Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
Home Blog Page 302

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

0

वीरगंज । झुठा मुद्दा दर्ता गरी केही व्यक्तिहरुसँग बदला लिएर फसाउने कथित पत्रकार रन्जित चौरसियाको प्रयास विफल भएको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजलाई गुमराहमा पारी हुदै नभएको घटनालाई नक्कली तथा कीर्ते विवरण तयार गरी झुठा मुद्दा दर्ता गराएर पाँच जनासँग बदला लिने चौरसियाको प्रयास असफल भएको हो ।

चौरसियाले विभिन्न व्यक्तिहरूलाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने, बेइज्जती र अमानवीय शब्द प्रयोग गर्दै स्टाटस लेखेपछि तत्कालीन पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवसहित पाँच जनाले संयुक्त रूपमा साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दामा फरार रहेका चौरसिया पछि अदालतमा हाजिर भई ७५ हजार धरौटीमा रिहा भएका थिए । 

त्यसैको प्रतिशोध साध्नका लागि साइबर मुद्दा खेपिरहेका चौरसियाले आफ्नो बुवालाई अगाडी सार्दै पाँच निर्दोष व्यक्तिलाई फसाउने षड्यन्त्र रचेका थिए । आफ्नै गतिबिधिका कारण पत्रकार तथा सामाजिक क्षेत्रबाट समेत बहिष्कृत चौरसिया झुठो उजुरी दिएर आफैं दोषी सावित हुँदै कारबाहीको भागीदार बन्ने अवस्थामा पुगेका छन् ।

शुरुमा चौरसियाका बुवा जाहेरवाला सुबाष प्रसाद चौरसियाले घटनालाई लिएर मुद्दा दर्ता गराउन खोजेपनि प्रहरीले विवरण झुठो रहेको देखिपछि मुद्दा दर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ । चौरसियाका बुवाले उच्च अदालतमा झुठो बिवरण पेश गरेको र उच्च अदालतले निर्देशनात्मक आदेश गरेपछि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । निर्दोष व्यक्तिहरुलाई फसाउँन चौरसियाले झुठो विवरण र किर्ते कागजातहरु पेश गरेको पिडितका परिवारजनले बताएका छन् ।

चौरसियाका बुबालाई कुनै प्रकारको कुटपिट नभएको स्थानियहरुकाे भनाई छ । केही महिना पहिला बिन्दवासिनी गाउँपालिकाकाे इटियाहीमा जग्गाकाे बिषयमा आफ्नै दाजुभाई बिच भएकाे समान्य झगडाकाे घटनालाई वीरगंजकाे रानिघाटस्थित पुल निर आक्रमण भएकाे झुठाे विवरण बनाएर उच्च अदालतबाट परमादेश जारी गराएका छन् । 

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शुरुमा झुठा विवरण भएका कारण मुद्दा दर्ता नगरिएको र छलफलबाट विवाद समाधान गर्न सुझाइएको बताएका छन् । तर, चौरसियाले अदालतबाट परमादेश गराएपछि अनुसन्धान गर्न प्रहरी बाध्य भएको उनले बताएपनि उक्त विषयमा पक्राउ परेका २ जना रिहा भइसकेका छन् ।

झुठा मुद्दामा पक्राउ परेका पोखरीया नगरपालिका तत्कालिन नि. प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवसँग अबैध रुपमा पैसा माग गरेको तथा दिन नमानेपछि समाजिक सञ्चालमा चरित्र हत्या गर्ने स्टाटस चौरसिायले लेखेका थिए । आरोपी बनाएका अन्यहरु व्यक्तिहरुको समेत चौरसियाले समाजिक सञ्जाल फेसबुकमा तथानाम गाली बेइज्जती हुने गरी स्टाटस लेखेका थिए ।

निर्दोष व्यक्तिलाई फसाउँने जस्ता जघन्य अपराधमा समलग्न रहेको रन्जित चौरसिया, उनका बुवा सुबास प्रसाद चौरसिया र घटनालाई अतिरन्जित बनाउँने मुख्य योजनाकार राघव साहलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाकी नराख्ने नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य मनोज चौधरीले बताए ।

के हो घटनाको जड ?
सामाजिक सञ्जाल (फेसबुक) मा जथाभावी लेख्ने र गालीगलौज गर्ने रन्जित चौरसियाको पुरानै प्रवृति हो । विभिन्न बहानामा विवादमा आईरहने चौरसियाले पत्रकार भन्दै धाकधम्की दिनेदेखि लिएर रकम माग्नेसम्मका व्यवहार गर्दै आएका छन् । 

केही महिना पहिला समाजिक संजाल फेसबुकमा पत्रकार हरिशंकर शर्माका बुवामाथि पनि उनले अपशब्द लेखेका थिए । त्यस्तै कुराहरु उनले अधिकृत श्रीवास्तव, नेसेन्ट एजुकेशनका रंजित चाैरसिया, रंजित पंडित, पत्रकार अरुण कुशवाहाकाे बारेमा पनि लेखेका कारण पांचै जनाले चौरसियाविरुद्ध संयुक्त रुपमा साइबर तथा विधुतिय अपराध अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

उक्त जाहेरी प्रहरीले दर्ता गरि अदालतबाट पक्राउ गरि अनुसन्धान गर्ने अनुमति लिएपछि उनी केही फरार भएका समेत भएका थिए । पछि धाैराैटीमा रिहा भएपछि चाैरसियाले बुवाकाे नामले झुठाे मुद्दा दिएर निर्दाेष र प्रतिष्ठित ब्यक्तिहरुलाई फराउने षडयन्त्र गरेका हुन् ।

उक्त जाहेरी दिएका वीरगंज टाइम्सका संचालक समेत रहेका पत्रकार शर्मा सहित पोखरिया नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, शिक्षाकर्मी अजित चौरसिया, रन्जित पंडित एवं कुश दैनिक डटकमका संचालक अरुण कुशवाहासंग बदला लिने उद्देश्यले झुठाे ज्यान मार्ने उद्याेगमा उच्च अदालतबाट परमादेश जारी गराई प्रहरीलाई समेत गुमराहमा पारि आफै गएर अधिकृत श्रीवास्तव र चाैरसियालाई पक्राउ गर्न लगाएका थिए ।

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

0

वीरगंज । वीरगंज महानगरपालिकाले बुधबार होटल व्यवसायीसँग छलफल गरेको छ । महानगरपालिको व्यवसायीसँग व्यवसाय दर्ता, कर प्रणाली, र भवन नक्सा पास तथा यहाँको पर्यटकीय गतिविधि प्रवर्धन लगायतका विषयमा छलफल गरेको छ ।

छलफलमा महानगर प्रमुख राजेशमान सिंहले महानगरपालिका भित्र संचालनमा रहेका होटल अनिवार्य रुपमा व्यवसाय दर्ता गराएर मात्रै संचालनमा ल्याउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । यसका साथै घर बहाल र सम्पत्ति कर समेत समयमै तिरी महानगरलाई समृद्ध बनाउन व्यवसायीको सहयोगको आवश्यकता औँल्याउनुभयो ।

उहाँले महानगर व्यवसायमैत्री वातावरण बनाउन उद्दत रहेको भन्दै त्यसका लागि करको दायरा बढाउने र दरमा हेरफेर गर्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “महानगरले करको दायरा बढाउने नीति लिएको छ, तर त्यसका साथसाथै करको दर यथोचित बनाउने छौं । हामी व्यवसायीलाई थप बोझ होइन, सहजता दिने नीति लिएका छौं ।”

यसका साथै हाल विभिन्न स्थानहरूमा पार्क निर्माण गर्नुका साथै शहरी सौन्दर्यकरणको काम गरिरहेको छ, जसले पर्यटकका लागि शहरलाई घुम्न योग्य र आकर्षक बनाउने अपेक्षा गरिएको पनि उहाँको भनाई छ ।

सिंहले आगामी नीति तथा कार्यक्रममा निजी क्षेत्र, विशेषतः होटल व्यवसायीहरूको सुझाव प्राथमिकताका साथ समेटिने पनि स्पष्ट पार्नुभयो । उहाँले व्यवसाय दर्ता, कर प्रणाली र सेवाहरू डिजिटल बनाउन ‘एकद्वार सेवा प्रणाली’को तयारी भइरहेको जानकारी दिनुभयो ।

होटल क्षेत्र महानगरको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै उहाँले व्यवसायीहरूलाई सघाउन महानगर जहिल्यै तयार भएको बताउनुभयो । उहाँले आगामी नीति तथा कार्यक्रममा व्यवसायीहरूको सुझाव समावेश गरिने उल्लेख गर्दै व्यवसायमैत्री सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

यस्तै छलफलमा सहभागि होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल व्यवसायीहरु व्यवसाय दर्ता गरेर कानुनी रुपमा व्यवसाय संचालन गर्न तयार रहेको भन्दै त्यसका लागि आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी व्यवसायीहरू कानुनी रूपमा दर्ता भएर व्यवसाय सञ्चालन गर्न पूर्णतः तयार छौं । तर, दर्ता प्रक्रिया सरल र छिटो बनाइदिनुप¥यो । अहिलेको जटिल प्रक्रिया सुधारिए व्यवसाय दर्तामा कुनै समस्या हुँदैन ।’

उहाँले थप्नु भयो, ‘महानगरको तर्फबाट हुने सकारात्मक पहल र सहजीकरणले व्यवसायीहरूलाई आत्मविश्वास दिएको छ र हामी महानगरसँग सहकार्य गर्न इच्छुक छौं ।’ अध्यक्ष पन्तले पर्यटन प्रवद्र्धनमा संस्कृतिको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै कल्चरल कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याउनुभयो ।

उहाँले भन्नुभयो ‘वीरगंजलाई पर्यटकीय गतिविधिमा चलायमान बनाउन सके होटल व्यवसायमा प्रत्यक्ष फाइदा पुग्नेछ । कल्चरल कार्यक्रम, मेलामहोत्सव, र गन्तव्य प्रवद्र्धनका क्रियाकलाप ल्याउन सके शहरको आर्थिक र सामाजिक गतिशीलता बढ्नेछ।’
यस्तै होटल व्यवसायी माधव वस्नेतले व्यवसायीहरूले व्यवसाय दर्ता गर्नुपूर्व धेरै चरण पार गर्नुपर्ने, कर प्रणाली बुझ्न कठिन हुने र नक्सापास प्रक्रियामा झन्झट हुने जस्ता व्यवहारिक समस्या रहेको भन्दै यसलाई सहज बनाउन आग्रह गर्नुभयो ।

वीरगंज जस्तो व्यापारिक सहरमा व्यवस्थित होटल सेवा महानगरकै पहिचान बन्नुपर्नेमा छलफलका सहभागीहरूको जोड थियो ।
छलफलमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, राजश्व शाखाका नवराज थापा, नक्सा शाखा प्रमुख गौरब झा तथा यहाँ संचालित होटलका संचालकहरुको सहभागिता रहेको थियो ।

वीरगंजको सडक विस्तार अब रोकिनु हुँदैन

0

वीरगंज नेपालको प्रमुख व्यापारिक केन्द्र र सीमावर्ती सहर, विकासको ठूलो सम्भावना बोकेको भए पनि अव्यवस्थित पूर्वाधारका कारण पछाडि परेको वास्तविकता आज कसैबाट लुक्दैन । विशेषगरी गण्डक–घण्टाघर–मितेरी पुल सडकखण्डको अवस्था यति नाजुक भइसकेको छ कि सामान्य सवारी साधन चलाउनु वा पैदल हिँड्नु पनि जोखिमपूर्ण हुन थालेको छ । यस्तो स्थितिमा, यो सडकलाई २५ मिटरको मापदण्डअनुसार तत्काल चौडा गर्नु विकासको चाहना मात्र होइन, अपरिहार्यता बनिसकेको छ ।

आजको वीरगंज सडक साँघुरो छ, अतिक्रमित छ, फुटपाथ छैनन्, पार्किङ अव्यवस्थित छन्, ट्राफिक जाम भने दिनहुँको नियति बनेको छ । बिहानदेखि बेलुकासम्म यात्रुहरू सवारी जाममा फस्छन्, एम्बुलेन्सलाई बाटो छैन, विद्यालय जानेलाई जोखिम छ, र व्यापारीहरू ढुवानीमै ढिलो भएर आर्थिक नोक्सानी भोगिरहेका छन् । यो अवस्था के केवल केही घर जोगाउनका लागि अनिश्चितकालसम्म जस्ताको तस्तै राखिराख्न सकिन्छ ?

सडक विस्तारका लागि सरकार र डिभिजन कार्यालयले प्रस्ताव गरेको २५÷२५ मिटरको चौडाइको योजना भर्खरै सर्वोच्च अदालतबाट पनि वैधानिक मान्यता पाइसकेको छ । यसपछि अब ढिलो नगरी सो योजना कार्यान्वयन गर्न सरकार अघि सर्नु अनिवार्य भएको छ । यसलाई फेरि राजनीतिक, भावनात्मक वा व्यक्तिगत दृष्टिकोणबाट पछि धकेल्न खोज्नु स्वयं वीरगंजको भविष्यको खिल्ली उडाउनु हो ।

यहाँ केहीले तर्क गर्छन्, “घरहरू भत्कन्छन्, व्यापार गुम्छ, बस्ती उजाडिन्छ ।” हो, यी समस्या छन् । तर, यसको समाधान भनेको विकास रोकिनु होइन, समावेशी रणनीति अपनाउनु हो । पूर्वाधार निर्माण केवल बुलडोजर चलाएर होइन, संवादमार्फत अघि बढ्न सकिन्छ । तर त्यसको लागि इच्छाशक्ति चाहिन्छ, जुन अब देखाउनु पर्ने बेला आइसकेको छ ।

यसबाहेक, सहरमा आकस्मिक सेवाहरू जस्तै एम्बुलेन्स, दमकल र सुरक्षासम्बन्धी गतिविधिका लागि समेत हालको सडकले सहयोग गर्न सकेको छैन । भविष्यमा वीरगंजले अन्तर्राष्ट्रिय व्यापार केन्द्रको रूपमा अझ धेरै लोड सहनुपर्नेछ । तर आधारभूत पूर्वाधार नै कमजोर रहे, त्यो सम्भावना केवल सपना मात्र रहनेछ ।

हामीले सम्झनुपर्छ, वीरगंज केवल आजका बासिन्दा मात्रको सहर होइन—यो भविष्यको पुस्ताका लागि बनाइँदैछ । त्यसैले के आज केही पुराना संरचना भत्किए भनेर पुरै सहरको विकास रोकिनु उपयुक्त होला?

शहर विकासका लागि कहिलेकाहीं कठिन निर्णय लिनुपर्ने हुन्छ । तर कठिन निर्णय मानवीय संवेदनशीलतासँग सन्तुलनमा लिएर गरियो भने त्यसले समृद्धिको ढोका खोल्दछ । यस्तै मोडमा अहिले वीरगंज उभिएको छ । सडक विस्तार नगर्ने हो भने यो शहर केही वर्षमै ट्राफिक, अतिक्रमण, प्रदूषण र अव्यवस्थाको स्थायी बन्दी बन्न सक्छ । त्यसैले अब विकल्प छैन—वीरगंजको सडक चौडा गर्नैपर्छ, व्यवस्थित गर्नैपर्छ ।

अन्त्यमा, विकासलाई रोक्ने होइन, सहमतिमा अघि बढाउने हो । घर बचाउने प्रयास स्वाभाविक हो, तर सहर बचाउनु राष्ट्रिय जिम्मेवारी हो । वीरगंज केवल भौगोलिक भूभाग होइन, नेपालको गौरव र सम्भावनाको सहर हो । त्यसैले यसलाई साँघुरो सोच होइन, खुला योजनाले अघि बढाउनुपर्छ ।

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

0

वीरगंज । “बिहे त भयो, तर बिदाइ भएन” यिनै कुराले सुरु भएको झगडा अन्ततः कर्तव्य ज्यानको घटनासम्म पुग्यो, जसका एक फरार अभियुक्त ३ वर्षपछि पर्साबाट पक्राउ परेका छन् ।

विवाहको खुसीको माहोल एकाएक दुःखद घटनामा परिणत भएको थियो जब वि.सं. २०७६ साल वैशाख ४ गते पोखरिया नगरपालिका–६ श्रीसिया निवासी धर्मेन्द्र प्रसाद चौहान र पोखरिया–५ सतवरियाकी निषा कुमारी चौहानबीच परम्पराअनुसार विवाह भए पनि वधू पक्षले वेहुली बिदाइ गर्न मानेनन् । यही सामान्य देखिने कुरा पछि ठूलो मनमुटाव र अन्ततः झगडामा रूपान्तरण भयो ।

तीन वर्षअघिको त्यो झगडा वि.सं. २०७९ साल वैशाख ९ गते पोखरिया–४ स्थित बाल उद्यान अंग्रेजी बोर्डिङ स्कूलको प्राङ्गणमा भयो, जहाँ दुवै पक्षका आफन्तबीच भनाभनबाट हात हालाहालसम्म पुग्दा धर्मेन्द्रका पिता शंकर प्रसाद महतो चाई गम्भीर घाइते भए । टाउकोमा लागेको चोटकै कारण उनलाई काठमाडौँको गंगालाल अस्पताल लगिएको थियो, जहाँ असार ११ गते उनको मृत्यु भयो ।

घटनापछि कर्तव्य ज्यान अभियोगमा संलग्न रहेका मध्ये फरार अभियुक्त सिकेन्द्र प्रसाद चौहानलाई प्रहरीले पर्सा–५ सतवरियाबाट वैशाख २२ गते पक्राउ गरेको हो । उनीमाथि पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

वीरगंज मेनरोड १५/१५ मीटर विस्तार हुनुपर्छ : मन्त्री गुप्ता

0

वीरगंज । गण्डक–घण्टाघर–मितेरी पुलसम्मको सडक चौडा गर्दा भत्काइने भनिएको घना आवादी क्षेत्र जोगाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आग्रह गरेका छन् ।

मन्त्री गुप्ताले सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफल गरी विद्यमान समस्याको समाधान निकाल्ने प्रयास गरेका छन् । ‘वीरगंज युवा तथा व्यापारी सडकपीडित संघर्ष समिति’का संयोजक कुन्दन रौनियारसहितको टोलीलाई लिएर उनी मन्त्री देवेन्द्र दाहालको कार्यकक्षमै पुगेर यसबारे छलफल गरेका हुन् ।

छलफलमा मन्त्री दाहालले सो सडक चौडा बनाउने मन्त्रालयको कुनै योजना नभएको स्पष्ट पार्दै अनावश्यक रूपमा सडक विस्तार गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथि क्षति नपु¥याइने विश्वास व्यक्त गरे । आवश्यक पर्दा सो सडक सहरी विकास मन्त्रालयलाई जिम्मा लगाई सम्बन्धित स्थानीय तहले आवश्यकता अनुसार विस्तार गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत मन्त्री दाहालले व्यक्त गरे ।

सामान्य प्रशासनमन्त्री गुप्ताले यसअघि पनि विभिन्न कार्यक्रमहरूमा सो सडक २५/२५ मिटर नभइ जनताको इच्छा र भावना अनुसार विकास गर्ने तथा समस्याको निकास खोज्नुपर्ने बताउँदै आएका थिए ।

सोमबारको छलफलमा वीरगंज महानगरपालिकाका पूर्वमेयर विजय सरावगी, नेकपा एमालेका नेता प्रल्हाद गिरीलगायत संघर्ष समितिका अन्य सदस्यहरू सहभागी थिए । सडक डिभिजन कार्यालय हेटौंडाले सो सडक चौडा बनाउन २५÷२५ मिटर भत्काउने सूचना निकालेपछि सो क्षेत्रका स्थानीयहरू संघर्ष समिति बनाएर आन्दोलित हुँदै आएका छन् ।

यसरी दायाँबायाँ २५/२५ मिटर सडक बढाउँदा करिब एक हजार ५०० घर भत्किनाका साथै त्यस क्षेत्रबाट एक लाख मानिस विस्थापित हुने तथा नौ हजार युवायुवतीले रोजगारी गुमाउने संघर्ष समितिका संयोजक कुन्दन रौनियारले बताए । उनका अनुसार डिभिजन कार्यालयको सूचनाबमोजिम सडक विस्तार गर्दा उक्त स्थानमा रहेका प्राचीन मन्दिर, धर्मशाला, यतिमखाना (अनाथलय), इदगाहाँ (चिहान) र अन्य मठमन्दिर तथा सरकारी विद्यालयहरू र नारायणी अस्पतालसहितका भौतिक संरचनाहरू भत्किने छन् ।

पोखरियामा सामुदायिक विद्यालय सुधारबारे सरोकारवालासँग छलफल

0

वीरगंज। पर्साको पोखरिया नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ । वडा नम्बर ४ मा अवस्थित जिल्ला उचाँगल रामदेव कलवार माद्यामिक विद्यालय, पोखरियामा आयोजित भएको छलफलमा नगरपालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरू तथा सरोकारवाला व्यक्तिहरू सहभागी थिए ।

शैक्षिक सत्र २०८२ मा शिक्षक आन्दोलनका कारण विद्यालयहरू लामो समयसम्म बन्द रहँदा विद्यार्थीहरूले छुटाएको पाठ्यक्रमलाई कसरी पूर्ति गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो । साथै, नयाँ शैक्षिक सत्रमा विद्यालयबाहिर रहेका बालबालिका तथा विद्यालय छोडेका युवायुवतीलाई पुनः विद्यालयमा भर्ना गराउने अभियान कसरी प्रभावकारी बनाउने भन्नेबारे पनि योजना प्रस्तुत गरिएको छ ।

शिक्षकहरूको नियमित उपस्थिति, समयपालन, र कक्षा सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए । विद्यालयहरूको भौतिक पूर्वाधार सुधार—जस्तै टेबल, कुर्सी, पंखा, शौचालय तथा सरसफाइको अवस्था सुधार—सम्बन्धी आवश्यकताबारे पनि चर्चा गरिएको थियो ।

सूचना प्रविधि कक्षाको पुनः सञ्चालनका लागि शिक्षक अभाव समाधान गर्ने उपायहरूबारे समेत छलफल गरिएको थियो ।

छलफलमा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, शिक्षा शाखा प्रमुख विजय कुमार झा, सहायक विनोद प्रसाद चौहान, नगर प्रहरी इन्चार्ज दिनेश प्रसाद चौहान, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

विकास निर्माणमा लापरवाही स्विकार्य हुँदैनः मन्त्री गुप्ता

0

वीरगंज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विकास निर्माणका काममा कुनै पनि सम्झौता नगर्न र जनताका चाहना अनुसार सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।

पर्साको पकाहाँमैनपुर गाउँपालिका वडा नं ४ धोबीया टोलमा आयोजित शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले विकास निर्माणका काममा गरिएको लापरबाही आफूलाई स्वीकार्य नहुने बताए ।

न्यून दरमा बोलपत्र आह्वान गर्ने र विकास निर्माणमा लापरबाही गर्ने, गुणस्तरमा ध्यान नदिने र आफूखुसी योजना छनोट गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारको सबै संयन्त्र परिचालन भइसकेको उनले बताए ।

विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता पनि आवश्यक हुने मन्त्री गुप्ताले बताए । ‘विकास निर्माण कार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सँधै जनताको काममा एकताबद्ध भएर लाग्छौँ’ उनले भने ।

नेशनल मेडिकल कलेजमा दम सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

0

वीरगंज । दम रोगप्रति जनचेतना फैलाउने उद्देश्यले वीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘दम रोगः समस्या र समाधान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा रोगको कारण, लक्षण तथा बच्ने उपायबारे जानकारी प्रदान गरिएको थियो ।

नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आसिक अन्सारीका अनुसार कार्यक्रममा दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्याबारे सचेतना फैलाउने विभिन्न पोस्टर तथा व्यानर प्रदर्शनी गरिएको थियो ।

सोही अवसरमा अस्पतालका वरिष्ठ चिकित्सक डा. सुधाकर झाले दमका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थिए । साथै, सहभागीहरूलाई रगत परीक्षणमा १५ प्रतिशत छुट तथा निःशुल्क रुपमा इन्हेलर (सुँघ्ने औषधि) वितरण गरिएको थियो । दम पीडितहरूलाई फलफूल वितरण पनि गरिएको थियो ।

दमका जोखिम घटाउने उपायबारे जानकारी दिन एक प्रकारको श्वाससम्बन्धी गेम समेत आयोजना गरिएको थियो । “रोग लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्नका लागि सतर्कता अपनाउनु महत्वपूर्ण हुन्छ,” कार्यक्रममा बोल्दै कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले बताए ।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका–५ की १०२ वर्षीय वृद्धा महलुदन खातुनको समेत विशेष स्वास्थ्य परीक्षण गरिएको थियो ।

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको आयोजनामा सम्पन्न भएको कार्यक्रममा चेरिटेबल सोसाइटी अन्तर्गत नरसिंह समूहका विद्यार्थीहरूले पनि सहयोग गरेका थिए । कार्यक्रममा कलेजका मार्केटिङ तथा एडमिशन डाइरेक्टर आविद हुसेन अन्सारी, अस्पताल निर्देशक इसरत जहाँ अन्सारी, तथा कलेज निर्देशक रुबी श्रेष्ठ यासमिनको पनि उपस्थिति रहेको थियो ।

सिडियाे अर्यालयकाे पहलमा बाल सुधार गृहलाई आवश्यक विभिन्न सामग्री उपलब्ध

0

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालकाे पहलमा विभिन्न दातृ निकायहरुले वीरगंजस्थित बाल सुधार गृहमा विभिन्न किसिमका सामग्रीहरु सहयाेग गरेका छन् । बाल सुधार गृहमा अभाव रहेकाे पंखा लगायतका विभिन्न किसिमका सामग्रीहरु मंगलबार सुधार गृहलाई हस्तान्तरण गरिएकाे हाे । 

लायन्स क्लबले उपलब्ध गराएकाे १८ थान पंखा मंगलबार एक कार्यक्रमका बिच बाल सुधार गृहलाई सिडिओ अर्याल हस्तान्तरण गरेका हुन् । सिडिओ अर्याल कै पहलमा  प्याब्सन र एन प्याब्सनले बाल सुधार गृहका लागि विभिन्न किसिमका किताबहरु सहयाेग गरेका छन् ।

यसैगरी सिडिओ अर्याल कै पहलमा बाल सुधार गृहमा वीरगंज महानगरपालिकाले सिसि टिभि जडान गरेकाे छ । साथै रुङगटा वेयल फेयर साेसाइटीले खानेपानी टंयाकी जडान गरेकाे छ । 

सिनियर लायन्स पशुपति बिक्रम साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिडिओ अर्यालले पंखा र किताब बाल सुधार गृह वीरगंजका प्रमुख टीका राम काफ्लेलाई हस्तान्तरण गरे । यसका साथै बाल सुधार गृहमा जडान भएकाे खानेपानी टयांकीकाे उद्घाटन समेत गरे ।

साे अवसरमा वाेल्दै सिडिओ अर्यालले सुधार गृहमा आवश्यक रहेकाे वभिन्न किसिमका सामग्री विभिन्न दातृ निकायकाे सहयाेगमा उपलब्ध गराइएकाे वताए । उनले सहयाेग गर्ने दातृ निकायलाई धन्यावाद दिदै अबदेखि विभिन्न चाँड पर्वहरु पनि वाल सुधार गृहमा मनाउन सहयाेग गरिदिनुहुन सबैमा अह्वान गरे ।

सिडिओ अर्यालले अनुगमनकाे क्रममा सुधार गृहमा अभाव देखिएकाे पंखा लागयतकाे विभिन्न किसिमका सामग्रीहरु उपलब्ध गराइएकाे वताए ।  

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, वीरगंज महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरबिन्द लाल कर्ण, शिक्षा विकास तथा ईकाइ कार्यालय पर्साका प्रमुख हरि राउत, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत दिपक कुमार पटेल लगायतकाे पनि उपस्थिती रहेकाे थियाे । 

वीरगंजमा कोइला डिपोलाई व्यवस्थित गर्न महानगरको कडाई : दर्ता, कर, वातावरणीय अध्ययन अनिवार्य

0

वीरगंज । वीरगंज महानगरपालिका भित्र सञ्चालनमा रहेका कोइला डिपो तथा डिलरहरू अब अनियमित ढंगले सञ्चालन गर्न नपाउने भएका छन् ।

महानगरले जनस्वास्थ्य र वातावरणीय सरोकारलाई मध्यनजर गर्दै यस्तो व्यवसायलाई व्यवस्थित गर्न कडाईका साथ निगरानी गर्न सुरु गरेको हो । लामो समयदेखि कोइला डिपोहरू जथाभावी ढंगले सञ्चालन हुँदै आए पनि व्यवस्थापनमा कमजोरी देखिएको थियो । डिपोहरूमार्फत उड्ने धुलो, सडकमा फैलने कालो फोहोर, ट्रकबाट आउने आवागमन र कोइला राख्ने तरिकाले स्थानीयवासीमा गम्भीर असन्तुष्टि बढ्दै आएको थियो । यही समस्याको समाधान खोज्न वीरगंज महानगरले सक्रियता देखाउँदै सोमबार यस्ता व्यवसाय गर्ने व्यवसायीसँग छलफल गरेको हो ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा भएको छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरे, वन तथा वातावरण महाशाखा प्रमुख राकेश साह, प्रकाश बहादुर ऐर, वीरगंज सुख्खा बन्दरगाह सञ्चालन गर्ने प्रिस्टिन भ्यालिका प्रतिनिधि सुभासिश आदिल, साथै वीरगंजमा क्रियाशील विभिन्न कोइला डिपो तथा डिलरका सञ्चालकहरू सहभागी थिए । छलफलमा उपस्थित सरोकारवालाहरूले हालको अवस्थाबारे आफ्ना विचार राख्नुका साथै भविष्यमा सुधारका लागि आवश्यक कदमहरूबारे सुझावसमेत दिएका थिए ।
छलफलमा अव्यवस्थित कोइला डिपोहरूको प्रभाव स्थानीयको दैनिक जीवनमा कसरी परेको छ भन्ने विषयमा गम्भीर चर्चा भयो। विशेषतः बालबालिका, वृद्धवृद्धा र दम, एलर्जी जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई धुलोको कारण स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ । डिपोहरू सडक किनारैमा खुला रूपमा कोइला थुपार्ने, ट्रकहरूबाट झिक्ने क्रममा चारैतिर कालो धुलो फैलिने र डिपोहरू वरपर फोहोरमैला जम्ने अवस्थाले वीरगंजको वातावरणलाई नै प्रभावित बनाएको निष्कर्ष छलफलमा निकालिएको थियो ।

यिनै समस्याको स्थायी समाधानका लागि अब महानगरपालिकाले कोइला डिपोहरूलाई व्यवस्थित गर्न कानुनी ढाँचामा ल्याउने निर्णय गरेको छ । छलफलमा सहभागी महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार अब सबै डिपो तथा डिलरहरूले आफ्नो व्यवसाय अनिवार्य रूपमा महानगरपालिकामा दर्ता गर्नुपर्नेछ । साथै, कोइला राख्न प्रयोग गरिएको जग्गाको सम्पत्ति कर र भाडामा लिइएको खण्डमा बहाल कर महानगरमा समयमै बुझाउनुपर्नेछ ।

यससँगै वातावरणमा डिपोहरूले पार्ने प्रभावलाई ध्यानमा राख्दै अब सबै डिपोहरूले वातावरणीय प्रभाव मूल्यांकन (EIA) वा प्रारम्भिक वातावरणीय परीक्षण (IEE) अनिवार्य रूपमा गराउनु पर्नेछ। साथै, डिपोको संरचना, भण्डारण स्थल तथा पूर्वाधार निर्माणका लागि महानगरबाट नक्सा पास गराउनु पर्ने व्यवस्था लागू गरिनेछ। यसले डिपोहरूलाई निर्माण, व्यवस्थापन र सञ्चालनका हरेक पाटोमा निश्चित मापदण्डभित्र ल्याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, डिपोहरू अवस्थित क्षेत्रका सडक तथा फुटपाथहरूमा देखिने फोहोर र कालो धुलोका कारण आसपासका बासिन्दालाई परेको असहजताको अन्त्य गर्न अब डिपो सञ्चालक स्वयंलाई सफाइको जिम्मेवारी दिइने भएको छ । महानगरले स्पष्ट रूपमा भनेको छ कि यदि डिपो सञ्चालकले क्षेत्र सफा राख्न असफल भएमा नगर प्रहरी र सरोकारवाला निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइनेछ ।

महानगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले छलफलमा बोल्दै वीरगंजवासीको स्वास्थ्य र वातावरणसँग कुनै सम्झौता नगरिने दोहोर्‍याए। “अब सबै व्यवसायले कानुनी, प्रशासनिक र वातावरणीय मापदण्ड पालना गर्नैपर्छ । जनस्वास्थ्यप्रति गम्भीर असर पार्ने कुनै पनि गतिविधिमा अब कडाइ गरिनेछ,” उनले स्पष्ट पारे ।

छलफलमा सहभागी डिपो सञ्चालकहरूले भने महानगरको निर्देशनको स्वागत गरेका छन्। उनीहरूले आफूहरू पनि व्यवस्थित र सुरक्षित ढंगले व्यवसाय सञ्चालन गर्न तयार रहेको जनाएका छन् ।

यद्यपि, नयाँ प्रणाली लागू गर्न केही समय लाग्ने र आवश्यक प्राविधिक सहयोग भए अझ सहज हुने धारणा पनि व्यक्त गरेका छन् ।

वीरगंज–२२ स्थित जय अम्बे डिपोका संचालक विक्रम अधिकारीले भने, “हामी जनस्वास्थ्य र वातावरणलाई असर नपर्ने ढंगले व्यवसाय सञ्चालन गर्न तयार छौं। तर, नयाँ प्रक्रिया लागू गर्न केही समय लाग्नेछ र प्राविधिक सहयोग आवश्यक पर्नेछ।”

महानगरको पहलबाट अब वीरगंजका कोइला डिपोहरू व्यवस्थित र नियमनमा आउने अपेक्षा गरिएको छ। नगरवासीको दीर्घकालीन मागअनुसार चालिएको यो कदमले शहरभित्रको प्रदूषण नियमन, स्वास्थ्य सुरक्षा र समग्र शहरी व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने छ ।