Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
Home Blog Page 300

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

0

वीरगंज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मा नवनिर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । भव्य कार्यक्रमका बिच पूर्व मन्त्री एंव नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

जिल्ला समन्वय समिति पर्सा र जगरनाथपुर गाँउपालिकाकाे कूल १ करोड १० लाख रुपैयाँको लागतमा वडा कार्यालयको दुई तल्ले भवन निर्माण गरिएको हाे । वडा कार्यालयकाे भवन निर्माणले वडा कार्यालयकाे सेवा प्रवाह सहज हुने छ । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री रिजालले विकास निर्माणका काममा सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । आफ्नो गाँउठाँउको विकास भएमात्रै जनताले लोकतन्त्र र संघीयताको अनुभूती गर्न सक्ने उनले बताए ।

गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आफनै भवनमा अब वडा कार्यालय सञ्चालनममा आएपछि सेवा प्रवाहमा कर्मचारीलाई सहज हुने र त्यसबाट सेवाग्राहीहरुपनि लाभान्वित हुने बताए । अध्यक्ष यादवले पालिकाका आफ्नै भवन निर्माण कार्य चाँडै नै सुरु हुने वताए ।

वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडाध्यक्ष सुभाष यादव लगायतकाकोपनि उपस्थिती रहेकाे थियो ।

वडा कार्यालयकाे प्राङ्गणमा भएकाे उद्घाटन समाराेहकाे संचाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले गरेका थिए ।

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

0

वीरगंज । वीरगंजको आदर्शनगर रंगशालामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ । हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले रंगशालाको चारै किनारामा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजलाई स्वच्छ, सफा र हरियाली शहर बनाउने अभियानलाई यो गतिविधिले थप टेवा पुर्‍याउने बताए । उनले यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै नगरको सौन्दर्य वृद्धिमा योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले वृक्षारोपण वातावरण संरक्षणको अभिन्न अंग भएको उल्लेख गर्दै नगरबासीलाई हरियाली अभियानमा सहभागी हुन आह्वान गरे ।

वीरगंज महानगर प्रहरीको आयोजना र ग्रिनसिटी सामुदायिकको सहकार्यमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा नगर प्रहरी इन्चार्ज हरि भुषाल, ग्रिन सिटी सामुदायिकका जयप्रकाश खेतान, समाजसेवी भोला कलवार लगायतको उपस्थिति रहेको थियो ।

वृक्षारोपण अभियान अन्तर्गत विभिन्न प्रजातिका विरुवा रोपिएको र त्यसको संरक्षण र सम्वर्द्धन महानगरपालिकाले गर्ने  जनाइएकाे छ ।

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

0

ओमप्रकाश चौधरी
सेढवा, ३० बैशाख ।

कक्षा ५ उतिर्ण गरी कक्षा ६ मा प्रबेश गरेकी १२ वर्षीया अञ्जलीकुमारी राम (नाम परिवर्तन) को बिहे तय भएपछि उनी विद्यालय जान छाडेकी छन् । शैक्षिक सत्र २०८१ मा कक्षा ५ को बार्षिक परीक्षामा सहभागी भएपछि उनको बिहेको मिति तय भएको कारण अर्को बिद्यालयमा भर्ना नगरी अध्ययन छुटाएर वैवाहिक कार्यक्रमको तयारीमा राम परिवार जुटेका थिए । र हाल ती नबालिकाको बिहे भएको पाच दिन बितेको छ ।

कमै उमेरमा विवाह भएपछि अध्ययन छाड्ने अञ्जलीकुमारी राम पहिलो छात्रा होइनन् । उनीजस्तै समुदायमा प्रति बर्ष दर्जनौ नबालिकाहरु पनि विवाह तय भएपछि यसैगरी विद्यालय छाड्दै आएका छन् । अञ्जलीको अभिभावक हरेराम चमार (नाम परिवर्तन) ले सानै उमेरमा विवाह गर्दा दाइजो कम दिनुपर्ने कारणले विवाह गर्न लागेको बताए ।

उमेर ढल्दै गएपछि दाइजोको माग बढी हुने र आर्थिक समस्याले थेग्न नसक्दा नाबालिगमै विवाह गर्ने बाध्यता रहेको उनको भनाइ छ । केटा पक्षले अहिले विवाह गर्दा नगद, भारतीय नम्बरको मोटरसाइकल माग गरेको थिए । उनको बिहे भएपछि बल्ल संतुष्टि भएको चमारले बताए । अझै दुई जना छोरीको विवाह गर्न बाँकी छ तर तीन बर्ष पैसा कमाएर जम्मा गर्नुपर्ने चमारको भनाई छ । सबै छोरीको विवाह नगरुञ्जेल आभिभावकको टाउकोमा बोझ रहिरहने चमारले दुखेसो पोखे ।

अञ्जलीको जस्तै कक्षा ९ मा अध्ययनरत पुष्पाकुमारी यादवको पनि बिहे तय भएपछि स्कूल जान रोक लगाइएको थियो । ४० जनाको सङ्ख्यामा आएको केटा पक्षलाई खाजा खानाको व्यवस्था गर्दा आर्थिक भार बेहोर्नुपरेको उनको परिवारले बतायो । यसका साथै छेक्कामा सहभागी अधिकांश पाहुनाहरुका लागि पाइन्ट र सर्टको कपडा समेत दिनु परेका थिए । भारु ८० हजार, साइकल र सुनको औंठी दाइजो माग भए अनुसार विवाह सम्पन्न भएको छ ।

आर्थिक अवस्था कमजोर भएपनि यादव परिवारले ऋण सापटी लिएर छेकाको कार्यक्रम सम्पन्न गरेका छन् । पुष्पाका ४ जना दिदी–बहिनी छन् । जेठी पुष्पाको बिहे भइसकेको छ भने दुई बहिनी र एकजना भाइको विवाह गर्न बाँकी छ ।

कम उमेरमा विद्यालय छुटाएर विहे गरिदिने परम्परा बिशेष गरी चमार, दुसाद, मुसहर तथा बासफोर लगायतका दलित समुदायमा बढी देखिन्छ । बालविवाह, दाइजोप्रथा न्यूणीकरणका लागि जिल्ला प्रहरी कार्यालयलगायत दर्जनौ सङ्घसंस्थाले ग्रामीण क्षेत्रमा अभियान सञ्चालन गर्दै आएको छ तर गुपचुप बालविवाह रोकिएको छैन भने दाइजो लिने दिने काम भइरहेको छ ।

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

0

दिपु वर्णवाल
वीरगंज। लिटिल बड्डी प्रीस्कूलले ५० औँ अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नारायणी अस्पतालमा कार्यरत दुई जना नर्सलाई विशेष सम्मान गरेको छ ।

मंगलबार आयोजित एक समारोहमा प्रमुख नर्सिङ प्रशासक श्रुति साह र स्टाफ नर्स शालू प्रजापतिलाई सम्मान गरिएको हो । लिटिल बड्डी प्रीस्कूलका प्रिन्सिपल विजय कुमार बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज नर्सिङ क्याम्पसकी प्रमुख कलपना पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल बलले स्वास्थ्य सेवा क्षेत्रमा अहोरात्र खटिने नर्सहरूको योगदान अविस्मरणीय रहेको भन्दै उनीहरूको सम्मान गर्नु सामाजिक कर्तव्य भएको बताए ।

प्रमुख अतिथि पौडेलले पनि नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले सेवा भावनामा अझ उत्साह थप्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा लिटिल बड्डी प्रीस्कूलका शिक्षक–शिक्षिका, अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

0

बाराको कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा गरिएको छ। नगरपालिका अन्तर्गतका २७ वटै वडामा आवश्यक सम्पूर्ण खोप उपलब्ध गराइएको पुष्टि भएसँगै सोमबार आयोजित एक विशेष समारोहमा यस घोषणाको औपचारिकता गरिएको हो।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहका अनुसार, जन्मेदेखि ११ महिनासम्मका २,९१६ जना, १ वर्षदेखि २३ महिनासम्मका २,८२७ जना तथा १५ महिनादेखि २३ महिनासम्मका १,८५६ जना बालबालिकालाई सम्पूर्ण खोप लगाइसकिएको छ। स्वास्थ्य शाखाका प्रमुख अजय जयसवालले यी सबै बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप दिइएको जानकारी दिए।

पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुअघि जिल्ला खोप समन्वय समिति र पालिका खोप समन्वय समितिले आवश्यक अनुगमन गरी मापदण्डहरू पूरा भएको प्रमाणित गरेका थिए। वडा खोप समन्वय समितिहरूको सक्रियताले घोषणाको आधार तयार गरिएको हो।

स्वास्थ्य सेवा विभाग तथा परिवार कल्याण महाशाखाले तोकेको मापदण्ड अनुसार पालिकालाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गर्न सकिने व्यवस्था छ।

घोषणा समारोहमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यता रहेको थियो। उपमेयर रौशन प्रविण, स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव, डा. सुरेन्द्र साह, डा. बद्री दास, विभिन्न वडाका अध्यक्षहरू तथा सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

0

बारा। बाराको कलैया उपमहानगरपालिका–८ स्थित खपरताता खानेपानी आयोजना सोमबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ। खानेपानी मन्त्री प्रदीप यादवले एक औपचारिक समारोहबीच आयोजनाको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन्।

नेपाल सरकारको संघीय तथा प्रदेश सरकारको करिब ३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको यो आयोजना सोमबार नेपाल खानेपानी संस्थानले उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरेपछि सञ्चालनमा आएको हो।

उद्घाटन समारोह कलैया–८ का वडा अध्यक्ष रञ्जित चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि मन्त्री यादवसँगै जसपाका केन्द्रिय कार्यकारिणी सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस साह, जसपा बाराका जिल्ला अध्यक्ष अजय पटेल, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, संघीय परिषद सदस्य असलम आलम लगायतको उपस्थिति रहेको थियो।

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

0

वीरगंज। काठमाडौंमा हालै सम्पन्न राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेसनल २०२५’ मा बीरगञ्जका अजहर आलमले उल्लेखनीय सफलता हासिल गर्दै दुई प्रतिष्ठित उपाधि जितेका छन्।

प्रतियोगितामा ‘पब्लिक च्वाइस अवार्ड’ तथा ‘सेकेन्ड रनर अप’को उपाधि जितेर उनले बीरगञ्जको नाम राष्ट्रिय मञ्चमा चम्काएका हुन्। यस्ता दुबै उपाधि एकै पटक जित्ने उनी बीरगञ्जका पहिलो सहभागी पनि हुन्।

उनको यस ऐतिहासिक उपलब्धिका लागि बीरगञ्ज महानगरपालिका–४ का वडाध्यक्ष जगत साह कानुको अध्यक्षतामा विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, युवा अगुवा र नागरिकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

अजहरले आफ्नो सफलताको श्रेय परिवार, साथीहरू, प्रशिक्षक तथा सम्पूर्ण बीरगञ्जवासीलाई दिँदै आगामी दिनमा अझ बढी मिहिनेत गर्ने र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउने लक्ष्य रहेको बताए।

अर्थविद् डा. मनोज सरार्फ जनमत पार्टीमा प्रवेश

0

वीरगंज। वीरगंज महानगरपालिका–८ निवासी अर्थविद् डा. मनोज कुमार सरार्फ आज एक विशेष कार्यक्रमका बीच जनमत पार्टीमा प्रवेश गरेका छन्।

अर्थशास्त्रमा विद्यावारिधि (PhD) तथा कृषि विज्ञानमा स्नातक डिग्री हासिल गरेका डा. सरार्फले विगत २५ वर्षदेखि प्लान इन्टरनेसनल, स्ट्रीट चाइल्ड अफ नेपाल लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा उच्च पदमा रही समाजसेवामा योगदान पुर्‍याउँदै आएका छन्।

जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले डा. सरार्फलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रम्भा मिश्र, प्रदेश सदस्यहरू बृजेश्वर प्रसाद चौधरी र राजनारायण मिश्र, महानगर अध्यक्ष महादेव शर्मा, साथै नेताहरू रामजी रौनियार, गगनदेव यादव, ध्रुप महतो, हिरालाल राम, कृष्ण कुशवाहा लगायतको उपस्थिति थियो।

अनेरास्ववियु वीरगञ्ज महानगरको दोस्रो अधिवेशन सम्पन्न, आशिफ अहमदको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन

0

वीरगंज। अनेरास्ववियु वीरगञ्ज महानगरपालिका समिति अन्तर्गत दोस्रो अधिवेशन हालै सम्पन्न भएको छ। अधिवेशनले क. आशिफ अहमदको नेतृत्वमा २१ सदस्यीय नयाँ महानगर कमिटीको पूर्ण गठन गरेको छ।

नवगठित कमिटीमा उपाध्यक्षमा क. सुजित मण्डल र क. तुफैर अन्सारी, सचिवमा क. अभिषेक मिश्र, सह–सचिवमा क. अंकित श्रीवास्तव र कोषाध्यक्षमा क. सुशमा चौधरी चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा क. शनि गिरि, विशाल गुप्ता, कुवेर थापा, साहिल सराफ, विकास यादव, उदय महतो, अमान अन्सारी, नितु सोनी, जेयाद अन्सारी, साहिल अन्सारी, कृष्ण मण्डल, विवेक गिरि, मधु राम, खुशबु यादव र रिमा यादव रहेका छन्। सबै पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

साथै, अधिवेशनपश्चात सम्पन्न पहिलो बैठकले छिटो जिल्ला अधिवेशन गर्ने र त्यसका लागि केन्द्रमा प्रतिनिधि पठाउने निर्णय गरेको छ।

बैठकले वीरगञ्ज महानगरभित्रका सबै ३२ वटा वडामा संगठन विस्तार गर्ने तथा आउँदो जेष्ठ ३ गते १६औं जिल्ला अधिवेशन आयोजना गर्ने तयारीसम्बन्धी छलफल समेत सम्पन्न गरेको छ।

ठोरीमा पूर्वमन्त्री अर्यालद्वारा तीनवटा सडक योजनाको शिलान्यास

0

वीरगंज । राष्ट्रिय सभाकी पूर्व उपाध्यक्ष तथा पूर्वमन्त्री उर्मिला अर्यालले आज पर्सा जिल्लाको ठोरी गाउँपालिकामा संघीय सरकारको लगानीमा निर्माण हुन लागेका तीनवटा रणनीतिक महत्वका सडक योजनाको शिलान्यास गरेकी छन्।

माओवादी केन्द्रकी स्थायी कमिटी सदस्यसमेत रहेकी अर्यालको पहलमा चालु आर्थिक वर्षका लागि यी योजनाहरूमा बजेट विनियोजन भएको हो।

शिलान्यास कार्यक्रम ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनका अनुसार, अर्यालले एकैदिन तीन स्थानमा सडक शिलान्यास गरेकी हुन् — ठोरी–१ को महत टोल, ठोरी–३ मा हुलाकी सडक हुँदै राम श्रेष्ठको घरबाट शिव मन्दिरसम्मको सडक, र ठोरी–५ को बाघमोर्चास्थित मानेचोकदेखि पश्चिमतर्फ निर्माण हुने सडक।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू, स्थानीय नेताहरू र बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। संघीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विभागमार्फत निर्माण हुने यी प्रत्येक सडकको लागत १ करोड रुपैयाँ रहनेछ। अर्यालका स्वकीय सचिव रामाकान्त चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण कार्य सम्पन्न हुने जानकारी दिएका छन्।

यसै अवसरमा ठोरी आइपुगेकी पूर्वमन्त्री अर्याललाई ठोरी गाउँपालिकाले कार्यालयमै एक विशेष समारोह आयोजना गरी भव्य स्वागत तथा सम्मान गरेको छ। कार्यक्रममा अध्यक्ष लाल बहादुर श्रेष्ठले ठोरीको भौतिक पूर्वाधार विकासमा अर्यालले निरन्तर सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि यस्तो साथ रहने अपेक्षा व्यक्त गरे।

स्वागत समारोहमा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नेकपा एमालेका ठोरी अध्यक्ष खगेन्द्र श्रेष्ठ, माओवादी केन्द्र ठोरीका सह–इन्चार्ज राम श्रेष्ठ, स्थानीय कर्मचारी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

यी सडक योजनाले ठोरीको यातायात सञ्जालमा सुधार ल्याउनुका साथै समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।