Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 179

माघे संक्रान्तिको अवसरमा वीरगंजमा ‘समरसता उत्सव’ सम्पन्न

0

वीरगंज । हिन्दु स्वयंसेवक संघ नेपालले समाजमा समता, ममता र समरसताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरेको ‘समरसता उत्सव’ पर्सा जिल्लाको ऐतिहासिक गहवामाई मन्दिर परिसर, वीरगंजमा माघे संक्रान्तिको शुभ अवसरमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको शुभारम्भ विश्व हिन्दु परिषद नेपालका विशिष्ट व्यक्तित्वहरूले दीप प्रज्वलन गरी गरेका थिए। ‘संगठित हिन्दु, समर्थ नेपाल’ भन्ने मूल नाराका साथ आयोजित उक्त उत्सवमा समाजका विभिन्न वर्ग, समुदाय र क्षेत्रका नागरिकहरूको उल्लेखनीय तथा समान सहभागिता रहेको विश्व हिन्दु परिषद नेपाल पर्साका सचिव दिपेन्द्र सर्फले जानकारी दिए।

आयोजकका अनुसार धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रवर्द्धन गर्दै आपसी भाइचारा, सद्भाव र समभावलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

समरसता उत्सवको अवसरमा महाप्रसाद (खिचडी) पर्व पनि आयोजना गरिएको थियो। सहभागीहरू सबैले एउटै स्थानमा बसेर सामूहिक रूपमा महाप्रसाद ग्रहण गर्दै आपसी आत्मीयता र समानताको अनुभूति व्यक्त गरेका थिए।

सबै वर्गका सहभागीहरूले सामूहिक महाप्रसाद ग्रहण गर्दा सामाजिक समानता र समभावको सन्देश प्रवाह भएको जनाउँदै यसले समाजमा विद्यमान विभेद, असमानता र दूरी कम गरी एकताको भावना मजबुत बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका सदस्यहरूद्वारा परेड, धार्मिक अनुष्ठान, सांस्कृतिक झल्को तथा समरसताको सन्देशमूलक विविध गतिविधिहरू प्रस्तुत गरिएको थियो।

हिन्दु स्वयंसेवक संघ नेपालले यस्ता कार्यक्रममार्फत समरस, सशक्त र संगठित समाज निर्माणका लागि सम्पूर्ण धर्मावलम्बी, सामाजिक अभियन्ता, युवा तथा आम नागरिकलाई हातेमालो गर्न आह्वान गरेको छ।

अजय द्विवेदी र सुशिल साह कानु रास्वपामा, पर्सा १ र २ बाट चुनाव लड्ने तयारी

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेताहरू प्रवेशकाे खबरसँगै पर्साको राजनीतिक माहोल तातेको छ।

रास्वपाले सार्वजनिक गरेको सम्भावित उम्मेदवारहरूको सूचीमा कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी र जसपाबाट निर्वाचित वीरगंज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष सुशील साह कानुको नाम देखिएपछि पार्टीभित्रै समेत हलचल बढेको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै द्विवेदीले पर्सा निर्वाचन क्षेत्र नं. १ बाट र कानुले पर्सा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने योजना अन्तर्गत रास्वपामा प्रवेश गरेको बुझिएको छ।

कांग्रेस नेता द्विवेदी र जसपा नेता कानु दुवै आ–आफ्नो राजनीतिक पहुँच र लबिङका आधारमा रास्वपाबाट टिकट सुरक्षित गर्न सक्रिय देखिएका छन्। उनीहरू पार्टी प्रवेशसँगै सम्भावित उम्मेदवार सूचीमा परेपछि पर्सामा नयाँ राजनीतिक समीकरणको चर्चा सुरु भएको छ।

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट रास्वपाका जिल्ला अध्यक्ष बुद्धि प्रसाद पन्त (हरी पन्त) पनि चुनाव लड्ने तयारीमा छन्। तर बालेन साह समूहबाट अजय द्विवेदीले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेपछि टिकट कसले पाउने भन्ने विषयमा अन्योल सिर्जना भएको छ।

यस्तै, पर्सा निर्वाचन क्षेत्र नं. २ मा जिल्ला कार्यसमितिले प्रबेज अख्तरलाई उम्मेदवारका रूपमा अघि सारे पनि जसपाबाट रास्वपा प्रवेश गरेका वडाध्यक्ष सुशील साह कानुलाई समेत बालेन पक्षबाट सिफारिस गरिएको बताइएको छ।

यस विषयमा प्रतिक्रिया लिन अजय द्विवेदी र सुशील साह कानुसँग फोनमार्फत सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन।

स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट गोविन्द देवकोटा सम्मानित

0

वीरगंज । स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगंज पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको छ । बिहीबार नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्व. गिरीको पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रममा देवकोटालाई नगद ५१ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले पत्रकार देवकोटालाई ५१ हजार रुपैयाँको चेक र कदरपत्र हस्तान्तरण गरेका थिए ।

पत्रकार देवकोटा वीरगन्जबाट प्रशारण हुँदै आएको सामुदायिक रेडियो नारायणी एफएम र रेस खबरका कार्यकारी अध्यक्ष हुनुका साथै सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका छन् ।

वीरगन्जका पूर्व मेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्षसमेत रहेका गोपाल गिरीको २०६० साल माघ १ गते तत्कालीन माओवादीद्वारा गोली हानी हत्या गरिएको थियो । स्व. गिरीको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले उक्त क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

यसअघि उक्त पुरस्कारबाट पत्रकारहरू बृजलाल पासवान, गया यादव, कन्हैयालाल केसरी, ओमप्रकाश खनाल, श्याम बन्जारा, पंकज श्रेष्ठ, शत्रुघन नेपाल, ध्रुव साह लगायत पुरस्कृत भइसकेका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललगायतको विशेष उपस्थिति रहेको थियो ।

रास्वपाबाट बारा–४ मा चुनाव लड्ने रहबर अन्सारीकाे तयारी

0

वीरगंज । पूर्व राज्य मन्त्री तथा प्रदेश सभा सदस्य रहबर अन्सारीले बाराको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका छन् । पर्सा क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने तयारी गरेका हुन्।

यसै तयारीअनुसार अन्सारीले रास्वपाबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दर्ता गराइसकेका छन्। रास्वपाले सार्वजनिक गरेको उम्मेदवार आकांक्षीहरूको सूचीअनुसार बारा–४ मा अन्सारीसहित इच्छा बहादुर बाग्ले, श्याम सुन्दर पण्डित कुमाहल, वकिल सहनी, सलिक राम अधिकारी, विनय कुमार गुप्ता र पवन चौधरी रहेका छन्।

केही दिनअघि मात्रै अन्सारीले नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेका थिए । तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित अन्सारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यङ्ग्यात्मक टिप्पणीसहित राजीनामा बुझाएका थिए। यसअघि उनले प्रदेश सभा बैठकमै आफ्नै मुखमा कालो मसी दल्दै विरोध जनाएका कारण व्यापक चर्चामा आएका थिए।

अन्सारीकै भूमिकाका कारण तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत प्राप्त गर्न नसकेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । पछिल्लो समय रास्वपाबाट प्रतिनिधि सभा चुनाव लड्ने उनको तयारीले बारा–४ को राजनीतिक माहोल थप तातेको छ ।

सखुवाप्रसौनी गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, नीति–कार्यक्रम र बजेटमाथि छलफल

0

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको आयोजनामा गाउँ कार्यपालिकाको कार्यालयमा गाउँसभाको १६औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशन गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादवसहित वडा नं. १ का अध्यक्ष बसुदेव महतो थारु, वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नं. ३ का प्रतिनिधि मोजामिल अन्सारी, वडा नं. ४ का अध्यक्ष मोहम्मद आरिफ अन्सारी, वडा नं. ५ का अध्यक्ष अशेश्वर यादव तथा वडा नं. ६ का अध्यक्ष मुन्ना कमकरलगायतको उपस्थिति रहेको थियो।

अधिवेशनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले स्थानीय सरकार जनताको प्रत्यक्ष सहभागिता र आवश्यकताअनुसार योजना निर्माण तथा कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पारदर्शिता, सुशासन र विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकालाई समृद्ध बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

उपाध्यक्ष शर्मिला बिष्ट महतोले सामाजिक विकास, महिला, बालबालिका तथा विपन्न वर्गको सशक्तीकरणमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै गाउँसभाबाट पारित नीति तथा योजनाले स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादवले आर्थिक अनुशासन, प्रभावकारी सेवा प्रवाह तथा जनमुखी प्रशासन सञ्चालनमा गाउँपालिका सचेत रहेको बताउनुभयो। उहाँले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यबाट मात्र विकास लक्ष्य हासिल गर्न सकिने धारणा राख्नुभयो।

अधिवेशनमा विभिन्न वडाध्यक्षहरूले आ–आफ्ना वडाका समस्या, आवश्यकता र प्राथमिकताबारे धारणा राख्दै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारी सिर्जनामा जोड दिनुपर्ने सुझाव प्रस्तुत गरेका थिए।

आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटसम्बन्धी विषयमा छलफल गरिएको यस अधिवेशनबाट पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत स्थानीय जनताको जीवनस्तर उकासिने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

पर्सा–४ मा चुनावी चहलपहल तीव्र, पुराना नेताहरू पुनः मैदानमा

0

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. ४ मा चुनावी सरगर्मी बढ्दै गएको छ। जिल्लाका अन्य क्षेत्रजस्तै यहाँ पनि अधिकांश पुरानै राजनीतिक अनुहारहरू देखिएका छन् भने केही नयाँ अनुहारहरू मात्र मैदानमा उत्रने तयारीमा छन्।

शीर्ष ठूला राजनीतिक दलहरूले उम्मेदवारका नाम केन्द्रमा सिफारिस गरिसकेका छन् भने उम्मेदवार बन्न चाहने नेताहरू टिकटका लागि आन्तरिक लबिङ र पहलमा जुटेका छन्।

नेपाली कांग्रेसले यसपटकको निर्वाचनमा पनि पूर्व मन्त्री तथा निर्वतमान प्रतिनिधि सभा सदस्य रमेश रिजालको एकल नाम सिफारिस गरेको छ। एकल सिफारिस भएकाले रिजाल पुनः कांग्रेसको उम्मेदवार हुने लगभग निश्चित देखिएको छ।

नेकपा एमालेबाट जालिम मियाँ, बिरेन्द्र यादव र गोकुली कुमारी रेग्मीको नाम सिफारिस गरिएको छ। अघिल्लो निर्वाचनमा पनि एमालेबाट उम्मेदवार बनेका जालिम मियाँ कांग्रेसका रमेश रिजालसँग पराजित भएका थिए। यसपटक पनि सिफारिस भएकामध्ये मियाँले नै एमालेको टिकट पाउने सम्भावना बलियो रहेको एमाले स्रोतले जनाएको छ।

प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट बलिराम साह, जयप्रकाश थारु र मेनेजर साहको नाम सिफारिस भएको छ। पहिलो नम्बरमा सिफारिस भएका बलिराम साह माओवादीका पुराना नेता हुन् भने दोस्रो नम्बरमा रहेका जयप्रकाश थारु केही दिनअघि मात्र एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका नेता हुन्। यी दुईमध्ये एकले टिकट पाउने सम्भावना रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विवेकानन्द प्रसाद, टेकबहादुर शाक्य, अजय यादव, युगल किशोर पाण्डे र मनिष किशोर श्रीवास्तव उम्मेदवार बन्न इच्छुक देखिएका छन् । यीमध्ये एक जनाले पर्सा–४ बाट रास्वपाको टिकट पाउने पार्टी स्रोतले जनाएको छ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट डा. कृपासिन्धु प्रसाद चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट लक्ष्मण लाल कर्णको नाम सिफारिस भएको छ। जसपा र लोसपा बीच एकता भइसकेकाले यी दुईमध्ये एक जनाले मात्र संयुक्त रूपमा टिकट पाउने छन्। जसपाबाट सिफारिस भएका चौधरी कांग्रेसका पूर्व नेता हुन् भने लोसपाबाट सिफारिस भएका कर्ण पूर्व मन्त्री तथा पूर्व सांसदसमेत हुन्। कर्ण २०७४ को निर्वाचनमा पर्सा–४ बाट निर्वाचित भएका थिए।

यसैगरी जनमत पार्टीबाट सीमा गुप्ता र आम जनता पार्टी (आजपा)बाट इमदाद गद्दी चुनावी मैदानमा उत्रने भएका छन्। जन अधिकार पार्टी नेपालका अध्यक्षसमेत रहेका गद्दी र आजपाका अध्यक्ष प्रभु साहबीच आजपाको चुनाव चिह्नबाट चुनाव लड्ने सहमति केही दिनअघि भएको थियो।

यसका अतिरिक्त अन्य साना दलबाट पनि उम्मेदवार हुन सक्ने सम्भावना रहेको छ। उम्मेदवार मनोनयन दर्ताको समय नजिकिँदै जाँदा सबै दल उम्मेदवार छनोट र सम्भावित चुनावी तालमेलमा व्यस्त देखिएका छन्। निर्वाचन तालिकाअनुसार उम्मेदवार मनोनयन दर्ता यही माघ ६ गते तोकिएको छ।

पर्साको ग्रामीण भेगमा माघी पर्वको रौनक, पाँच स्थानमा माघी खिचडी विशेष कार्यक्रम

0

सेढवा । पर्सा जिल्लाको ग्रामीण भेगमा माघे संक्रान्ति, खिचडी अर्थात् माघ १ गते मनाइने माघी पर्वको चहलपहल बढेको छ। आदिवासी जनजाति थारु समुदायको नयाँ वर्ष २६५० सुरु हुने भएकाले यो समुदायले माघी पर्वलाई विशेष उत्साहका साथ मनाउँदै आएको छ।

थारु समुदायको प्राचीन परम्पराअनुसार माघ १ गते नयाँ वर्षको दिन किसानहरूले वार्षिक आय–व्ययको हिसाबकिताब नयाँ–पुरानो गर्ने चलन रहिआएको छ। ग्रामीण भेगमा बसोबास गर्ने थारु समुदायसँगै अन्य समुदायका मानिसहरू पनि पर्वको तयारीमा जुटेका छन्।

मंगलबारदेखि यस क्षेत्रका गृहिणीहरू घर–आँगनको सरसफाइ, लत्ताकपडा धुनेलगायत काममा व्यस्त देखिएका छन्। साथै पर्वका लागि भुजाको लड्डु, चिउराको लड्डु, तिलको लड्डु, कसारलगायत परिकारको तयारी तथा किनमेल तीव्र बनेको छ।

माघ १ गते माघीको दिन बिहान स्थानीय खोला, नदी तथा जलाशयमा स्नान गरी किसानहरूले उत्पादन गरेका चामल, भुजा, तिल, रामदाना लड्डु तथा नयाँ बाली आलु, तोरी, नुनलगायत सामग्री स्पर्श गरी पुरोहितलाई दान दिने परम्परा छ। माघीको अवसरमा छोरी–बहिनीका ससुराली तथा आफन्तको घरमा माछा, मासु, मिठाई र विभिन्न परिकार पुर्‍याउने चलनसमेत रहेको छ।

यस वर्ष पर्साका पाँच स्थानमा माघी खिचडी विशेष कार्यक्रम आयोजना हुने जनाइएको छ। वीरगञ्जको आदर्शनगरस्थित स्विमिङ पुलमा माघी खिचडी मूल समारोह समिति पर्साको आयोजनामा हुने कार्यक्रममा सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा थारु परम्परा झल्काउने पहिरन, गीत तथा नृत्य प्रस्तुत गरिनेछ भने थारु सम्बतको नयाँ वर्षको अवसरमा खुला रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ।

त्यसैगरी जिराभवानी गाउँपालिका वडा नं. ३ को नौकाटोला चोकमा पनि माघी खिचडी विशेष कार्यक्रम आयोजना हुने भएको छ। गाउँपालिकाको आयोजनामा तथा वडा नं. ३ युवा समाजको व्यवस्थापनमा सञ्चालन हुने कार्यक्रममा थारु समुदायका परम्परागत खानाका परिकार—माछा, घोंगी, गंगटो, हाँस, परेवा र कुखुराको मासुका स्टलहरू राखिने स्थानीय युवा हरिशंकर रायले जानकारी दिनुभयो।

त्यस्तै पटेर्वासुगौली गाउँपालिकाको आयोजनामा वडा नं. ४ को खेल मैदानमा तथा सखुवाप्रसौनी गाउँपालिकाको आयोजनामा पञ्चगावाको खुला मैदानमा माघी विशेष कार्यक्रम आयोजना गरिनेछ। उता थारु कल्याणकारी समिति पर्सागढी नगरपालिकाको आयोजनामा बागवानामा पनि माघी खिचडी कार्यक्रम मनाइने तयारी भइरहेको छ।

प्रलोपाबाट पर्सा–२ मा अमिताभ बचन दास उम्मेदवार

0

वीरगंज । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नं. २ बाट युवा नेता अमिताभ बचन दासलाई उम्मेदवार घोषणा गरेको छ।

पर्साको बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरी पिडरीमा आयोजित पार्टीको एकता बैठकमार्फत दासलाई औपचारिक रूपमा उम्मेदवार बनाइएको हो । दास प्रलोपाका पर्सा जिल्ला इन्चार्ज तथा जिल्ला संयोजकसमेत हुन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभाग प्रमुख बालकृष्ण श्रेष्ठले प्रलोेपाको मूल एजेन्डा रोजगारी र निःशुल्क स्वास्थ्य उपचार रहेको उल्लेख गर्दै “हरेक घरमा रोजगारी” पार्टीको स्पष्ट प्रतिबद्धता भएको बताए।

पर्सा क्षेत्र नं. २ की संयोजक तथा प्रदेश सदस्य रेणु वि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नं. ४ का इन्चार्ज दिनेश यादव, क्षेत्र नं. ३ का संयोजक फनिन्द्र गुप्ता, केन्द्रीय सल्लाहकार प्रभुलाल श्रीवास्तव, प्रदेश सदस्यहरू अनिल चौरसिया र मनोज सोनार तथा महिला नेतृ जमिला खातुनलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै अमिताभ बचन दासले हालको राजनीतिमा इमानदार र त्यागी कार्यकर्ताभन्दा तस्करी र दलाली गर्नेहरूको वर्चस्व बढ्दै गएको टिप्पणी गरे। उनले जनताको समस्या केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा पार्टीको चुनाव चिह्न ‘आँखा’ मा मतदान गर्न मतदातासँग आग्रह गरे। दास सामाजिक कार्यमा समेत निरन्तर सक्रिय रहँदै आएका युवा नेता हुन्।

बैठकले सन्तोष प्रसाद कलवारको संयोजकत्वमा १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ। कार्यक्रमको सञ्चालन सुनिल रौनियारले गरेका थिए।

सशस्त्र प्रहरी दिवसकाे अवसरमा एपिएफ र एसएसबीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता

0

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल गुल्म लहावरथकरीको आयोजनामा मंगलबार सशस्त्र प्रहरी बल नेपाल लहावरथकरी र भारत बिहारस्थित एसएसबी सेँवरियाको टिमबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भारतको सेँवरिया एसएसबी टिम विजयी भएको छ।

प्रतियोगितामा कुल तीन खेल खेलाइएको थियो। पहिलो खेलमा सशस्त्र प्रहरी बल नेपाल लहावरथकरीले जित हासिल गरेको थियो भने त्यसपछि भएका दुई खेलमा भारतको एसएसबी सेँवरियाले विजय हात पार्दै समग्रमा २–१ को जित दर्ता गर्‍यो।

विजेता टोलीलाई लहावरथकरी गुल्मका गणपति डीएसपी लोकनाथ उप्रेतीले पुरस्कार वितरण गरेका थिए भने उपविजेता टोलीलाई डीएसपी दीपक चव्हाणले मेडल वितरण गरेका थिए।

२५ औं सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा आयोजना गरिएको उक्त मैत्रीपूर्ण भलिबल प्रतियोगिताले नेपाल–भारतबीचको आपसी सद्भाव, समन्वय र मित्रतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

कार्यक्रममा पकहाँ मैनपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बलिराम चौरसिया, पत्रकार छठु साह, वडा सदस्य पप्पू गिरी, भीखनपुरका डीएसपीलगायतको उपस्थिति रहेको थियो।

पर्सामा माघी पर्व भव्य रूपमा मनाउने तयारी पूरा

0

वीरगंज । माघी खिचडी मूल समारोह समिति पर्साले आगामी माघ १ गते माघे पर्व भव्य रूपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समितिले मंगलबार नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीले आदिवासी थारु समुदायको नयाँ वर्षका रूपमा मनाइने थारु नयाँ वर्ष २६५० को अवसरमा शुभकामना आदान–प्रदानसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो। उहाँले यस वर्ष पनि माघी पर्वलाई पूर्णरूपमा भव्य र सभ्य रूपमा सम्पन्न गरिने बताउनुभयो।

आदिवासी थारु समुदायको राजनीतिक, सामाजिक तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने कार्यक्रममा घाटो, सामा–चकेवा, झम्टा, थारु पूर्वी नाच, थारु समुदायका बालबालिकाद्वारा गीत–नृत्य तथा बाल कला प्रदर्शनी प्रस्तुत गरिने समितिले जनाएको छ। साथै घोङ्गी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचरलगायत परम्परागत खानाका प्रदर्शनीसमेत राखिनेछ।

माघ १ गते आयोजना हुने मूल कार्यक्रम लक्ष्मीनारायण बनठाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिने आर्थिक समिति संयोजक नन्दकिशोर पञ्जियारले जानकारी दिनुभयो।

समितिका अनुसार यसअघि माघ ३० गते पावरहाउस चोकदेखि मकालु हुँदै घण्टाघरसम्म मोटरसाइकल र्‍याली आयोजना गरिनेछ भने सोही दिन साँझ ६ बजे घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम गरिनेछ। माघ १ गते बिहान ११ बजे घण्टाघरबाट झाँकीसहितको र्‍याली निकालेर आदर्श हुँदै कार्यक्रम स्थल स्वीमिङ पुल पुर्‍याइनेछ।

माघी पर्वको अवसरमा रक्तदान कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी पर्वलाई भव्य रूपमा मनाइने भएकाले पर्सा जिल्लाका सम्पूर्ण आदिवासी जनजाति तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित हुन कार्यक्रम संयोजक चौधरीले आग्रह गर्नुभयो।

पत्रकार सम्मेलनमा थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महत्त्व थारु, मनोजा चौधरी, प्रचारप्रसार संयोजक दिपेन्द्र चौधरी, पुनम चौधरी, सांस्कृतिक संयोजक विजया ओझैया, सुरक्षा संयोजक विकास चौधरीलगायतको उपस्थिति रहेको थियो।