Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
Home Blog Page 304

मुस्कान एक सस्तो औषधि

0

धेरैजसो मानिसहरू हरेक दिन हजारौँ शब्द बोल्छन्, तर कति पटक साँच्चिकै साँचो मुस्कान बाँड्छन् ? मुस्कान कुनै महँगो उपहार होइन । यसको मूल्य त निःशुल्क छ, तर यसको प्रभाव गहिरो, स्थायी र अकल्पनीय हुन्छ । यसले न त बैंकको खातामा असर पार्छ, न त समयको भारी लाग्छ, तर यो दिनभरि थकित मनलाई एकछिनका लागि उज्यालो पार्न सक्छ । जब शिशु जन्मन्छ, उसको पहिलो अभिव्यक्तिमध्ये एक हो—मुस्कान । त्यो निष्कलंक, निर्दोष मुस्कान जसमा न डर हुन्छ, न बनावट । त्यो मुस्कान हाम्रो अस्तित्वसँग गाँसिएको हुन्छ । समयसँगै हामी व्यस्त, गम्भीर, जिम्मेवारीले भरिएको जीवनको चक्रमा फस्न थाल्छौँ, अनि मुस्कान ओझेल पर्दै जान्छ । तर, हामी किन भुल्दैछौँ कि मुस्कान केवल सामाजिक व्यवहार होइन, एक शक्तिशाली साधन हो—आफ्ना भावना नियन्त्रण गर्न, सम्बन्ध मजबुत बनाउन र जीवनलाई सरल बनाउन ?

विज्ञानले पनि आज मुस्कानको महत्त्व प्रमाणित गरिसकेको छ । हाँसोले शरीरमा ‘एन्डोर्फिन’ र ‘सेरोटोनिन’ नामक रसायन उत्पादन गर्छ जसले तनाव घटाउँछ, पीडा सहन सक्ने क्षमता बढाउँछ र मानसिक स्थिति सुधार गर्छ । बेलायतको एक अध्ययन अनुसार, १० मिनेटसम्म हाँस्नुले करिब १० मिनेट दौडजत्तिकै लाभ पु¥याउँछ । अझ चाखलाग्दो कुरा के छ भने, जब हामी जबरजस्ती पनि मुस्कुराउँछौं, तब पनि शरीरले यिनै सकारात्मक रसायन उत्पादन गर्छ—यसको अर्थ, तपाईंको मन नरमाइलो भएपनि तपाईंको अनुहारले तपाईंलाई फेरि रमाइलो बनाउने सन्देश दिन सक्छ ।

हामी प्रायः सुनिरहेका हुन्छौं—‘पहिलो छाप नै अन्तिम छाप हो ।’ त्यो पहिलो छापमा मुस्कानको भूमिका निर्णायक हुन्छ । जब हामी अरूसँग मुस्कुराउँदै कुरा गर्छौं, हामी केवल शब्द आदानप्रदान गरिरहेका हुँदैनौं, हामी विश्वास, आत्मीयता र खुलापन बाँडिरहेका हुन्छौं ।
एक अध्ययन अनुसार, हस्पिटालिटी क्षेत्रमा काम गर्नेहरूका मुस्कानले ग्राहक सन्तुष्टि प्रत्यक्ष रूपमा बढाउँछ । यही त हो मुस्कानको सामाजिक शक्ति ।
कसैले ठीक भनेका छन्, “सजिलो बेला मुस्कुराउनु सामान्य हो, कठिन बेला मुस्कुराउनु शक्ति हो ।” समस्यासँग लड्दै मुस्कान कायम राख्नु कुनै बनावटी कुरा होइन; यो तपाईँको आत्मबलको प्रमाण हो । यस्तो मुस्कान आत्मअनुशासन, भावनात्मक स्थिरता र सकारात्मक दृष्टिकोणको उपज हो । त्यसैले मुस्कान तपाईंको भित्री मजबुती पनि हो—बाहिरी संसारलाई देखाउने तपाईंको मौन तर गहिरो भाषा ।

हामी आज जहाँ हेर्छौं, त्यहाँ असहिष्णुता, तनाव, र आपसी दूरी बढ्दो छ । यस्तो बेलामा मुस्कान एउटा सामाजिक आन्दोलन बन्न सक्दछ । जब तपाईं बसमा यात्रामा हुनुहुन्छ, र छेउमा बसेको थाकेको मानिसलाई मुस्कुराएर हेर्नुहुन्छ, त्यो केवल ‘शिष्टता’ होइन, त्यो मानवीयता हो । यसरी मुस्कानले घृणालाई माया, निराशालाई आशा, र दूरीलाई नजिकीतामा बदल्न सक्छ ।

मुस्कुराउँ—किनभने मुस्कानले परिवर्तन ल्याउन सक्छ । मुस्कान केवल अनुहारको भाव होइन, यो आत्माको भाषा हो । जब तपाईं मुस्कुराउनुहुन्छ, तपाईं आफ्नो वरिपरिका मानिसलाई पनि मुस्कुराउने अनुमति दिनुहुन्छ । त्यसैले, चाहे जीवनमा आँखा रसाएका क्षणहरू किन नआउन, मुस्कानलाई कहिल्यै हराउन नदिनुस् ।

नारायणी अस्पतालका तात्कालिन मेसु ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0

वीरगंज । नारायणी अस्पताल वीरगंजका आकस्मिक कक्ष निर्माणमा एक करोड ८४ लाख ३८ हजार भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ९ जना नाविरुद्ध मुद्दा दायर गरेको छ ।  

अख्तियारले अस्पतालका तत्कालिन मेसु संजय कुमार ठाकुर, सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगंजका तत्कालिन कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह र इन्जिनियर म. सकुर अन्सारी, नारायणी अस्पतालका तत्कालिन नासु सुशीलप्रसाद यादब र लेखापाल सुदीप कुमार माझी, मूल्याङकन समितिका संयोजक डा. वीरेन्द्र कुमार प्रधान र सदस्य सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा‍.लि.का प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका जगत बुढा र विष्णु प्रसाद शर्मालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकाे हाे ।

नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५% हिस्सा Interlock Block बिछ्याउने रहेको र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा M35 Interlock Block बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको हुँदा मुद्दा दायर गरिएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रवक्ता राजेन्द्र कुमार पाैडेलले वताए ।

प्रतिस्पर्धालाई सीमित हुने गरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब.२०७७।०७८ मा नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी काम गरकाे अख्तियारद्वारा जारि विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई रु.१ कराेड ८४ लाख ३८ हजार ४५८ नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्‍याएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदावी लिई आइतबार विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएकाे छ ।

अनुदानमा पालिकाले बाँडेको बिउबाट मकैमा दाना नलाग्दा किसान चिन्तीत

0

ओमप्रकाश चौधरी /
सेढवा । पर्साको सखुवाप्रसौनी गाँउपालिकाले मकैबाली प्रवद्र्धन क्षेत्रको रुपमा लागू गरेका कार्यक्रमका सहभागी किसानहरु अहिले बिचल्लीमा परेका छन् । किसानहरुले लगाएका मकैबालीमा घोगा तथा घोगामा दाना नलाग्दा बालीबाट निकै नोक्सानी भएकाले किसानहरु चिन्तीत बनेका हुन् । गाँउपालिकाको वडा नं. १ मा पर्ने सिरही, सथवल, औराहा लगायतका गाँउका किसानहरु मकैमा दाना नलाग्दा चिन्ताबाट गुज्रिरहेका छन् ।

यहाँमा ८० देखि एक सय बिघा जमिनमा डेढ सय किसानहरुले मकैबाली लगाएका छन् । गाउँपालिकाद्वारा मकैबाली प्रवद्र्धन क्षेत्रको रुपमा घोषित मकैबाली लगाएका सो वडाका सबै किसान साझा समस्याबाट पिडित छन् । बालीमा भएको क्षतिको बिवरण संकलन गरी उचित क्षतिपूर्ति व्यवहोर्न सो वडाका किसानहरुले बुधवार बैठक बसी पालिकामा पत्राचार गर्ने निर्णय गरेको किसानहरुले बताएका छन् । बिगतमा पटक पटक सो समस्यालाई लिएर पालिकामा जानकारी गराए पनि कुनै पहल नभएको उनीहरुको गुनासो छ ।

गाउँपालिकाको कार्यालयले उपलब्ध गराएको ५० प्रतिशत अनुदानमा साइनजेन्टा एन के ६६०७ हाईब्रिड जातको बीऊ खरिद गरी रोपाई गरेको स्थानीय किसान हिमप्रसाद शिलवालले बताए । उनले सो अनुदानित बीऊ ३७५ रुपैया प्रति केजीको दरले खरिद गरी रोपेका थिए । तर मकैको बोटमा घोगा नै नलाग्दा सारा लगानी नै नष्ट भएको शिलवालले गुनासो गरे ।

सो वडाका अर्का किसान सुरेन्द्र महतो थारुले एक बिघा ६ कट्ठा जमिनमा मकै बाली लगाएका थिए । मंसिर महिनाको दोस्रो साता भन्दा पहिले नै रोपाई गरेको मकैको बिरुवामा बाला आएपनि अधिकांश बिरुवामा घोगा नलागेको उनको दुखेसो छ । रोपाई गरेको मकैको बिरुवामध्ये ५० प्रतिशतमा घोगा नलागेको थारुले बताए । बोटको उचाई १३ फिटसम्म अग्लो बिरुवा भएपनि निकै कम र सानो घोगा लागेको उनको भनाई छ । लागेको घोगामा पनि दाना नलाग्दै सुक्ने तथा घोगा निकै पातलो र सानो भएको थारुले बताए । सो बीऊ मकैबाली प्रवर्धन कार्यक्रमका फोकल पर्सन जेटिए दयाराम वाग्लेले मन्दिप एग्रो सप्लायर्स वीरगंजबाट खरिद गरेका थिए ।

बारामा गाँजा तस्करको बिगबिगी : २२५ किलो गाँजासहित ४ जना पक्राउ

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा लागुऔषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । आदर्शकोतवाल गाँउपालिका वडा नं. ३ बतारास्थित खेतमा पार्किङ गरि राखेको प्र. २–०३–००१ त ४८७६ नम्बरको ट्याक्टरबाट २२५ केजी गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले १५ वटा कार्टुनमा रहेको २२५ केजी गाँजा बरामद गरिएको हो ।

प्रहरीले पहिले ट्याक्टर चालक बाराको आदर्श कोतवाल गाउँपालिका वडा न.३ बताराका ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई पक्राउ गरेपछि उनीसंग सोधपुछको क्रममा थप ३ जना उक्त कार्यमा संलग्न रहेको खुलेको हो ।

त्यसपछ प्रहरीले बाराको कोल्हवीस्थित रोज उड होटलबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ बस्ने २१ वर्षीय कमान प्रजा, मकवानपुरकै कैलास गाउँपालिका–४ का २४ वर्षीय सिताराम प्रजा र मकवानपुरकै बकैया गाँउपालिका– ५ का २२ वर्षीय नवराज मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पहलगाम प्रकरण : मृतकहरुको सम्झनामा श्रद्धाञ्जली सभा

0

वीरगंज । भारत जम्मू–कश्मीरको पहलगाममा भएको घटनामा मारिएकाहरूको सम्झनामा श्रद्धाञ्जली एवं एक्यबद्धता सभा वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरस्थित कलवार कल्याण समितिको सभाहलमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले उक्त घटनामा ज्यान गुमाएका २७ जना पर्यटकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उक्त घटनामा ज्यान गुमाउनेमध्ये नेपालका बुटवल निवासी सुदीप न्यौपाने पनि रहेका थिए । उनी रोट्र्याक्ट क्लब अफ यत्ति हेल्थका पूर्व अध्यक्ष समेत थिए ।

निफा पर्साका अध्यक्ष रजत सचदेवाको अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि नेपाल भारत मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष राजकुमार सिन्धी थिए । सभामा नेपाल भारत मैत्री संघका पूर्व अध्यक्ष निर्मल खत्री, कार्यसमिति सदस्य डा. मनोज कुमार सरार्फ, उपाध्यक्ष ओमप्रकाश सर्राफ, अन्य पदाधिकारी तथा आजीवन सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्ने संस्थाको उद्घाटन

0

वीरगंज । वीरगंजमा एक कार्यक्रमका बीच नेतृत्व विकास संस्था नेपाल (एलडीआई नेपाल) को औपचारिक उद्घाटन गरिएको छ । यस संस्थाको स्थापना नेपालका उद्योग तथा सङ्गठनहरूलाई दक्ष जनशक्ति व्यवस्थापनको माध्यमबाट सशक्त बनाउने उद्देश्यले गरिएको हो ।

उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्र उपस्थित थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा मानव स्रोत परामर्शदाता अनिल जयसवालले कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाको उद्देश्य र भावी योजनाबारे जानकारी दिए । उनले भने, “नेतृत्व विकास संस्था नेपालको लक्ष्य उद्योग तथा सङ्गठनहरूलाई योग्य जनशक्ति छनोट, तालीम, उपयुक्त व्यक्तिको पहिचान, अन्तरवार्ता तथा छानबिनका माध्यमबाट सहयोग पु¥याउनु हो ।”

यस संस्थाले कर्मचारी भर्ना तथा सेवा करार, नेतृत्व विकास कार्यक्रम, व्यवसायिक परामर्श, श्रम तथा मानव स्रोत परीक्षण, कार्यस्थल सुरक्षासम्बन्धी सेवा लगायत विभिन्न उद्योग क्षेत्रको आवश्यकताअनुसार सेवा प्रदान गर्ने संस्थाका सिईओ जयसवालले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अनिल कुमार अग्रवाल, गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार साह, जीतपुर सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा, पूर्व अध्यक्ष संजय साह, औषधि उत्पादक कम्पनीका प्रबन्ध निर्देशक विनय काबरा, समाजसेवी तथा पत्रकार जगदीश प्रसाद शर्मा, मधेश विश्वविद्यालयका संकाय प्रमुख डा. अञ्जय मिश्र, हेटौंडाका व्यवसायी धिरज कार्की, वीरगंज युवा समाजका पूर्व अध्यक्ष कमल चौगाई, नेपाल भारत वाणिज्य सङ्घ वीरगंजका अध्यक्ष अभिषेक चौधरी लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष दिपु वर्णवालले जानकारी दिए ।

रगतको अभाव भएपछि वीरगंजमा आकस्मिक रक्तदान

0

वीरगंज । वीरगंजमा बढ्दो रगतको अभालाई परिपूर्ति गर्ने अभिप्रायले शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भोलेन्टियर समूह वीरगंज र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा २ जना महिलासहित ५६ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम, मिश्र, नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरी, भोलेन्टियर टिम वीरगंजका संयोजक राजन श्रीवास्तव, महासचिव श्याम सरार्फ लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा अनिता ठाकुर, पवन देवकोटा, रमेश केसी, दीपक पटेल, प्रकाश कुमार, सागर पटेल लगायतले रक्तदान गरेको महासचिव सर्राफले जानकारी दिए ।

वीरगंजमा प्रभातफेरी : प्रेसमाथि राज्यको दमन

0

वीरगंज । वीरगंजमा शनिवार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । ‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने नारासहित दिवस मनाइएको हो । दिवसका अवसरमा नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा प्रभातफेरी निकालिएको थियो ।

वीरगंजको घण्टाघरबाट शुरु भएको प्रभातफेरी माईस्थान, महाबिरस्थान, आदर्शनगर, मकालु हुँदै ग्रिनसिटी, घडिअर्वा भएर पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा भएको कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले राज्यले नै प्रेसमाथि दमन गरीरहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले राज्यले नै प्रेसमाथि दमन गरीरहेको बताउँदै महासंघले दिनहुँ प्रेस विज्ञप्ती जारी गरीरहेको बताए । महासंघले राज्यसँग कहिले पनि खुट्टा नकमाएको बताउँदै उनले संविधानले नै गरेको प्रेस स्वतन्त्रताको हक कार्यन्वयन नभएको प्रति आपत्ती जनाए ।

विश्व प्रेस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने महासंघका केन्द्रिय लेखा समितिका संयोजक केसी लामिछानेले बताए । प्रेस स्वतन्त्रता पत्रकारको लागि आवश्यक्ता भएको बताउँदै उनले तथ्यका आधारमा सत्य लेख्ने कार्य समाज र राष्ट्रका लागि आवश्यक्ता भएको धारणा राखे ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जराले प्रेस स्वतन्त्रताको आभाष पत्रकारहरुले गर्न नपाएको बताए । उनकाअनुसार पत्रकाहरु पछिल्लो समय विभिन्न किसिमका चुनौतीहरुसँग लडीरहेका छन् । राज्यले स्वतन्त्र प्रेसको घाँटी निमोटीरहेको उनको बुझाई छ ।

पछिल्लो समय पत्रकार र सञ्चारमाध्यममा आक्रमणका घटना बढिरहेको प्रति अध्यक्ष बन्जराले चिन्ता व्यक्त गरे । फाइदा लिने बेलामा मात्रै २ देखि ३ सय सम्मको हाराहारीमा पत्रकाहरु आउने भएपनि महासंघको हकहितका लागि आवाज उठाउने र राज्यलाई खबरदारी गर्ने कार्यक्रममा मुस्किलले २०/२५ जनाको उपस्थिती हुनु पनि दुखद पक्ष भएको उनले बताए ।

प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटेमगर पनि पछिल्लो समय सञ्चार माध्यममा भएका आक्रमणले राज्यको अराजकतालाई स्पष्ट पारेको बताउँछन् । युद्धग्रस्त क्षेत्रमा पनि प्रेस स्वतन्त्रताको हकमा चुनौती नदेखिएपनि नेपालमा चुनौतीपूर्ण अवस्था देखिएको उनले बताए । राज्यले नै दण्डहिनतालाई प्रश्रय दिइरहेको उनको ठम्याई छ ।

नेपालका प्रेसले पूर्ण स्वतन्त्रताको अनुभूति गर्न नपाएको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको बुझाई छ । उनी भन्छन्, ‘पछिल्लो परिवेशमा भइरहेका घटनाले नेपालको प्रेस पूर्ण स्वतन्त्र छैन भन्ने स्पष्ट हुन्छ, हामीले प्रेसलाई स्वतन्त्र बनाउन पनि दबाब दिन यस्ता दिवसले सघाउ पुग्छ ।’ लोकतन्त्रको प्रबद्र्धन र संरक्षण्का लागि सबैले हातेमालो गर्न पनि उनले आग्रह गरे ।

साथै उनले नेपाल पत्रकार महासंघ पर्साले पर्साका पत्रकारको अभिलेखीकरण गर्ने गृहकार्य गरीरहेको बताए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका सहसचिव अजय चौरसियाले गरेका थिए ।

छिपरमाई ४ मा रास्वपा प्रथम भेला, पाण्डेको अध्यक्षमा समिति गठन

0

वीरगंज । पर्साको छिपरमाई गाउँपालिका वडा नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सप्पन्न भेलालाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति हरि पन्तले युवाहरुको नवीन र सुझबुझ पुर्ण सोच नै देश बिकासको आधार भएको बताए ।

आगामी २०८४ को आम निर्वाचनमा नेपाली जनताले रास्वपाको सोच र सिद्धान्तलाई अनुमोदन गरेर देशको चाबी युवाहरुको हातमा सुम्पने उनले दाबी गरे । रास्वपालाई नेपाली जनताले अब देशको बैकल्पिक शक्ति भन्दा पनि मुख्य राजनीतिक शक्तिको रूपमा देख्न चाहेको सभापति पन्तको भनाई छ ।

भेलाले राजु कुमार पाण्डेको अध्यक्षमा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हरदेव सहनी, सचिवमा निरज साह सुनार, कोषाध्यक्षमा अशोक राउत कुर्मी, सदस्यहरु रमेश शाह, सुदर्शन प्रसाद शाह, कृष्णसहनी, मङ्गल शर्मा लोहार, रामदेव पण्डित, त्रिलोकी पाण्डे र जीत महतोलाई चयन गरिएको छ ।

रास्वपाका संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सन्चालन गरेको भेलालाई पार्टीका केन्द्रिय सदस्य डा नन्दन यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

साथै साेही कार्यक्रममा खेलाडीहरूको मनोबल बढाउनलाई खेलकुद सामग्री समेत वितरण गरिएको रास्वपा ४ का क्षेत्रिय सभापति मिश्रले वताए ।

भन्सार र सुरक्षाकर्मीको व्यवहारप्रति व्यापारीको गुनासो

0

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले स्थानीय खुद्रा व्यवसायीहरूलाई भोगिरहेका समस्या समाधानमा सहयोग गर्न ‘हटलाइन सेवा’ सुरु गर्ने भएको छ । संघले कानूनी दायराभित्र रही व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गर्दै, संघ सधैं उनीहरूको साथमा रहने प्रतिबद्धता जनाएको हो ।

वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजित प्रत्यक्ष अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष हरि गौतमले खुद्रा व्यवसायीका समस्या साझा चिन्ता भएको उल्लेख गर्दै, “तपाईंहरूको कारण म अध्यक्ष बनेको हुँ, अब हामीबीचको सहकार्यले वीरगंजको व्यवसायिक वातावरण सुदृढ हुनेछ,” भने ।

कार्यक्रममा संघले एक हप्ताभित्रै निःशुल्क टेलिफोन सेवा (हटलाइन) सुरु गर्ने निर्णय लिएको जानकारी गराइएको छ । यसले व्यवसायीहरूले आफ्ना गुनासो संघसम्म प्रत्यक्ष रूपमा पु¥याउन सक्ने संघका अध्यक्ष गौतमको विश्वास छ ।

छलफलमा सहभागी व्यवसायीहरूले भारतबाट सामान ल्याउँदा भन्सार तथा प्रहरी प्रशासनसँग भोग्नुपर्ने समस्या र राज्यबाट अपेक्षित सुरक्षा तथा सम्मान नपाएको गुनासो गरे । व्यापारी रामप्रित तिवारीले कर तिरेपनि सम्मान नपाएको बताए भने कुन्दन रौनियारले खुला सिमानाका कारण उत्पन्न समस्याप्रति संघ र स्थानीय निकाय गम्भीर नदेखिएको आरोप लगाए ।

कार्यक्रमका प्रमुख अतिथि तथा संघका पूर्वअध्यक्ष गोपाल केडियाले व्यापारिक गतिविधिको नियमित अनुगमन गर्न प्रतिनिधि खटाउने र मासिक रूपमा खुद्रा व्यवसायीसँग बैठक राखी समस्या पहिचान र समाधानमा सघाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजी कलवार, सहकोषाध्यक्ष निरज अग्रवाल, सचिव प्रेमचन्द्र गोयल लगायतका पदाधिकारी तथा खुद्रा व्यवसायीहरूको उपस्थिति रहेको थियो ।