Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 249

बिपिसीमा व्यवसायिक योजना प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न

वीरगंज । वीरगंज पब्लिक कलेज र बिपिसी टेक क्लबको सयुँक्त आयोजनामा व्यवसायिक योजना प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रिदम बानिया नेतृत्वको टाउन टास्कर्स समूह विजयी बनेको थियो । आदर्श ठाकुर नेतृत्वको सञ्जोग क्रियशन को समूह द्वितिय हुँदा प्रबेज आलमको ट्याप एण्ड गो समूह तृतिय भएको बिपिसी टेकक्लबका अध्यक्ष आकाश दासले जानकारी दिए ।

एक सय भन्दा धेरैले सहभागिता जनाएको प्रतियोगिताको फाइनलमा ६ वटा समूहले प्रीतस्पर्धा गरेका थिए । प्रतियोगितामा मोहित ग्रुपका प्रबन्ध निर्देशक मोहित गुप्ता, स्टडीफाई इन्टरनेशनलका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत समिम अनवर, कर्पाेरेट हाउसका प्रमुख कार्यकारी अधिकृत एलेक्स साह र वीरगञ्ज पब्लिक कलेजका संकाय सदस्य कृष्ण साहले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश विश्वविद्यालयका डिन डा. अञ्जय मिश्रले युवालाई उद्यमतिर आकर्षित गर्नका लागि यस्ता प्रतियोगिताले प्रोत्साहन गर्ने धारणा राखे । कार्यक्रमको सहजीकरण बिपिसी टेकक्लबका सदस्यद्वय नम्रता अधिकारी र मुना रौनियारले गरेका थिए ।

चैते धानबालीको रोपाईका समयमा पनि रासायनिक मलको अभाव

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको ग्रामीण भेगमा चैते धानबालीको रोपाईका समयमा अहिले रासायनिक मलको अभाव भएकाे छ । जिल्लाको ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाँउपालिका तथा पर्सागढी नगरपालिका र बीरगंजको केही बडाहरुमा किसानहरुले चैते धानबालीको रोपाई शुरु गरेको एक साता भन्दा बढि समय बिति सक्दा पनि रासायनिक मलको अभाव झेल्नु परेको बताएका छन् ।

धानबाली रोपाइको समयमा डिएपी, पोटास, र यूरिया लगायतको रासायनिक मलको आवश्यक्ता पर्दछन् । तर यस क्षेत्रमा रहेका कृषि सहकारी संस्थाहरुमा यी रासायनिक मलको अभाव रहेको किसानहरुले गुनासो गरेका छन । नेपालका लागि रासायनिक मलको बितरक कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कम्पनी बीरगंजमा मल नभएकाले मल नपाएका जिराभवानी गाँउपालिका वडा नं २ सेढवामा रहेका मारुतिनन्दन कृषि सहकारी संस्थाका अध्यक्ष सत्यनारायण साहले बताए ।

करिब एक महिना अगाडी चैते धानबाली रोपाईका लागि यी संस्थाहरुले डिएपी र यूरिया मल दिएका संचालक साहले बताए । अब बैशाख महिनाको अन्तिम सातातिर मात्र मल आउने संचालक साहले बताए । पटेर्वासुगौली गाउँपालिका उपाध्यक्ष तथा रासायनिक मल बितरण समितिका संयोजक ममता महतोका अनुसार कृषि ज्ञान केन्द्र पर्सा तथा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले पठाएको परिपत्र अनुसार स्थानीय कृषि सहकारी संस्थाहरुले मल पाउन पालिकाबाट सिफारिस प्रदान गरि सकेको बताए ।

चैते धानबाली लगाउने जग्गाको मुल्यांकन गरी आवश्यक मल सम्बन्धित वडाका कृषि सहकारी संस्था मार्फत बितरण गरिएको उपाध्यक्ष महतोले बताइन । तर केही किसानहरुले मात्र मल पाएको र अधिकाशं किसानहरुले मल नपाएका गुनासा आएका छन ।

यता ठोरी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष अष्टबहादुर लोप्चनले एक पटक मात्र रासायनिक मल आएको बताए । एक सय बीस बोरा डिएपी र १ सय चालिस बोरा यूरिया मल आएका र बितरण गरिएका वडाध्यक्ष लोप्चनले बताए । यस वडामा करिब असी प्रतिशत खेतीयोग्य जमिनमा चैते धानको खेती हुने हुँदा अधिकाशं किसानहरु मल पाउनबाट बञ्चित रहेको वडाध्यक्ष लोप्चनले बताए । रासायनिक मल नपाएका किसानहरुले भारतीय बजारबाट ल्याउनु परेको वडाध्यक्ष लोप्चनले बताए ।

चैते धानबाली रोपाईका लागि नेपाल सरकारका अनुदानित रासायनिक मल नपाएका किसानहरुले भंगहा, इनरवा, मैनाटाड, सिकटा लगायतका भारतीय बजारबाट महंगोमा मल खरिद गर्नु परेको किसानहरुले गुनासो गरेका छन । नेपाली बजारमा डिएपी प्रति बोरा (५० केजी) दुई हजार तीन सय रुपैया र यूरिया प्रति बोरा (५० के जी) ८ सय रुपैया रहेका छन भने भारतीय बजारमा डिएपी प्रति बोरा (५० केजी) ३ हजार तीन सय र यूरिया प्रति बोरा ( ४५केजी) ८ सय रुपैया रहेका छन ।

थारु कल्याणकारी समितिद्वारा सम्मान कार्यक्रम सम्पन्न

ओमप्रकाश चाैधरी/
सेढवा ।
आदिवासी थारु समुदायको बिभिन्न क्षेत्रमा अग्र भूमिका निर्वाह गर्न मार्ग दर्शकका रुपमा रहेका व्यक्तित्वहरुलाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरिएकाे छ ।

थारु कल्याणकारी समिति पर्साले आयोजना गरेकाे कार्यक्रममा थारु समुदायका राजनीतिक, सामाजिक, व्यापारिक तथा राज्यका उच्च पदमा राष्ट्र सेवक कर्मचारीको रुपमा कार्य गरी अवकाश प्राप्त गरेका तथा थारु समुदायका भाषा, संस्कृति, पहिरन लगायतका परम्परागत पहिचान संरक्षणका सक्रिय भूमिका निर्वाह गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएकाे हाे ।

सखुवा प्रसौनी गाँउपालिकामा रहेका दिप नारायण नमूना आदर्श माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा मुखदेव पंजियार, डा. कृपा सिंह चौधरी, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, संबिधान सभा सदस्य जय प्रकास थारु, प्रदेश सांसद शंकर प्रसाद महतो, मोहनलाल चौधरी, रामाकान्त गौरो, रामेश्वर महतो थारु, अरुण चौधरी, धन्नजय पंजियार, मोहन गौरो, मोहन दास थारु, जोखन दासलाई सम्मान गरिएकाे थारु कल्याणकारी समितिले जनाएकाे छ ।

 यसैगरी सम्मानित हुनेमा चन्द्रदेव प्रसाद थारु, नेता नागेन्द्र प्रसाद चौधरी, रामबकस महतो थारु, राधेश्याम महतो, राजेन्द्र प्रसाद चौधरी, बासदेव महतो थारु, श्री फुलमति थारु, सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट थारु, चिरञ्जीवी महतो, श्री प्रमेश्वर गौरो, तुलसी चौधरी, सामाजिक अभियान्ता प्रकाश थारु, गणेश राउत थारु लगायत रहेका छन् ।

थारु कल्याणकारी समिति पर्साका अध्यक्ष भागवत प्रसाद थारुको अध्यक्षता र केन्द्रिय सदस्य महेन्द्र चौधरीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएकाे थियाे ।

ठाकुर राम स्ववियु निर्वाचनकाे समानुपातिक तर्फकाे मतगणना पनि सम्पन्न, कसले पाए कति सिट ?

वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकाे समानुपातिक तर्फकाे सिट पनि बाँडफाड भएकाे छ ।

गत चैत ५ गते भएकाे निर्वाचनकाे चैत १४ गते सम्पन्न समानुपातिक तर्फको मत परिमाणको आधारमा त्रि.वि.स्व.वि.यु. निर्वाचन २०८१ को निर्देशिका अनुसार ८ विद्यार्थी समुह र संगठनलाई सिट बाँडफाड गरिएकाे निर्वाचन अधिकृत दिलिप कुमार सिंहले जानकारी दिए ।

अधिकृत सिंहका अनुसार सबभन्दा बढी २/२ सिटमा नेपाल विद्यार्थी समुह र नेपाल विद्यार्थी संघ निर्वाचित भएका छन् भने वाकी ६ संगठनहरु एक/एक सिट पाएका छन् । समाजवादी विद्यार्थी युनियन, सुधिर पटेल समुह, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन नेपाल, राष्ट्रिय विद्यार्थी संघ र जय नेपाल विद्यार्थी संघले एक/एक सिटमा निर्वाचित भएका हुन् । 

यी संघ/संगठन/समूहले पेश गरेको समानुपातिक सूची भित्रका नाम मध्येवाट संघ/संगठन/समूहले यही चैत २० गते दिउँसो २:०० बजेसम्म ठाकुर राम स्ववियु निर्वाचन कार्यालयमा सिफारिस सहितको पत्र दर्ता गराउनु पर्ने निर्वाचन अधिकृत सिंहले वताए ।

तोकिएको समयभित्र सो नामावली नवुझाएमा त्रि.वि.स्व.वि.यु निर्देशिका २०८१ अनुसार भइजाने व्यहोरा समेत उनले एक सूचना मार्फत जानकारी गराएका छन् ।

अपराधिक घटनामा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन आरडिएनकाे माग

वीरगंज । राष्ट्रिय दलित नेटवर्क नेपाल (आरडिएन)ले पूर्व राजाका समर्थकहरुले शुक्रबार काठमाडाैं गरेकाे प्रदर्शनकाे क्रममा भएकाे अपराधिक घटनामा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन माग गरेकाे छ ।

आरडिएनका केन्द्रिय अध्यक्ष माेहन ओड र महासचिव पार्वती आग्रीले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै पूर्व राजाका समर्थकहरूले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाले लोकतान्त्रिक मूल्य मान्यता र व्यक्तिको जिउधनको सुरक्षाको आधारभूत अधिकारको हनन् भएको घटनाप्रति आरडिएनकाे गम्भीर ध्यानार्कषण भएको जनाएकाे छ ।

जारी विज्ञप्तीमा आन्दोलनका नाममा गरिएको आगजनीमा पत्रकारको मृत्यु भएको छ । यही क्रममा एकजना प्रदर्शनकारीको समेत मृत्युको खबर सार्वजनिक भएको छ । प्रदर्शनका नाममा राजनीतिक दल तथा आमसञ्चार माध्यमका कार्यालयहरूमा गरिएको आक्रमणलाई लोकतान्त्रिक अभ्यास मान्न सकिँदैन उल्लेख गरिएकाे छ ।

साथै जनताको जिउधनको सुरक्षा गर्ने आफ्नो दायित्व पूरा गर्न, अपराधमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन नेपाल सरकार समक्ष आरडिएनले माग समेत गरेकाे छ । 

पत्रकार रजककाे हत्याकाे विराेधमा पर्सासहित देशभरी प्रदर्शन

वीरगंज । पत्रकार सुरेश रजकको हत्याकाे विरोधमा शनिबार वीरगंजमा पत्रकारहरुले विराेध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे आयाेजनामा वीरगंजकाे घण्टाघरबाट निस्केकाे विराेध र्‍याली माइस्था, महाविरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन: घण्टाघरमा पुगेर काेण सभामा परिणत भएकाे थियाे ।

काेण सभालाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशाेक तिवारीले शुक्रबार राजवादीहरुले गरेकाे आगजनीमा निर्दाेष पत्रकार रजककाे मृत्यु भएकाे वताउँदै दाेषी उपर कारवाहीकाे माग गरे । पत्रकार हत्या र विभिन्न मिडिया हाउसहरु माथि भएकाे आक्रमण बारे छिटै महासंघ केन्द्रिय समितिकाे बैठक बसी सरकार विरुद्ध कडा आन्दाेलन कार्यक्रम तय गरिने वताए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकार रजकलाई जिउदै जलाएर मार्ने हत्याराहरुलाई तुरुन्त कारवाही गर्नु पर्ने वताए । उनले पत्रकार महासंघकाे ७० औं स्थापना दिवस देशभरी रुपमा महासंघले मनाउन तयारी गरेकाे अवस्थामा शुक्रबार राजवादीकाे प्रदर्शनकाे क्रममा पत्रकार रजक हत्या भएपछि विराेध प्रदर्शन तथा सभा गर्नु परेकाे वताए ।

प्रदेश अध्यक्ष बन्जाराले विशेष परिस्थिती समाचार संकलन गर्ने क्रममा आफ्नाे सरक्षाकाे ख्याल गरेर मात्र समाचार संकलन गर्नु पर्ने वताए ।

पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले लाेकतन्त्रकाे विकल्प निरंकुश हुन सक्दैन भने शुक्रबारकाे घटनाले पनि पुष्टि गरेकाे वताए । उनले राजतन्त्र पुर्नस्थापनाकाे माग गर्दै राजवादीले गरेकाे प्रदर्शनकाे समाचार संकलन गर्न पुगेका पत्रकार रजककाे हत्या र विभिन्न संचारमाध्यममाथि भएकाे आक्रमण अराजकता वाहेक केही हुन नसक्ने वताए ।

लाेकतन्त्रकाे आन्दाेलनकाे अगुवाई गरेकाे पत्रकारमाथि भएकाे आक्रमण लाेकतन्त्रमाथि कै आक्रमण भएकाे वताउँदै अध्यक्ष खनालले सरकारले लाेकतन्त्रकाे रक्षाकाे लागि प्रेस स्वतन्त्रताकाे लागि कडा कदम चाल्नु पर्ने वताए ।   

शक्रबार राजावादीहरुले प्रदर्शनकाे क्रममा गरेकाे एक घरमा गरेकाे आगजनीमा समाचार संकलन गर्न पुगेका एभि न्युजका पत्रकार रजककाे मृत्यु भएकाे थियाे । प्रदर्शनकारीहरुले आगजनी गरेकाे घर भित्र नै पत्रकार रजकलाई थुनेर जलाएकाे भिडियाे समेत समाजिक संजालमा भाइरल भइरहेकाे छ ।

पत्रकार रजककाे हत्याकाे विराेधमा नेपाल पत्रकार महासंघ लगायतकाे पत्रकारका विभिन्न संगठनहरुले पनि प्रेस विज्ञप्ती निकालेर हत्याराहरुमाथि कारवाहीकाे माग गरेका छन् । पत्रकार महासंघकाे आव्हानमा शनिबार विहान पर्सा सहित देशभरी विराेध प्रदर्शन समेत भएका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्न परराष्ट्रलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । राजावादीहरूको आन्दोलनका क्रममा शुक्रवार हिंसात्मक घटना घटेपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिकामा देखिएको भन्दै सरकारले ज्ञानेन्द्रको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

घटनाको अनुसन्धान सुरु भएपछि उनी भागेर जानसक्ने आशंका भएपछि कानुनी दायरामा ल्याउनका लागि राहदानी रद्द गर्न निर्देशन दिइएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।

‘हिंसात्मक घटना घट्नुअघि त्यसका कमान्डरहरूलाई निर्मल निवासमा बोलाएर पूर्वराजा ज्ञानेन्द्रले उकासेको स्पष्ट देखिएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ, ‘उनले केही समयअघि दिएका अभिव्यक्ति र हिजोको घटनामा तादम्यता मिलेको देखिन्छ । अनुसन्धान भइरहेको छ । यस्तोबेलामा उनी बाहिर नजाउन र अनुसन्धानलाई सघाउन भन्ने सरकारको उदेश्य हो ।’

दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको छानबिन अघि बढेसँगै देशबाट भाग्न नदिन राहदानी रद्द गर्न लागिएको सरकारको भनाइ छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको आन्दोलन हिंसामा परिणत भएको थियो ।

पर्सागढीको एकटांगामा २३९ जनालाई निस्सा बितरण

वीरगंज । पर्सागढी नगरपालिकाकाे वडा नम्बर ९ का २३९ जना भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई निस्सा बितरण गरिएको छ । वडा नम्बर ९ को एकटांगामा शुक्रबार एक बिशेष कार्यक्रम गरि सो निस्सा बितरण गरिएको हो ।

वडा नम्बर ९ का वडाध्यक्ष रामबढाई यादवको अध्यक्षता एवं भुमि आयोगका केन्द्रिय सदस्य तथा मधेश प्रदेश संयोजक आरती भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भुमि आयोगले गरिब निमुखाको हक्मा काम गर्ने बताए ।

उनले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको समस्या र समाधानको अभियानलाई पर्सागढीबाट सुरुवात भएको वताए । निस्सा बितरण पश्चात नाप नक्शा गरि छिटै लालजूजा बितरण कार्यमा भुमि आयोगले लाग्नु अर्यालले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट आतिथी भुमि आयोगका पर्सा अध्यक्ष तबरेज अहम्दले निस्सा बितरण पश्चात भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा बितरण कार्यमा सहज हुने जानकारी दिए । निस्सा बितरणको केहि दिनमै नाप नक्सा, स्थलगत अवलोकन तथा कानुनी प्रक्रिया पुरा गरि असार १५ सम्ममा लालपुर्जा बितरण गरिने लक्ष्य रहेको अहमदले बताए ।

उनले पर्सागढी जस्तै अन्य पालिकामा पनि तदारुकताका साथ काम अघि बढाइएको जानकारी दिए । अहम्दले पर्साका सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन आफु लगनशिलताका साथ कार्य गरिरहेको बताउदै आयोगबाट आउने कर्मचारीहरुलाई वडाले सहयोग गरि सहजीकरण गरिदिन अनुरोध समेत गरे ।

यसैगरी भुमि आयोगका केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथी आरती भण्डारीले पर्साका सुकुम्बासीहरुको समस्या समाधानको लागि पर्सा आयोगले गरेको कामकारवाहीको प्रंशासा गरिन । उनले कानुनी जटिलतालाई समाधान गरि नेपालभरिका सुकुम्बासीहरुलाई जग्गा बितरण गरिने बताइन । 

कार्यक्रममा पर्सागढी नगरपालिकाका पुर्व प्रमुख लोकनारायण यादव, नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा, सचिव राकेश झा, जसपाका युवा नेता सुरज मानन्धर लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा भुमि आयोग पर्साका सदस्य संतोष पासवान, शिवनारायण राम, प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव उमेशलाल सहनीले गरेका थिए ।

स्व. अर्चना गुप्ताकाे स्मृतिमा पुरस्कार स्थापना

वीरगंज । गैर सरकारी संस्था महासंघ नेपाल पर्सा शाखाको बैठक शुक्रबार सम्पन्न भएकाे छ । महासंघ पर्साका अध्यक्ष छठु साहकाे अध्यक्षतामा बसेकाे बैठकले महासंघ पर्साकी पूर्व कार्य समिति सदस्य स्व. अर्चना गुप्ताकाे स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेकाे छ ।

वीरगंजकाे पानीटंकीस्थित महासंघकाे कार्यालयमा बसेकाे बैठकले स्व. अर्चना गुप्ताकाे स्मृतिमा पुरस्कार स्थापना गरि यसै बर्षदेखि वितरण गर्ने निर्णय गरेकाे महासंघ पर्साका अध्यक्ष साहले जानकारी दिए । महिला सशक्तिकरणमा योग्यदान पुर्याउने समाजिक कार्यमा सकृय एक जना महिलालाई वितरण गरिने पुरस्कारकाे लागि कोषको स्थापना गर्ने पनि निर्णय भएकाे उनले वताए ।

उनका अनुसार स्थापना भएकाे पुरस्कार महिला सशक्तिकरणमा योग्यदान पुर्याउदै समाज सेवामा अग्रगणी भुमिका निर्वाह गर्दै आएकी एक महिलालाई प्रत्येक बर्ष वितरण गरिने छ । पुरस्कार राशी पछि निर्धारण गरिने छ ।

बैठकले पुरस्कार वितरणकाे महासंघका उपाध्यक्ष सुरज पंडितको संयोजकत्वमा पांच सदस्यीय समिति समेत गठन गरेकाे । जुन समितिकाे सदस्यमा महासंघ पर्साका सचिव चन्देश चौहान, सल्लाहकार रामाकान्त पटेल, किरण गुप्ता र मन्तुरा चौधरी रहेका छन ।

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुअवन निवासी अर्चना कुमारी गुप्ताको २०८१ बैशाख ९ गते हृदयघातका कारण अल्पआयुमै निधन भएकाे थियो ।

गैसस महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवालकाे विशेष उपस्थितीमा भएकाे बैठकमा स्व. अर्चना गुप्ताका श्रीमान एवं समाजिक कार्यकर्ता शिवचरण राैनियार लगायत महासंघका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे ।

राजावादीको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु

वीरगंज । राजावादीहरुले शुक्रबार राजतन्त्रकाे माग गर्दै गरेकाे प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको र राजावादीबाट भएकाे आगजनीमा पत्रकार सुरेश रजकको मृत्यु भएकाे छ । 

दुर्गा प्रसाईको मुख्य नेतृत्वमा भएकाे राजवादीकाे प्रदर्शनकाे क्रममा प्रहरीकाे गाेली लागेर २९ वर्षीय महर्जनकाे मृत्यु भएकाे गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।

यसैगरी राजवादीहरुले लगाएकाे आगाे लगाएकाे एक घरमा भेटिएकाे शव पत्रकार रजकको रहेकाे पुष्टि भएको उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ । मृत भेटिएका रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए ।

राजावादीको नाममा भएको हिंसात्मक गतिविधिको निसानामा निजी सम्पत्ति र व्यवसायहरू परेका छन् ।

हिंसात्मक समूहले तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी क्षेत्रका निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी मात्रै गरेका छैनन्, भाटभटेनी सुपर स्टोरमा लुटपाट पनि मच्चाएका छन् ।

हिंस्रक समूहको आक्रमणबाट करोडौं रुपैयाँको क्षति भएको सरकारी अधिकारीहरूको अनुमान छ । त्यतिमात्र होइन, अन्नपूर्ण पोस्ट तथा कान्तिपुर टेलिभिजन जस्ता निजी सञ्चारमाध्यममा पनि तोडफोड लगत्तै आगजनी प्रयास भएका छन् ।

दुर्गा प्रसाईं, धवलसमशेर राणा तथा रविन्द्र मिश्रजस्ता राजावादीहरूको नेतृत्वमा कोटेश्वर–तीनकुने क्षेत्रमा जम्मा भएको हिंसात्मक समूहले सबैभन्दा पहिलो तीनकुनेमा रहेको मार्बल हाउसमा तोडफोडबाट आफ्नो अराजक गतिविधि सुरु गरेका थिए । उनीहरूले त्यो भवनमा आगजनी मात्रै गरेनन्, तीनकुने क्षेत्रका अन्य भवनमा पनि अन्धाधुन्द तोडफोड गरे ।

यसैगरी प्रदर्शनकारीले एकीकृत समाजवादीको कार्यालयका साथै केही घरमा आगजनी र तोडफोड गरेका छन् । स्थिति नियन्त्रणबाहिर गएसँगै तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ । 

काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो । शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो ।