Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
Home Blog Page 252

घरेलु मदिरा बिक्रीवितरण गर्नेमाथि कारवाही गर्न मिर्जापुरबासीकाे माग

0

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका–१ का १२ जना बासिन्दाले प्रहरी चौकी मिर्जापुरमा गैरकानुनी घरेलु मदिरा बिक्री वितरणको सम्बन्धमा उजुरी दिएका छन्।

निवेदकले सो क्षेत्रमा मदिरा खुला रूपमा बिक्री वितरण हुँदै आएको छ, जसले गाउँघरमा झगडा, गालीगलौज, अश्लील शब्द प्रयोग र होहल्ला जस्ता अवाञ्छित गतिविधि बढाएको छ । भारतीय व्यक्तिहरू बिहार राज्यमा मदिरा निषेध भएको कारण यहाँ आएर राति अबेरसम्म मदिरा सेवन गर्दै होहल्ला र झगडा गर्ने घटना पनि बढिरहेको उल्लेख गरेका छन् ।

थरुहटको सोबरनपुर र बस्तीबाट मोटरसाइकलमा दैनिक ६० लिटर हाराहारी घरेलु मदिरा ल्याएर पसल–पसलमा आपूर्ति गर्ने गरेको तथ्य पनि निवेदनमा उल्लेख गरिएको छ ।

बासिन्दाहरूले प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद साह मार्फत सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर कानून अनुसार कारबाही गर्न आग्रह गरेका छन्।

स्थानिय धर्मेन्द्र प्रसाद यादव, उमेश प्रसाद यादव, धुरेन्द्र प्रसाद यादव, अनिल यादव, भुपेन्द्र साह कानु, राधेश्याम यादव, मनबोध यादव, गुडु यादव, सुमन्त उपाध्याय, धर्मेन्द्र प्रसाद यादव, बृजमोहन उपाध्याय र रबिश पासवानले घरेलु मदिरा नियन्त्रणकाे माग गर्दै लिखित निवेदन दिएका हुन् ।

एआईजी केशरीद्वारा वीरगंजस्थित प्रहरी कार्यालयकाे अनुगमन

0

वीरगंज । नेपाल प्रहरीले सञ्चालन गर्दै आएको “कार्यदक्षता मुल्यांकन (Police Baton) २०८२” अन्तर्गत शनिबार वीरगंज वडा नम्बर ४ स्थित वडा प्रहरी कार्यालय विर्तामा विशेष निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी प्रधान कार्यालयबाट आएको निरीक्षण तथा अनुगमन टोलीले प्रहरी कार्यदक्षता, संगठनात्मक संरचना, सेवाप्रवाह र जनसम्पर्कको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्दै मूल्यांकन गरेको हो । टोलीको नेतृत्व प्रहरी प्रधान कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (ए.आई.जी.) मनोज केशरीले गरेका थिए । उनले कार्यालय परिसर तथा व्यवस्थापन निरीक्षण गर्दै प्रहरी संगठनलाई अझ सक्षम, जनमुखी र अनुशासित बनाउन निरन्तर अभ्यास र तालिम आवश्यक रहेकोमा जोड दिए ।

निरीक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसहित विभिन्न प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले कार्यालयमा भइरहेको गतिविधि, प्रहरी सेवाप्रवाह र चुनौतीबारे टोलीलाई जानकारी गराएका थिए ।

ए.आई.जी. केशरीले निरीक्षणपछि भने, “प्रहरी संगठनको मूल आधार कार्यदक्षता र अनुशासन हो । यस किसिमको मुल्यांकन अभ्यासले संगठनलाई अझै परिणाममुखी र प्रभावकारी बनाउन मद्दत गर्नेछ ।”

उक्त निरीक्षणले प्रहरी सेवाको गुणस्तर अभिवृद्धि, आन्तरिक संरचना सुदृढ र प्रहरीलाई थप उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । नेपाल प्रहरीले “Police Baton २०८२” कार्यक्रम देशभरका विभिन्न जिल्ला र इकाइमा चरणबद्ध रूपमा सञ्चालन गरिरहेको जनाएको छ ।

प्याब्सन पर्साद्वारा पूर्व–प्राथमिक शिक्षक–शिक्षिकामुखी दुई दिने तालिम सम्पन्न

0

वीरगंज । प्याब्सन पर्साको आयोजनामा एवं ओ.आई. पब्लिकेसनको सहकार्यमा वीरगंजस्थित मकालु होटलमा आयोजित पूर्व–प्राथमिक शिक्षक–शिक्षिकामुखी दुई दिने कार्यशाला तालिम शनिबार सम्पन्न भएको छ।

तालिममा प्याब्सनमा आबद्ध ५३ विद्यालयमध्ये ३१ वटा विद्यालयका १६३ जना शिक्षक–शिक्षिकाले सहभागिता जनाएका थिए। आयोजकले यस तालिमले पूर्व–प्राथमिक तहका शिक्षक–शिक्षिकालाई खेलकुद, सिर्जनात्मकता र नवीन विधि–प्रविधिबाट सिकाइलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीकाे अध्यक्षतामा भएकाे समापन समाराेहमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सल्लाहकार इमामुद्दिन अहमद, सह–सचिव राम बाबु प्रसाद, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, कोषाध्यक्ष प्रबिन चौधरी, सन्नी पाख्रीनलगायतका व्यक्तित्वहरूको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन जिल्ला सचिव अशोक सङ्रौलाले गरेका थिए।

तालिम प्रशिक्षक सुशिला श्रेष्ठ र तालिम संयोजक मनिषा सुनुवार श्रेष्ठले तालिमलाई प्रभावकारी बनाएका थिए।

“Let all the private and boarding schools be united” भन्ने नारासहित प्याब्सन–पर्साले तालिममार्फत बालबालिकाको आधारभूत शिक्षामा गुणस्तरीयता र नवीन प्रयोगलाई अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।

जिर्ण नारायणी रंगशालाको सरसफाई र मर्मतमा खेलाडी आफैं जुटे

0

वीरगंज । नारायणी रंगशालाको खेलमैदान सरसफाईदेखि मर्मत सम्भारमा यहाँका स्थानीय खेलाडीहरू आफैं खटिएका छन् । बजेट अभावका कारण जिर्ण बनेको रंगशाला पुनर्निर्माणमा सरकार उदासीन देखिएको भन्दै खेलाडीहरूले अभ्यास गर्न सक्ने वातावरण बनाउन मैदानको सरसफाई र मर्मत सुरु गरेका हुन् ।

आरम्भ भेट्रान क्लबका सचिव सन्तोष खड्काका अनुसार बिहानको समयमा स्थानीय खेलाडीहरू र १३ नम्बर गणका सशस्त्र प्रहरी जवानहरू सरसफाई र मर्मतमा सक्रिय छन् । उनले रंगशाला पूर्ण रूपमा जिर्ण भएपछि खेलकुद प्रतियोगिता समेत रोकिएको अवस्था रहेकाले अब सरसफाई गरेर भए पनि अभ्यास सम्भव हुने बताए ।

खेलाडी सुनिल राउतले पनि जिर्ण रंगशालाका कारण अभ्यासमा समस्या भएको भन्दै चिन्ता व्यक्त गरे । उनले काठमाडौंको दशरथ रंगशालापछि दोस्रो ठूलो मानिने नारायणी रंगशालाको स्तरोन्नति गर्न मन्त्रीहरूले पटक–पटक आश्वासन दिए पनि कार्यान्वयन नगरेकोप्रति दुःख व्यक्त गरे ।

प्रेक्टिसका लागि रंगशाला पुगेका अशेश्वर पटेलसहित दर्जनौं खेलाडीहरूले शनिबार कुदालो चलाएर मैदान मर्मत गरेका थिए । साथै, सशस्त्र प्रहरीले पनि बिहानको समयमा रंगशाला मर्मत र सरसफाईमा निरन्तर सहयोग गर्दै आएको खेलाडीहरूले जानकारी दिए ।

प्रगतिशील युवा क्लबले रक्तदान कार्यक्रममार्फत मनायो सिल्वर जुबिली

0

वीरगंज । प्रगतिशील युवा क्लबले आफ्नो २५औं वर्ष (सिल्वर जुबिली) प्रवेशको अवसरमा वीरगंजमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पोका रगत संकलन गर्न सफल भएको छ ।

कार्यक्रमलाई सफल बनाउन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वडा नं.१५ का वडाध्यक्ष रमेश यादव, नेजपा केन्द्रीय उपाध्यक्ष सन्तोषानन्द, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, लुका ट्रेडर्सका निर्देशक वसिम अहमद, गौतम माविका शिक्षक रमेश शर्मा, सामाजिक अगुवा हरेन्द्र पटेल, प्याप्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, एन–प्याप्सनका जियालाल गुप्ता, पूर्व प्याप्सन नगर अध्यक्ष आलोक चौरसिया, सामाजिक अगुवा बिरेन्द्र साह, जयशंकर यादव, नेपाल पोस्ट डेलीका सन्तोष साह लगायत विभिन्न सामाजिक व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय योगदान रहेको थियो ।

क्लबका अध्यक्ष ईश्वरचन्द्र यादवले गत २५ वर्षदेखि सामाजिक सेवामा साथ र प्रेरणा दिने सबैप्रति आभार व्यक्त गर्दै युवापुस्ताले देखाएको सामाजिक उत्तरदायित्व र एकताको भावना क्लबका लागि प्रेरणादायी भएको बताए । उनले आगामी दिनमा सामाजिक, शैक्षिक, स्वास्थ्य तथा मानव सेवाका अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने संकल्प व्यक्त गरे ।

पत्रकार र भेट्रान क्लबबिच मैत्रीपूर्ण फुटबल

0

वीरगंज । आरम्भ भेट्रान क्लब र पर्सेली पत्रकारबीच शनिबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोली पराजित भएको छ ।

नारायणी रंगशालामा आयोजित ३० मिनेटको खेलमा आरम्भ भेट्रान क्लबले पत्रकार टोलीलाई २–१ गोलअन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफको सुरुवातमै आरम्भ भेट्रान क्लबका खेलाडी मदन साहले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसपछि सुदीप शाहीले दोस्रो गोल थपे ।

खेलको अन्तिम समयमा पत्रकार टोलीका बिशेश्वर पटेलले एक गोल फर्काए पनि टोलीले जित हात पार्न सकेन ।

खेलमा पत्रकार टोलीको नेतृत्व नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादवले गरेका थिए भने आरम्भ भेट्रान क्लबको नेतृत्व सचिव सन्तोष खडकाले गरेका थिए ।

प्रचण्डसँग मेयर कुशवाहाको भेटघाट, युवा नेता सिंह माओवादी केन्द्रमा प्रवेश

0

सर्लाही । बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् ।

मेयर कुशवाहाले प्रचण्डसँगको सौहार्दपूर्ण भेटले राजनीतिक चेतना र नयाँ ऊर्जा प्राप्त भएको बताएका छन् । उनले देशको वर्तमान अवस्था, राजनीतिक परिवेश र भावी दिशाबारे भएको संवादलाई निकै प्रेरणादायी भन्दै प्रचण्डको देशप्रेम, मधेसप्रतिको आत्मीय भावना र समावेशीकरणप्रतिको दृढ विश्वास अनुकरणीय भएको उल्लेख गरे ।

“कोमल हृदय, गहिरो विचार र दूरदर्शी सोचले उहाँलाई युगपुरुषको स्थानमा स्थापित गरेको छ,” मेयर कुशवाहाले भने । उनले प्रचण्डको नेतृत्वमा पार्टी कार्यकर्तामा उत्साह, जनतामा विश्वास र अन्तर्राष्ट्रिय क्षेत्रमा सन्तुलन कायम हुने विश्वास व्यक्त गरे ।

यसै अवसरमा, बलरा निवासी चर्चित युवा नेता अनिल कुमार सिंह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । सिंहलाई पार्टी प्रवेशको अवसरमा मेयर कुशवाहाले हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

कार्यक्रमलाई ऐतिहासिक र अविस्मरणीय क्षणको रूपमा वर्णन गर्दै मेयर कुशवाहाले युवा विचार र जीवन्त प्रेरणाले मधेस र मुलुकलाई नयाँ उचाइमा पु-याउने विश्वास व्यक्त गरेका छन् ।

छिपहरमाईमा जसपा नेपालद्वारा भूमि अध्यादेशविरुद्ध अन्तरक्रिया

0

पाेखरिया । पर्साकाे छिपहरमाई गाउँपालिकामा जसपा नेपाल गाउँपालिका समितिद्वारा शनिबार भूमि अध्यादेशविरुद्ध एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बाेधन गर्दै जसपा नेपालका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री सिंगासन साह कलवारले भूमि अध्यादेश जनविरोधी भएको भन्दै तत्काल खारेज गर्नुपर्ने माग राखे ।

कार्यक्रममा भोलि वीरगंजमा आयोजना हुन गइरहेको बृहत् विरोध कार्यक्रममा गाउँपालिकाबाट उल्लेख्य सहभागिता सुनिश्चित गर्ने निर्णय गरिएको छ । यस अवसरमा गाउँपालिकाका सम्पूर्ण कार्यकर्ता, सदस्य तथा समर्थकहरूलाई ऐतिहासिक उपस्थिति जनाउन आह्वान गरिएको छ ।

अन्तरक्रियामा छिपहरमाई गाउँपालिका संयोजक इन्द्रासन साह कलवार, क्षेत्र नं–४(२) का जसपा नेपाल क्षेत्रीय अध्यक्ष रामपुकार यादव, बिरेन्द्र महतो केवट, हेमान्चल महतो कोइरीलगायतका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

पर्सा मदिरा व्यवसायी संघको पहिलो बैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न

0

वीरगंज । पर्सा मदिरा व्यवसायी संघले गठन भएको पहिलो बैठकअन्तर्गत वीरगंजस्थित होटेल बृन्दावनमा शनिबार आफ्ना सदस्यबीच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

मदिरा व्यवसायसँग जोडिएका समस्याहरू समाधान गर्ने उद्देश्यले ९ सदस्यीय कार्यसमिति गठन गरी गत २०८१ साल चैत १७ गते जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको संघले हालसम्म सदस्य संख्या ४० पुर्‍याएको छ ।

संघको पहिलो प्रस्तावित समितिमा अध्यक्ष चिनिलाल पटेल, उपाध्यक्ष सन्दीप गुप्ता, महासचिव प्रदीप कुमार लोहार, सचिव रजनीश कुमार, कोषाध्यक्ष राकेश कुमार साह, सदस्य मनिष प्रसाद कलवार, अनिल कुमार चापागाईं, राम कुमार यादव र रञ्जित जायसवाल चयन भएका थिए ।

संघका अध्यक्ष चिनिलाल पटेलको अध्यक्षतामा र वरिष्ठ सल्लाहकार संजय अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पहिलो सत्र औपचारिक र दोस्रो सत्र परिचयात्मक तथा समस्या सुनुवाइका लागि समर्पित गरिएको थियो । कार्यक्रमको सहजीकरण महासचिव प्रदीप कुमार लोहारले गरेका थिए ।

वीरगंज–३१ मा गुडविल सोसाइटीद्वारा ५० थान मच्छरदानी वितरण

0

वीरगंज । गुडविल सोसाइटीले वीरगञ्ज महानगरपालिका–३१ मा स्थानीयवासीलाई ५० थान मच्छरदानी (Mosquito Net) वितरण गरेको छ।

हाल सो क्षेत्रमा मच्छरको प्रकोप अत्यधिक बढेको र यसका कारण स्वास्थ्य समस्या चर्किरहेको गुनासो आएपछि संस्थाले राहतस्वरूप मच्छरदानी वितरण गरेको हो। वितरण कार्यक्रममा वीरगञ्ज–३१ का वडाध्यक्ष जितेन्द्र यादव विशेष उपस्थितिमा सहभागी भएका थिए।

सो अवसरमा गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलम, उपाध्यक्ष सज्जाद, सदस्यहरू किशन पटेल, शाहनवाज राकि, सुहैब आलम, सलाउदिन आलम, सम्सुदिन हवारी, आमिर आलम, सौकत मिया, साहिल खान, सम्सुल हक उपस्थित थिए । साथै स्थानीयवासी उमर अन्सारी, अली हसनसहित समुदायका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमका वक्ताहरूले मच्छरजन्य रोग नियन्त्रणका लागि सचेतना र सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए। साथै, गुडविल सोसाइटीले स्थानीय समस्याका आधारमा आगामी दिनहरूमा पनि यस्ता सामाजिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।