Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
Home Blog Page 301

ठोरीमा पूर्वमन्त्री अर्यालद्वारा तीनवटा सडक योजनाको शिलान्यास

0

वीरगंज । राष्ट्रिय सभाकी पूर्व उपाध्यक्ष तथा पूर्वमन्त्री उर्मिला अर्यालले आज पर्सा जिल्लाको ठोरी गाउँपालिकामा संघीय सरकारको लगानीमा निर्माण हुन लागेका तीनवटा रणनीतिक महत्वका सडक योजनाको शिलान्यास गरेकी छन्।

माओवादी केन्द्रकी स्थायी कमिटी सदस्यसमेत रहेकी अर्यालको पहलमा चालु आर्थिक वर्षका लागि यी योजनाहरूमा बजेट विनियोजन भएको हो।

शिलान्यास कार्यक्रम ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनका अनुसार, अर्यालले एकैदिन तीन स्थानमा सडक शिलान्यास गरेकी हुन् — ठोरी–१ को महत टोल, ठोरी–३ मा हुलाकी सडक हुँदै राम श्रेष्ठको घरबाट शिव मन्दिरसम्मको सडक, र ठोरी–५ को बाघमोर्चास्थित मानेचोकदेखि पश्चिमतर्फ निर्माण हुने सडक।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू, स्थानीय नेताहरू र बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। संघीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विभागमार्फत निर्माण हुने यी प्रत्येक सडकको लागत १ करोड रुपैयाँ रहनेछ। अर्यालका स्वकीय सचिव रामाकान्त चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण कार्य सम्पन्न हुने जानकारी दिएका छन्।

यसै अवसरमा ठोरी आइपुगेकी पूर्वमन्त्री अर्याललाई ठोरी गाउँपालिकाले कार्यालयमै एक विशेष समारोह आयोजना गरी भव्य स्वागत तथा सम्मान गरेको छ। कार्यक्रममा अध्यक्ष लाल बहादुर श्रेष्ठले ठोरीको भौतिक पूर्वाधार विकासमा अर्यालले निरन्तर सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि यस्तो साथ रहने अपेक्षा व्यक्त गरे।

स्वागत समारोहमा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नेकपा एमालेका ठोरी अध्यक्ष खगेन्द्र श्रेष्ठ, माओवादी केन्द्र ठोरीका सह–इन्चार्ज राम श्रेष्ठ, स्थानीय कर्मचारी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

यी सडक योजनाले ठोरीको यातायात सञ्जालमा सुधार ल्याउनुका साथै समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

रिलिफ सोसाइटी अफ कमर्सको ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा भव्यताका साथ सम्पन्न

0

वीरगंज । रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा सोमवार (२९ गते) एक भव्य तथा औपचारिक कार्यक्रमको आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रम वीरगञ्जको आदर्शनगरस्थित रिलिफ सोसाइटी भवनमा संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य आकर्षणस्वरूप समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो।

साहित्य क्षेत्रबाट जयकिशोर पाण्डे, चिकित्सा क्षेत्रबाट डा. भरत गोइत, खेलकुद क्षेत्रबाट भेटान्स सिटी क्लबका अध्यक्ष सविन बस्नेत, समाजसेवा क्षेत्रबाट उपकार सेवा नेपालकी अध्यक्ष श्रीमती विद्या कुमारी सारावगी र महिला उद्यम क्षेत्रमा श्रीमती आरती सिंहलाई दोसल्ला ओढाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो।

अध्यक्ष यादवले आफ्नो मन्तव्यमा हरेक वर्ष समाजमा प्रेरणादायी कार्य गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिँदै यसपालि पनि विभिन्न क्षेत्रका अग्रणी व्यक्तिहरूको योगदानको कदरस्वरूप सम्मान गरिएको जानकारी दिए।

रिलिफ सोसाइटी अफ कमर्सका पूर्व अध्यक्ष तथा समाजसेवी वरिष्ठ उद्योगपति गणेश लाठका अनुसार, यो संस्था समाजसेवा र जनहितका कार्यका लागि स्थापना गरिएको हो र बुद्ध पूर्णिमाकै दिन स्थापना गरिएको स्मरण गराए।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको प्रशंसा गरेका थिए।

सो अवसरमा नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, वरिष्ठ पत्रकार जगदिश प्रसाद शर्मा, वरिष्ठ अधिवक्ता बाल मुकुन्द खरेल, उद्योगपति अशोक बैध, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, निवर्तमान अध्यक्ष अनिल पटवारी लगायत थुप्रै विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

0

वीरगंज। मधेस प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव शिवजी गुप्ताले सोमबार सिमरा रंगशालाको अवलोकन गरेका छन् । प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा हालै नियुक्त भएका गुप्ताले पहिलोपटक औपचारिकरुपमा सिमरा रंगशालाको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा गुप्ताले मधेशमा खेलकुदको विकासका लागि पूर्वाधार निर्माणलाई गति दिने बताएका छन् । मधेशमा रहेका खेलकुद पूर्वाधारको अवलोकन गर्ने र आवश्यकता अनुसारको पूर्वाधार निर्माणमा आफूले काम गर्ने गुप्ताले बताए ।
मधेश प्रदेशकै सुविधासम्पन्न रंगशालाको रुपमा निर्माण हुँदै गरेको सिमरा रंगशालाको पूर्वाधार निर्माणमा प्रदेश खेलकुद परिषद्ले सहयोग गर्ने गुप्ताको भनाई थियो ।

गुप्तालाई सिमरा रंगशालामा जिल्ला खेलकुद विकास समिति बाराका प्रमुख हेमलाल श्रेष्ठ, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, नेपाल तेक्वान्दो संघ मधेश प्रदेशका महासचिव राजकुमार लामा, नव जनजागृति युवा क्लबका सल्लाहकार धर्मबहादुर श्रेष्ठ, नेकपा एमाले बाराकी उपसचिव भावना आचार्य, जिल्ला सदस्य रमेश खरेल, जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाह लगायत उपस्थित थिए । गुप्ताले यसअघि नारायणी रंगशालाको अवलोकन गरेका थिए ।

वीरगंजमा मनाइयो विश्व नर्सिङ् दिवस, नारायणी अस्पतालमा फलफूल वितरण

0

वीरगंज । २०५औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघ पर्साले नारायणी अस्पतालमा फलफुल वितरण गरेको छ । बिरामीहरूप्रति स्नेह र सेवा भाव प्रकट गर्दै संघले अस्पतालका विभिन्न वडामा रहेका बिरामीलाई फलफुल प्रदान गरिएको हो ।

कार्यक्रममा दीप प्रज्वलनसहित सुरु गरिएको कार्यक्रममा प्रसुती वार्ड, सर्जिकल वार्ड र पीआईसीयू वार्डमा रहेका ६० भन्दा बढी बिरामीहरूलाई फलफुल वितरण गरिएको संघकी अध्यक्ष डा. कल्पना पौडेलले जानकारी दिइन् ।

डा. पौडेलको अध्यक्षतामा तथा नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको प्रमुख उपस्थितीमा सम्पन्न भएको थियो । कार्यक्रममा वीरगंज–४ का वडाध्यक्ष जगदीश प्रसाद साह, अस्पतालका नर्सहरू हेमा थापा, श्रुति साह, रामनरेश कुशवाहा, पशुपति जयसवाल, कमला ढकाल, शर्मिला महर्जन, शुभद्रा चौधरी, रुबी साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।

युद्ध हैन शान्तिको बाटो रोजौ

0

भारत र पाकिस्तान—दुई छिमेकी राष्ट्र, जसको ऐतिहासिक सम्बन्ध विगत सात दशकदेखि विछोड, अविश्वास र प्रतिस्पर्धामा बाँधिएको छ । सन् १९४७ मा उपमहाद्वीपको विभाजनसँगै सुरु भएको यो सम्बन्ध राजनीतिक, धार्मिक र भौगोलिक विवादहरूका कारण बारम्बार द्वन्द्वमा परिणत हुँदै आएको छ । चार पटक युद्ध भइसकेको छ, असंख्य सीमास्तरीय झडपहरू भइरहेका छन्, र काश्मीर मुद्दा आजसम्म समाधान हुन सकेको छैन । यस्तो अवस्थामा, दुबै देशका लागि अब एक गम्भीर प्रश्न उभिएको छ—के हामी यो द्वन्द्वलाई युगौंसम्म बोकिरहने? कि नयाँ युगको सुरुवात गर्ने?

वास्तविकता के हो भने, युद्ध कसैको पक्षमा उपयोगी हुँदैन । यसले राष्ट्रलाई केवल भौतिक र मानवीय क्षति मात्रै पुर्याउँदैन, सामाजिक संरचना, जनताको मानसिक स्वास्थ्य र आर्थिक विकासमा गहिरो असर पार्छ । भारत र पाकिस्तान दुवै विकासोन्मुख मुलुक हुन्, जहाँ शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सुरक्षाजस्ता आधारभूत आवश्यकताहरू अझै पूर्णरूपमा सुनिश्चित भइसकेका छैनन् । यस्तो अवस्थामा, अरबौं रुपैयाँ सैन्य खर्चमा खर्चिनु जनताको अपेक्षाको खिल्ली उडाउनु जस्तै हो ।

शान्ति केवल युद्धको अभाव होइन; यो विश्वास, संवाद र सहकार्यको उपस्थिति हो । यो सम्झन जरुरी छ कि भारत र पाकिस्तानका जनताबीच कुनै वैरभाव छैन । जनस्तरमा सांस्कृतिक, भाषिक र भावनात्मक नाताहरू अझै गहिरा छन् । उर्दू र हिन्दी एकअर्कालाई बुझ्ने भाषा हुन्, संगीत र सिनेमाले सीमा पार गरी मन छुन्छन्, र खेलकुदले दुबै देशका युवालाई उत्साहित बनाउँछ । यिनै साझा पक्षहरूले सन्देश दिन्छन्, राजनीतिक सीमाभन्दा माथि उठेर सहकार्यको आधार तयार गर्न सकिन्छ ।

राजनीतिमा द्वन्द्व कहिलेकाहीँ लोकप्रियताको हतियार बन्न सक्छ, तर दीर्घकालीन स्थायित्व शान्तिमा नै हुन्छ । विगतमा भएका केही संवाद प्रयासहरू, जस्तै लाहोर बस सेवा, अटल बिहारी वाजपेयीको ऐतिहासिक पाकिस्तान भ्रमण वा २००३ को संघर्षविराम सम्झौता—यी सबैले देखाएका थिए कि जब नेतृत्व इच्छाशक्ति देखाउँछ, तब बाटो खोलिन्छ । आज पनि त्यही इच्छाशक्ति आवश्यक छ ।

दुबै देशसँग अब सशस्त्र क्षमताहरू छन्, जुन युद्धको सम्भावनालाई अझ गम्भीर बनाउँछ । सानो विवाद पनि ठूलो क्षतिको रूप लिन सक्छ । त्यसैले यो समय हो तनाव घटाउने, द्वन्द्वलाई संवादमा रूपान्तरण गर्ने र साझा मुद्दाहरूमा सहकार्य गर्ने । जलवायु परिवर्तन, महामारी, आतंकवादजस्ता चुनौतीहरू दुवै देशको साझा समस्या हुन्, जसको समाधान मिलेर मात्र सम्भव छ ।

प्रश्न उठ्छ—शान्तिको बाटो कसले सुरु गर्ने? उत्तर छ—दुवैले । एकपक्षीय प्रयास अपूर्ण हुन्छ, तर संयुक्त प्रयासले इतिहास बदल्न सक्छ । दुबै देशका नागरिक समाज, बौद्धिक वर्ग, मिडिया र युवा पुस्ताले दबाब सिर्जना गर्नुपर्छ कि अब युद्धको कुरा होइन, शान्तिको संस्कृति बसाल्ने समय हो ।

आजको पुस्ताले विभाजन देखेको छैन, तर त्यसका परिणाम भने भोगिरहेछ । त्यसैले अबको पुस्ताले नयाँ इतिहास लेख्न सक्छ—जहाँ भारत र पाकिस्तान शत्रु होइन, साझेदार बन्न सकून् । हामीले शान्तिलाई विकल्प होइन, अनिवार्यता मान्नुपर्छ ।

शान्ति नै हाम्रो साझा भविष्य हो । त्यस भविष्यलाई सुरक्षित गर्न आजै पहल गर्नु जरुरी छ—र त्यसका लागि युद्ध होइन, संवाद चाहिन्छ । काश, दुबै देशका नेताहरूले यो सन्देश गम्भीरतापूर्वक बुझून् ।

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

0

वीरगंज । भगवान गौतम बुद्धको २६४९औँ जन्मजयन्ती, २६१४औँ बुद्धत्व प्राप्ति दिवस तथा २५६९औँ महापरिनिर्वाण दिवसको अवसरमा वीरगंजमा एक भव्य र सन्देशमूलक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। एलाइड युथ सोसाइटी वीरगंज–पर्साको अगुवाइमा आयोजना गरिएको यो अभियानमा स्थानीय निकायदेखि सुरक्षानिकायसम्मको उल्लेखनीय सहयोग तथा युवाको जोशिलो सहभागिता देखिएको थियो।

“शान्ति र स्वच्छता दुबै बुद्धको शिक्षाको मर्म हो,” अभियानका संयोजक तथा एलाइड युथ सोसाइटीका सचिव सन्नी श्रीवास्तवले बताए। “हामीले यो अभियान केवल सरसफाइका लागि मात्र नभई सामाजिक चेतना अभिवृद्धि, धार्मिक सहिष्णुता, र युवाको सकारात्मक भूमिकाको उदाहरण दिनका लागि सुरु गरेका हौं,” उनले थपे ।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय पर्सा, र बीरगन्ज महानगरपालिकाले सक्रिय सहभागिता जनाएका थिए। साथै, श्री श्री जंग गण, सशस्त्र प्रहरी बल न.म. १३ गण पर्सा, गौतम विद्यालय, र नेशनल इन्फोटेक विद्यालयले विशेष सहयोग प्रदान गरेका थिए।

विशेष अतिथिका रूपमा उपस्थित गौतम विद्यालयका सञ्चालक सोनम लामाले युवालाई सम्बोधन गर्दै बुद्धको जीवन दर्शन, अहिंसा र सहिष्णुताको मूल्यलाई वर्तमान पुस्तामा स्थानान्तरण गर्नुको आवश्यकता औंल्याए। “शिक्षा भनेको केवल किताबी ज्ञान होइन, यो जीवनका मूल्यहरूसँग जोडिनुपर्छ। बुद्धको शान्तिको सन्देश आजको समाजका लागि झन् सान्दर्भिक छ,” लामाले भने।

कार्यक्रममा एलाइड युथ सोसाइटीका अध्यक्ष ओम झा, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, सुरक्षानिकायका उच्च अधिकारीहरू, विभिन्न विद्यालयका शिक्षक–विद्यार्थीहरू, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

एलाइड युथ सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ कि यो अभियानले युवाहरूमा सामाजिक उत्तरदायित्वको भावना जागृत गराउनुका साथै धार्मिक सहिष्णुता र साझा संस्कृति प्रति सम्मानको भाव अभिवृद्धि गरेको छ।

“बुद्धको दर्शनलाई व्यवहारमा उतार्न सक्ने शक्ति युवामा नै छ,” एलाइड युथ सोसाइटीले जोड दिएको छ। सोसाइटीले आगामी दिनमा पनि यस्ता सचेतनात्मक, वातावरणीय र समाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

0

वीरगंज । प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समितिले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गराउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यललाई ज्ञापनपत्र बुझाएको छ । सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूमाथि भइरहेका निरन्तर आक्रमण, दमन र हस्तक्षेपको विरोध गर्दै प्रेस सेन्टर नेपालको केन्द्रीय निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापन पत्र बुझाइएको हो ।

पत्रकारहरूमाथि भइरहेको दमन, डर, धाकधम्की र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई जिम्मेवार व्यवहार गर्न ज्ञापन पत्रमार्फत आग्रह गरिएको प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवले बताए ।

अध्यक्ष यादवको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्रमार्फत सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित, प्रेस स्वतन्त्रताको सम्मान तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानअनुसार संरक्षण गर्न प्रभावकारी कदम चाल्न माग गरिएको छ ।

सो अवसरमा उपाध्यक्ष समिना रंजितकार, कोषाध्यक्ष संजित गुप्ता, सह–सचिव विदुर गौतम, पत्रकार सन्तोष कुशवाहा, रितेश झा, अशोक श्रीवास्तव, भरत सर्राफ लगायतको उपस्थिति रहेको सचिव अजित भुजेलले जानकारी दिए ।

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

0

वीरगंज । नयाँ लुगा किनिदिने प्रलोभन पारी नाबालिकालाई यौनधन्दामा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाकी २४ वर्षीया आलिया खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।

आलियाले नगवाकै विपन्न परिवारकी अन्दाजी १४ वर्षीया एक नाबालिकालाई नयाँ लुगा किन्दिने र पैसापनि दिने प्रलोभन दिएर बैशाख २१ गते सीमावर्ती रक्सौल बजारमा लगेकी थिइन् । त्यहाँ आलियाले ती बालिकालाई विभिन्न लजमा ७ दिनसम्म राखेर यौनधन्दामा लगाएकी थिइन् ।

ती बालिकाका अभिभावकले छोरी घरबाट सम्पर्कविहिन भएपछि खोजतलाशका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि खोजतलाशमा खटिएको प्रहरीले आलिया र ती बालिका दुवै जना आलियाको घरमा रहेको सूचना पाएको थियो । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले नगवास्थित आलियाको घरमा पुगेर छापा मारेर ती बालिकाको उद्धार गर्नुका साथै आलियालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरीसँगको बयानका क्रममा पिडित बालिकाले आफुलाई आलियाले झुक्याएर रक्सौल बजारमा लगेको र त्यहाँका विभिन्न लजमा लगेर पुरुष ग्राहकसँग पैसा लिएर आफुलाई यौनधन्दामा लगाएको बताएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार, अनुसन्धानका क्रममा पक्राउ परेकी आलियाले यसभन्दा पहिला पनि बालिका र किशोरीलाई विभिन्न प्रलोभन दिएर यौनधन्दामा लगाउने गरेको खुलेको छ ।

प्रहरी हिरासतमा रहेकी आलियाविरुद्ध मानव वेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

राजर्षि जनक विश्वविद्यालयअन्तर्गत स्नातक तहको परीक्षा, वीरगंजका चार कलेजका विद्यार्थी सहभागी

0

वीरगंज । राजर्षि जनक विश्वविद्यालय, जनकपुरधामले सम्बन्धन दिएका कलेजहरूमा भर्ना भएका स्नातक तह प्रथम वर्ष, प्रथम सेमेस्टरका विद्यार्थीहरूको परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन भइरहेको छ ।

परीक्षा वीरगंजस्थित ब्राइट +२ कलेजमा केन्द्रित रही सञ्चालनमा आएको हो। परीक्षा व्यवस्थापनमा विश्वविद्यालय, स्थानीय प्रशासन तथा कलेज प्रशासनबीच प्रभावकारी समन्वय देखिएको छ ।

परीक्षामा वीरगंज क्षेत्रका चार प्रमुख कलेजहरू ममता विद्या मन्दिर, वीरगंज स्कुल अफ ल, सनलाइट +२ कलेज, र गेल्वा किन्ज कलेज — का कुल ८४ जना विद्यार्थी सहभागी छन् ।

परीक्षाको अनुगमनका लागि विश्वविद्यालयबाट पपु कुमार साह परिवेक्षकको रूपमा बिरगंज आएका थिए। साथै, पयाब्सन पर्साका नगर अध्यक्ष राहुल श्रीवास्तवले पनि परीक्षा केन्द्रको निरीक्षण गर्दै परीक्षा प्रक्रियामा पारदर्शिता कायम गर्न सहयोग पुर्‍याएका छन् ।

परीक्षा सञ्चालनको क्रममा सुरक्षा व्यवस्था, विद्यार्थीहरूको अनुशासन र व्यवस्थापन पक्ष सबै सन्तोषजनक रहेको जानकारी प्राप्त भएको छ । कलेजहरूले पनि आफ्ना विद्यार्थीलाई समयमै उपस्थित गराई परीक्षा मर्यादित वातावरणमा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

सहभागी पक्षहरूको सहकार्य, सुव्यवस्था र विद्यार्थीको सजग सहभागिताले यस सेमेस्टरको परीक्षा सफलतापूर्वक सम्पन्न भएको विश्वास गरिएको छ ।

चलचित्र पत्रकार संघ पर्साको अध्यक्षतामा विक, उपाध्यक्षमा पटेल र सचिवमा यादव

0

दिपु वर्णवाल /
वीरगंज, २८ बैशाख ।
‘चलचित्र पत्रकारिताको मूल मर्म र व्यवसायिक पत्रकारिताका लागि सञ्चार कर्म’ भन्ने नाराका साथ चलचित्र पत्रकार संघ नेपाल पर्साको अधिवेशन आइतबार सम्पन्न भएको छ । संघकी अध्यक्ष नीलिमा पौडेलको अध्यक्षतामा भएको अधिवेशनको मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले उद्घाटन गरेका थिए । चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकोटा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जरा, बरिष्ठ कलाकार नन्दु श्रीवास्तव, ज्ञान्दा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, गायक सुनिल पण्डित, निर्माता तथा कलाकार शिवप्रसाद कुर्मी, पत्रकार नवराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले चलचित्र पत्रकारिताको महत्व, यसको वर्तमान अवस्थाबारे धारणा राख्दै पेशागत मर्यादा, अनुसन्धानमुखी लेखन र तथ्यपरक पत्रकारिताको आवश्यकता औँल्याएका थिए ।

प्रमुख अतिथि प्रा.डा. शाक्यले चलचित्र पत्रकारिता नेपालमा अझै नयाँ विधा भए पनि यसले राष्ट्रिय सिनेउद्योगको प्रवद्र्धनमा सकारात्मक योगदान दिँदै आएको उल्लेख गरे । उनले आगामी दिनमा साक्षर, जिम्मेवार र पेशेवर पत्रकारिता अभ्यासको सुदृढीकरणमा जोड दिन आवश्यक रहेको धारणा राखे ।

अधिवेशनको बन्द सत्रमार्फत नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा सूर्यनारायण वि.क, उपाध्यक्षमा आनन्द पटेल, सचिवमा रञ्जित यादव, कोषाध्यक्षमा सबनम भट्टराई र सहकोषाध्यक्षमा दिपु वर्णवाल चयन भएका छन् ।

नयाँ निर्वाचित कार्यसमितिलाई केन्द्रिय महासचिव सापकोटाले शपथ ग्रहण गराएका थिए । साथै निवर्तमान अध्यक्ष निलिमा पौडेलले खादा र टिका लगाएकी थिइन् भने महासचिव सापकोटाले प्रमाण पत्र प्रदान गरेका थिए ।

चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धि, सञ्जाल विस्तार र पेशागत हकहित सुनिश्चित गर्ने कार्यक्रमहरू अघि सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष सूर्यनारायण वि.क.ले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारले चलचित्र पत्रकार संघ आफैमा अलग संघठन रहेको हुनाले यसलाई पनि सशक्त ढंगले अघि बढाउन जरुरी रहेको बताए । उनले चलचित्रको माध्यमले सारा जगतमा आफ्नो पहिचान बनाउन सक्ने भएको हुनाले यस संगठनमा काम गर्न जरुरि रहेको बताए । महासंघले पनि साथ र सहयोग गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सचिव एवं प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहान, आर्थिक पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, प्रेस चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्र, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, निर्माता तथा निर्देशक फूल कुमार साह, त्रिमुर्ती सिनेमाका सञ्चालक मेघराज सहनी, कलाकार मीठु मार्किन, गायिका निलम पाल लगायतको उपस्थिती रहेको थियो ।