Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
Home Blog Page 303

बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु प्रती बढ्दै गएको ग्राहक गुनासो

0

– कुमार यादव/
बैंक तथा बित्तिय संस्थाहरुसंगको कारोवार स्वेच्छा मात्रै होईन, धेरै हद सम्म कानुनी बाध्यता पनी हो । नेपालमा बिदेशी बिप्रेशण, सामाजिक सुरक्षाका योजनाहरु, कर कानुनहरु, उपभोक्ता समितीको भुक्तानी, बैदेशिक शिक्षा तथा अन्य बाध्यताहरुले गर्दा बैंकिङ तथा बित्तिय संस्थाहरुमा खाता खोल्ने स्तरमा आम जनताको पहुंच तुल्नात्मक रुपमा राम्रै भए पनी, बित्तिय साक्षरताको हिसावले हामी निकै पछाडी नै छौं । बैंक तथा बित्तिय संस्थाहरु संग ऋण लिएकाहरुको संख्या भने तुल्नात्मक रुपमा कमै छ ।

कोरोना काल र त्यस पछीको आर्थिक मन्दी, कोरोनाकाल र सो अघी घर-जग्गा धित्तो केन्द्रित बैंकहरुका आक्रामक कर्जा बिस्तार आदीले गर्दा बिगत केही बर्ष देखी नेपाली बैंकिङ ऋण-असुली उन्मुख देखिन्छ । आक्रामक कर्जा बिस्तारका बेला ऋण लगानी गर्न सक्ने खुवी बैंकरहरुका कार्य-सम्पादनका मुख्य मापक हुने गर्दथे भने हाल ऋण असुली गर्न सक्ने खुवी बैंकहरुका ब्यवस्थापनले रुचाएका ब्यवहारीक गुण देखिन्छ । शाखा स्तरमा काम गर्ने कर्मचारीहरुमध्ये अली नरम स्वाभावकाहरुलाई माथी बाट नै रिकभरीमा नसक्ने भनेर हेपिने गरिएको अनौपचारिक गुनासो बढदैछ ।

बजारमा जागिरको कमि, बैंक तथा बित्तिय संस्थाहरुको मर्जरले ल्याएको जागिर कटौती, भखरै बैंकिंङ क्षेत्रका कर्मचारीहरुलाई श्रम ऐन नलाग्ने सर्वोच्च अदालतको फैंसला र खराव ऋण असुलीको झंझट आदीले खास गरी शाखा स्तरका बैंकरहरु तनावमा देखिन्छन । दुर्भाग्यवस, यस्तो बेलामा पनी पेशागत ईमान कायम गर्दै, ग्राहक संग रुखो नभई, झर्को नमानी ब्यवहार गर्ने बैंकरहरुको संख्या दिनानुदिन घट्दै गईरहेको जन-गुनासो सुन्न सकिन्छ । पक्कै पनी आम जनताले एउटा सार्वजनिक यातायात सेवा लिंदा यातायातका कर्मचारीले गर्ने ब्यवहार र बैंकिङ सेवा लिन जांदा बैंकरले गर्ने ब्यवहारमा गुणात्मक फरक खोज्छन । हो, बैंकमा हरेक पदको सिमित अधिकार हुन्छ ।

बैंकिङ आन्तरिक तथा बाहय निती, नियम तथा कानुनले बांधिएको हुन्छ । धेरै पटक भ्यालुएसन तथा अन्य निती, नियम सम्बद्ध गुनासो पनी आम सेवाग्राहीले शाखा स्तरकै कर्मचारीहरु संग गर्दछन । नाम उल्लेख नगर्ने शर्तमा एक जना ग्राहकले भने, मेरो घडेरीलाई कृषी जग्गा मानी एऊटा बैंकको सुचिकृत मुल्यांकनकर्ताले एकदम न्युन मुल्यांकन गरे । उनले बैंक तथा मुल्यांकनकर्ता दुबैलाई कम मुल्यांकन पनी बैंकिङ कसुर भएकोले किन यसो गरियो भन्दा दुबै पक्षले एक अर्का तर्फ ईंगित गरी गोल-मटोल जवाफ फर्काएको गुणासो गरे ।

यसै सन्दर्भमा मधेश प्रदेशका एकजना अग्रज मुल्यांकनकर्ता श्री हेमशंकर अरगरिया संग हामीले कम मुल्यांकनको गुणासो सर्व-साधारणको आईरहेको कुरा राख्दा, उनले मुल्यांकन बर्तमान मुल्य र सम्बन्धित बैंक तथा बित्तिय संस्थाको मुल्यांकन गाईडलाईन अनुसार हुने तथा हामीले फिल्डमा कम्तीमा ५/६ जना स्थानियसंग बजारभाऊ सोध-खोज गरीमात्रै उचित मुल्य निर्धारण गर्ने गरेको सुनाए । मुल्यांकनकर्ता ईन्जिनियरिङ काऊन्सिलको सदस्य हुनै पर्ने अनिवार्यता बारे उनले त्यो सम्बन्धित बैंकको नितीमा भर पर्ने बताए ।

एक जना ग्राहकले परियोजनाको लागी आफुले कर्जा लिंदा पहिलो किस्ता दिई दोश्रो किस्ता नदिएकोले आफ्नो कर्जा बिग्रिएको र सो को जवाफ शाखामा माग्दा केन्द्रिय कार्यालय, मर्जर आदीलाई दोष दिने गरेको र केन्द्रिय कार्यालायमा सोधपुछ गर्दा शाखामा सम्पर्क गर्न भनेको भनेर पिडा पोखे ।

हालका दिनहरुमा धेरै बैंकरहरुले ग्राहक संगको ब्यवहारमा पेशागत आचरण कायम राख्न सकिनराखेको आम गुणासोलाई तपांई कसरी हेर्नु भा को छ भनेर हामीले एकजना बैंकरलाई सोधेका थियौं, नाम उल्लेख नगर्ने शर्तमा उनले यो गुणासो धेरै हद सम्म सांचो रहेको स्विकारे । तर, धेरै बेला ऋण अस्विकार भएको रिसमा वा असुलीको कानुनी प्रक्रियाको रिसिवीले कुनै कुनै ग्राहकहरुको गुणासो अतिरण्जित पनी हुने गरेको भनाई उनले राखे । साथै, उनले असुली प्रक्रिया सम्बद्ध गुणासोहरुमा शाखाका कर्मचारीहरु केन्द्रिय कार्यालाय तथा ऋणी दुबैको गुणासोको दोहोरो मारमा पर्ने गरेको बताए ।

जस्तो सुकै अवस्थामा पनी झर्को नमानी, पेशागत तवरले ब्यवहार गर्नु बैंकरहरुको कर्तब्य हो । बित्तिय सचेतना बैंक तथा बैंकरहरुको सामाजिक उत्तरदाईत्व पनी हो, यस बाट यो वा त्यो बहानामा पन्छिन खोज्दा मुलुकको बित्तिय क्षेत्रमा नकारात्मक असर पर्न सक्छ । बैंकहरुका उच्च स्तरका ब्यवस्थापकहरु र नियामकले पनी, गुण्स्तरीय ग्राहक सेवा यकिन गरिराख्नु पर्दछ ।

(लेखकः चार्टड एकाउन्टेन्ट तथा पुर्व बैंकर हुन्)

सम्पादकीय: सिंचाईमा वर्षाको भर, कृषिमा राज्यको उदासिनता

0

नेपाल कृषिप्रधान देश हो भन्ने भनाइ पुस्तौँदेखि सुनिँदै आएको छ । तर व्यवहारमा हेर्दा राज्यको नीति र संरचनामा कृषि क्षेत्रप्रति देखिने उपेक्षा र वेवास्ता झनै गहिरो हुँदै गएको देखिन्छ । आज पनि अधिकांश किसान सिंचाईको लागि आकाशतिर हेर्न विवश छन् । हालैको केही बेरको वर्षाले थोरै समयका लागि भए पनि किसानको अनुहारमा राहतको मुस्कान ल्याएको छ । तर यो राहत त केवल क्षणिक हो—बिहान परेको पानी साँझ सुक्न सक्छ, तर किसानको चिन्ता, खर्च र असहजता भने रहिरहन्छ ।

प्राकृतिक वर्षाको भरमा मात्र निर्भर रहने प्रणाली कहाँसम्म उचित हुन्छ ? कृषि उत्पादन नियमित, भरपर्दो र टिकाउ बनाउने हो भने सिँचाई, बीउबिजन, मलखाद, बजारीकरण लगायत सम्पूर्ण श्रृंखलामा राज्यको दायित्व स्पष्ट हुनु आवश्यक छ । यद्यपि, आजको यथार्थ के छ भने—किसान डिप बोरिङ गरेर निजी खर्चमा सिँचाई गर्न बाध्य छन्, जहाँ प्रति घण्टा हजारौं रुपैयाँ तिर्नुपर्ने हुन्छ । बोरिङ छैन भने डेमुल (दमकल)को सहारा लिनुपर्छ । अझ निजी स्रोतमै भर पर्नु पर्ने अवस्थाले किसानलाई कर्जामा डुबाउँछ, र थकित बनाउँछ ।

यति ठूलो व्ययभार र जोखिम उठाएर उत्पादन गरेको अन्नको उचित मूल्य पनि किसानले पाउँदैनन् । सस्तोमा बेच्न बाध्य किसान अनि महँगोमा खरिद गर्नुपर्ने उपभोक्ता—बीचमा कसले फाइदा उठाइरहेको छ भन्ने प्रश्न उठाउनु जरुरी छ । यसबीचमा सँधै घाटा खेप्नुपर्ने पात्र भनेको किसान नै हो । यस्तो अवस्थामा युवा पुस्ता कृषिबाट पलायन नहोस् भने नै अचम्म मान्नुपर्ने हुन्छ । युवाहरू खेत छोडेर विदेश पलायन भइरहेका छन् । यो केवल रोजगारीको खोजी मात्र होइन, कृषिप्रति निराशा हो। खेतमा पसिना बगाएर पनि थाल भर्ने ग्यारेन्टी नहुने अवस्था हुँदा कसरी रोक्न सकिन्छ कृषि पलायन? जब खेत बाँझिंदै जान्छ, तब उत्पादन घट्छ, आयात बढ्छ, परनिर्भरता मौलाउँछ ।

बीउ समयमा पाइँदैन, मलखाद किन्न लाइन लाग्नुपर्छ, सिँचाईको भर वर्षा—कसरी सम्भव छ उत्पादनमा वृद्धि ? अनि कसरी सम्भव छ देशको आर्थिक विकास ? कृषिलाई आयमुखी बनाउने हो भने किसानलाई आत्मनिर्भर बनाउनु पर्नेछ । त्यसका लागि न्यूनतम कृषि संरचना—जस्तै सिंचाईको व्यवस्था, मलखादको सहज उपलब्धता, उचित मूल्य नीति, बीमा प्रणाली र कृषि ऋणमा सहुलियत अनिवार्य छन् ।

राज्यले यथाशीघ्र कृषि नीतिमा आमूल सुधार नगर्ने हो भने, चन्द्र सूर्य फहरिने खेतिहरु बाँझिंदै जानेछन् । अनि हामी ‘कृषिप्रधान देश’ भन्ने अभिमान केवल किताब र भाषणमा मात्र सीमित हुनेछ । कृषकको श्रमको सम्मान, देशको समृद्धिको आधार हो । सरकारले अब ढिला नगरी योजनाबद्ध कृषि हस्तक्षेप गर्नैपर्छ । अन्यथा, खेत सुकेको मात्र होइन, भविष्य पनि सुक्ने खतरा छ ।

वर्षाको भरमा निर्भर कृषि प्रणाली आजको युगमा केवल लाचारी होइन, राष्ट्रको असक्षमता पनि हो । आधुनिक कृषि प्रणाली, जलवायु परिवर्तन र अनिश्चित मौसमी अवस्थाबीच आज पनि वर्षालाई नै सिंचाइको प्रमुख स्रोत मान्नु विडम्बना हो । सिँचाइ प्रणालीको विकासमा सरकारी लगानी सीमित छ । कतै सरकारी सिँचाइ आयोजना निर्माण हुने नाममा वर्षौं बित्छन्, कतै बनेका आयोजनाहरू वर्षायाममै बग्छन् ।

नेपाल विद्युत प्राधिकरणले कतिपय क्षेत्रमा कृषि मिटर उपलब्ध गराएको भए पनि त्यसबाट पाइने सुविधा न त सबै किसानसम्म पुगेको छ, न त सबै किसानले उपयोग गर्न सक्ने स्थिति छ ।

यो चक्र तोड्ने जिम्मा कसको हो? राज्यको, नीतिनिर्माताको, सरकारको—तर उनीहरू प्रायः मौन छन्। कहिलेकाहीँ अनुदानको खोक्रो प्रचार हुन्छ, तर त्यो अनुदान कतिले पाए, कति पहुँचवाला किसानसँग सीमित रह्यो भन्ने सार्वजनिक हिसाबकिताब छैन । कृषि क्षेत्रको उन्नति बिना नेपालको समृद्धि केवल भाषणको विषय बन्नेछ ।
अब राज्यले आँखा खोल्नैपर्छ—कृषिमा लगानी केवल किसानको लागि होइन, समृद्ध राष्ट्रको आधार निर्माण हो । यदि अहिले गम्भीर हस्तक्षेप भएन भने भोलिको पुस्ताले खाली खेत मात्र होइन, राज्यको असफलताको इतिहास पनि पढ्नुपर्नेछ ।

मुनलाईट माद्यामिक विद्यालयमा मानव बेचबिखनविरुद्ध प्रशिक्षण

0

वीरगंज। वीरगंजको कुम्हालटोलस्थित मुनलाईट माद्यामिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सामुदायिक सेवा केन्द्र कुम्हालटोलको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईले प्रशिक्षण दिएका थिए । उनले मानव बेचबिखनको वर्तमान अवस्था, रोकथामका उपायहरू, कानुनी प्रावधान र खुला सीमा क्षेत्र रहेको वीरगंजमा यसका चुनौतीहरुको बारेमा चर्चा गरे । साथै प्रहरी–समुदाय सहकार्यको महत्त्वबारे पनि उनले प्रकाश पारेका छन् ।

समुदायमा मानव बेचबिखनजस्ता गम्भीर अपराधबारे चेतना फैलाउने, जोखिमको पहिचान गर्ने, र सुरक्षाका उपायबारे जानकारी गराउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसीले बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा मुनलाइट माविका प्रिन्सिपल श्याम केसी, सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार नन्दलाल राउत, सियाराम नेपाली, अभिलाष गुप्ता, प्रहरी हवल्दार कुमार वि.क लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण कंचनजंघा माविका प्रबन्ध निर्देशक मार्टीन मोक्तानले गरेका थिए ।

मन्त्री चौरसियाद्वारा शिलान्यास, २ महिनामा ४ करोड सक्ने तयारी

0

वीरगंज। पर्सा जिल्लामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले सोमवार दुई छुट्टाछुट्टै विकास योजनाको शिलान्यास गरेका छन् । आर्थिक वर्ष सकिन करिब दुई महिनाको अवधि बाँकी रहँदा यस्तो सक्रियता देखिनुले स्थानीयबासी र विकासप्रेमीहरूबीच शंका उत्पन्न भएको छ । योजनाहरू दीर्घकालीन विकासप्रति भन्दा पनि केवल बजेट सक्नतर्फ केन्द्रित भएको हो कि भन्ने आशंका उब्जिएको हो ।

पहिलो योजनाअन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ३ को बढनिहारमा एक करोड रुपैयाँको लागतमा बन्ने दुईतले सभाहलको शिलान्यास गरिएको हो । उक्त भवन नगर क्षेत्रभित्र हुने सभा, गोष्ठी तथा विभिन्न कार्यक्रमका लागि प्रयोग गरिने जनाइएको छ । मन्त्री चौरसियाले सो भवन यसै आर्थिक वर्षभित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी, बहुदरमाइ नगरपालिका वडा नं. ४ मा बहुअवरीदेखि एकटाङ्गासम्मको करिब १६ सय मिटर लम्बाइको कालोपत्र सडक निर्माणको पनि मन्त्री चौरसियाले शिलान्यास गरेका छन् । तीन करोड रुपैयाँको अनुमानित लागतमा बन्ने सो सडक पूर्वघोषित चुनावी प्रतिवद्धता भएको बताइएको छ ।

दुवै योजनाको संयुक्त लागत करिब ४ करोड रुपैयाँ पुग्छ। तर वर्षभरि शान्त देखिने मन्त्री चौरसिया आर्थिक वर्षको अन्त्यतिर आएर एकाएक योजना शिलान्यासमा सक्रिय देखिनुले कतिपय विकासप्रेमी र सरोकारवालाहरूलाई सोच्न बाध्य बनाएको छ । “हरेक वर्ष अन्त्यमा यस्ता योजना घोषणा गर्ने, भुक्तानी प्रक्रियालाई अघि सार्ने र परिणामस्वरूप निर्माणको गुणस्तर कमजोर हुने पुरानै प्रवृत्ति दोहोरिएको देखिन्छ,” एक स्थानीय समाजसेवीले भने ।

योजनाको औपचारिक शिलान्यास कार्यक्रममा मधेश प्रदेशसभा सदस्य श्याम पटेल, पर्सागढीका पूर्व नगरप्रमुख लोक नारायण यादव, वडा अध्यक्ष सुकमान तामाङ, शंकर राय, क्षेत्रीय सचिव रञ्जित पटेल, इमाम मिया लगायतको उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रममा आश्रित आमाहरूको स्वास्थ्य परीक्षण

0

वीरगंज। मानवसेवा आश्रम वीरगञ्जमा आश्रित ४८ जना वृद्ध आमाहरूको स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यस विशेष शिविरमा वीरगञ्जकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मञ्जु रायले स्वास्थ्य परीक्षण गरेकी थिइन् ।

स्वास्थ्य परीक्षणमार्फत वृद्ध आमाहरूको स्वास्थ्य अवस्था मूल्याङ्कन गरी आवश्यक परामर्श तथा उपचारका लागि सिफारिस गरिएको आश्रमकी प्रमुख मुना मगरले जानकारी दिइन् ।

डा. रायले आमाहरूको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य समस्याहरूको समयमै पहिचान र उपचारका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

आश्रमकी संयोजक मुना मगरका अनुसार यस्ता स्वास्थ्य परीक्षण कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा कुँवर

0

वीरगंज। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा मेजर शमशेर कुँवर (महेश) निर्वाचित भएका छन् ।

काठमाडौँमा सम्पन्न छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेसँगै महासचिवमा कुँवर निर्वाचित भएका हुन् ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घ अध्यक्षमा उमाकान्त शर्मा, वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुँवर, कोषाध्यक्षमा खिन्तबहादुर भण्डारी (भरत) र सह कोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् ।

त्यसैगरी बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदूरपश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित भएका छन् ।

केही बेरको वर्षाले घटायो सिंचाईको खर्च, किसानलाई राहत

0

ओमप्रकाश चौधरी
सेढवा । लामो समयको प्रचण्ड गर्मीपछि आइतवार बिहान परेको बर्षाले ग्रामीण भेगका किसानहरुले राहत महसुस गरेका छन् । केही बेर भएपनि परेको वर्षाले चैते धानबालीसहित अन्य बालीलाई फाईदा पुगेको भन्दै किसानले खुशी व्यक्त गरेका छन् ।

चैत महिनाको पहिलो सातादेखि हालसम्म किसानहरुले रोपाई गरिरहेको चैते धानबालीलाई आज बिहान परेको बर्षाले केही राहत पुगेको छ । जिराभवानी गाँउपालिका वडा नं २ सेढवा निवासी किसान नागेश्वर महतो थारुलाई आठ कट्ठा चैते धानबालीमा दुई पटक सिंचाई गर्दा ३५ घण्टा दमकल चलाउनु परेको थियो । आफ्नो निजी दमकल र बोरिङ नभएकाले दुई सय रुपैयाँ प्रति घण्टाको दरले सात हजार रुपैयाँ उनले खर्चिनु परेको थियो ।

केही स्थानमा नेपाल विद्युत प्राधिकरण तथा विद्युत उपभोक्ता समितिले विद्युत प्रसारणका लागि कृषि मिटर जडान गरेका छन् । जसले गर्दा वाटर पम्प प्रयोग गरी पानी तानेर सिंचाई गर्दा एक सय रुपैया प्रति घण्टाको दरले रकम तिर्नुपर्छ । जुन बोरिङ्को तुलनामा सस्तो परेपनि किसानलाई सिंचाई गर्न पनि रकम खर्चिनुपर्ने अवस्थाले सरकारको कृषिप्रतिको बेवास्तालाई पनि उजागर गरेको छ ।

यद्यपी आईतवार बिहान परेको वर्षाले सिंचाईमा थोरै भएपनि सघाउ पुगेको कृषक बताउँछन् । वर्षाको पानी लामोसम्म टिक्ने र सिचाई गर्दा कम समय लाग्ने उनीहरुको भनाई छ ।

उता ठोरी गाउँपालिकामा चैत महिनामै यो बालीको रोपाई गरिएको थियो । त्याहाँ अहिले बिरुवामा गाभा पलाउन थालेका छन् । यही समयमा सिंचाईको आवश्यक्ता परेको थियो । कृषकलाई ढुंगा खोज्दा देउता भेटे जस्तै भयो । यो पानीले चैते धानबाली बाहेक अन्य बालीलाई समेत फाईदा पुगेको किसानहरुले बताएका छन् ।

अहिले लगाइएका सुर्ती, मकै, विभिन्न किसिम्मका तरकारी बाली, बदाम लगायतका बालीहरुलाई यो बर्षाले फाईदा पुगेको किसानहरुले बताएका छन् ।

आज बिहान परेको पानीले गर्दा बर्षेबाली धानबालीको लागि पनि खेत तयार गर्न पनि सहज हुने भन्दै किसान खुशी छन् । लामो समयदेखि वर्षा नहुँदा जमिनको सतह एकदमै कडा र सुख्खा भएको थियो । जसले गर्दा वर्षेबालीलाई खनजोत गर्न कठीनाई हुने जगरनाथपुर गाँउपालिका वडा नं ३ का धर्म साह तेलीले बताए । बिहानको वर्षाले खेतको सतह र आली नरम तथा खुकुलो भएको छ । जसले खनजोतमा सहज हुनेछ ।

जिराभवानी गाउँपालिका कृषि शाखाका प्राबिधिक सहायक क्षत्रबहादुर गुप्ताकाअनुसार बैशाख जेठ महिनाको घाममा खेतको जोताई गर्दा जमिनको सतहमा रहेका बिभिन्न थरिका जीव तथा किटाणु र तीनका अण्डाहरु नष्ट हुन्छन् । यसले गर्दा बालीमा लाग्न सक्ने रोगहरुको न्यूणीकरण हुने गुप्ताको भनाई छ । आज बिहान परेको पानीले वातावरण सफा पनि भएका छन् ।

मधेशमा सीता जयन्ती र कविर दास जयन्तीमा सार्वजनिक बिदा

0

वीरगंज । मधेश प्रदेश सरकारले सीता जयन्ती र कविर दास जयन्तीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै बैशाख २३ गते (मंगलबार) जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते (बुधबार) कविर दास जयन्तीको दिन मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको हो ।

मधेश सरकारद्वारा २०८१ साल चैत्र ११ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचनाअनुसार, जानकी नवमी (सीता जयन्ती) र कविर दास जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा लागू हुने निर्णय गरेको थियो ।

यस निर्णयसँगै उक्त दुई दिन मधेस प्रदेशका सरकारी कार्यालय, निकाय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

दलित समुदायलाई साढे १५ प्रतिशत कोटा छुट्याइएको छः मन्त्री गुप्ता

0

काठमाण्डौ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकको निजामती सेवालाई समावेशी बनाउन दलित समुदायलाई १५ दशमलव ५ प्रतिशत कोटा छुट्याइएको बताएका छन् ।

‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८१’ माथि राष्ट्रिय सभामा उठेका सवालहरूको जवाफ दिने क्रममा आइतबार उनले निजामती सेवालाई बढी भन्दा बढी समावेशी बनाउने उद्देश्यले सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा दलित समुदायलाई १५ दशमलव ५ प्रतिशत कोटा छुट्याइएको बताए ।

‘प्रस्तावित ऐनको मस्यौदामा निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४९% छुट्याइएको र त्यसलाई शतप्रतिशत मानी त्यसको ५०% पदमा महिलाहरूबीच मात्र र बाँकी ५०% पदमा अन्य समूहका उम्मेदवारहरूबीच मात्र प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ,’ मन्त्री गुप्ताले जवाफका क्रममा भने, ‘महिलाहरूबीच मात्र प्रतिस्पर्धा गराई पदपूर्ति गर्नका लागि छुट्याइएको ५०% पदलाई शतप्रतिशत मानी दलित समुदायलाई १२ दशमलव ७ प्रतिशत छुट्याइएको छ ।’

उक्त महिला समावेशी पदबाहेकका अन्य बाँकी ५० प्रतिशत समावेशी पदलाई शतप्रतिशत मान्दा दलित समुदायलाई १५ दशमलव ५ प्रतिशत कोटा छुट्याइएको मन्त्री गुप्ताको भनाइ छ ।

उनले दलित समुदायको सशक्तीकरण गर्ने संरचनालाई एकीकृत गर्न ‘दलित, उपेक्षित, उत्पीडित वर्गको उत्थान तथा विकास प्राधिकरण’ गठनको प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । प्राधिकरण गठनको सन्दर्भमा राष्ट्रिय दलित आयोग र अर्थ मन्त्रालयबाट सकारात्मक धारणा तथा रायसुझाव प्राप्त भइसकेको पनि उनले बताए ।

यसैगरी, उनले संविधानको धारा ४० मा उल्लेख गरिएको दलितको हक कार्यान्वयन गर्न मन्त्रालयले ‘दलित समुदायको अधिकार तथा विकासम्बन्धी विधेयक’ संसदको चालू अधिवेशनमै पेश गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमको बुँदा नं. २०२ तथा गत आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. २१३ ले पनि दलित समुदायको सशक्तीकरण गर्ने संरचनाहरूलाई एकीकृत गर्ने लक्ष्य लिएकाले सो काम अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।

मन्त्री गुप्ताले प्रस्तावित दलितको हक अधिकार तथा विकास ऐन, २०८१ तर्जुमा सम्बन्धमा अवधारणापत्र तयार गरी सङ्घीय मामिला मन्त्रालयले रायसुझावका लागि राष्ट्रिय दलित आयोगमा पठाइएको जानकारी राष्ट्रिय सभालाई दिएका छन् ।

सशस्त्र प्रहरीले सिमावर्ती क्षेत्रमा सुरक्षाको नाममा लुट मचाएको छ : प्रभु साह

0

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सशस्त्र प्रहरीले सिमामा सुरक्षा हैन, लूट मचाएको बताएका छन् । रुपन्देहीको पिप्रा महजिदिया बजारमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सिमानाको रक्षा गर्ने सिमावर्ती क्षेत्रकै नागरिकलाई सशस्त्र प्रहरी लुटने काम गरिरहेको बताए ।

‘सिमानाको रक्षा, सुरक्षा सिमावर्ती क्षेत्रका नागरिकले गरेका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि सिमाको रक्ष गर्ने त्यही सिमावर्ती क्षेत्रका नागरिकलाई सशस्त्र प्रहरीले लुटने काम गर्नु दुखद हो,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई सरकारले आवश्यक मलखाद्य दिदैन । सिमावर्ती क्षेत्रका नागरिकले भारतबाट ल्याएको एकदुई बोरा मलखाद्य खोस्ने र लुटने काम गरेर सशस्त्र प्रहरीले बहादुरी देखाउँछन् । कमिशनको लोभमा मलखाद्य खोसिदिने सरकारको अपराध हो ।’ सिमावर्ती क्षेत्रमा भन्सार छलीको नाममा लुट मचाउने काम बन्द नगरे कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।

किसानलाई आवश्यक मलखाद नदिने तर कमिशनको लोभमा भारतबाट ल्याएको मलखाद खोसिदिने यो सरकारको अपराध भएको उनले बताए । मलखाद्यमात्रै नभई घरायसी प्रयोगका लागि सिमावर्ती क्षेत्रका जनताले कुनै समान ल्याउदा त्यसलाई सोस्ने र उसको नीजि सम्पती लुटने काम वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको बताए ।

‘कमिसनको नाममा अहिले सरकारी लुट मचाइएको छ । पुरस्कारको लोभमा सिमावर्ती क्षेत्रमा लुट मचाउने भएको छ । मन्त्री, आईजिपीसम्मले अदृश्य कमिशन लिईरहेका छन् । वास्तवमा सिमामा प्रहरीले कुनै समान पक्राउ गरेपछि त्यसवातप पाउने पुरस्कार पक्राउ गर्ने प्रहरीले नै पाउनुपर्ने होइन र? तर तलदेखी माथिसम्मकाले बाड़ी रहेका छन्,’ आजपा अध्यक्ष साहले भने । आजपा उपाध्यक्ष डा. उसमानको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु त्रिभुवन साह, नारायण पाण्डे, श्रीभगवान पटेल, विधा शर्मा लगायतका सहभागिता रहेको थियो ।