Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Home Blog Page 281

वीरगंजमा बढी भाडा लिने दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट मापदण्ड भन्दा बढी भाडा लिने दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.९ निवासी ६५ बर्षिय अशाेक गुप्ता र वीरगंज १६ निवासी ४० बर्षिय विजय साह रहेका छन् ।

वीरगंज महानगरपालिका वडा नं.१६ बसपार्क स्थितमा सार्वजनिक बस, हाईस तथा सुमोमा सर्वसाधारण यात्रुहरूसंग मापदण्ड विपरीत बढी भाडा लिने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले मंगलबार विहान ८ बजेकाे समयमा दुबै जनालाई नियन्त्रणमा लिएकाे हाे ।

प्रहरी टोलीले लामोदुरी सार्वजनिक सवारी साधन छुटने काउन्टरबाट मापदण्ड भन्दा बढी भाडा लिने गरेको कार्यमा सलंग्न दुबै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान कार्य भइरहेकाे उनले वताए ।

जगरनाथपुरकाे जमुनियाबाट ट्रान्सफरमर चाेरी

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ जमुनियाबाट डिप बाेरिङकाे लागि जडान गरिएकाे ट्रान्सफरमर चाेरी भएकाे छ । गएराति अज्ञात समुहले ट्रान्सफरमर चाेरेर लगेका हुन् । 

सिचाई कार्यालयबाट डिप बाेरिङ्गकाे लागि जडान गरिएकाे ५० केभिएकाे ट्रान्सफरमर साेमबार राति चाेरी भएकाे गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले पुष्टि गरे । उनले ट्रान्सफरमर चाेरीले २५ विघा कृषि सिचाई प्रभावित हुने वताए । 

स्थानियका अनुसार चाेरी भएकाे ट्रान्सफरमर प्रहरी चाैकी पाण्डेपुर भन्दा ५ सय मिटर दुरीमा मात्र थियाे । रातिमा प्रहरी गस्ती नभएका कारण ट्रान्सफरमर जस्ताे सार्वजनिक सम्पती चाेरी भएकाे स्थानियहरुकाे भनाई छ ।

वीरगंजबाट अनैतिक कार्यमा सलंग्न एक दर्जन मिहला र पुरुष पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले बेश्यावृती कार्यमा सलंग्न ७ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेकाे छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले साेमबार दिउसाे ४ बजेकाे समयमा वीरगंज १६ स्थित ईनर्वाबाट वरिपरी रहेकाे हाेटलहरु छापामारी गरि १२ जना महिला र पुरुषलाई पक्राउ गरेकाे हाे ।

भन्सार वरिपरी रहेका होटलहरूमा अनैतिक क्रियाकलाप भैरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले अनैतिक कार्यमा संलग्नहरुलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

इनर्वाका विभिन्न स्थानहरूबाट १२ जना महिला र पुरुपहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भैरहेको उनले वताए ।

१० हजार भन्दाबढी किशोरीहरुलाई दिने आत्मारक्षा तालिमकाे सम्पूर्ण तयारी पुरा

वीरगंज । वीरगंज महानगरपालिकाले १० हजार भन्दाबढी किशोरीहरुलाई आत्मारक्षाका लागि भोली बुधबार तालिम दिन लागेको छ । महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

बुधबार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगंजका सामुदायीक र निजी विद्यालय, कलेज गरी १० हजार बढी छात्राहरुको सहभागिता रहने मेयर सिंहले वताए । एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्ड सहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी समेत भएको उनले वताए । 

यो तालिम सफल रुपमा सम्पन्न भएमा वीरगंजको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने भएको हुँदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न पनि उनले आग्रह समेत गरे ।

वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिलाई बोलाएर  सहभागिहरुलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए ।

आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्था सहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए ।

भारतबाट आएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुन् । उनले अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएका छन् ।

ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक वैदले व्यक्त गरे ।

पत्रकार सम्मेलानमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरुलाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताए ।
भोली हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरु पनि खटाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल भारत सहयाेग मंचका राष्ट्रिय अध्यक्ष अशाेक वैद, राष्ट्रिय उपाध्यक्ष एवं प्रशिक्षण कार्यक्रमका संयाेजक गाेपाल केडिया, राजवीर ठाकुर, सगुन वाघ लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

पर्साका नयाँ सिडियाे एक्सनमा, सुधार हुने संकेत देखियाे

वीरगंज । पर्सामा लामाे समयपछि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न कार्यालयहरुमा छड्के अनुगमन भएकाे छ । नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल आएपछि जिल्ला प्रशासनबाट साेमबार एकै दिन आधा दर्जन कार्यालयमा छड्के अनुगमन गरिएकाे छ । 
 
सिडियाे अर्यालकाे निर्देशनमा जिल्ला प्रशासन कार्यालयकाे दुईटा अनुगमन टाेलीले एकै दिन भूमी सुधार तथा मालपोत कार्यालय, पर्सा, सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, पर्सा, यातायात व्यवस्था कार्यालय, पर्सा, नेपाल विद्युत प्राधिकरण कार्यालय, पर्सा, स्वास्थ्य कार्यालय, पर्सा र डिभिजन वन कार्यालय, पर्सामा एकै दिन छड्के अनुगमन गरेकाे हाे ।
 
सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गाैतम र सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की नेतृत्वमा रहेकाे अनुगमन टाेलीले विभिन्न कार्यालयहरु छड्के अनुगमन गर्दै देखिएकाे कमिकमजाेरी सुधार गर्न विभिन्न निर्देशन समेत दिएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
ढिलो आएका कर्मचारीहरुलाई कार्यालय प्रमुख एवं निरिक्षण टोलीको संयोजकबाट अब उपरान्त यसो गरेको पाईएमा कारवाही समेत गर्ने गरी मौखिक निर्देशन दिईएको छ । साथै अनुपस्थित देखिएका कर्मचारीहरुको हकमा निरिक्षण टोलीको संयोजकबाट अब उपरान्त साईट/फिल्डमा गएका कर्मचारीहरुको लगबुक राख्ने, निजहरुको विवरण अद्यावधिक राख्ने भनी निर्देशन गरिएको
कार्यालयको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
 
यसैगरी प्रदेश कार्यालयको हकमा सम्बन्धित मन्त्रालयमा कारवाहीको लागि लेखी पठाउने र अन्य कार्यालयको हकमा सम्बन्धित कर्मचारीसँग स्पष्टीकरण माग गरिएको छ । जनसम्पर्क बढी भएको र गुनासो आएका कार्यालयहरूको नियमित अनुगमन गरिने र कार्यालय समयमा उपस्थित नहुने, कार्यालय पोसाक न लगाउने, कर्मचारीको आचरण पालना नगर्ने कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरिने अनुगमन टाेलीले जनाएकाे छ ।
 
जिल्ला प्रशासन कार्यालयले दिएकाे जानकारी अनुसार अनुगमनकाे क्रममा जिल्लाको तपसिल बमोजिमको कार्यालयमा छड्के अनुगमन गर्दा देखिएका कैफियतहरु यस प्रकार रहेकाे छ ।
 
१. भूमी सुधार तथा मालपोत कार्यालय, पर्सा ।
• दरबन्दी कर्मचारी ५१ जना
• पदपुर्ती कर्मचारी-५६ (दैनिक ज्यालादारी समेत)
• अनुपश्थित ३ जना
• विदामा रहेको ४ जना
• ढिलो गरी कार्यालय आएका २१ जना
 
२. सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, पर्सा ।
• दरबन्दी कर्मचारी २० जना
• पदपूर्ती २० जना
• विदामा १ जना,
• अनुपस्थित ८ जना
• हाजिरी नगरेको १
 
३. यातायात व्यवस्था कार्यालय, पर्सा ।
अनुपस्थित ११ जना
कार्यालय प्रमुख समेत
 
४. नेपाल विद्युत प्राधिकरण कार्यालय, पर्सा ।
इ-हाजिरी लागू भएकोमा विवरण आउन न सकेको
 
५. स्वास्थ्य कार्यालय, पर्सा ।
अनुपस्थित ५ जना
बिदामा रहेको 1 जना
 
६. डिभिजन वन कार्यालय, पर्सा ।
अनुपस्थित ५ जना
बिदामा रहेको  १ जना
 

नेता निधिद्वारा युवा सङ्कल्प यात्रालाई जनकपुरधाममा स्वागत

महेन्द्रनगर । झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प यात्रा साेमबार जनकपुरधाम पुगेको छ । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वकेन्द्रीय महामन्त्री भूपेन्द्रजङ्ग शाहीलगायतको समन्वयमा सुरु भएको यात्रालाई हाज यहाँ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वागत गर्नुभयो । 
 
त्यस अवसरमा नेता निधिले युवा सङ्कल्प यात्राको सम्पूणर् टोलीलाई सफलताको शुभकामना दिनुभयो । भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न ‘एजेन्डा’हरूमा केन्द्रित रहेर पूर्व-पश्चिम सङ्कल्प यात्रा सुरु गरिएको शाहीले जानकारी गराउनुभयो ।
 
यात्रामा ४० जनाको टोली रहेको नेविसङ्घका केन्द्रीय सदस्य विनोद शाही ठकुरीले जानकारी दिनुभएको छ । युवा सङ्कल्प यात्रामा संविधानसभा सदस्य एवं नेविसङ्घका पूर्वकेन्द्रीय सभापति रञ्जितकुमार कणर्, युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ पशुपति पोखरेल, शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रादेवी जोशी, राष्ट्रिय कलाकारहरू राधिका हमाल, उदिराम खड्का, सुनिल थापा, लेलिया विश्वकर्मालगायत सहभागी हुनुहुन्छ । सङ्कल्प यात्रा कात्तिक २३ गतेदेखि मेचीबाट सुरु भई कञ्चनपुरको महाकाली पुगेर समापन हुनेछ । रासस

वीरगंजमा यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात 

वीरगंज । छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । वीरगञ्जबाट हेटाँैडा-काठमाडौँ चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाही गर्न नसकेको यात्रुहरूको गुनासो छ । 
 
हाल वीरगञ्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ । वीरगञ्ज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने जयमोद ठाकुरले गत शनिबार आफ्नो छोरा वीरगञ्ज-हेटौँडा हुदैँ काठमाडौ जाँदा इलेक्ट्रिक बसले दोब्बर भाडा असुलेको गुनासो गर्नुभयो । “मेरो छोरालाई वीरगञ्जबाट काठमाडौँ पठाउँदा अन्य बेलाभन्दा दोब्बर भाडा तिरेर पठाए । अरु बेला वीरगञ्जबाट काठमाडौँ जाँदा रु आठ सय ५० सम्म लिने गरिन्थ्यो तर अहिले यातायात व्यवसायीले एक हजार पाँच सयसम्मको भाडा मागे । यसरी जथाभावी ढङ्गले भाडा असुल्नेलाई प्रहरीले कारबाही गर्न सकिरहेको छैन”, उहाँले भन्नुभयो । ठाकुरले वीरगञ्जका यातायात व्यवसायीले बढी भाडा असुलेको विषयलाई लिएर आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियोसमेत पोष्ट गर्नुभएको छ । 
 
व्यवसायीले अरु बेला टिकट दिने गरे पनि हाल टिकट छैन भनेर बढी मूल्य दिनेलाई मात्रै उपलब्ध गराउने गरेको आरोप लगाउनुभयो । वीरगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष राखेको भए पनि प्रहरी प्रशासनले यात्रुलाई राहत र विचौलियालाई कानुनी दायरामा ल्याउन नसकेको ठाकुरको भनाइ छ । 
 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्ट भने बढी भाडा लिएको भन्दै गुनासो आएपछि अनुगमनमा जाँदा गुनासोकर्ता नै सम्पर्कमा नआउँदा कारबाही गर्न समस्या भइरहेको दाबी गर्नुहुन्छ । “शनिबार पनि बढी भाडा लिएको भन्दै फोनमा गुनासो टिपाएपछि हामी त्यसबारे बुझ्न जाँदा पीडितपक्ष सम्पर्कमा नै आएनन्, अनि के आधारमा कारबाही गर्नु”, उहाँले भन्नुभयो, “हामीले परवानीपुरमा पनि नियमित जाँच गरिरहेका छौँ । कतिपय यात्रु बढी भाडा तिरेर जाँदा पनि ट्राफिक प्रहरीलाई रिपोर्ट नगर्दा त्यस्ता सवारीसाधनलाई कारबाही गर्न समस्या भइरहेको छ ।” 
 
पर्साका ट्राफिक प्रहरी प्रमुख भट्टले वीरगञ्जको गण्डकचोकबाट बढी भाडा लिएको गुनासो आएसँगै आइतबार एउटा सवारीसाधनलाई बढी भाडा लिएको भन्दै फिर्ता गराउन लगाएको जानकारी दिनुभयो । “आइतबार बढी भाडा लिएको भन्ने एउटा सवारीसाधनबाट बढी भाडा फिर्ता पनि गरायौँ ।” उहाँले भन्नुभयो, “बढी भाडा लिएको सवारीसाधनलाई आवश्यक कारबाही गर्नका लागि यातायात व्यवस्था कार्यालय वीरगञ्जलाई सिफारिस गरेका छौँ ।” रासस

रक्साैलमा नेपाल र भारतका सुरक्षा अधिकारीहरु बिच समन्वय बैठक

रक्साैल । भारतिय एसएसबीका महानिर्देशक अमृत मोहन प्रसादले रक्सौल पुगेर भारत–नेपालका सुरक्षा अधिकारीसँग सिमा सुरक्षा बारे छलफल गरेका छन् । सएसबीका महानिर्देशक अमृतले सोमबार रक्सौल पुगेर सीमा क्षेत्रको अवलोकन गर्नुकाे साथै आईसीपीमा नेपालका सुरक्षा अधिकारीहरूसँग भेट गरेका हुन् ।

बैठकमा आपसी समन्वय कायम गर्ने, कर सुरक्षा प्रणालीलाई थप सुदृढ गर्ने, सीमा पार गर्ने शंकास्पद व्यक्तिमाथि कडा निगरानी गर्ने, सीमावर्ती क्षेत्रका जनतामा सेवा, सुरक्षा र भ्रातृत्वको भावना जागृत गर्न पहल गर्न छलफल भएकाे थियाे । साथै दुबै देशका सुरक्षा निकाय बिच आपसी समन्वय स्थापना गरी काम गर्न सहमती भएकाे छ ।

एसएसबीले गरेको यात्रु जाँचका कारण नेपाल आउने सवारीसाधनको लाइनमा जामको समस्या नआउने र आवागमन सहज र सहज होस् भन्ने उद्देश्यले दुबै देशका अधिकारीहरु बिच छलफल भएकाे जनाइएकाे छ । 

महानिर्देशक अमृतले रक्साैल स्थित निर्माणधिन विमानस्थलकाे अवलाेकन समेत गरेकाे स्थानिय संचारकर्मी विपिन कुशवाहाले जानकारी दिए ।

बैठकमा एसएसबीका आईजी नय्यर हसनैन खान, एसएसबीका डीआईजी एस सुब्रमण्यम, भारतीय महावाणिज्य दूतावासका वीरगंज कन्सुल जनरल डीएस मीना, मोतिहारीका जिल्ला मजिस्ट्रेट सौरभ जोरवाल, मोतिहारीका एसपी स्वर्ण प्रभात, एसएसबी कमाण्डेन्ट विकास कुमार, एसएसबी कमाण्डेन्ट (मेडिकल) निशिकांत, आईसीपी अधिकारी प्रवीण कुमार, पर्सा जिल्लाका सीडियाे गणेश अर्याल, पर्सा एपीएफका एसपी राधेश्याम घिमाल, बारा एपीएफका एसपी सन्तोष बहादुर सिंह, भारतीय सेनाका मेजर अभिजित कुमार सिंह, रक्सौलका एसडीओ शिवाक्षी दीक्षित, एसडीपीओ धीरेन्द्र कुमार, अध्यागमन अधिकृत अजित कुमार, एसएसबीका डेपुटी कमाण्डेन्ट दीपक कृष्ण लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिबन्धित लागु औषध सहित वीरगंजका देवान पक्राउ

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.२५ निवासी २३  बर्षिय राज महम्द देवान रहेका छन् ।

बिषेश सुचनाको आधारमा आइतबार राति ९:३० बजे प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१४ गण्डकचोक स्थितबाट देवानलाई पक्राउ गरेकाे हाे ।

वीरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेका बागमति प्रदेश ०३-००१ ख २६६६ नम्बरको सार्वजनिक बसलाई रोकी चेकजाँच गर्दा देवानले सेतो बोराभित्र म्याटले फोल्ड गरेको ब्लांकेटभित्र कालो प्लाष्टिकमा लुकाइ छिपाई राखिएको नुरफिन-११९५ पिस, डाइजेपाम-१२०० पिस, फेनारगन -११८५ गरी जम्मा ३५८० एम्पुल बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त प्रतिबन्धित लागु औषध सहित देवानलाई नियन्त्रणमा लिई उनी विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

वीरगंजमा १० हजार छात्राकाे लागि “आत्मरक्षा प्रशिक्षण” कार्यक्रम हुँदै

वीरगंज । वीरगंज महानगरपालिकाले छात्राहरुकाे लागि “आत्मरक्षा तालिम” प्रशिक्षण कार्यक्रम आयाेजना गर्न लागेकाे छ । नेपाल-भारत सहयोग मञ्चको समन्वयमा महानगरपालिकाकाले वीरगंजका छात्राहरुका लागि आत्मरक्षा प्रशिक्षण कार्यक्रम गर्न लागेकाे हाे ।

वीरगंजका १० हजार छोरी (छात्रा)हरुको आत्मबल उच्च बनाउने उद्देश्यका आत्मरक्षा प्रशिक्षण गर्न लागि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वताए । कात्तिक २८ गते बुधबार बिहान १० बजे देखि आदर्शनगर रंगशालामा हुने कार्यक्रममा भारतका प्रख्यात मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश शेट्टिले आत्मरक्षा तालिम प्रशिक्षण दिने प्रमुख सिंहले जानकारी दिए । 

प्रशिक्षण कार्यक्रम बारे विस्तृत जानकारी गराउन महानगरपालिकाले कात्तिक २७ गते मंगलबार विहान ११ बजेदेखि पत्रकार सम्मेलनकाे आयाेजना समेत गरेकाे छ । साथै प्रशिक्षण कार्यक्रममा सहभागि हुन पनि महानगरपालिकाले सबैमा अनुराेध गरेकाे छ ।