Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 178

क्यासिनोसम्बन्धी दाबी प्रमाणित हुन नसकेपछि रक इन्टरनेशनलले मुद्दा फिर्ता लियो

0

वीरगंज । रक इन्टरनेशनल प्रा.लि. ले वीरगञ्जस्थित स्काईलाइन इन्फ्रा लिमिटेड समेतका विरुद्ध पर्सा जिल्ला अदालत र उच्च अदालत पाटनमा दर्ता गराएका दुवै मुद्दा आफ्नै दाबी प्रमाणित गर्न नसक्ने जनाउँदै फिर्ता लिएको छ।

स्काईलाइन इन्फ्रा लिमिटेड र महाजोङ होल्डिङ्स प्रा.लि. बीच भएको सम्झौता अनुसार वीरगञ्जको स्काईलाइन मलभित्र रहेको होटल सरोवर मा क्यासिनो सञ्चालनमा आएको थियो। सो क्यासिनो सञ्चालनमा रोक लगाउनुपर्ने माग गर्दै रक इन्टरनेशनलले अदालतमा मुद्दा दायर गरेको थियो। क्यासिनो आफूले सञ्चालन गर्न पाउनुपर्ने रक इन्टरनेशनलको दाबी रहेको थियो।

तर अदालतमा पेश गरिएका प्रमाणहरूबाट आफ्नो दाबी सावित गर्न नसक्ने भएपछि रक इन्टरनेशनल स्वयंले दुवै अदालतमा दर्ता गराएको मुद्दा फिर्ता लिएको स्काईलाइन इन्फ्रा लिमिटेडले जनाएको छ।

यसैबीच, केही स्थानीय अनलाइन सञ्चारमाध्यमहरूले यथार्थ नबुझी स्काईलाइन इन्फ्रा लिमिटेडसँग कुनै सम्बन्ध वा जिम्मेवारी नरहेका प्रतिष्ठित व्यवसायी राजेश अग्रवाल को नाम जोडेर “राजेश अग्रवाल अदालत तानिए” तथा “स्काईलाइन लिमिटेडमा क्यासिनो सञ्चालनमा रोक” जस्ता झुठा र भ्रामक शीर्षक प्रयोग गरी समाचार प्रकाशन गरेकोप्रति स्काईलाइन इन्फ्रा लिमिटेडले खेद प्रकट गरेको छ।

सरोकारवाला व्यक्ति वा संस्थासँग सम्पर्क नगरी तथ्य नबुझी प्रकाशित गरिने यस्ता समाचार पत्रकारिता आचारसंहिता तथा प्रचलित ऐन–कानून विपरीत हुने कम्पनीको भनाइ छ। आगामी दिनमा समेत यस्तै खालका भ्रामक तथा चरित्रहत्या गर्ने समाचार प्रकाशित वा प्रसारित भए कानूनी कारबाहीमा जान सकिने चेतावनी स्काईलाइन इन्फ्रा लिमिटेडका प्रशासन प्रमुखले दिएका छन्।

स्काईलाइन इन्फ्रा लिमिटेडले मधेस प्रदेशको वीरगञ्जमा सुविधासम्पन्न स्काईलाइन मल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। मधेस प्रदेशकै उत्कृष्ट परियोजनामध्ये एक मानिने यस मलअन्तर्गत चारतारे होटल सरोवर पोर्टिको, क्युएफएक्स सिनेमा, केएफसी, विभिन्न ब्रान्डका विद्युतीय उपकरण बिक्री कक्ष, एप्पल मोबाइल शोरुमलगायतका सेवा उपलब्ध छन्।

त्यसैगरी मलभित्र फिटनेस सेन्टर, स्पा, ब्युटी प्रोडक्ट्स शोरुम तथा ब्याङ्क्वेट हलको सेवा पनि सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।

पर्सा–२ मा रास्वपाबाट सुशिल साह कानु उम्मेदवार

0

वीरगंज । पर्सा क्षेत्र नम्बर २ बाट वीरगंज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष सुशिल साह कानु प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने भएका छन्।

रास्वपाले कानुलाई पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको टिकट प्रदान गरिएकाे जानकारी प्राप्त भएकाे छ। पार्टी स्रोतका अनुसार शुक्रबार राति उनलाई औपचारिक रूपमा उक्त क्षेत्रबाट चुनाव लड्न टिकट दिइएको हो ।

कानुलाई रास्वपाका बरिष्ठ नेता बालेन साह र रास्वपा सभापति रवि लामिछाने समूहको समर्थनमा उम्मेदवार बनाइएको बताइएको छ।

यसैबीच, चुनावी प्रचार–प्रसारका क्रममा बालेन साह र रवि लामिछाने स्वयं वीरगंज आउने तयारीमा रहेको जानकारी पनि प्राप्त भएको छ। दुबै नेताकाे आगमनसँगै पर्साको चुनावी माहोल थप तातिने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

वडाध्यक्ष कानुको उम्मेदवारीसँगै पर्सा क्षेत्र नम्बर २ मा रास्वपाको संगठन तथा चुनावी रणनीति थप मजबुत हुने अपेक्षा गरिएको छ।

श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता सुरु, साउथ जोन र म्यारिगोल्ड विजयी

0

वीरगंज । डी.ए.भी. आर.बी. केडिया स्कूलद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” अन्तर्गत आइतबार प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन्।

आइतबार सम्पन्न पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कूलले गौतम सेकेन्डरी स्कूललाई ३–१ गोल अन्तरले पराजित गरेको छ। प्रतिस्पर्धात्मक खेलमा साउथ जोन सेकेन्डरी स्कूलका ज्ञानराज चौधरी उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यसैगरी दोस्रो खेलमा मेरीगोल्ड सेकेन्डरी स्कूलले बिकन सेकेन्डरी स्कूललाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। उक्त खेलमा मेरीगोल्ड सेकेन्डरी स्कूलका निखिल चौधरी उत्कृष्ट खेल प्रदर्शनका कारण ‘म्यान अफ द म्याच’ बन्न सफल भए।

प्रतियोगिताबारे जानकारी दिँदै डी.ए.भी. आर.बी. केडिया स्कूलका प्रिन्सिपल राकेश मिश्राले विद्यालयस्तरमा खेलकुदको विकास, अनुशासन तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार आगामी दिनहरूमा अझै रोचक र प्रतिस्पर्धात्मक खेलहरू हुनेछन्।

उक्त प्रतियोगितामा वीरगंजका विभिन्न १४ वटा विद्यालयहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

पर्सागढीमा रास्वपाको नगर समिति पुनर्गठन, सभापतिमा आर्याल

0

वीरगंज । पर्साको पर्सागढी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो नगर भेला तथा नगर समिति पुनर्गठन कार्यक्रम आइतबार सम्पन्न भएको छ।

भेलाले कविराज आर्यालको सभापतित्वमा १२ सदस्यीय पर्सागढी नगर समिति पुनर्गठन गरेको हो। समितिको उपसभापतिमा सुनिल रायभर, सचिवमा सर्फु आलम अन्सारी तथा कोषाध्यक्षमा सम्झना कार्की सुवेदी चयन भएका छन्।

त्यसैगरी नगर समितिका सदस्यहरूमा ध्रुवबहादुर खड्का, रबिराज यादव, पुरिन्द्र राम, महमराज सिंह, सनोज कुमार, केदार ठाकुर, धिरेन्द्र राउत र हरेराम राम रहेका छन्।

पर्सागढी नगरपालिका–३ बडनिहार बजारस्थित खेलमैदानमा आयोजित भेलाको उद्घाटन रास्वपाका मधेस प्रदेश संगठन विभाग प्रमुख प्रमोद कुमारले गरेका थिए।

रास्वपा पर्सा क्षेत्र नम्बर–२ का क्षेत्रीय उपसभापति शान्ति ढकाल पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका प्रदेश सदस्य पुरुषोत्तमदेव उपाध्याय, शिक्षा विभाग प्रमुख सोनालाल पटेल, पर्सा क्षेत्र नम्बर–३ का सभापति मनोज प्रसाद कुर्मी, पोखरिया नगर सभापति प्रदीप कुमार पटेल, बहुदरामाई नगर सभापति चन्दन यादव, रबिराज यादव, नवराज घिमिरेलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य युवा नेता समीर अन्सारीले व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण नवनिर्वाचित सचिव सर्फु आलम अन्सारीले गरेका थिए।

जिराभवानी र पटेर्वासुगौलीमा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रकाे उद्घाटन

0

सेढवा । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले कृषि तथा पशुपन्छी सेवा केन्द्रबाट किसानले धेरैभन्दा धेरै फाइदा लिनुपर्नेमा जोड दिएका छन् । पर्साको जिराभवानी र पटेर्वासुगौली गाउँपालिकामा निर्माण गरिएका कृषि तथा पशुपन्छी सेवा केन्द्रका नव–निर्मित आधुनिक भवन पालिकालाई हस्तान्तरण तथा उद्घाटन गर्दै मन्त्री परियारले यस्तो बताएका हुन्।

उनले कतिपय स्थानमा करोडौंको लगानीमा बनेका सरकारी संरचना प्रयोगविहीन भई खण्डर बन्दै गएको उल्लेख गर्दै, अब यी भवन पालिकाको स्वामित्वमा आइसकेपछि प्रभावकारी रूपमा सञ्चालन गरी आम नागरिकलाई सरल र सुलभ सेवा दिन जनप्रतिनिधिलाई आग्रह गरे।

मन्त्री परियारका अनुसार यी सेवा केन्द्रमार्फत किसानले माटो परीक्षण, बीऊ परीक्षण, बालीमा लाग्ने विभिन्न रोगको सूक्ष्म परीक्षण तथा उपचार सेवा लिन सक्नेछन् । साथै पशुपन्छीको रक्त परीक्षणमार्फत रोग पहिचान गरी समयमै उपचार गर्दा व्यवसायिक तथा परम्परागत पशुपालनमा हुने ठूलो क्षतिबाट किसान जोगिन सक्ने उनले बताए । यसका लागि भवनको नियमित मर्मत, आधुनिक उपकरणको संरक्षण, आवश्यक केमिकल तथा दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा संघीय सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डा. चन्द्र प्रसाद रिसालले विश्व बैंकको ऋण सहयोगमा यो आयोजना देशका ६ प्रदेशका ३५ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार १७१ पालिकामध्ये ७४ पालिकामा आयोजना लागू भएको छ भने मधेश प्रदेशमा मात्र ८४ पालिकामा काम भइरहेको छ । हालसम्म २५ पालिकामा भवन हस्तान्तरण सम्पन्न भइसकेको उनले बताए।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना तथा आर्थिक करिडोर कार्यालय बर्दिबास, महोत्तरीको आयोजनामा जिराभवानी गाउँपालिका वडा नं. ३ मा नव–निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको हस्तान्तरण तथा उद्घाटन गरिएको थियो । जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, आर्थिक करिडोर बर्दिबासका प्रमुख राजेश यादव, कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख बिशेश्वर प्रसाद यादव, जनप्रतिनिधि तथा किसानहरूको सहभागिता रहेको थियो।

त्यस्तै, पटेर्वासुगौली गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले सभापतित्व गरेका थिए । दुई तल्ले आधुनिक भवनमा कृषि तथा पशुपन्छी सम्बन्धी परीक्षणका अत्याधुनिक उपकरण, फर्निचर, अपाङ्गमैत्री तथा महिलामैत्री संरचना रहेको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले वताए । साथै पशुपन्छी रोगका कारण मृत्यु भएमा सम्भावित जीवाणु वातावरणमा फैलिन नदिन आधुनिक प्रविधिबाट नष्ट गर्ने प्रणाली समेत जडान गरिएको जनाइएको छ ।

रुपेश पाण्डे औपचारिक रुपमा एमालेमा प्रवेश

0

वीरगंज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नं. २ निवासी युवा नेता रुपेश पाण्डे शनिबार औपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा उनलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा र माला लगाएर पार्टीमा स्वागत गरेकाे जिल्ला सचिव महेश दासले जानकारी दिए ।

साे अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानलगायतको समेत उपस्थिति रहेको थियो।

यसअघि नै पार्टीका क्षेत्रीय तथा जिल्ला समितिले पाण्डेको नाम पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरिसकेको छ।

परवानीपुरमा पाँचौँ गोल्डकप फुटबल प्रतियोगिता चैत ७ देखि

0

वीरगंज । शक्ति युवा क्लबको आयोजनामा पाँचौँ परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। आगामी चैत ७ गतेदेखि परवानीपुर खेल मैदानमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको हो।

क्लबका अध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्षतामा शनिबार बसेको बैठकले प्रतियोगिताको संयोजकमा वरिष्ठ उपाध्यक्ष सञ्जय मण्डल र सह–संयोजकमा उपाध्यक्ष दिपक यादवलाई जिम्मेवारी तोकेको छ।

यस्तै बैठकले आगामी माघ १७ गते क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा बनभोज कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ। बनभोज कार्यक्रमको व्यवस्थापनका लागि उपाध्यक्ष हुलास यादव र कोषाध्यक्ष सोनालाल मण्डललाई जिम्मेवारी दिइएको महासचिव ध्रुव प्रसाद साहले जानकारी दिए।

क्लबलाई नियमित र चलायमान बनाउने उद्देश्यले प्रत्येक महिनामा बैठक बस्ने निर्णयसमेत बैठकबाट गरिएको छ।
बैठकमा क्लबका सल्लाहकार राज महम्मद मियाँ र उमेद राम, तथा सदस्यहरू मनोज मिश्र, तिवारी यादव, इमाम आलम, रमेश सर्राफ, सलिम आलम, मनिर आलम लगायतको उपस्थिति रहेको थियो।

पर्साका चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

0

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वीरगञ्जको राधेमाईस्थित जिल्ला समन्वय समिति कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो ।

जिल्ला निर्वाचन कार्यालय पर्साकी जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियारका अनुसार निर्वाचन कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र समयमै सञ्चालन गर्न कार्यालय स्थापना गरिएको हो । उनले तोकिएका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन प्रक्रिया सुरक्षित र सहज रूपमा अघि बढाइने बताइन् ।

मुख्य निर्वाचन अधिकृत तथा पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन कार्यक्रम अघि बढाइएको जानकारी दिए । उनले प्रशासन, सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्दै निष्पक्ष, भयरहित र कानुनसम्मत निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता जनाए ।

पर्सा जिल्लामा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति परिसरमै स्थापना गरिएको छ भने क्षेत्र नं. ३ को कार्यालय पोखरिया नगरपालिकास्थित विद्युत प्राधिकरणको कार्यालयमा र क्षेत्र नं. ४ को कार्यालय धोबिनी गाउँपालिका कार्यालय नजिकै सञ्चालनमा ल्याइएको छ ।

जिल्लामा कुल ४४३ वटा मतदान केन्द्रमार्फत मतदान गराइनेछ । तीमध्ये ४४१ वटा नियमित र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । अस्थायी मतदान केन्द्र वीरगञ्ज कारागार र नेपाली सेनाको श्रीजंग गणमा रहनेछन् । कारागारमा रहेका कैदीबन्दीले त्यहीँ मतदान गर्नेछन् भने सुरक्षाकर्मी तथा निर्वाचनमा खटिने कर्मचारीहरूले श्रीजंग गणबाट मत दिने व्यवस्था गरिएको छ ।

निर्वाचन क्षेत्रगत रूपमा क्षेत्र नं. १ मा १०३, क्षेत्र नं. २ मा ११० तथा क्षेत्र नं. ३ र ४ मा समान रूपमा ११४–११४ वटा मतदान केन्द्र तोकिएका छन् । यसैगरी जिल्लाभर १६७ वटा मतदान स्थल कायम गरिएका छन् ।

पर्सा जिल्लामा कुल मतदाता संख्या ३ लाख ७६ हजार ५१३ रहेको छ । जसमा १ लाख ६४ हजार ४२१ महिला, २ लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन् । फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका मतदातालाई मतदाता सूचीमा समावेश गरिएको जिल्ला निर्वाचन अधिकारी रौनियारले जानकारी दिइन् ।

कार्यालय स्थापना कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्ट, अनुसन्धान कार्यालय पर्साका उपनिर्देशक सन्तोष ढुङ्गेल तथा निर्वाचन अधिकृतहरूको उपस्थिति रहेको थियो ।

पटेर्वासुगौलीमा थारु सम्बत २६५० को अवसरमा पाँचौँ माघी खिचडी महोत्सव उत्साहपूर्वक सम्पन्न

0

सेढवा । “थारु एकता और मौलिकता हमनीके शान, थारु भाषा संस्कृति और परम्परा हमनीके पहिचान” भन्ने नारासहित पर्साको पटेर्वासुगौली गाउँपालिकामा थारु सम्बतको नयाँ वर्ष २६५० तथा पाँचौँ माघी खिचडी महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

पटेर्वासुगौली गाउँपालिकाको आयोजनामा वडा नं. ४ को खुल्ला मैदानमा आयोजित उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्व तथा साबिक गाबिस पटेर्वासुगौलीका भूपू अध्यक्ष एवं जेष्ठ नागरिक परमेश्वर गौरोको प्रमुख आतिथ्यमा हर्षोल्लासका साथ सम्पन्न भएको हो।

महोत्सवमा राष्ट्रिय थारु कलाकार स्वस्तिका चौधरी, राष्ट्रिय थारु कलाकार तथा गायक सागर चौधरी र नेपाली निरहुवाले आकर्षक सांस्कृतिक प्रस्तुति दिँदै दर्शकहरूलाई झुमाएका थिए। साथै जिल्ला स्तरीय स्थानीय नृत्य समूहहरूबीच नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा पकडिया यूनिक ग्रुप प्रथम, ब्रह्मबाबा समूह फरहदवा द्वितीय र गुदरबाबा समूह सुगौली तृतीय भएका छन्। प्रथम हुने समूहलाई २१ हजार, द्वितीयलाई ११ हजार र तृतीयलाई ७ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको थियो।

माघी मेलामा थारु परिकारका रूपमा हाँस, कुखुरा, परेवा मासु, घोंगी तथा सानो माछाका विभिन्न परिकारका स्टलहरू राखिएका थिए। साथै गाउँपालिकाको सहयोगमा उत्पादन गरिएको मसला तथा हाईजेनिक तरकारीका स्टलहरूले पनि मेलालाई थप आकर्षक बनाएका थिए।

यसैबीच, माघी मेलाको अवसरमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो। नवजागृत युवा क्लब, पटेर्वासुगौली गाउँपालिका वडा नं. ४, पर्साको आयोजनामा तथा गाउँपालिकाको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका आयोजकले जानकारी दिएका छन्।

जिराभवानीमा थारु सम्बत २६५० को अवसरमा माघी महोत्सव भव्य रूपमा सम्पन्न

0

सेढवा । थारु सम्बत २६५० को नयाँ वर्ष तथा थारु समुदायको महान पर्व माघीको अवसरमा जिराभवानी गाउँपालिका वडा नं. ३ नौकाटोला चौकमा माघी महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

जिराभवानी गाउँपालिकाको आयोजना तथा वडा नं. ३ का युवा समाजको व्यवस्थापनमा आयोजित उक्त महोत्सव वडा नं. ३ का वडाध्यक्ष सुरज राय थारुको सभापतित्व तथा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

महोत्सवका क्रममा थारु समुदायको दैनिकीमा प्रयोग हुने कुटो, कोदालो, माछा मार्न प्रयोग गरिने खोखी, डेली लगायत विभिन्न सामग्री तथा पम्प प्लेट बोकी बाजा–गाजासहित मन्त्री चौधरी, गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीहरूले गाउँ परिक्रमा गर्दै कार्यक्रम स्थल पुगेका थिए।

कार्यक्रममा वक्ताहरूले माघी पर्वको शुभकामना व्यक्त गर्दै थारु समुदायको कला, संस्कृति, पहिरन, भाषा र खानाका परिकारको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएका थिए। साथै थारु समुदायभित्र लागू औषध दुर्व्यसन तथा भोज–भत्तेरमा हुने अनावश्यक खर्च न्यूनिकरण गर्न आग्रह गरिएको थियो।

महोत्सवमा राष्ट्रिय थारु कलाकार मुस्कान चौधरी, निशा चौधरी र नेपाली निरहुवाले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। त्यसैगरी पालिकाभित्रका छात्रछात्राहरूले विभिन्न नृत्य प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, जनता समाजवादी पार्टीका नेता डा. कृपासिन्धु चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरि, वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, दारा सिंह राउत थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।