Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 180

पर्सा–३ मा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी, ठूला दलमा टिकटका लागि तीव्र पैरवी

0

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी बढ्न थालेको छ। निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएका छन् भने उम्मेदवार बन्ने आकांक्षीहरू ठूला दलबाट टिकट सुरक्षित गर्न सक्रिय देखिएका छन्।

पर्सा–३ मा प्रतिनिधि सभा सदस्यका लागि एक दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । नेकपा एमालेबाट पूर्व मन्त्री तथा निर्वतमान सांसद राजकुमार गुप्ता, रुपेश पाण्डे, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य प्रमोद जयसवालसहित करिब १० जनाको नाम सिफारिस भएको छ।

पूर्व मन्त्री गुप्ता हाल भ्रष्टाचार मुद्दामा थुनामा रहेकाले एमालेभित्र वैकल्पिक उम्मेदवारको खोजी तीव्र बनेको छ । यही कारण जिल्ला तहका नेताहरूले व्यापारी पृष्ठभूमिका युवा नेता रुपेश पाण्डेलाई उम्मेदवार बनाउन केन्द्रमा पैरवी थालेका छन् । युवा र व्यवसायिक छविका कारण पाण्डेले चुनाव जित्न सक्ने अनुमान गर्दै नेताहरू सक्रिय देखिएका छन्।

यद्यपि अर्को पक्षले निर्वतमान सांसद गुप्तालाई नै टिकट दिनुपर्ने, उनको अवस्था प्रतिकूल भए स्वतन्त्र प्रदेश सभा सदस्य जितेर मन्त्रीसमेत बनेका प्रमोद जयसवाललाई उम्मेदवार बनाइनुपर्ने भन्दै केन्द्रमा दबाब दिएको बताइन्छ । एमालेबाट अन्ततः कसले टिकट पाउने भन्ने विषय अझै अनिश्चित छ ।

नेपाली कांग्रेसबाट पूर्व मन्त्री सुरेन्द्र चौधरी र पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा चौधरी झिनो मतले पराजित भएका थिए भने क्षेत्री कांग्रेस पर्साका सभापति हुन् । दुवै संस्थापन पक्षका नेता भए पनि चौधरी महामन्त्री गगन थापा पक्षमा खुलेपछि कांग्रेसभित्र पनि टिकट कसले पाउने भन्ने विषय पेचिलो बनेको छ।

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाबाट रामबाबु बैठा, छोटेलाल यादव र विक्रम चौरसियाको नाम सिफारिस भएको छ। पहिलो नम्बरमा रहेका बैठा नेकपा केन्द्रीय सदस्य हुन् । दोस्रो नम्बरका यादव अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए भने चौरसिया तत्कालीन नेकपा (एकीकृत समाजवादी) पर्साका उपाध्यक्ष हुन् ।

जनमत पार्टीबाट मालती कुशवाहाले उम्मेदवारीको तयारी गर्दै चुनावी अभियानसमेत सुरु गरिसकेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भने हालसम्म उम्मेदवार तय नभएको र आकांक्षीको चर्चा पनि खासै नदेखिएको अवस्था छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट नरेन्द्र प्रसाद यादव, भरत गिरी र जनार्दन यादवको नाम छुट्टाछुट्टै सिफारिस भएको छ। चुनावी लडने तयारीमा रहेका जनार्दन यादवले रास्वपाबाट टिकट पाएमा त्यहीँबाट चुनाव लड्न सक्ने चाहना व्यक्त गरेको चर्चा पनि छ।

यसैगरी हरेक निर्वाचनमा फरक–फरक दलबाट उम्मेदवारी दिने राजकुमार यादवले यसपटक पनि चुनाव लड्न सक्ने सम्भावना देखिएको छ, तर कुन दलबाट लड्ने भन्ने अझै अनिश्चित छ। यसका अतिरिक्त साना दलहरूबाट पनि उम्मेदवार देखिन सक्ने भए तापनि मुख्य प्रतिस्पर्धा यिनै उम्मेदवारहरूबीच हुने अनुमान गरिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ताको समय नजिकिँदै जाँदा दलहरू उम्मेदवार टुंग्याउने र सम्भावित गठबन्धनको तयारीमा व्यस्त छन् । तर हालसम्म कुनै पनि दलले पर्सा–३ का लागि अन्तिम उम्मेदवार घोषणा गरिसकेका छैनन्।

लिटिल बडी प्री–स्कुलको वार्षिक खेलकुद सप्ताह सम्पन्न

0

वीरगंज । लिटिल बडी प्री–स्कुल, वीरगंजमा आयोजित वार्षिक खेलकुद सप्ताहको समापन कार्यक्रम सम्पन्न भएको छ। समापन अवसरमा विद्यालयले विभिन्न खेलकुद प्रतियोगितामा सहभागी तथा विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल वितरण गरेको छ।

विद्यालयका प्रधानाध्यापक विजय कुमार बलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा बोल्दै प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष पुरण प्रधानले बालबालिकाको समग्र विकासका लागि प्रारम्भिक तहदेखि नै खेलकुद, अनुशासन र नैतिक शिक्षाको ठूलो महत्व रहेको बताए। उनले लिटिल बडी प्री–स्कुलले शैक्षिक अध्ययनसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्दै आएकोमा प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले बालबालिकामा आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने उल्लेख गरे।

कार्यक्रममा प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवस्तव, कोषाध्यक्ष सुरज बाबु पटेल, शिव गुप्ता, आलोक चौरसिया, दिवेश गुप्ता, अमित आलोक, सन्नी पाख्रिन, शुशिल के.सी., कमल चौगाई, सुमित कलवार, सुप्रिया पौडेललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सुप्रिया पौडेलले शुभकामना मन्तव्य दिँदै खेलकुदले बालबालिकालाई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सबल र सामाजिक रूपमा सक्रिय बनाउने बताइन्। कार्यक्रमको सहजीकरण स्वेता गुप्ताले गरेकी थिइन्।

तमलोपाका पूर्व जिल्ला अध्यक्ष योगेन्द्र कुर्मी रास्वपामा प्रवेश

0

वीरगंज । तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का पूर्व जिल्ला अध्यक्ष तथा तत्कालीन गोविन्दपुर गाविसका पूर्व अध्यक्ष योगेन्द्र प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनलाई मंगलबार वीरगंजस्थित कन्ट्री इन होटलमा आयोजित एक कार्यक्रममा रास्वपा पर्साका सभापति हरी पन्तले पार्टी प्रवेश गराएका हुन्।

कुर्मी सँगै वीरगंज महानगरपालिका वडा नं. १५ का जुझारु युवा नेता लाल बाबु कुमार यादव पनि रास्वपामा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गराउँदै रास्वपा पर्सा सभापति हरी पन्तले पर्सा जिल्लामा रास्वपामा प्रवेश गर्नेहरूको लहर चलेको बताए । उनले यसपटक सम्पूर्ण पर्साबासी एकजुट भएर “बलेन सरकार” निर्माणका लागि अघि बढिरहेको दाबी गर्दै आगामी निर्वाचनमा रक्सी, मासु र पैसाको प्रभाव नचल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा रास्वपा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापतिहरू मनोज कुर्मी, जीतेन्द्र मिश्रा, पोखरिया नगर सभापति प्रदीप पटेल, संगठन विभागका प्रमोद रायमाझी, सोना लाल कुर्मीलगायतको उपस्थिति रहेको थियो।

कालिकामाई युवा संजाल गठन

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीमा २५ सदस्यीय कालिकामाई युवा संजाल गठन गरिएको छ। शत्रुधन साहको अध्यक्षतामा गठित संजालको उपाध्यक्षमा रोहित सहनी, सचिवमा मनु गिरी, सहसचिवमा रामनिवास मण्डल र कोषाध्यक्षमा ब्यास मण्डल सर्वसम्मत चयन भएका छन्।

नवगठित संजालका सदस्यहरूमा बिकी साह, गोलू सहनी, दयानन्द कुशवाहा, राधेश्याम मण्डल, कन्हैया कुशवाहा, सूरज सहनी, छोटू लोहार, निरज मण्डल, ललन मण्डल, रामेश्वर कुशवाहा, मुना गिरी, प्रमुख साह, हिमाचल कुशवाहा, रामायण साह, प्रिंस साहलगायत रहेका छन्। संजालको मुख्य सल्लाहकारमा बुलेट तिवारी र प्रभाकर साह रहेका छन्।

अध्यक्ष शत्रुधन साहका अनुसार युवाहरूका हक–अधिकार स्थापना तथा संरक्षण गर्नु संजालको प्रमुख उद्देश्य हो । नवगठित संजालका सदस्य राधेश्याम मण्डलले पछिल्लो समय राजनीति, सामाजिक विकृति, अन्याय, विभेद तथा अत्याचार बढ्दै गएको र बजेट विनियोजनमा समेत विभेद देखिएको भन्दै त्यसविरुद्ध आवाज उठाउन संजाल गठन गरिएको बताए।

संजालले गाउँमा अमन–चयन, शान्ति, पूजापाठको प्रवर्द्धन, सरल जीवनयापनको अभ्यास तथा गरिब, दिनदुखीलाई सहयोग गर्ने कार्यलाई प्राथमिकता दिने जनाएको छ।

भोजपुरी चर्चित गायिका कल्पना वीरगंज आउँदै, मधेश साहित्य महोत्सवमा प्रस्तुति दिने

0

वीरगंज । भोजपुरी लोक तथा आधुनिक संगीतकी चर्चित गायिका कल्पना पटवारी वीरगंज आउने भएकी छन्। यही माघ १५, १६ र १७ गते आयोजना हुने मधेश साहित्य महोत्सव २०२६ मा सहभागिता जनाउन उनी वीरगंज आउन लागेकी हुन्। महोत्सवको सांगीतिक सन्ध्यामा उनले विशेष प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।

लोकगीतलाई आधुनिक संगीतसँग जोडेर नयाँ पुस्तासम्म पुर्‍याउन सफल कल्पना पटवारी भोजपुरी संगीतको एक स्थापित नामका रूपमा परिचित छन्। उनका गीतहरू नेपाल, भारतसहित विश्वभर रहेका भोजपुरी भाषी समुदायमा अत्यन्त लोकप्रिय छन्। उनको उपस्थितिले महोत्सवप्रति दर्शक तथा संगीतप्रेमीहरूबीच थप उत्साह सिर्जना भएको छ।

उत्कर्ष नेपालद्वारा आयोजना हुन लागेको मधेश साहित्य महोत्सव २०२६ माघ १५, १६ र १७ गते (जनवरी २९–३१, २०२६) वीरगंजस्थित मधेश विश्वविद्यालय परिसरमा आयोजना हुँदैछ। महोत्सवको सांगीतिक सन्ध्यामा कल्पना पटवारीको प्रस्तुति मुख्य आकर्षणमध्ये एक हुने आयोजकको भनाइ छ।

आयोजकका अनुसार उनको प्रस्तुतिले मधेशको लोक–संस्कृति, संगीत र सामूहिक उत्सवको भावनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साहित्य, कला, संस्कृति र संगीतको संगम रहने महोत्सवलाई यस वर्ष अझ ठूलो, समावेशी र जनमुखी बनाउने तयारी गरिएको आयोजक संस्थाका जय साहले जानकारी दिए।

क्यान्सर र गम्भीर बिरामीलाई निःशुल्क सेवा दिने आकाशलाई ठोरी गाउँपालिकाले दिइयो ई–रिक्सा

0

वीरगंज । ठोरी गाउँपालिका १ का युवा आकाश अर्याललाई क्यान्सर पीडित र गम्भीर बिरामीलाई निःशुल्क अस्पतालसम्म पुर्‍याउने निरन्तर सामाजिक सेवाको कदर गर्दै स्थानीय युवा दाता र ठोरी गाउँपालिकाको संयुक्त पहलमा करिब ६ लाख रुपैयाँ मूल्यको ई–रिक्सा हस्तान्तरण गरिएको छ।

ठोरी गाउँपालिकाले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो भने ५४ जना स्थानीय युवादाताबाट संकलित ३ लाख रुपैयाँबाट ई–रिक्सा खरिद गरिएको थियो। उक्त ई–रिक्सा भरतपुर महानगरपालिका–९ स्थित मिस्ट गार्डेनमा आयोजित एक कार्यक्रममा आकाश अर्याललाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, ठोरी–चितवन समन्वय समाजका प्रवक्ता सुदिप थापा, ठोरी उपभोक्ता समितिका अध्यक्ष जीवन खड्का, होटल व्यवसायी संघका केन्द्रीय सदस्य हीरा श्रेष्ठ, फुड श्याकका सञ्चालक सुसान्त सिंह ठाकुरी र ठोरी गाउँपालिका १ का वडाध्यक्षका प्रत्यासी नवराज फुयालले आकाश अर्यालको योगदानको प्रशंसा गर्दै यस्ता सेवाले समाजलाई सकारात्मक दिशातर्फ लैजाने विश्वास व्यक्त गरे।

आकाश अर्यालले स्थानीय दाता र गाउँपालिकाको सहयोग र विश्वासको कदर गर्दै धन्यवाद व्यक्त गर्दै भने कि, “हालसम्म करिब पाँच हजार बिरामीलाई निःशुल्क अस्पताल सेवा पुर्‍याइसकेको छु। यसरी सहयोग निरन्तर रहोस् भन्ने मेरो आशा छ।” अभियानका क्रममा सहयोग संकलनको नेतृत्व धीर सिंह घिमिरे र सन्तोष श्रेष्ठले गरेका थिए।

भ्रष्ट र असक्षमबाट मुलुक सुधारिँदैन : प्रभु साह

0

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्कीको पछिल्लो गतिविधिप्रति कडा टिप्पणी गर्दै जेन–जी आन्दोलनका हत्यारा र भ्रष्टाचारीसँग सरकारको हिमचिम बढेको आरोप लगाएका छन्। जेन–जी आन्दोलनका हत्यारा र भ्रष्टाचारीलाई कहिले कारबाही हुन्छ भन्दै उनले सरकारसँग प्रश्नसमेत गरे।

आजपाद्वारा सोमबार पर्सा निर्वाचन क्षेत्र नं. ३ को पोखरियामा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको “मुख पनि नहेर्ने” भन्ने प्रधानमन्त्रीले अहिले बालुवाटारमा घण्टौँ चियागफ गरिरहेको टिप्पणी गरे।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका हत्यारालाई अझैसम्म कारबाही नगरिएकोप्रति आक्रोश व्यक्त गर्दै साहले हत्यारासँग चिया पार्टी गरेर शहिद परिवारले न्याय पाउन नसक्ने बताए। जेन–जी शहिद परिवार र आन्दोलनकारीहरूले दिनहुँ न्यायको माग गरिरहे पनि प्रधानमन्त्री उही व्यक्तिसँग भेटघाटमै व्यस्त रहेको उनको आरोप छ।

साहले जेन–जी आन्दोलनको रापतापमा बलपूर्वक र षड्यन्त्रमूलक तरिकाले देशको नेतृत्वमा पुगेकी सुशीला कार्कीलाई आन्दोलनको “हाइज्याकर”को संज्ञा दिए। जेन–जी आन्दोलनमा बल प्रयोग गर्ने नेपाली कांग्रेस र नेकपा एमाले दमनकारी भएको आरोपसमेत उनले लगाए। आन्दोलनका हाइज्याकर र दमनकारीबीचको अस्वाभाविक उठबसले जेन–जी जनविद्रोहलाई गिज्याइएको उनको भनाइ थियो।

उनले पछिल्लो समय नेपाली नागरिकता त्याग्ने, जनताको पसिनाको पैसा ठग्ने, लुट्ने तथा भ्रष्ट र अनाडी प्रवृत्तिबाट मुलुकको संकट समाधान हुन नसक्ने बताए। अहिलेको व्यवस्था र संविधान नै मुलुकको मुख्य समस्या भएको उल्लेख गर्दै त्यसको खारेजीबाट मात्र देश सही दिशामा अघि बढ्न सक्ने दाबी उनले गरे।

आजपा अध्यक्ष साहले दलतन्त्र, नेतातन्त्र र लुटतन्त्रविरुद्ध आफ्नो पार्टी सुरुदेखि नै संघर्षरत रहेको बताउँदै आजपा सधैं जनताको पक्षमा उभिएको दाबी गरे। खराब संविधान र व्यवस्थाका कारण देशको अवस्था झन् खराब भएको टिप्पणी गर्दै हालको संविधानले मुलुकलाई कुनै पनि हालतमा निकास नदिने उनको ठोकुवा थियो।

उनले सरकारपिच्छेको मनोमानी कर आतंक र भन्सारको नाममा भइरहेको लुटका कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको आरोप लगाए। तराई–मधेसका सीमावर्ती क्षेत्रमा सरकारको व्यवहारले नागरिकहरू थप पीडित भएको भन्दै यस्ता गतिविधि तत्काल रोक्नुपर्ने सुझाव दिए।

यस्तै, कुनै पनि बहानामा निर्वाचन सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिँदै साहले तोकिएकै मिति फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा जोड दिए। निर्वाचन सार्ने प्रयास भए नेपाली जनता प्रतिकारमा उत्रिने उनको चेतावनी थियो।

‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुवित्त पीडितलाई न्याय दिलाउन’ आयोजित उक्त भेलाले निर्वाचन परिचालनसम्बन्धी महत्वपूर्ण निर्णयहरू पनि गरेको जनाइएको छ। आजपा नेता शिव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लघुवित्तबाट पीडितहरूको न्यायका लागि संघर्ष गर्दै आएका मणिराम ज्ञवालीलगायतको विशेष उपस्थिति रहेको थियो।

नेपाली कांग्रेस पर्सा–४ को क्षेत्रीय भेला माघ ३ गते

0

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसम्पादन समितिको बैठक सोमबार वीरगंजमा सम्पन्न भएको छ। बैठकले यही माघ ३ गते शनिबार क्षेत्रीय भेला आयोजना गर्ने निर्णय गरेको हो।

क्षेत्रीय भेलामा क्षेत्रभरिका सम्पूर्ण निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय कार्यसमिति सदस्य, प्रदेश कार्यसमिति सदस्य, बुथ सभापति, वडा कार्यसमिति सदस्य, भ्रातृ संघ–संगठनका प्रतिनिधि तथा अगुवा कार्यकर्ताको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

क्षेत्रीय सचिव बलिष्टर अहमदका अनुसार भेला जगरनाथपुर गाउँपालिकाको झखरा मसिहानीमा आयोजना हुनेछ। भेलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको रणनिति तथा पार्टीको वर्तमान अवस्थाबारे विस्तृत छलफल गरिने जनाइएको छ।

क्षेत्रीय सभापति एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा तथा केन्द्रीय सदस्य रमेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला प्रवक्ता रमेश पाण्डे, जिल्ला सहसचिव नविन सिंहलगायत नेताहरूको उपस्थिति रहेको थियो।

परवानीपुर गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न, ठूला करदाता सम्मानित

0

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाकाे हिउँदे गाउँसभाको १७औँ अधिवेशन सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को हिउँदे अधिवेशनका रूपमा सम्पन्न सभामा हालसम्मको प्रगति विवरण र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।

परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न गाउँसभामा आर्थिक वर्ष २०८२/०८३ को साउनयतादेखि हालसम्म कार्यान्वयन भएका योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै चालु आर्थिक वर्षमा स्वीकृत योजना तथा कार्यक्रमको संशोधनसमेत सभाले पारित गरेको छ।

सभामा जनप्रतिनिधिहरूले उठाएका विभिन्न गुनासो र जिज्ञासाको जवाफ दिँदै अध्यक्ष कुर्मीले वडा नं. १ देखि ५ सम्म भौतिक पूर्वाधार निर्माणसँगै स्वास्थ्य, शिक्षा, कृषि र दलित लक्षित कार्यक्रमहरूमा उल्लेखनीय काम भएको बताउनुभयो। उहाँले समृद्ध परवानीपुर गाउँपालिका निर्माणका लागि वडाध्यक्ष, वडासदस्यलगायत सबै जनप्रतिनिधिको भूमिकालाई महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

निर्वाचित भएदेखि विकासका कार्यमा सबैको साथ सहयोग पाएको र आगामी दिनमा अझ प्रभावकारी कामका लागि निरन्तर सहयोगको अपेक्षा रहेको उहाँको भनाइ थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले स्वागत मन्तव्य व्यक्त गर्दै चालु आर्थिक वर्षमा सम्पन्न योजना तथा कार्यक्रमको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।

यसैबीच, गाउँसभाको अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा ठूलो करदाता बनेका ओसिबी फुड्स एण्ड फिड्स प्रा.लि.का सञ्चालक सुरेश रुंगटालाई ९ लाख ६० हजार रुपैयाँ कर बुझाएको योगदानको कदरस्वरूप दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको छ। त्यस्तै, जय श्री हेल्थ केयर प्रा.लि.लाई ६ लाख रुपैयाँ कर समयमै बुझाएकोमा सम्मान गरिएको थियो।

त्यसैगरी, आर्थिक वर्ष २०८१/०८२ मा वडा नं. ५ बहुअरी कार्यालयले उद्योगहरूबाट सहजीकरण गरी १४ लाख १० हजार रुपैयाँ कर संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वडा नं. ५ का वडाध्यक्ष रामेश्वर साह कलवारलाई समेत परवानीपुर गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाई सम्मान गरिएको छ।

पर्सामा ३५० लिटर घरेलु मदिरासहित हाईस गाडी र चालक पक्राउ

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ३५० लिटर तयारी घरेलु मदिरासहित एक हाईस गाडी र चालकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब २ बजे वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर सडकखण्डमा पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१ ज ८६८८ नम्बरको हाईस गाडीलाई प्रहरी टोलीले रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा गाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा करिब ३५० लिटर तयारी घरेलु मदिरा फेला परेको प्रहरीले जनाएको छ।

घरेलु मदिरा ओसारपसारमा संलग्न रहेको अभियोगमा गाडी चालक मकवानपुर मनहरी गाउँपालिकाका वडा नं. २ निवासी ३८ वर्षीय मनोज कुमार थिङलाई नियन्त्रणमा लिइएको हो। बरामद घरेलु मदिरा र गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।