Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
Home Blog Page 305

सम्पादकीय: सीमा सुरक्षा र सूचना स्पष्टताको संवेदनशीलता

0

अहिले भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको अवस्था छ । सीमामा सेनाको परिचालन, युद्धको आशंका, र सुरक्षात्मक रणनीति तीव्र बनिरहेको बेला यसले नेपालको खुला सीमामा पनि प्रत्यक्ष असर पार्नु स्वाभाविक हो । नेपाल–भारतबीच करिब १,७५० किलोमिटर लामो खुला सिमा छ, जसले दुई देशबीचको सम्बन्धलाई सहज बनाएको भएपनि आपराधिक गतिविधि र अवैध घुसपैठका लागि पनि खुला ढोका बनाउने खतरा बोकेको छ ।

यही सन्दर्भमा वीरगंज जस्तो प्रमुख नाकामा चेकजाँच कडा बनाइएको समाचारले अहिले चर्चा पाएको छ । शुक्रबार वीरगंजमा व्यापक चर्चा चल्यो कि भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई अब राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ । समाचार माध्यमहरूले समेत यसबारे खबर प्रकाशन गरे, जसले सर्वसाधारणमा अन्योल र अनावश्यक डर सिर्जना ग¥यो ।

तर पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दिएको जानकारी अनुसार, राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको होइन । चेकजाँचमा कडाइ गरिएको हो, तर शंकास्पद वा विशेष आवश्यकताको अवस्थामा मात्र नागरिकसँग परिचय पत्र माग गरिनेछ । भारत–नेपाल दुबै देशका सुरक्षा अधिकारीहरूको सहमतिमा सीमामा सुरक्षा निगरानी बढाइएको हो, ताकि द्वन्द्वग्रस्त समयको फाइदा उठाएर कोही गलत नियतका व्यक्ति सीमाबाट नेपाल प्रवेश नगरोस् ।

यस घटनाले दुई मुख्य कुराहरूको महत्वलाई पुनः उजागर गरेको छ । पहिलो, सुरक्षा सतर्कता । नेपालको भौगोलिक संरचना र खुला सीमाको व्यवस्था शान्तिकालमा फाइदाजनक भए पनि संकटका बेलामा जोखिमपूर्ण हुन सक्छ । त्यसैले सीमामा नियमित निगरानी, चेकजाँच, र सहकार्य अपरिहार्य छ । खासगरी युद्धको आशंका रहेको अवस्थामा, अवैध हतियार, घुसपैठिया वा आपराधिक तत्त्वहरू देशभित्र पस्ने जोखिम उच्च हुन्छ ।

दोस्रो, सूचना प्रवाहमा पारदर्शिता र जिम्मेवारी । नागरिकलाई सही जानकारी दिन नसक्दा समाजमा भ्रम फैलिन सक्छ । अनावश्यक त्रासले नागरिक जीवन अस्तव्यस्त बनाउँछ । यस्तो संवेदनशील बेलामा प्रशासनले यथाशीघ्र सत्य र प्रमाणित सूचना सार्वजनिक गर्नुपर्छ । त्यस्तै, सञ्चार माध्यमले पनि सनसनीभन्दा पुष्टि र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ । समाचारको स्रोतको प्रामाणिकता नजाँचिकन गलत सूचना प्रसारण गर्नु गैर–जिम्मेवार पत्रकारिताको उदाहरण हो ।

अन्ततः, सीमा सुरक्षामा कडाइ गर्नु राष्ट्रिय हितको कुरा हो । तर त्यससँगै नागरिकको सूचना अधिकार, स्वतन्त्रता र मानसिक शान्तिलाई पनि ख्याल गर्नुपर्छ । नागरिक र सरकारबीचको विश्वास सूचना पारदर्शिताबाट मात्र बन्न सक्छ । सुरक्षाको नाममा नागरिक अधिकार नखुम्च्याई, पारदर्शी र सन्तुलित उपायबाट मात्रै दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।

नेकपा एस पर्साले बुझायो प्रधानमन्त्रीलाई २४ बुँदे मागपत्र, ‘सुशासनदेखि रोजगारी’मा ध्यान दिन आग्रह

0

वीरगंज। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीले देशको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक समस्याहरूको समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई २६ बुँदे ज्ञापनपत्र बुझाएको छ । पार्टीको पूर्व निर्धारित कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत ज्ञापनपत्र हस्तान्तरण गरिएको हो ।
पार्टी अध्यक्ष बालगोपाल थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले पार्टीको झण्डा सहित प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएको हो ।

पार्टीका अध्यक्ष थापाकाअनुसार, यो ज्ञापनपत्र पार्टी केन्द्रीय कमिटीको निर्देशनमा देशमा व्यापक रूपले देखिएको सामाजिक, आर्थिक र राजनीतिक बेथितिको अन्त्यको मागसहित बुझाइएको हो । उनले सरकारले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा चासो नदेखाएको भन्दै जनदबाबमार्फत सुधारको मार्ग खोल्ने उद्देश्यले देशभर अभियान चलाइएको बताए ।

ज्ञापनपत्रमा नेपालको संघीय, लोकतान्त्रिक, गणतान्त्रिक संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन नहुँदा आम जनता निराश बनेको उल्लेख छ । कृषि, उद्योग, रोजगारी, व्यवहारिक शिक्षा, स्वास्थ्य, पारदर्शिता र सुशासनजस्ता महत्वपूर्ण क्षेत्रमा अपेक्षाअनुसारको प्रगति हुन नसकेको भन्दै पार्टीले राज्य संयन्त्रको आलोचना गरेको छ ।

ज्ञापनपत्रमा उद्योगहरूमा नेपाली श्रमिकको स्थान विदेशीहरूले लिइरहेको, किसानहरू मलखाद, सिचाइ र बजार अभावका कारण समस्यामा परिरहेको, व्यापारीहरूमाथि प्रशासनिक आतंक र डरको वातावरण बनाइएको, तथा प्रहरी प्रशासन र ट्राफिक सेवाले जनमैत्री सेवा दिन नसकेको जस्ता विषयहरूमा विशेष ध्यानाकर्षण गराइएको छ ।

यस्तै, वीरगंजस्थित नारायणी अस्पतालमा थन्किएको स्वास्थ्य उपकरणलाई तत्काल सञ्चालनमा ल्याउन, श्रीसिया नदिको प्रदूषण नियन्त्रण गर्दै वातावरणीय गुरु योजना बनाउन, वीरगंज–माडी सडक तथा हुलाकी सडकको निर्माण सम्पन्न गर्न, र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, बागमती डाइभर्सन लगायतका आयोजना अगाडि बढाउन सरकारलाई स्पष्ट माग गरिएको छ ।

पार्टीले सामाजिक सद्भाव विथोल्ने गतिविधिलाई नियन्त्रण गर्नुपर्ने, छुवाछुत तथा लघुवित्तद्वारा जनमाथि भइरहेको आर्थिक शोषण अन्त्य गर्नुपर्ने, र वीरगंज महानगरपालिकाले सिपमूलक व्यवसायिक शिक्षालयको स्थापना गर्नुपर्ने जस्ता स्थानीय महत्वका विषयमा समेत माग प्रस्तुत गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) पर्साले विगतमा भएका राजनीतिक त्रुटिबाट पाठ सिकेर, अब जनतामुखी विकास, न्याय र समाजवाद उन्मुख शासन स्थापनाको लागि जिम्मेवार भूमिका खेल्न तयार रहेको प्रतिबद्धता पनि जनाएको छ ।

सो अवसरमा संविधानसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य रामचन्द्र साह, केन्द्रीय लेखा आयोग सदस्य किशोरी कुशवाहा, उपाध्यक्ष बिक्रम चौरसिया, जिल्ला सचिव गंगा खड्का, तथा अन्य जिल्ला नेताहरू सुवेदार यादव, बृजलाल पासवान, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, सन्जु चौधरी, उमेश ठाकुर, जोगमाया तमाङ, शान्ता महर्जन, मधु राजपुत, ताकेश्वर चौबे, जयशंकर यादव, शुसिल हजरा, राजकुमार यादव र प्रमोद यादव सहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउन महानगर र उद्योगीको हातेमालो

0

वीरगंज। सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगंज महानगरपालिकाले सुरु गरेको अभियानमा अब वीरगंज उद्योग वाणिज्य संघ पनि सहकार्य गर्दै अघि बढ्ने भएको छ । शुक्रबार वीरगंज महानगरपालिकामा आयोजित छलफल कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह र उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसहितको उपस्थिति रहेको थियो। कार्यक्रममा संघले सिर्सिया नदी संरक्षण तथा समग्र वातावरण सुधार अभियानमा सक्रियरूपमा हातेमालो गर्ने प्रतिबद्धता जनाएको हो।

छलफलमा महानगर प्रमुख सिंहले सिर्सिया नदी वीरगंजको पर्यावरणीय र ऐतिहासिक सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण र पुनर्जीवनमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको बताए । उनले भने, “सिर्सिया नदी हाम्रो सासजस्तै हो। यसको अस्तित्व संकटमा पर्नु वीरगंजको भविष्यमाथि खतरा हो । औद्योगिक फोहोर, नालाको अव्यवस्थित प्रवाह र जनसहभागिताको अभावले नदी मृतप्रायः बन्दै गएको छ । यसलाई जोगाउन अब हरेक तहबाट पहल हुनुपर्छ ।”

प्रमुख सिंहले महानगरपालिकाले नदीको स्रोत संरक्षण, फोहोर व्यवस्थापन, जैविक पुनरुत्थान तथा जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी पनि दिए ।

साथै, हाल महानगरले अभियानकै रूपमा सञ्चालन गरिरहेको व्यवसाय कर, बहाल कर र सम्पत्ति कर तिर्ने अभियानमा उद्योग वाणिज्य संघको सहयोग रहने अपेक्षा पनि व्यक्त गरे । उनले भने, “नक्सा पास नगरी संरचना निर्माण नगर्ने प्रवृत्तिको विकास गर्नु आजको आवश्यकता हो । त्यसमा उद्योग वाणिज्य संघले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।”

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पनि संघ सिर्सिया नदी सफाइ अभियानमा महानगरसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताए ।

उनले भने, “पर्यावरणीय उत्तरदायित्वप्रति संघ गम्भीर छ । सिर्सिया नदीमा प्रदूषणको एक हिस्सा औद्योगिक फोहोर हो भन्ने हामी स्वीकार गर्छौं । अबदेखि हामी वातावरणमैत्री प्रविधि अपनाउने, फोहोर व्यवस्थापनमा सुधार ल्याउने र महानगरसँग सहकार्यमा प्रष्ट योजना बनाउनेछौं ।”

गौतमले कर प्रणाली र भवन निर्माण सम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा संघले भरपुर सहयोग गर्ने पनि बताए । उनले भने, “कानुनी राज्यको सबल पक्ष भनेकै समयमै कर तिर्ने र नक्सा पास गरेर मात्रै संरचना निर्माण गर्ने अभ्यास हो । हामी त्यसको कार्यान्वयनमा दृढ छौं ।”

छलफलको प्रारम्भमा महानगर प्रमुख सिंहले हालै निर्वाचित अध्यक्ष गौतम तथा उनको टोलीलाई कार्यकक्षमा स्वागत गरेका थिए । कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, वातावरणविद् र अन्य सरोकारवालाहरूले सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजी प्रसाद साह, नरेस टिबडेवाल, अनुप अग्रवाल, प्रेमचन्द गोयल लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

किट विश्वविद्यालयमा प्रिसाको मृत्युबारे निष्पक्ष छानबिन गर्न अनेरास्ववियु वीरगंजको माग

0

वीरगंज । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको रहस्यमय मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वीरगंज महानगर समितिले शुक्रबार पर्सा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

सर्लाही जिल्ला घर भई हाल किट विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत २२ वर्षीया प्रिसा साहको अप्रत्याशित मृत्युले विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूबीच त्रासको वातावरण सिर्जना भएको छ। एक महिनाको छोटो अवधिमा त्यही विश्वविद्यालयमा अध्ययनरत अर्का नेपाली विद्यार्थीको पनि मृत्यु भएको खबर सार्वजनिक भएपछि घटनाको गम्भीरता झनै बढेको हो।

वीरगंज महानगर कमिटीका अध्यक्ष आशिफ अहमदको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको अनेरास्ववियुको टोलीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई ज्ञापन पत्र बुझाउँदै घटनाको निष्पक्ष, पारदर्शी र वैज्ञानिक तरिकाले छानबिन गर्न माग गरेको हो।

ज्ञापनपत्रमा मृतकको परिवारलाई न्याय दिलाउन भारत सरकार, नेपाल सरकार, नेपाली दूतावास तथा सम्बन्धित निकायलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। साथै, किट विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति दिलाउन र उनीहरूलाई सुरक्षित स्थानमा सार्न आवश्यक पहल गर्न माग गरिएको छ।

छात्रा साहको मृत्युलाई लिएर अनेरास्ववियुले उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीहरू सुरक्षित नरहेको ठहर गर्दै भविष्यमा नेपाली विद्यार्थीहरूलाई त्यहाँ पठाउने प्रक्रिया रोकिनु पर्नेमा जोड दिएको छ। साथै, मृत्युको वास्तविक कारण सार्वजनिक गर्न समेत ज्ञापनपत्रमा माग गरिएको छ।

वीरगंजबाट भारत लैजाँदै गरेकी युवतीको उद्धार, मानव बेचबिखनमा संलग्न युवक पक्राउ

0

वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट सडकखण्डमा चेकजाँचका क्रममा भारत लैजाँदै गरिएकी एक युवतीको उद्धार गरिएको हो ।

प्रहरी नायब उपरीक्षक तथा पर्सा प्रहरीका प्रवक्ता सुवास भट्टका अनुसार, वैशाख १७ गते साँझ करिब ७ बजे प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले भारततर्फ जान लागेको एक पुरुष र एक युवतीलाई रोकेको थियो । प्रारम्भिक सोधपुछका क्रममा अवस्था शंकास्पद देखिएकोले दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो ।

अनुसन्धानमा खुले अनुसार, सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१ निवासी २९ वर्षीय सुजन लामा उर्फ पासाङ तामाङले युवतीलाई वीरगंज नजिकैको कपडा कारखानामा राम्रो कामको प्रलोभन देखाउँदै भारत लैजाँदै गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त कार्य मानव बेचबिखन गर्ने उद्देश्यले भएको हुनसक्ने देखिएपछि तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेका तामाङमाथि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिए ।

सूचना प्रविधिको अभियानलाई सशक्त बनाउन वीरगंजमा प्रभातफेरी

0

वीरगंज। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने नारासहित वीरगञ्जमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कम्प्युटर एसोसिएसन महासंघ, पर्साको आयोजनामा तथा डायनामिक टेक्नोसफ्नको प्रायोजनमा आयोजित उक्त प्रभातफेरीले डिजिटल नेपाल अभियानप्रति जनचेतना जगाउने उद्देश्य राखेको थियो।

घण्टाघर चौकबाट सुरु भएको प्रभातफेरीले वीरगञ्जका माईस्थान, महाविरस्थान, अलखियामठ, आदर्शनगर लगायत मुख्य स्थानहरूमा परिक्रमा गर्‍यो। सहभागीहरूले डिजिटल पहुँच, साइबर सुरक्षा र प्रविधिमा नवप्रवर्तनका सन्देश बोकेका प्लेकार्ड र ब्यानरसहित सहभागिता जनाएका थिए।

कार्यक्रममा कम्प्युटर एसोसिएसन महासंघ, पर्साका अध्यक्ष सन्जय सक्सेनाको अध्यक्षतामा सूचना प्रविधि क्षेत्रका व्यवसायी, सनलाइट कलेजका विद्यार्थी, शिक्षक, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी र सामाजिक अभियन्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

सचिव राहुल साहका अनुसार कार्यक्रमको मूल उद्देश्य डिजिटल साक्षरताको स्तर अभिवृद्धि गर्दै प्रविधिको प्रयोगलाई व्यवहारिक रूपमा विस्तार गर्नु हो। “सूचना प्रविधिको विकासमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, त्यसैले यस्तो अभियानले युवामा प्रविधिप्रतिको चासो र जिम्मेवारी बढाउने विश्वास लिएको छ,” सचिव साहले बताए।

यसैक्रममा, एसोसिएसनका अध्यक्ष सन्जय सक्सेनाले प्रविधिमैत्री सोचले मात्र समृद्ध नेपाल सम्भव हुने उल्लेख गर्दै सबै पक्षको सहकार्य अपरिहार्य भएको धारणा राखे।

प्रभातफेरीमा क्यान महासंघका केन्द्रिय सचिव दिपक साह, मधेश प्रदेश सदस्य आलोक चौरसिया, पर्सा जिल्ला उपाध्यक्ष गणेश सर्राफ लगायतको विशेष उपस्थिति रहेको थियो।

बालबालिकाको दाँतको हेरचाह गर्न दन्त चिकित्सकको सुझाव

0

वीरगंज । वीरगंज महानगरपालिका–१५ स्थित भिष्वामा रहेको फस्ट स्टेप प्रि–स्कुलमा शुक्रबार निःशूल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस र स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकको सहकार्यमा विद्यालयले बालबालिकाको मौलिक स्वास्थ्य सचेतना अभिवृद्धिका लागि शिविरको आयोजना गरेको हो ।

विद्यालयका निर्देशक विजय कुमार बलका अनुसार सानै उमेरदेखि नै विद्यार्थीहरूमा दाँतको सरसफाइ र हेरचाहको बानी बसाल्न शिविरको आयोजना गरिएको हो ।

शिविरमा सहभागी विद्यार्थी, शिक्षक र अभिभावकले स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकमा थप उपचार गराउँदा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बलले जानकारी दिए ।

शिविरमा दन्त चिकित्सक डा. आमिर आलम र डा. भावना कुमारी झाले विद्यालयका विद्यार्थीहरूको दाँत परीक्षण गरेका थिए । डा. झाले अभिभावकलाई समेत समावेश गरी दन्त स्वास्थ्यको महत्त्व, सरसफाइ विधि र सावधानीबारे जानकारी दिइन् ।

सानो उमेरमै गुलियो खानेकुरा बढी खाने भएकाले अभिभावकहरूले सचेत भई नियमित दन्त परीक्षण गराउनु जरुरी रहेको उनको भनाइ थियो ।

शिविरको संयोजन गरेकी विद्यालयकी शान्ता बलका अनुसार कार्यक्रमबाट विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय गरी करिब ५० जनाले सेवा लिएको क्लबका अध्यक्ष दिपु वर्णवालले जानकारी दिए ।

एमाले वीरगंज महानगर कमिटीको शपथ ग्रहण तथा सम्मान

0

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण तथा सम्मान कार्यक्रम बिहीवार वीरगंजको क्लासिक बैंक्वेटमा सम्पन्न भएको छ ।

शपथ ग्रहण कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका सचिव योगेश भट्टराई थिए । उनले आफ्नो सम्बोधनमा निर्वाचनको नतिजा सबैले स्वीकार गर्नुपर्ने, संगठनलाई बलियो बनाउन आन्तरिक एकता आवश्यक रहेको र गुटबन्दीपूर्ण गतिविधिलाई कुनै हालतमा सहन नहुने स्पष्ट पारे । भट्टराईले पार्टीको सिद्धान्त, नेतृत्व र पद्धतिमा कुनै समस्या नरहेको उल्लेख गर्दै अनुशासनको पालना सबैले गर्नुपर्नेमा जोड दिए ।

उनले बजेट निर्माणको सन्दर्भमा प्रधानमन्त्रीसँग मधेश प्रदेशका लागि छलफल भएको जानकारी दिँदै यसपटक प्रदेशमा राम्रो बजेट आउने विश्वास व्यक्त गरे । साथै, आगामी निर्वाचनमा एमालेबाटै प्रतिनिधि चयन गरी प्रतिस्पर्धा गरिने स्पष्ट पारे ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले महानगर कमिटीलाई आगामी निर्वाचनमा विजय हासिल गर्ने गरी संगठित रुपमा अघि बढ्न निर्देशन दिए । उनले पार्टीलाई एकतामा बाँधेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

नेकपा एमाले वीरगंज महानगरका इन्चार्ज विचारी यादवले केही नेताहरूले शपथग्रहण कार्यक्रमको अवमूल्यन गरेको टिप्पणी गर्दै पार्टीभित्र पत्र–पत्रिकाको दुरुपयोग, लेटरप्याड चोरीजस्ता अनधिकृत गतिविधि बढिरहेको उल्लेख गरे र त्यसलाई नियन्त्रण गर्न नेतृत्वले चासो दिनुपर्ने बताए । महानगर अध्यक्ष नवराज शर्माले कार्यक्रममा बोल्दै पार्टी संगठनलाई थप सुदृढ, जिम्मेवार र जनतामुखी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा वीरगंज महानगर कमिटीले नगर क्षेत्रका २५५ जना पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा सेल्टरदाताहरूलाई गम्छा र सम्मानपत्रद्वारा सम्मान ग¥यो । साथै नेपाल पत्रकार महासंघको केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, प्रेस चैतारीका इन्चार्ज अच्युत पौडेल, प्रदेश अध्यक्ष लालबाबु शेख, जिल्ला अध्यक्ष निरञ्जन मिश्र, चिकित्सक डा. प्रमोद सर्राफ र डा. विजय खनाल तथा नर्सिङ क्याम्पसका नव निर्वाचित स्ववियु पदाधिकारीहरूलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, मधेश प्रदेश खेलकुद मन्त्री प्रमोद जैसवाल, एमाले केन्द्रीय सदस्य अरविन्द सिंह, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, वीरगंज महानगरपालिकाका पूर्व प्रमुख विजय कुमार सरावगी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

छोरीलाई बलात्कार गरी भिडियो बनाउने बुबा जेल चलान

0

वीरगंज । पर्सा जिल्ला अदालतले आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरी त्यसको भिडियो इन्टरनेटमा राख्ने व्यक्तिलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । बुधबार अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले ती व्यक्तिलाई हाडनाता बलात्कार, जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अभियोग लगाउँदै थुनामा राख्ने आदेश दिएको हो ।

पर्सा प्रहरी र साइबर ब्यूरो, काठमाडौं भोटाहिटीको संयुक्त टोलीले करिब चार हप्ता अघि वीरगंजको छपकैयाबाट ३४ वर्षीय ती पुरुषलाई पक्राउ गरेको थियो । उनीमाथि आफ्नै नाबालिग छोरीलाई यौन शोषण गरी भिडियो खिचेको र सो सामग्री ‘गुगल ड्राइभ’मा अपलोड गरेर राखेको आरोप छ ।

साइबर ब्यूरोले बाल यौन शोषण सामग्रीको अनलाइन ट्रेसिंग गर्ने क्रममा ती सामग्री फेला पारेपछि अनुसन्धान सुरु गरिएको थियो । प्राप्त प्रमाणका आधारमा ब्यूरो र पर्सा प्रहरीले संयुक्त रूपमा चैत २२ गते उनलाई नियन्त्रणमा लिएको हो ।
अदालतको आदेशपछि अब मुद्दाको अन्तिम फैसला नआउन्जेल ती आरोपी थुनामा नै रहनेछन् ।

पर्सामा दलित समुदाय लक्षित ३० दिने शिक्षा जागरण अभियान सुरु हुने

0

वीरगंज । दलित समुदायको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लामा ‘३० दिने घरदैलो शिक्षा जागरण अभियान–२०८२’ सञ्चालन गर्ने तयारी गरिएको छ । पिसफोर दलितस फाउन्डेसन नेपालको आयोजनामा आगामी बैशाख २० गते शनिबार देखि यो अभियान सञ्चालन गर्ने तयारी गरिएको हो ।

दलित बालबालिकालाई विद्यालयमा भर्ना गराउने, विद्यालयमा निरन्तरता र टिकाउपन कायम गर्ने, उतिर्ण दरमा वृद्धि ल्याउने, अभिभावकहरूलाई शिक्षाको महत्त्वमा जागरूक गराउने तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको फाउण्डेशनका अध्यक्ष मनोज रामले बताए । उनकाअनुसार अभियान अन्तर्गत दलित बस्ती–बस्तीमा स्वयंसेवकको टोली खटाईनेछ जसले समुदायमा शैक्षिक सन्देश प्रवाह गर्नुका साथै अभिभावक, बालबालिका र विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद र छलफल गर्नेछन् ।

दलित सामाजिक अभियान्ता मनोज रामका अनुसार, अभियानमा ६० जना दलित शिक्षा स्वयंसेवक परिचालित गरिनेछ । उनीहरुले पर्सा जिल्लाका सम्पूर्ण गाउँहरूमा पुगेर शिक्षा सम्बन्धी घरदैलो जागरण कार्यमा सहयोग गर्ने उनले बताए । अभियान अन्तर्गत सामुदायिक ट्युसन केन्द्रको अवधारणा पनि ल्याइने तयारी छ । यसले गुणस्तरीय सिकाइलाई सशक्त बनाउने उनको विश्वास छ । साथै, दलित विद्यार्थी समाज तथा दलित अभिभावक संघ गठन गरी उनीहरुलाई शैक्षिक जागरुप बनाएर अभियान सञ्चालनमा हातेमालो गराउने योजना रहेको छ ।

शिक्षामा प्रोत्साहन स्वरूप उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामग्री (कापी, कलम, झोला आदि) वितरण गरिनेछ । अभिभावकहरूका लागि छुट्टै शिक्षा कक्षा सञ्चालन गरी उनीहरूलाई पनि शैक्षिक प्रक्रियामा सक्रिय बनाउन पहल गरिने उनले बताए ।

अभियानको दौरान पर्सा जिल्लाका निर्वाचित दलित जनप्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गरिने र समन्वय गरिने आयोजक पक्षले जनाएको छ । “सबैका लागि शिक्षा, सबै दलितका लागि शिक्षा” भन्ने नारासहित अगाडि बढाइएको यो अभियानले पर्सा जिल्लामा दलित समुदायको शिक्षामा ऐतिहासिक योगदान पु-याउने विश्वास गरिएको छ ।