Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 250

जगरनाथपुर गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा माेटर वितरण

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा किसानहरुलाई ५० प्रतिशत अनुदानमा माेटर वितरण गरिएकाे छ । 

वडा स्तरिय कृषि मोटर पम्प वितरण कार्यक्रम अन्तर्गत जगरनाथपुर गाउँपालिकाकाे वडा नं.३ बिजवनियाका ३५ जना किसानहरुलाई विद्युतिय मोटर पम्प वितरण गरिएकाे जगरनाथपुर गाउँपालिकाका कृषि शाखा प्रमुख दाया चाैहानले जानकारी दिए ।

किसानलाई सिचाई गर्न सहज हुने उद्देश्यले गाउँपालिकाबाट अनुदानमा कृषि माेटर वितरण गरिएकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रदान यादवले वताए । 

वडाध्यक्ष सुभाष प्रसाद यादव अध्यक्षता र गाउँपालिका अध्यक्ष यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कृषि माेटर वितरण कार्यक्रम गाउँपालिकाकी उप प्रमुख बविता सिंह क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

मौसम परिवर्तनसँगै बिरामीको संख्यामा वृद्धि

सेढवा । अहिले मौषम परिवर्तन भएसँगै पर्साको ग्रामीण भेगमा बिभिन्न किसिम्मको रोगका प्रकोपहरु देखा पर्न थालेका छन । बिहान र बेलुका अत्यधिक जाडो र दिउँसोको समयमा गर्मी बढेका कारण बिभिन्न थरिका रोगका संक्रमित बिरामीको संख्या बढन थालेकाे हाे ।

यस क्षेत्रमा बढि जसो रुघाखोकी, भाइरल ज्वरो, झाडापखाला, छालामा संक्रमण तथा आँखा पाक्ने लगायतका रोगका संक्रमित हुन थालेका छन । पटेर्वासुगौली गाउँपालिका वडा नं. २ मा रहेका गादी स्वास्थ्य चौकीमा इन्चार्ज रियाज खानका अनुसार रुघाखोकी, झाडा पखालाको बिरामी स्वास्थ्य चौकीमा उपचार गराउन आउनेको संख्यामा बृद्धि भएकाे छ । यस्ता बिरामी दैनिक २५/३० जनाको संख्यामा आउने गरेको इन्चार्ज खानले बताए ।

यता जिराभवानी गाउँपालिका वडा नं २ मा रहेका सेढवा स्वास्थ्य चौकीमा पनि समान्य अवस्थाभन्दा ५० प्रतिशत बिरामीहरु उपचारका लागि आउने गरेका इन्चार्ज ज्ञानकिशोर प्रसादले बताए । जसमा अधिकाशं बिरामी रुघाखोकी, भाइरल ज्वरोको बिरामी रहेको इन्चार्ज ज्ञानकिशोर प्रसादले बताए ।

उता पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सलेन्द्र मिश्राले अहिले जाडो मौषमबाट गर्मी मौषममा प्रबेश भइरहेको हुदा रुघाखोकी र भाइरल ज्वरोको प्रकोप बढनु स्वभाविक रहेको बताए ।

यसका साथै छालामा इन्फेक्शन, आखा पाक्ने लगायतका स्वास्थ्य समस्या देखा परिरहेको प्रमुख मिश्राले बताए । स्वास्थ्यमा देखिएका यस्ता समस्याहरूको औषधीको अभाव हालमा नरहेको भए पनि पालिकामा रहेका १० वटा स्वास्थ्य चौकीमा जेनतेन गरी पुर्याउने कार्य भइरहेको प्रमुख मिश्राले बताए।

ठाकुर रामकाे स्ववियू निर्वाचनमा नेवि संघका वागी उम्मेदवार राजकुमार प्यानल विजयी

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव प्यानल विजयी भएकाे छ ।

बिहीबार दिउँसो सम्पन्न मतगणनाकाे अन्तिम नतिजा अनुसार, स्ववियु सभापतिमा यादव १ हजार १ सय १५ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका सभापतिका उम्मेदवार विकास मण्डल धानुककले ६५३ मत पाए ।

यसैगरी सभापति पद कै समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरि किशोर यादवले ५६२ मत, सुधीर पटेल समूहका कमलेश कुमार यादवले ४५० मत र अनेरास्ववियुका पवन यादवले ३८६ मत पाएका छन् ।

यस्तै स्ववियुकाे सचिवमा यादव प्यानलकै मन्दिरा चाैधरी ६७२ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका दिपक पटेलले ५९९ र नेविसंघका राेहित सिंहले ५४३ मत ल्याए ।

यस्तै काेषाध्यक्षमा यादव प्यानलकै अंकित पटेल ८२२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका दिपक पटेलले ६९० मत ल्याए ।

१६ वर्षपछि ठाकुरराम क्याम्पसमा चैत ५ मा भएको निर्वाचनमा कुल १० हजार ७२९ मतमध्ये ४ हजार २९९ मत खसेकाे थियाे ।

चैत ५ मा भएको निर्वाचनको मतगणना चैत ६ गतेदेखि सुरु भएकोमा एउटा मतपेटिकाकाे सिल नम्बर फरक परेपछि विवाद भई चैत ७ गतेदेखि मतगणना राेकिएकाेमा बुधबार अपरान्हदेखि फेरि सुचारु भएको थियाे ।

सभापतिमा निर्वाचित यादव कांग्रेस वरिष्ठ नेता शेखर काेइराला पक्षका हुन् । यादवलाई कांग्रेसले नेविसंघको उम्मेदवार नबनाएपछि उनले नेपाल विद्यार्थी समुहबाट प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए ।

यादवलाई पर्सा जिल्लाका शेखर काेइराला पक्षका नेताहरु श्याम पटेल, सुरेन्द्र चाैधरी, बैकुण्ठ श्रीवास्तव, अजय दिवेदीका साथै नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारी, विकेश पटेल लगायतका नेताहरुले समर्थन गरेका थिए ।

ओझेल ठोरी, उदय वीरगंज : राणा प्रधानमन्त्री वीरशम्शेरको नीति र नेतृत्व

नेपालको दक्षिणी सिमानामा रहेको ठोरी केवल एउटा सानो भूभाग मात्र होइन, यो प्राचीन नाका केन्द्र, धार्मिक स्थल, प्राकृतिक सौन्दर्यता, इतिहास, संस्कृति र राजनीतिक आन्दोलनहरूको महत्वपूर्ण केन्द्र रहँदै आएको छ । रामायणकालदेखि प्रजातान्त्रिक आन्दोलनसम्म ठोरीको विशेष महत्त्व रहँदै आएको छ । तथापि, पछिल्लो समय ठोरी इतिहासको पानामा मात्र सीमित हुँदै गएको त होइन ? कुनै समय नेपाल–भारत व्यापारको प्रमुख केन्द्र रहेको यो भूभाग आज किन उपेक्षित छ ? वेलायती राजा–महाराजा हिँड्ने बाटो आज किन पछि पर्दैछ ? ठोरीको ऐतिहासिक महत्त्वलाई ओझेलमा पार्ने कारकतत्व के हुन् ? यी सबै प्रश्नको उत्तर खोज्ने प्रयाससहित आजको यो खोजमूलक लेख तयार गरिएको छ ।

इतिहासका पानाहरू पल्टाउँदा ठोरी रामायणकाल, बुद्धकालीन, लिच्छविकाल, शाहाकाल देखि राणाकाल सम्म नेपाल–भारतको व्यापारिक मार्गका रूपमा रहेको पाइन्छ । चिनियाँ यात्री हू ह्वेनसांग तथा भारतका अशोक सम्राट यही मार्ग हुँदै लुम्बिनी पुगेको विवरण भेटिन्छ । मध्यकालसम्म पनि ठोरी व्यापारिक नाका थियो । त्यति मात्र होइन, अंग्रेज शासकहरू तथा राजा महाराजहरुलाई ठोरी शिकार खेल्ने प्रमुख स्थल समेत थियो । राणाहरुले अग्रेजलाई खुशी पार्न ठोरीको जंगलमा शिकार खेलाउने गरिदथ्थो । सन् १९११ मा बेलायती सम्राट जर्ज पञ्च नेपाल भ्रमणका क्रममा ठोरीको नाका हुँदै प्रवेश गरी एघार दिनसम्म शिकार खेलेका थिए ।

यसै भ्रमणपछि नेपाल–अंग्रेजबीच सन् १९२३ मा ऐतिहासिक सन्धि भयो, जसले नेपालको सार्वभौमिकता अन्तर्राष्ट्रिय रूपमा स्थापित गरायो । जव भारतमा रहेको ईस्ट इण्डिया कम्पनी सरकारले नेपालको सीमावर्ती क्षेत्रमा रेल्वे विस्तार गर्ने क्रममा सन् १८८५ मा नेपालगंज, सन् १८९० मा विराटनगर, सन् १८९७ मा जनकपुर र सन् १८९८ मा गहवा नजिकै रक्सौलसम्म रेल विस्तार गर्यो । र रक्सौलमा रेल विस्तार भएको आठ वर्ष पछि सन् १९०६ मा भिखनाठोरीमा रेल्वे संचालन भएको थियो । तर, नेपालका तत्कालीन प्रधानमन्त्री वीरशम्शेरले रक्सौल रेल्वे विस्तारबाटै फाइदा लिने निर्णय गरे र सिद्धवीर माथेमा तथा ध्वजबीर माथेमालाई विशेष दूतका रूपमा गहवा भन्ने ठाउँमा पठाए ।

सर्वप्रथम यी दाजुभाइले प्रधानमन्त्री वीरशम्शेरको नामबाट सानो गहवा गाउँलाई “वीरगंज” नामकरण गरे । व्यापार प्रवर्द्धन गर्न सरकारले निशुल्क जग्गा वितरण, जनताको घर निर्माण समेत सहयोग तथा अन्य प्रोत्साहनका कार्यक्रम ल्याएर जनघनत्व बढाउने प्रयास गर्यो । यसै क्रममा भारतबाट २२ मारवाडी परिवार र १० रौनियार परिवारलाई वीरगंजमा व्यापार गर्न ल्याइयो । ती व्यापारीहरूलाई वीरगंज–काठमाडौं व्यापारमा सहुलियत प्रदान गरियो । साथै, रक्सौल–अमलेखगंज ४७ कि.मी. लामो रेल्वे विस्तार गर्दै वीरगंजलाई वाणिज्य केन्द्रका रूपमा विकास गर्न राज्यको सम्पूर्ण शक्ति प्रयोग गरियो । यही नीतिको कारणले सदियौँदेखि व्यापारिक केन्द्र रहेको ठोरी विस्तारै ओझेलमा पर्दै गयो ।

वीरगंज व्यवस्थित हुँदै जाँदा ठोरीको व्यापारिक गतिविधि घट्ने क्रम निरन्तर जारी रह्यो । राणाहरूले ठोरीलाई प्राथमिकता नदिई वीरगंजलाई वाणिज्य केन्द्रका रूपमा विकास गर्न सबै सरकारी संयन्त्र परिचालन गरे । यसका कारण ठोरी हुँदै आउने व्यापारिक मालसामानको मात्रा क्रमशः घट्दै गयो, जसले ऐतिहासिक व्यापारिक केन्द्र ठोरी उपेक्षित हुन पुग्यो । विशेषगरी, रक्सौलसम्म रेल्वे विस्तार भएपछि ठोरी हुँदै भारत जाने व्यापारिक मार्ग सर्न थाल्यो, जसले ठोरीको व्यापारिक सम्भावनामा ठूलो धक्का पुर्यायो ।

वीरशमशेरका विश्वासपात्र सिद्धवीर माथेमा र ध्वजबीर माथेमाको व्यवस्थापनका कारण वीरगञ्जको व्यापार एकाएक फस्टाउँदै गयो । तर, पछि चन्द्रशम्शेरको पालमा यी दाजुभाइलाई वीरगञ्ज स्थापनामा राज्यकोषको रकम चरण दुरुपयोग गरेको आरोपमा जेल हालियो । रु ३ लाख हर्जाना बुझाउन नसकेर मृत्युदण्डको सजाय सुनाइयो । वीरशम्शेरकी विधवा रानी, जो नेवार समुदायकी थिइन्, नेवार जातिको जीवनरक्षाका लागि भनेर हर्जाना तिर्न सहयोग गरेपछि उनीहरू मृत्युदण्डबाट जोगिए । राणा शासनकालमा ठोरी प्रजातान्त्रिक आन्दोलनका लागि नेपाल प्रवेश गर्ने प्रमुख मार्ग थियो ।

गणेशमान सिंहलाई ठोरीमा पक्राउ गरिएको घटना, नेपाली कांग्रेसको जनमुक्ति सेनाले ठोरी कब्जा गरी राणाहरूको आपूर्ति रोक्ने प्रयास जस्ता घटनाहरूले ठोरीलाई ऐतिहासिक रूपमा महत्त्वपूर्ण बनाएको थियो । तर, प्रजातन्त्र स्थापनापछि पनि ठोरीलाई आवश्यक प्राथमिकता दिइएन । वीरगंजको व्यापारिक वर्चस्व बढ्दै जाँदा ठोरीको राजनीतिक र आर्थिक प्रभाव क्रमशः घट्दै गयो । तथापि, राणाकालको अन्तिम समयमा पनि पश्चिम पहाडी भेगतर्फको प्रमुख नाका ठोरी नै थियो । इतिहासले उपेक्षा गरे पनि ठोरीको प्राकृतिक स्रोतसाधन तथा रामायणकालीन इतिहासले अहिले पुनः चर्चा पाउन थालेका छन् ।

यसको धार्मिक, पुरातात्त्विक र पर्यटकीय महत्त्वलाई प्रवर्द्धन गर्न सकिएमा ठोरी फेरि महत्वपूर्ण धार्मिक, व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा पुनःस्थापित हुने प्रचुर सम्भावना छ । वीरगञ्जको उदय, राणा प्रधानमन्त्री वीरशम्शेरको नीति, भौगोलिक कठिनाइ र यातायात पूर्वाधारको अभावका कारण ठोरी ओझेलमा परेको छ । ठोरीको ऐतिहासिक महत्त्वलाई पुनः स्थापित गर्न पर्यटन प्रवर्द्धन, व्यापारिक पूर्वाधार निर्माण र सरकारी ध्यान अपरिहार्य छ । विगतमा नेपालको प्रमुख व्यापारिक नाका रहेको ठोरी आज एउटा सानो “छोटी भन्सार” समेत बन्द भएको अवस्थामा छ । त्यसैले, ठोरीको पहिचान पुनः स्थापित गर्न स्थानीय सरकार, नागरिक समाज, राजनीतिक दल तथा युवा बौद्धिक वर्गहरू एकजुट भई ठोस पहल गर्न आवश्यक छ ।

नेपाल राष्ट्र बैंक वीरगंजद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

वीरगंज । नेपाल राष्ट्र बैंक वीरगंजले वित्तिय साक्षरता कार्यक्रम संचालन गरेकाे छ । ग्लाेबल मनी विक २०२५ अन्तर्गत नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयले आफ्नै कर्मचारीहरुलाई परिचालन गरेर पर्सा, बारा र राैतहट जिल्लामा वित्तिय साक्षरता सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

ग्लाेब ‍मनी विक अन्तर्गत नै नेपाल राष्ट्र बैंक वीरगंजकाे कार्यालयमा भएकाे वित्तिय साक्षरत सम्बन्धि बहस कार्यक्रमकाे भिडियाे देखाएर पर्सा, बारा र राैतहटकाे ३ ठाउँमा वत्तिय साक्षरता सम्बन्धि अन्तरक्रिया गरिएकाे नेपाल राष्ट्र बैंक वीरगंजका सहायक निर्देशक नरेश कुमार सरार्फले वताए ।

उनका अनुसार वीरगंजस्थित हरिखेता बहुमुखि क्याम्पस, बाराकाे मनिहर्वास्थित श्री नेपाल राष्ट्रिय उच्च माद्यमिक विद्यालय र राैतहटकाे गरुडा नगरपालिका वडा नं. ५ मा रहेकाे श्री माद्यमिक विद्यालय महमदपुरमा वित्तिय साक्षरत सम्बन्धि अन्तरक्रिया गरिएकाे हाे ।

कार्यक्रममा सहभागि विद्यार्थी र युवाहरुसंग वित्तिय साक्षरता सम्बन्धि ज्ञान आदानप्रदान समेत गरिएकाे बैंकका सहायक निर्देशक सर्राफले वताए । कार्यक्रमले नयाँ पुस्ताहरुमा वित्तिय साक्षरता प्रवाह गर्न सहयाेग पुग्ने नेपाल राष्ट्र बैंककाे विश्वास रहेकाे उनले वताए ।

मालपोत कार्यालय पाेखरियामा भु सेवा केन्द्र सन्चालन गर्ने ब्यवसायीलाई अनुमति

पोखरिया । पर्साको पोखरियास्थित रहेको मालपोत कार्यालयाले आइतबारदेखि भु सेवा केन्द्र सन्चालन गर्ने ११ जना लेखापढी ब्यवसायीहरुलाई अनुमती दिएकाे छ ।

मालपोत कार्यलया पोखरियाले आइतबार एक कार्यक्रमकाे आयाेजना गरि भु– सेवा केन्द्र संचालन गर्ने लेखापढी ब्यवसायीहरुलाई प्रमाण पत्र वितरण गरेकाे हाे । मालपाेत कार्यालय पाेखरियाले भु सेवा केन्द्र संचालनकाे अनुमतीकाे लागी गत फालगुन २३ गतेकाे गरेकाे सूचनाकाे आधारमा निवेदन दिएका ११ जना लेखापढी ब्यवसाईहरुलाई अनुमती तथा प्रमाण पत्र वितरण गरिएकाे मालपोत कार्यालय पोखरियाका सुचना अधिकारी रामरेखा प्रसाद चौरसियले जानकारी दिए ।

 आइतबार नै भु–सेवा केन्द्रहरुबाट ८ जना सेवाग्राहीहरुले सेवा लिएको सुचना अधिकारी चौरसियले जानकारी गराए ।

कार्यक्रम कार्यालय प्रमुख रामजी प्रसाद साहको अध्यक्षतामा भएकाे प्रमाण पत्र वितरण कार्यक्रममा पोखरिया नगरपालीकाकी उप प्रमुख रुवी कुमारी ठाकुर, वडाध्यक्ष नौसाद आलम, नेकपा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विन्धयाचल ठाकुर, शिक्षक पारस ठाकुर, समाज सेवी मनोज कुर्मी लगायतका कर्मचारी, नगर प्रहरी र स्थानिय सँचारकर्मीहरुको सहभागीता रहेको थियो ।

एसईई परिक्षा मर्यादित बनाउन सिडिओ अर्यालकाे प्रयास जारी

वीरगंज । एसईई परिक्षा संचालनकाे तेस्राे दिन गणित विषयकाे परिक्षामा पर्साका केही केन्द्रहरुमा मर्यादा विपरित कार्य गरेकाे भेटिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालय नेतृत्वकाे अनुगमन टाेलीले वीरगंजकाे सुरजी देवी केन्द्र लगायकाे परिक्षा केन्द्रमा मर्यादा विपरित काम गरेकाे फेला परेपछि केन्द्राध्यक्ष सहित परिक्षा संचालनकाे लागि खटिएका सबै कर्मचारीहरुलाई कारवाही गरेकाे छ । 

परिक्षामा अनियमिता भएकाे भेटिएपछि जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका सिडिओ अर्यालकाे अध्यक्षतामा बसेको बैठकले एसईई परिक्षा अनुगमनका क्रममा वीरगंज महानगरपालिका वडा नं १२ स्थित सुरजी देवी माध्यमिक विद्यालयको केन्द्रमा अनियमितता, लापरवाही तथा उच्श्रृङ्खल क्रियाकलाप समेत भएको देखिएकोले उक्त परीक्षा केन्द्रमा खटिएका पदाधिकारीहरुलाई कारवाही गरेकाे हाे ।

बैठकले सुरजी देवीका केन्द्राध्यक्ष नन्दकिशोर राम, सहायक केन्द्राध्यक्ष सविता चौधरी र चन्द्रशेखर झा तथा उक्त केन्द्रमा खटिएका सबै निरिक्षकहरुलाई जिम्मेवारीबाट मुक्त गरी बैकल्पिक सूचीमा रहेका केन्द्राध्यक्ष श्री नेरा मावि श्रीपुरका मावि शिक्षक ब्रजमोहन प्रसाद कानुलाई केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गरेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

यसका साथै सुरजी देवी परिक्षा केन्द्रका परिक्षार्थी सिम्बल नं. 03702456D लाई यस वर्षको परीक्षाबाट निष्काशन गर्ने समेत बैठकले निर्णय गरेकाे छ ।

यसैगरी बैठकले वीरगंज महानगरपालिका कै नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका केन्द्राध्यक्षले संदेहास्पद गतिविधि गरी उक्त केन्द्रको समग्र अनुशासनको पक्ष समेत फितलो बनाएकोले थप सावधानी, सतर्कता र अनुशासित आवद्धता सहित परीक्षा संचालन गर्न केन्द्राध्यक्षलाई सचेत गराउने र उक्त केन्द्रका आगामी परीक्षाहरुमा सुक्ष्म निगरानी गर्ने पनि निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत दिपक पटेलले जानकारी दिए ।

खेलाडी राष्ट्रका गहना हुन्, संरक्षण जरुरी छ : सभापति मिश्र

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति जितेन्द्र मिश्रले खेलाडी देशको गाहना भएकाे बताएका छन् । बोर्डर हाँगामा क्रिकेट क्लब भेडीहर्वाद्वारा आयोजित नाइट टुर्नामेन्टको विजेतालाई पुरस्कार वितरण गर्दै सभापति मिश्रले यस्ताे वताएका हुन् ।

टुर्नामेन्टकाे पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै क्षेत्रिय सभापति मिश्रले भने “खेलले देशकाे नाम र पहिचान हुन्छ । त्यही भएर खेलाडीकाे संरक्षण गर्नु पर्छ ।” कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापति मिश्रले स्थानिय स्तरबाट राष्ट्रिय स्तरकाे खेलाडी उत्पादन हुने भएकाेले खेल प्रति हाम्राे छिपहरमाई गाउँपालिकाकाे ध्यान जान जरुरी छ ।

छिपहरमाई गाउँपालिकामा धेरै व्यतिथिती रहेकाे बताउँदै उनले त्यस तर्फ स्थानिय जनता जागरुप हुन जरुरी रहेकाे वताए । अब आउने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्प नरहेकाे उनले दाबी समेत गरे ।

सभापति मिश्रले टुर्नामेन्टका विजेता टिम भारत विहारका इनार्वालाई रेन्जर साइकल र नगदसहित मेडलले पुरस्कृत गरेका थिए । त्यसैगरी उपविजेता टिम लिपनीलाई मेडल र नगद पुरस्कार वितरण गरिएकाे हाँगामा क्रिकेट क्लबका सदस्य रमेश दास तत्त्वले जानकारी दिए ।

पुरस्कार वितरण कार्यक्रममा छिपहरमाई गाउँपालिका वडा नं. २ का वडा सदस्य कमल दास तत्वा, रमेश दास तत्वा, राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउँपालिका सचिव मनबोद यादव लगायतकाे उपस्थिती रहेको थियो ।

पर्सागढीमा गाेप्य रुपमा ३ विषय शिक्षक नियुक्त, वडाध्यक्ष सहित स्थानियकाे विराेध

वीरगंज । पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित रहेको श्री जनता माद्यमिक विद्यालय पकडिया बढनिहारमा शिक्षक न्युक्तिमा अनियमितता भएकाे छ । विद्यालयमा ३ जना शिक्षक नियुक्ति गर्दा अनियमताता भएको भन्दै वडाध्यक्ष सुखमाङ तामाङले स्कुलका हाजिरी रजिस्टर नियन्त्रणमा लिएका छन् ।

गाेप्य रुपमा नियुक्ति भएकाे शिक्षकहरु विद्यालयमा हाजिर हुन पुगेपछि वडाध्यक्ष तामाङले प्रहरी चौकी बढनिहार असइ कृष्ण राइ, सञ्चारकर्मी, शिक्षक, स्थानीयहरूको रोहबरमा हाजरी रजिष्टर नियन्त्रणमा लिएका हुन् ।

प्राधानाध्यापक माेहनलाल प्रसाद चाैधरीले गुपचुप रुपमा वीरगंजकाे एक विद्यालयमा परिक्षा संचालन गरि करारमा मावि तहका सामाजिक बिषयका शिक्षा प्रबिन्दा पंजियार, मावि तह कै गणित बिषयका शिक्षक सन्दिप प्रसाद चौहान र उच्च मावि अनुदान नेपाली विषयका शिक्षक माधवराज घिमिरेकाे न्युक्ति गरेकाे वडाध्यक्ष तामाङले वताए ।

गाेप्य रुपमा नियुक्त भएका शिक्षकहरू मध्ये नेपाली विषयका शिक्षक घिमिरे नगर प्रमुख गोकर्ण पाठकका आफन्त रहेकाे वताइएकाे छ । अन्य दुई जना शिक्षक पनि उनकै पार्टी निकटकाे रहेको स्थानीयहरुकाे भनाई छ ।

शिक्षक न्युक्तिकाे सूचना सम्बन्धित विद्यालय र वडा समेत टाँस नगरी एकासी शिक्षक हाजिर गराइरहेको समयमा वडाध्यक्ष तमाङले हाजिर रजिस्टर नियन्त्रण लीई पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर चन्द्र बंशीलाई जनकारी गराएका छन् ।

वडाध्यक्ष तामाङका अनुसार विद्यालयका प्रधानाध्यापक माेहनलाल प्रसाद चाैधरीले २०८१ पुसमा नेपाली र समाजिक विषयका लागि शिक्षक नियुक्ति गर्न वडाबाट सिफारिस लिएका थिए । तर सो शिक्षक भर्नाकाे लागि विद्यालयले सूचना गरेन ।

फेरी गत माघ २७ गते लेखा र नेपाली विषयका लागि शिक्षक नियुक्ति गर्न प्रधानाध्यापक चाेधरीले वडाबाट सिफारिस गराए । त्यसकाे पनि उनले सूचना गरेनन् । यता आएर फागुन २० गते शिक्षक नियुक्तिको लागि सूचना प्रकाशन गर्न निर्णय भएको तर सो सूचना प्रकाशन पनि गरिएन । अहिले आएर विद्यालय व्यवस्थापन समितिको म्याद सकिन लाग्दा आफूसँग कुनै सल्लाह नै नगरी प्रधानाध्यापक चौधरीले चैत्र ६ गते विद्यालय व्यवस्थापन समितिको निर्णय भनेर नेपाली, समाजिक र गणित गरी ३ विषयका शिक्षक नियुक्तिका लागि सूचना प्रकाशन गरेका थिए ।

सूचना प्रकाशन गरेपछि वडाध्यक्ष तमाङले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई यस विषयमा जानकारी गराउँदा उनले अहिलेको लागि यो शिक्षक भर्ना कार्यलाई राेकन मौखिक आदेशसमेत दिएका थिए । तर पनि उनले प्रजिअ अर्यालकाे आदेशलाई पालना नगरी गुपचुप रुपमा पक्रिया नै पुरा नगरी शिक्षक न्युक्ति गरेकाे वडाध्यक्ष तामाङकाे भनाई छ ।

यसअघि चैत्र ५ गते सूचना प्रकाशन गरेर शिक्षक नियुक्तिका लागि लिन भनिएको परीक्षा स्थगित गरिएको भएपनि एकासी शिक्षक न्युक्ति कसरी भएकाे भने स्थानिय आश्चर्य चकित भएका छन् ।

स्थानियका अनुसार एक दिनअघि स्थगित र अर्को दिन म्याद सकिएको विद्यालय व्यवस्थापन समितिकाे निर्णय भनेर सूचना प्रकाशित गर्नु र परीक्षा लिएर सोही दिन नतिजा प्रकाशन गर्नु शिक्षक न्युक्तिमा अनियमितता भएको प्रमाणित गर्दछ ।

शिक्षक न्युक्तिमा भएकाे अनियमितताकाे सम्बन्धमा शनिबार वडाध्यक्ष तामाङले सर्वपक्षिय बैठक समेत गरेका छन् । वडा नम्बर ३ काे सभा हलमा भएकाे सर्वपक्षीय बैठकमा शिक्षा जस्तो ठाउँमा गलत गतिविधि भइरहेकाे भन्दै गाेप्य रुपमा भएकाे शिक्षक न्युक्ति बारे जानकारी गराएका हुन् ।

सुरज सर्राफकाे अध्यक्षतामा समृद्धि नेपाल फाउण्डेसनको नयाँ कार्यसमिति चयन

वीरगंज । समृद्धि नेपाल फाउण्डेसनको चौंथो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । शनिबार वीरगंज पब्लिक कलेजमा आयोजित एक कार्यक्रमबीच सुरज कुमार सर्राफको अध्यक्षतामा फाउण्डेसनकाे नयाँ कार्यसमिति चयन भएकाे हो ।

नयाँ समितिकाे उपाध्यक्षमा मोहम्मद ताहिर अहमद, सचिवमा हरिओम गुप्ता, सहसचिवमा श्रृति साह, कोषाध्यक्षमा पीयुष साह कानु सर्वसहमत चयन भएका छन् । त्यसैगरी समितिकाे सदस्य संयोजकमा भोला कहर, व्यवस्थापन संयोजकमा सूर्या सर्राफ, कार्यक्रम संयोजक आयुष गुप्ता, सह कार्यक्रम संयोजकमा रितु कर्ण चयन भएका छन् । अन्य सदस्य पछि मनोनयन गरिने संस्थाले जनाएकाे छ ।

त्यस्तै गरी अनुराग योजना अन्तर्गत दुई वटा विभाग पनि गठन गरिएको छ । स्वास्थ्य विभाग प्रमुखमा नेशनल मेडिकल कलेजमा अध्ययरत आदित्य राज साह र खेलकुद विभाग प्रमुखमा अध्यक्षको सिफारिसमा मनोनित हुने बताइएको छ ।

यस अघि कार्यक्रमका प्रमुख अतिथि युवा अभियन्ता दिलिपराज कार्कीले कार्यक्रमको उद्घाटन गर्दै फाउण्डेसनले विगतका वर्षदेखि युवालक्षित सामाजिक कार्य गर्दै आइरहेकाले आगामी दिनमा सकारात्मक खालका कार्य गरेर अघि बढ्नका लागि अनुरोध गरे ।

‘फाउण्डेसनले सामाजिक विकृति र विसंगति विरुद्ध विभिन्न खालका रचनात्मक अभियानहरु सञ्चालन गर्दै अघि बढ्नका लागि अनुरोध गर्दछु,’ उनले भने ‘वीरगंजका लोक कला संस्कृति प्रवर्धन गर्ने खालका कार्य गरेर युवाहरुलाई जागरुप बनाउनको लागि अनुरोध गर्दछु ।’’

फाउण्डेसनका संस्थापक अध्यक्ष आयुषकुमार गुप्ताले फाउण्डेसनले युवाहरुलाई स्टार्टअप लगायतका कार्य गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको बताए । नवनिर्वाचित अध्यक्ष सर्राफले सबैसँग हातेमालो गरेर युवाहरुलाई सामाजिक कार्यमा अघि बढाउने योजना रहेको जानकारी दिए ।

सोही अवसरमा प्रिया मिश्रालाई समृद्ध नेपाल साहित्य पुरस्कारले सम्मान गरिएको थियो । त्यस्तै गरी सोही अवसरमा मेम्बर अफ दी इयरबाट पियुस साह कानु सम्मानित भएका छन् ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराजभट्ट, मानवसेवा आश्रमका प्रतिनिधि देवेश गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो ।