Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 337

नर्सहरुको सीप अभिबृद्धिमा मधेश प्रदेश सरकारले ध्यान दिने

वीरगंज । मधेश प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुको सीप तथा ज्ञान अभिबृद्धिमा मधेश प्रदेश सरकारले ध्यान दिने प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रि शत्रुधन प्रसाद सिंहले बताएका छन् ।

नेपाल मेडिसिटी बयोधा अस्पतालमा आयाेजित बेसिक फर नर्स कार्यशालाको उद्घाटन गर्दै गर्दै प्रदेश स्वास्थ्य मन्त्रिले संघीयतालाई कार्यान्वयन गर्दै आम जनसमुदायको हितका लागि उपयोग गर्न स्वास्थ्य सेवा एउटा माध्यम हुने बताए ।

नेपाल मेडिसिटी बयोधा अस्पताल र नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौको संयुक्त तत्वधानमा शुक्रबार सुरु भएकाे कार्यशाला तालीम शनिबार सम्पन्न भएकाे हाे । 

मधेश प्रदेशमा आईसियु सेवा दिईरहेका अस्पतालहरुका करिब ७० जना नर्सहरुलाई सघन उपचार पद्धति, नवीनत् ज्ञान र उपचार मापदण्ड तथा सघन उपचारमा प्रयोग हुने औजार, उपकरणहरुका बारेमा स्किल ल्याबमा तालीम दिईएको नेपाल मेडिसिटी अस्पतालका प्रमुख विजय रिमालले बताए ।

अस्पतालको सभाहलमा आयोजना गरिएको बेसिक फर नर्स कार्यशाला तालीमको उद्देश्य अस्पतालहरुको उपचार गुणस्तरलाई अभिबृद्धि गर्दै सघन उपचारका लागि मधेश प्रदेशका सबै अस्पतालहरुलाई सक्षम बनाउनु रहेको अस्पतालका प्रमुख रिमालले बताए ।

साथै मधेश प्रदेशमा आईसियु विशेषज्ञहरुको अभावलाई न्यून गर्ने प्रयास स्वरुप आफूहरुले निकट भविष्यमा चिकित्सकहरुका लागि १ वर्षे फेलोसिप कार्यक्रम बीरगंजमै शुरु गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका अध्यक्ष तथा क्रिटिकल केयर विभाग, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका प्रमुख प्रा.डा. सुभास आचार्यले आफूहरुले मधेश प्रदेशको अस्पतालहरुको आईसियु सेवाको गुणस्तर र क्षमतालाई अभिवृद्धि गर्न सहयोग गर्ने अब नियमित रुपमा प्रदेशमा तालीमको आयोजना गर्ने बताए ।

क्रिटिकल केयर नर्सिङ्ग एसोसियन अफ नेपालकी भाईस प्रेसिडेण्ट कविता सिटौलाले तालीमका लागि उत्साहित सहभागी तथा कार्यक्रमको सफलताका लागि उपस्थित हुन भएको प्रदेश स्वास्थ्य मन्त्रि लगायतका राजनैतिक दलका प्रतिनिधिहरुको स्वास्थ्य प्रतिको प्रतिबद्धताका लागि आभार ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता विचारी यादव, जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष राम नरेश यादव, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, नेपाली कांग्रेस पर्साका उपाध्यक्ष राम नारायण कुर्मी, परवानीपुर गाउँपालिकाका प्रमुख राम क्षेत्री कुर्मी, वीरगंज महानगरपालिका वडा नं. २३ का प्रमुख अवध किशोर कुशवाहा, वडा नं. २० का प्रमुख राम किशोर सिंह लगायतका महानुभावहरुले कार्यकममा शुभकामना ब्यक्त गरेका थिए ।

विशेषगरी रेस्पाईरेटोरी प्याथोलोजी, एयरवे म्यानेजमेन्ट, मेकानिकल भेन्टिलेशन, रुटिन नर्सिङ्ग केयर इन आईसियु, कार्डियोभास्कुल फिजियोलोजी, शक म्यानेजमेन्ट, न्यूरोलोजिकल एसेसमेन्ट लगायतका विषयहरुमा ह्याण्डस् अन स्किल स्टेशनको ब्यवस्था गरी प्रयोगात्मक र सैद्धान्तिक ज्ञान र सीप अभिवृद्धि गरिएको उक्त कार्यशाला तालीम ८ जना सिनियर नर्स इन्स्ट्रक्टरहरुले संचालन गरेका थिए ।

स्थानिय संताेष यादवद्वारा श्री अजिज मियाँ माविलाई बेन्च डेस्क सहयाेग

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माद्यमिक विद्यालय धाेबिनीलाई बेन्च डेस्क सहयाेग प्राप्त भएकाे छ ।

स्थानिय संतोष यादवले विद्यालयलाई रु ५१ हजारकाे लगानीमा ९ सेट बेन्च डेस्क सहयाेग गरेकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले जानकारी दिए । सहयाेगि दाता यादवले साे बेन्च डेस्क शनिबार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा रहेकाे बेन्च, डेस्ककाे अभाव मध्यनजर गर्दै यादवले विद्यालय सहयाेग गरेकाे प्राधानाध्यापक रामले वताए । सहयाेग गर्ने दाता यादवलाई विद्यालय धन्यावादसहित सम्मान समेत गरेकाे उनले वताए ।

वडा अध्यक्ष मनौर अहमदकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एमालेका नेता सल्लाउदिन अहमद, सशस्त्र प्रहरी सिमा सुरक्षा बल भिस्वाका सशस्त्र प्रहरी निरीक्षक दिपकराज बस्नेत, नरेश पटेल, मनेश ठाकुर, ईन्जिनियर रामबाबु पटेल, सुनिल राम लगायतकाे उपस्थिती रहेकाे थियाे । 

विद्यालयमा विद्यार्थीहरुकाे चाप रहेपनि भाैतिक संरचनाकाे अभाव रहेका कारण विद्यालयले विभिन्न दातृ निकायसंग सहयाेग लिदै आएकाे छ । 

नेसेन्ट एजुकेशनले आफूहरुलाई ठगेको कुरा आधारहीन : विद्यार्थीहरु

वीरगंंज । भारतको पारुल युनिभर्सिटिमा अध्ययनरत ५ जना छात्रले केही सञ्चारमाध्यमले आफूहरुको चरित्र हत्या गरेको आरोप लगाएका छन् । वीरगंजबाट प्रकाशित एक दैनिक पत्रिका तथा सोही पत्रिकाको अनलाइनले आफूहरु ठगीमा परेको भनेर कपोकल्पित, भ्रामक समाचार प्रकाशन गरेर आफूहरु सहित परामर्षदाताको रुपमा काम गरेको कम्पनीको चरित्र हत्या गरेको आरोप लगाएका हुन् ।

वीरगंजबाट प्रकाशित एक दैनिक पत्रिकाले यही चैत २१ गते बुधबारको दिन अँक ६२ को पहिलो पृष्ठमा ‘नेसेन्ट कन्सलटेन्सीले ठगी गर्दै गरेको पुष्टि, प्रहरी प्रशासन ठगी धन्दालाई प्रसय दिदै’ तथा चैत २३ गते शुक्रबार अँक ६४ को पहिलो पृष्ठमा ‘नेसेन्ट एजुकेशन ठगी धन्दा चलाउँदै, ठगहरुको मिलोमतोमा प्रहरीद्वारा पीडितहरुलाई उपस्थित हुन उर्दी जारी’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

सोही समाचारलाई खण्डन गर्दै पर्साको वीरगंज – २६ सुगौली निवासी निरज पटेल, राहुल पटेल, वीरगंज – ८ पानीटंकी निवासी आदित्य कुमार कुशवाहा, बाराको सिम्रौनगढ नगरपालिका – ९ बसवरिया निवासी रुसतम कुमार यादव तथा कलैया – १८ पतौरा निवासी युवराज पटेलले उक्त समाचार भ्रामक रहेको स्पष्ट पारेका हुन् ।

पाँचै जना विद्यार्थीहरुले सामुहिक रुपमा विज्ञप्ति जारी गरि आफू लगायत भारतमा अध्ययनको लागि परामर्ष दाताको रुपमा काम गरेको वीरगंज लिंकरोड स्थित नेसेन्ट एजुकेशन फाउण्डेशन प्रा.लि. र ग्रेट माण्टेशन प्रा.लि.ले आफूहरुलाई ठगेको भनेर प्रकाशित समाचार आधारहीन रहेको स्पष्ट पारेका हुन् ।

उनीहरुले भारतको पारुल युनिभर्सिटिमा शैक्षिक सत्र सन् २०२३ मा एच.ए.मा भर्ना भई अध्ययन गरि रहेकोमा आफ्नै घरायसी कारणले कलेजबाट फर्केको जानकारी गराउँदै वीरगंजका एक पत्रिकाले आफूहरुको जानकारी विना नै आफूहरुको भनाई सहित परामर्षदाताको रुपमा काम गरेको शैक्षिक सँस्थाबाट आर्थिक लाभ लिने उद्देश्यले बद्नाम गरेको बताएका छन् ।

उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा ‘हामी सबै साथीहरुको नाम समेत प्रकाशित गरि कपोकल्पित, हुँदै नभएको झुठा विवरणहरुका साथ फोटो समेतको दुरुपयोग गरि समाचार प्रकाशित गरिएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ उल्लेख गरिएको छ ।

पारुल युनिभर्सिटि भारतको उत्कृष्ट युनिभर्सिटिको रुपमा स्थापित रहेको जानकारी गराउँदै विद्यार्थीहरुले यस युनिभर्सिटि विरुद्ध केही पित्त पत्रकारले लेखेको समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । शैक्षिक परामर्षदाता कम्पनीको बारेमा समाचार प्रकाशित भएपछि आफूहरु आश्चर्यचकित भएको र हामी सहित परामर्षदाता कम्पनीलाई समेत बद्नाम गराउन प्रयास गरिएकोमा आफूहरु कानूनी कारवाहीको खोजीमा रहेको उनीहरुको भनाई छ ।

देशको चौथो अँगको रुपमा स्थापित रहेको पत्रकारिताको नाममा पित पत्रकारिता गरि सम्पूर्ण पत्रकार जगतलाई बद्नाम गराउने काम भएकोमा त्यस्ता पत्रकारलाई कानूनी कारवाही गराउन सहयोग गर्न नेपाल पत्रकार महासंघ पर्सा शाखा र प्रेस काउन्सिल नेपाललाई उनीहरुले आग्रह समेत गरेका छन् ।

कुशवाहा समाजकाे केन्द्रिय महाधिवेशन भलुहीमा सुरु

वीरगंज । नेपाल कुशवाहा कल्याण समाजकाे ७ औं राष्ट्रिय महाधिवेशन बाराकाे भलुहीमा सुरु भएकाे छ । श्री आधारभुत विद्यालय भुलही स्कुलकाे प्राङ्गणमा सुरु भएकाे महाधिवेशनकाे उद्घाटन प्रतिनिधि सभा सदस्य (सांसद) लक्ष्मी महताे गरेका हुन् ।

नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष तापेश्वर महताेकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह, पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहा, पूर्व राज्य मन्त्री सिता राम मेहता, शत्रुधन महताे, संविधान सभा सदस्य शिवचन्द्र कुशवाहा, रामचन्द्र पयासी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

उद्घाटन समाराेहमा विभिन्न किसिमकाे सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे भने अधिवेशनमा सहयाेगमा गर्ने संस्था र व्यक्तिहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

शनिबार सम्पन्न हुने अधिवेशनले कुशवाहा कल्याण समाजकाे नयाँ केन्द्रिय समिति चयन गर्ने समाजका शम्भु कुशवाहाले जानकारी दिए । अधिवेशनमा देशभरमा कुशवाहा समाजकाे प्रतिनिधिहरुकाे सहभागिता रहेकाे छ ।

प्रदिप यादवकाे प्रश्न : हुलाकी राजमार्गमा यति ढिलासुस्ती किन ?

वीरगंज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले हुलाकी राजमार्ग निर्माणमा ढिलाइ हुनुकाे कारण माग गरेका छन् ।

सार्वजनिक लेखा समितिकाे विहीबार बसेकाे बैठकमा बाेल्दै सांसद यादवले साेधे, `हुलाकी राजमार्गमा यति ढिलासुस्ती किन, वास्तविक कारण के हाे ? समस्या समाधानका लागि लेखा समितिमा कारण आउनुपर्याे ।´

बैठकमा भौतिक पूर्वाधार मन्त्रालयले ९७५ किलाेमिटर निर्माण भइसकेकाे तथ्यांक प्रस्तुत गरेकाे थियाे ।

यसमा यादवले साेधे, `९७५ किलाेमिटर निर्माण भएकाे भनियाे, याे सडक कति टुक्रामा छ ? सहायक सडक कति छ ? यसकाे मापदण्ड के हाे ? नेताकाे दबाब, मन्त्रीकाे दबाब, आसेपासेकाे दबाबमा कहाँ कहाँ निकालियाे बताउनुस् ।´

सांसद यादवले मधेश प्रदेशमा हुलाकी राजमार्गमा कति पुल बन्न बाँकी छ भनेर साेधे । `पर्सामा राष्ट्रिय निकुञ्जमा के समस्या छ, हुलाकी राजमार्ग विस्तारमा´ उनले साेधे । मधेशकाे लाइफलाइन हुलाकी राजमार्ग यथाशीघ्र बनाउनुपर्ने उनकाे भनाइ थियाे ।

हुलाकी सडकमा ठेकेदारले पनि बदमासी गरेकाे उनले जिकिर गरे । `समग्रमा याे सरकारकाे दाेष हाे, सुस्त हुनुमा´ उनले भने, `मधेशबाट मन्त्री नियुक्त भयाे भने अग्रसरता लिने, पहाडकाे बन्याे भने नलिने छ । अहिले महासेठ मन्त्री हुनुहुन्छ, पक्कै अग्रसरता लिनेछ । कहाँ कहाँ समस्या छ, स्पष्ट आओस् ।´

तरकारीको बिचमा राखेर लागूऔषधकाे तस्करी, एक जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले लागू औषधसहित एक जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला थाना हरपुर – २ निवासी २६ वर्षीय राजकरण साहलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

साहको साथबाट प्रतिबन्धित लागूऔषध नुरफिन दुई सय पिस, डाइजेपाम दुई सय पिस र फेनारगन दुई सय पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १५ फूलबारी टोलस्थित सडक खण्डमा बुधबार दिउँसाे बाराको बलीरामपुरबाट वीरगंजतर्फ आउँदै गरेको साह सवार बीआर ०५ एटी ७३२६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलको दुवैतर्फ बोकेर तरकारीहरूको बिचमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद भएकाे पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

साहलाई लागु औषध र उक्त माेटसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले वताए ।

बयोधा अस्पतालले मधेशका आईसियु नर्सहरुको बृहत कार्यशाला गर्दै

वीरगंज । मधेश प्रदेशमा आईसियु सेवा दिईरहेको प्रायः सबै अस्पतालका करिब ७० जना नर्सलाई नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजले कार्यशाला तालीमको आयोजना गर्ने भएको छ ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौ र नेपाल मेडिसिटी बयोधा अस्पतालको संयुक्त आयोजनामा दुई दिने बेसिक फर नर्स कार्यशाला तालीम यही चैत्र २३ र २४ गते अस्पतालको सभाहलमा आयोजना गरिने अस्पतालका प्रमुख विजय रिमालले जानकारी दिए ।

उक्त कार्यशाला तालीमको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गर्ने कार्यक्रम रहेकाे अस्पतालले जनाएको छ ।

मधेश प्रदेशका आईसियु सेवा दिईरहेका अस्पतालहरुमा कार्यरत नर्सहरुको सीप, ज्ञान र अनुभवलाई अभिबृद्धि गर्ने उद्देश्यले यस विशिष्टिकृत कार्यशाला तालीमको आयोजना गरिएको अस्पतालका डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्ट ओम प्रकाश श्रीवास्तवले बताए ।

विशेषगरी रेस्पाईरेटोरी प्याथोलोजी, एयरवे म्यानेजमेन्ट, मेकानिकल भेन्टिलेशन, रुटिन नर्सिङ्ग केयर इन आईसियु, कार्डियोभास्कुल फिजियोलोजी, शक म्यानेजमेन्ट, न्यूरोलोजिकल एसेसमेन्ट लगायतक विषयहरुमा ह्याण्डस् अन स्किल स्टेशनको ब्यवस्था गरी प्रयोगात्मक र सैद्धान्तिक ज्ञान र सीप अभिवृद्धि गर्ने आफूहरुको योजना रहेको डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्ट श्रीवास्तवले बताए ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेशनका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका क्रिटिकल केयर विभागका प्रमुख प्रा.डा. सुवाश आचार्य, लिभरट्रान्सप्लाण्ट नर्स कोअर्डिनेटर त्रि.वि.शिक्षण अस्पताल तथा क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालकी भाईस प्रेसिडेन्ट एवं बेसिक फर नर्स कोर्ष डाईरेक्टर कविता सिटौला लगायत ८ जना सिनियर नर्स इन्स्ट्रक्टरहरुले कार्यशाला तालीमलाई संचालन गर्नु हुने अस्पतालले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

पचास लाख बराबरका औषधी, कपडा तथा खुद्रा सामानहरू पक्राउ

वीरगंज । प्रहरीले वीरगंजबाट तस्करीको आशंकामा ५० लाख रुपैयाँ मूल्यको सामानसहित एउटा ट्रकपनि नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ५० लाख १२ हजार १८० रुपैयाँ मुल्यको कपडा, औषधी, चिनी, सुर्ती लगायतका सामानसहित ना ८ ख ३५४९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

गत सोमबार वीरगंज महानगरपालिका वडा नम्बर १२ स्थित पावर हाउस चोकमा ना ८ ख ३५४९ नम्बरको ट्रक रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकबाट राजश्व छलेर ल्याइएको ४१ लाख ९३हजार १० रुपैयाँ मुल्यको कपडा र खुद्रा सामानहरू बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । उक्त सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता थापाले जानकारी दिए ।

यस्तै गत सोमबार नै बेलुकी वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ रजतजयन्ती चोकमा भारतबाट भन्सार राजश्व छलेर चोरी पैठारी गरी ल्याउदै गरेको ८ लाख १९ हजार १७० रुपैयाँ मूल्यको कपडा, चिनी, सुर्ती तथा औषधी बरामद गरिएको थापाले बताए । ती सामानहरु आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

सांसद विकास कोष रोक्ने फैसलामा पुनर्विचार गर्न सर्वोच्चलाई सांसद यादवको आग्रह

वीरगंज । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसद विकास कोष रोक्ने फैसलामा पुनर्विचार गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक यादवले जनताले आफ्ना निर्वाचन क्षेत्रका जनप्रतिनिधिहरूलाई चिन्ने भएकाले पनि सांसद विकास कोष न्यायालयले रोक्न नमिल्ने तर्क गरे । सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने काम भइरहेका बेला यादवले सांसद विकास कोष कार्यान्वयन नगर्न गरिएको फैसलामाथि पुनर्विचार गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका हुन् ।

उक्त कोष पूर्वाधार विकास कार्यक्रम भएकाले त्यसको कार्यान्वयन सरकारले गर्नेतर्फ पनि सर्वोच्च अदालतको ध्यानाकर्षण हुनुपर्ने उनले बताए । उनले व्यवस्थापिकाको काममाथि न्यायपालिकाले हस्तक्षेप गर्न नमिल्ने पनि बताए ।

प्रमुख सचेतक यादवले भने – ‘म सम्माननीय सभामुख महोदयमार्फत सम्माननीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश लगायत सम्पूर्ण न्यायमूर्तिजीहरूलाई के अनुरोध गर्न चाहन्छु भने यो पूर्वाधार विकास कार्यक्रम जुन सर्वोच्च अदालतले रोकेको छ । यसमा पुनर्विचार गरेर यो कार्यक्रम फुकुवा गर्नु पर्‍यो । किनकि जनताको विकासको कार्यक्रम रोकिएको छ । जनताले आफ्नो सांसदलाई चिन्छ, खोज्छ । सांसदले आफ्नो क्षेत्रमा जाँदा खोज्छ खै मेरो सडक बनाइदिनु भयो माननीयजी भनेर ? मेरो स्कुल बनाइदिनु भयो माननीय जी । जनताले खोज्ने हामीलाई हो, न्यायमूर्तिलाई होइन । त्यस कारण सम्मानित सभामुखमार्फत सम्मानित सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रमुख सचेतक यादवले जनताले न्यायमूर्तिलाई नभई सांसदलाई खोज्ने भएकाले सांसदको अधिकार कटौती गर्ने गरी फैसला गर्न नमिल्ने जिकिर गरे ।

वालविवाह अन्त्य गर्न रणनीतिक कार्ययाेजना बनाउन अन्तरक्रिया

वीरगंज । वीरगंजमा वालविवाह अन्त्य गर्न रणनीतिक कार्ययाेजना निर्माण अन्तर क्रियात्मक छलफल सम्पन्न भएकाे छ । जन्मदर्ता र बाल संरक्षण सेवामा केन्द्रित भएर बुधबार भएकाे अन्तर क्रियात्मक छलफल सम्पन्न भएकाे वीरगंज महानगरपालिकाकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रन्जना पाैडेलले जानकारी दिइन ।

युनिसेफकाे सहयाेग र वीरगंज महानगरपालिका कार्यालयकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजनामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे । वीरगंज महानगरपालिकाकाे सभा हलमा भएकाे कार्यक्रममा युनिसेफका कामद‍ेव खनाल र प्रशिक्षक लक्ष्मी खरेलले प्रशिक्षण दिएकी थिइन ।

कार्यक्रमका सहभागिहरुले पालिकामा बालविवाहकाे अवस्था कस्ताे छ ?, पालिकामा वालविवाह अन्त्यका लागि भएका प्रयासहरु के के छन् ?, वालविवाह अन्त्यका गर्नकाे लागि के के चुनाैतिहरु छन् ? र वालविवाह अन्त्यका लागि अवसर र सम्भावनाहरु के के छन ? काे विषयमा सामुहिक छलफल गरेका थिए ।

सामुहिक छलफलबाट आएकाे सल्लाह सुझावलाई समुहगत प्रस्तुती मार्फत कार्यक्रममा जानकारी गराइएकाे थियाे । कार्यक्रममा विलवालिकाकाे क्षेत्रमा काम गर्ने विभिन्न संघ/संस्थाका प्रतिनिधि तथा स्वयम् सेवकहरुकाे सहभागिता रहेकाे थियाे ।