभन्दा ५ किलोमिटर भित्र होटल रिसोर्टमा क्यासिनो सञ्चालन गर्न पाउने प्रावधान व्यवहारिक नभएको बताए ।

‘मेचीदेखि महाकालीसम्म वीरगंज, जनकपुर काँकडभिट्टा, भैरहवा, धनगढीलगायत सीमाको जति सहर छ, त्यो सीमाको एकदेखि तीन किलोमिटरभित्र पर्छ । व्यवसायीहरुले त्यो भित्रमा होटल, रिसोर्ट बनाउँछ, त्यहाँ क्यासिनोको इजाजत दिन्छ,’ उनले भने, ‘अहिले ५ किलोमिटर प्रावधान राखेर के अब खेतमा क्यासिनो बनाउने, उखुबारीमा क्यासिनो बनाउने, कि जंगलमा गएर क्यासिनो खेल्न जाने ? क्यासिनो को खेल्छ, नेपाली खेल्छ कि विदेशी खेल्छ ?’

सांसद यादवले कुनै व्यक्तिको लागि ऐन संशोधन गर्न नमिल्ने जिकिर गर्दै पुरानो तीन किलोमिटरको प्रावधान यथावत् राख्न माग गरे ।

‘कुन व्यक्तिको फाइदाको लागि यो ऐनमा पाँच किलोमिटर प्रावधान आएको छ, म बुझ्न चाहन्छु,’ उनले सोधे, ‘मलाई यहाँसम्म जानकारी छ कि झापाको विर्तामोडमा फाइभस्टार होटल बनेको छ, त्यो बोर्डरभन्दा १० किलोभित्र बनेको छ, उसको फाइदाको लागि यो ऐनमा संशोधन गरिएको छ ।’

व्यक्तिको लागि सारा व्यवसायी, सारा रिपोर्ट व्यवसायीलाई मार्नको लागि यो आएको दाबी गर्दै उनले यो प्रावधान हटाएर पुरानो तीन किलोमिटरको प्रावधान राख्न माग गरे ।

घडिअर्वा स्पोर्टस क्लब वीरगंजकाे दोस्रो पूर्ण बैठक सम्पन्न

वीरगंज । घडिअर्वा स्पोर्टस क्लब वीरगंजकाे दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । क्लबका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा वीरगंजस्थित होटल मकालुमा पूर्ण बैठक सम्पन्न भएको हो । 

ज्ञात तथा अज्ञात शहिदहरुप्रति मौन धारण गर्दै सुरु भएको बैठकले शिक्षा र स्वास्थ्यसँगै खेलकुद क्षेत्रको विकास र बृद्धिका लागि सक्रियता देखाउने निर्णय गरेको छ । 

जसका लागि विभिन्न उपसमितिहरु पनि बनाइएको छ । प्रभाकर गुप्ताको संयोजकत्वमा ३ सदस्यीय खेलकुद तथा स्वास्थ्य उपसमिति गठन भएको छ । उपसमितिमा घनश्याम साह कानु र उमाशंकर साह रहेका छन् । 

क्लबका सचिव सन्तोष गुप्ताको संयोजकत्वमा शिक्षा उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यमा मनोहर साह र किशोरी साह कानु रहेका छन् । 

ओमप्रकाश गुप्ताको संयोजकत्वमा कार्यालय व्यवस्थापन उपसमिति बनाइएको छ । जसमा शम्भु गुप्ता र उमाशंकर साह सदस्य रहेका छन् । बैठकले आउँदै गरेको बसन्त पञ्चमी (सरस्वती पूजा) लाई भब्य रुपमा मनाउने उद्देश्यले सुदामा बर्णवालको संयोजकत्वमा सरस्वती पूजा उपसमिति बनाएको छ । 

पूर्ण बैठकको सहजीकरण क्लबका सचिव सन्तोष गुप्ताले गरेका थिए । 

मुलुक बिग्रनुको मुख्य कारण भ्रष्टाचार : महासचिव भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद (जबज) ‘संसदीय चुनावमा भाग लिन्छौँ’ भनेर गरिएको घोषणाबाहेक अरु केही नभएको बताएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित एक बहसका क्रममा उनले यस्तो बताएका हुन् । “सारमा भन्ने हो भने जनताको बहुदलीय जनवाद संसदीय निर्वाचनमा भाग लिन्छौँ भनेर गरिएको घोषणाबाहेक अरु केही होइन,” उनले भने ।

जबज महासचिव भुसालको पूर्वदल नेकपा (एमाले) को एक राजनीतिक सिद्धान्त हो । एमालेको नाम नै उद्धृत गरेर उनले भनेका छन्, “यहाँ जनताको बहुदलीय जनवादका आधारमा समाजवाद बनाउने भनिन्छ । हुन त त्यसबेला त्यस्तै परिस्थिति थियो । त्यो भनेको २०४९ सालमा बनाइएको सिद्धान्त थियो । जम्मा कम्युनिष्ट पार्टीले संसदीय निर्वाचनमा भाग लिने भन्ने घोषणा थियो त्यो । तर, अहिले पनि हामी त्यसकै सान्दर्भिकता देख्छौँ ।”

यस्तै उनले घुस नखाने नेताहरूको पार्टी मुलुकमा नभइन्जेल भनेजस्तो काम नहुने बताए । “नकमाएको सम्पत्ति नखाने, घुस नखाने नेताहरूको पार्टी मुलुकमा नबनीकन हामीले चाहेको युग देख्न सक्दैनौँ,” उनले भने ।

उनले मुलुक बिग्रनुको मुख्य कारण भ्रष्टाचार भएको बताए । करोडौंको सम्पत्ति नभएका नेता एवम् कर्मचारी सायदै भएको उल्लेख गर्दै उनले भने, “एउटा कर्मचारीको तलबले ४/५ जनाको परिवार पाल्न गाह्रो हुन्छ । तर, अहिले हेर्नुभयो भने त्यो अवस्था कहाँ छ ? करोडौंको सम्पत्ति नभएका कर्मचारी छैनन् । नेताहरूको कुरा के गर्नु ?”

सिचाई विकास डिभिजन वीरगंजले योजनाको नाम र स्थान नै परिर्वतन गरी अनियमितता गर्दै

वीरगंज । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्साले योजनाको शिर्षक नै परिवर्तन गरी कार्य सम्पादन गरी १५ लाख रुपैया झ्वाम् पारेको छ ।

प्रदेश सरकारबाट स्विकृत वीरगंज महानगरपालिकाको बेल्वा कुहडी भेडहा नदी नियन्त्रण कार्याक्रम रहेकोमा सो डिभिजन प्रमुख, योजना प्रमुख एवं वडा नं. २० को वडा कार्यालयको मिलोमतोमा ठाउँ नै परिवर्तन गरी कार्य सम्पदान गरेको देखिएको छ ।

बेल्वा कुहडी अर्कै वडामा पर्ने भएपनि कर्यालयले वडा कार्यालयलाई योजना संचालन गर्नको लागि उपभोक्ता समिति गठनको लागि पत्रचार गरेको तथा वडा नं. २० को हरपतगंजमा कार्यक्रम संचालन गरेको पाइएको छ ।

वडा २० को वडा कार्यालयले पनि स्थानियहरुलाई जानकारी नै नदिई वडा अध्यक्षको आसेपासेलाई राखेर अपौनी भेडहा नदी नियन्त्रण उपभोक्ता समिति वीरगंज २० हरपगंज पर्सा गठन गरी प्रदेश कार्यालयको मातहत रहेको जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयमा पेस गरी कार्यक्रम संचालन गरेको देखिन्छ ।

स्रोतको अनुसार उपभोक्ता समितिले भुक्तानी माग गर्नु अगावै भुक्तानी गरिएको तथा पछि मात्र कागाजहरु मिलान गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष रंजन कुमार साह तेली एवं सिचाई विकास डिभिजन कार्यालयको कर्मचारीहरुकै मिलोमतोमा यो भ्रष्टाचार प्रकरणलाई अन्जाम दिइएको स्रोतको दावी छ । उपभोक्ता समिति गठन वडा नं. २० का वडा अध्यक्ष रामकिशोर सिंहकै रोहवरोहमा गठन गरिएको छ ।

जाल ढुङ्गाले तटबन्ध गरिएको सो स्थानको निरिक्षण गर्दा काम कमसल गरिएको एवं सो ठाउँमा तटवन्धको कुनै तुक नरहेको समेत देखिएको छ । यो सम्पूर्ण प्रकरणको वारेमा सिचाई डिभिजन कार्यालय वीरगंजका प्रमुख श्यामकिशोर साफीसँग बुझदा सबै प्रक्रिया पुरा गरेर कार्य सम्पदान गरिएको दावी गरे । तर कार्यालयका योजना प्रमुख राकेश साहले उपभोक्ता समिति गठन गर्दा बेल्वा कुहडी लेख्नु पर्नेमा हल्का त्रुटी भएको बताए । तर उनले कार्य सम्पन्न भएको ठाउँलाई कुहडी नै भन्ने गरिएको दावी गरे ।

कार्य सम्पदानपछि उपभोक्ता समितिले पुस २० गते भुक्तानी माग गरेकोमा कार्यालयले योजना सम्पन्न भएको स्थानको निरिक्षण मुल्याङ्क गरी माघ २ गते गते भुक्तानी समेत गरि सकेको छ । बेल्वा कुहडीको योजना कर्मचारी र नेताहरुको मिलोमतोमा गुपचुप गरी अर्कै ठाउँमा कार्य सम्पादन गरेको थाह पाएपछि एक समुहले कार्यालय परिसरमै पुगेर हो हल्ला गर्नुको साथै कर्मचारीहरुलाई गाली ग्लौज समेत गरेको डिभिजन कार्यालयकै एक जना कर्मचारीले बताए ।

स्थानियहरुका अनुसार बेल्वा कुहडीको लागि आएको योजनालाई स्थान परिर्वतन गरी काम सम्पन्न गर्नको लागि ठूलो आर्थिक चलखेल भएको छ । घटना उजागर भएपछि कार्यालयका कर्मचारीहरु रातदिन गरी कागजातहरु मिलान गरी रहेको तथा फसने डरले अनाव सनाब व्यानवाजी गरी रहेको छ ।

भेडहा नदि छेवमै रहेको वडा नं. २७ का वडा अध्यक्ष ह्दयनाराण कुर्मीले कुहडी टोल वडा नं. २० मा नरहेको वताए । योजना सम्पन्नको ठाउँमा भैसी चराउँदै गरेका एक जना स्थानियले नाम नबताउने सर्तमा साहुहरुको खेत–जग्गालाई बचाउँनको लागि जरुरी नै रहेको ठाउँमा तटबन्ध गरिएको बताए ।

यो घटनासँगै स्थानियहरुले अन्य योजनाहरुको पनि नाम स्थान परिर्वतन गरी कार्यालयले भ्रष्टाचार गरेको हुन सक्ने भन्दै सम्पूर्ण प्रकरणको छानविनको माग गरेका छन् ।

५५ वर्षीय महिलाकाे बलात्कार प्रयास गरेकाे आराेपमा एक युवक पक्राउ

वीरगंज । बारामा ५५ वर्षीय एक महिलामाथि कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका – १८ कुस्माडीका प्रताप भनिने २३ वर्षीय नरेश चौधरीलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौधरीले ५५ वर्षीय महिलालाई बाटो ढुकी जबरजस्ती मकैवारिमा लगी कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोप छ । पतिकाका लागि टिफिनमा खाना लिएर जाँदै गरेका बेला ती महिलालाई चौधरीले सडकको एकान्तमा रोकी कुटपिट गरी जबरजस्तीको प्रयास गरेको बताइएको छ ।

घर जाँदै गरेका पीडितका देवर पर्ने आफन्तले बाटो नजिकै मकैवारिमा महिला चिच्याएको आवाज सुनेर होहल्ला गरेपछि पिडक चौधरी भागेका थिए ।

कुटपिटबाट घाइते महिलालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको र घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

वीरगंजबाट ७ लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ बसपार्कस्थित सडकखण्डबाट प्रहरीले ७ लाख ३७ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो । 

भारतबाट भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि व्यक्तिहरु सामान छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

उनका अनुसार नक्शा प्रिन्ट गर्ने मेशिन (स्काई कट मेशिन) १ थान, प्लटिङ् पेपर १ रोल, लेडिज सर्ट २ थान, ट्रमनील ट्याब्लेट २ हजार १६८ पत्ता, ९४ किलोग्राम काचो सुपारी, अफ्जल मिन्ट फ्लेवर ६० किलोग्राम, साडी १ थान, कुर्ता सुरुवाल २ थान र २० जोर जुत्ता बरामद भएकाे हो । 

बरामद सामग्रीलाई वीरगंज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । 

जनमत पार्टी पर्सामा ५ दर्जन युवाहरु प्रबेश

वीरगंज । जनमत पार्टी पर्साकाे युवा भेटघाट एवं पार्टी प्रवेश कार्यक्रम वीरगंजमा सम्पन्न भएकाे छ । जनमत पार्टी निकट युवा जनमत संघ वीरगंज महानगर समितिकाे कार्यक्रममा वीरगंजका युवा नेता मनोज साहको पहलमा ५ दर्जन युवाहरु जनमत पार्टीमा प्रवेश गरेकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

जनमत युवा संघ वीरगंज महानगरका संयोजक संजय सिंहको अध्यक्षता र युवा जनमत संघका केन्द्रिय संयोजक संजय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै युवा जनमत संघका केन्द्रिय संयोजक संजय यादवले मधेस प्रदेश सरकार भ्रष्टाचार र कमिसनखोरीमा लिप्त रहेको आरोप लगाए । उनले अब युवाहरू भ्रष्टाचार र बेथिति विरुद्ध आक्रमक रुपमा लाग्नु पर्ने युवाहरूलाई निर्देशन समेत दिए ।

उक्त कार्यक्रममा जनमत पार्टीका नेता एवम् पुर्व वरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदीले युवाहरूलाई प्रशिक्षण समेत दिएका थिए ।

वीरगंजस्थित जिल्ला पार्टी कार्यालयमा भएकाे कार्यक्रममा पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्यहरु करिमा बेगम, मुकेश द्विवेदी, बिधालाल प्रसाद, श्याम गुप्ता, जिल्ला सचीव शशी पाण्डे, कोषाध्यक्ष अभिसेख तिवारी, युवा नेताहरू राजुराज गिरी, बिष्नु कुशवाहा, लोकेश कर्ण, सिकेन्द्र राम, बिजय गुप्ता, रेखा यादव, सन्तोषी गुप्ता लगायतको उपस्थिति रहेको थियो ।