Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
Home Blog Page 177

बलुवामा करिबा ५० जना जनमत पार्टीमा प्रवेश, ३१ सदस्यीय बूथ समिति गठन

पर्सा । पर्सा क्षेत्र नम्बर–४ काे जिराभवानी गाउँपालिका वडा नं. १ बालुवा टोलमा करिब ५० जना महिला–पुरुष जनमत पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा ३१ सदस्यीय बूथ समिति पनि गठन गरिएको छ।

जनमत पार्टीका गाउँपालिका अध्यक्ष राम प्रवेश चौधरीको अध्यक्षता र जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेश सदस्य बृजेश्वर प्रसाद चौधरी, जिल्ला वरिष्ठ नेता जगदीश पटेल, प्रादेशिक क्षेत्रीय संयोजक गौरीशंकर पटेल, जगरनाथपुर गाउँपालिका समितिका अध्यक्ष इ. सुनिल मुखिया, युवा जिल्ला वरिष्ठ उपाध्यक्ष धिरेन्द्र पन्जियार, स्थानीय नेता रनु यादव लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला अध्यक्ष सर्राफले देश विकासकाे लागि जनमत पार्टीमा गाेलबन्ध हुन सबैलाई आग्रह गरे । उनले नवप्रबेशी र नवगठित समितिलाई बधाई दिदै देश विकासकाे भ्रष्टाचार विरुद्ध अभियान जरुरी रहेकाे वताए ।

जनमत पार्टीले हाल पर्साका टोल–टोल, गाउँ–गाउँमा संगठन विस्तारलाई तीव्रता दिएको जनाएको छ ।

मानव बेचबिखनविरुद्ध उत्कृष्ट अभियानका लागि पर्सा प्रहरी प्रमुख सम्मानित

वीरगंज । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई सम्मान गरेको छ।

७७ वटै जिल्ला प्रहरी कार्यालयहरूमध्ये मानव बेचबिखनविरुद्धको प्रभावकारी अभियान सञ्चालन गरी पर्सा प्रहरीले पहिलो स्थान हासिल गरेको हो । एसपी मिश्र ७ महिना अघि पर्सा प्रहरी प्रमुखका रूपमा हाजिर भएपछि मानव बेचबिखनविरुद्ध कठोर अभियान चलाएका थिए ।

उनको कार्यकालमा १५ वटा मुद्दा दर्ता, १७ जना अभियुक्त पक्राउ, करिब ३०० जना जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार, ३५० भन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन र विभिन्न सरोकारवालासँग अन्तरक्रिया गरी अपराध नियन्त्रणमा ठोस उपलब्धि हासिल गरिएको छ ।

महिला तथा बालबालिका मन्त्रालयले यिनै उपलब्धिहरूका आधारमा पर्सा प्रहरीलाई ‘मानव बेचबिखनविरुद्ध उत्कृष्ट जिल्ला’ घोषणा गर्दै प्रमुख मिश्रलाई सम्मानित गरेको हो ।

लिटिल बड्डी प्री-स्कुलले हैजा नियन्त्रणका लागि सचेतना जगाउँदै

वीरगंज । वीरगंज महानगरपालिकामा फैलिएको हैजा नियन्त्रण र सचेतना अभिवृद्धिका उद्देश्यले लिटिल बड्डी प्री-स्कुलले विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार विद्यालयका शिक्षकहरूको टोलीले वीरगंज–८ पानीटंकीका घर–घरमा पुगेर सरसफाइसम्बन्धी गतिविधि सञ्चालन गर्दै खानेपानी उमालेर पिउनु, साबुन पानीले हात धुने, सफा खाना खाने तथा वरिपरिको वातावरण स्वच्छ राख्ने जस्ता व्यवहारिक अभ्यासलाई प्रोत्साहन गरेका थिए ।

विद्यालय एक साताका लागि बन्द भए पनि पुनः सञ्चालनसँगै जनचेतना अभियानलाई प्राथमिकता दिइएको प्रिन्सिपल विजय कुमार बलले जानकारी दिए । उनले भने, “हैजा नियन्त्रणका लागि समुदायमा सचेतना फैलाउनु अत्यन्त जरुरी छ, र हाम्रो यो प्रयास निरन्तर रहनेछ।”

वीरगंज महानगरकाकाे विभिन्न वडामा देखिकाे हैजा संक्रमण नियन्त्रणकाे लागि यस्ता कार्यक्रमले सहयाेग पुग्ने विद्यालयले विश्वास व्यक्त गरेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय वीरगंजमा : अपराध नियन्त्रणमा समन्वयकारी भूमिका निर्वाह गर्ने

वीरगंज । हालै वीरगंजमा स्थापना भई सञ्चालनमा आएको मधेस प्रदेश प्रहरी कार्यालयले शान्ति–सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार वीरगंजमा पत्रकारहरूसँग आयोजित भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रदेश प्रहरी कार्यालय वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोईरालाले मधेस प्रदेशका आठवटै जिल्लाका प्रहरी कार्यालयहरूसँग सहकार्य गर्दै अपराध नियन्त्रण, अनुसन्धान, रोकथाम तथा मानव संसाधन व्यवस्थापनमा समन्वयकारी भूमिका खेलिने जानकारी दिए ।

उनले विशेषगरी सामाजिक अपराधहरू अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै अपराध नियन्त्रणमा सबै सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य भएको बताए । “सीमित स्रोतसाधन र कानुनी संरचनाका बाबजुद पनि हामी निरन्तर शान्ति सुव्यवस्था कायम गर्न प्रतिबद्ध छौँ। संघीय प्रहरी ऐन जारी भएपछि हाम्रो काम अझ सहज र प्रभावकारी हुनेछ,” एसएसपी कोईरालाले भने।

संघीयता कार्यान्वयनसँगै सन् २०७५ मा जनकपुरमा स्थापना भएको प्रदेश प्रहरी इकाइलाई २०७८ साल फागुन ५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार हाल वीरगंजमा स्थानान्तरण गरिएको हो । वीरगंजस्थित कार्यालयले अपराधसम्बन्धी सूचना संकलन, विश्लेषण, फैसला कार्यान्वयन र विभिन्न निकायहरूसँग समन्वयलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

कार्यक्रममा एसएसपी कोईरालाले पत्रकारहरूसँग निरन्तर सहकार्य गर्दै सुरक्षा सम्बन्धी सूचना आदानप्रदान गर्न पनि आग्रह गरे ।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर असहमति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। महासंघले यो कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष संकुचन ल्याउने चेतावनी दिएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तत्काल प्रभावले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय नागरिकको सूचना पाउने हक र प्रेस स्वतन्त्रतामाथि नकारात्मक असर पार्ने उल्लेख गरिएको छ। कुनै वैकल्पिक व्यवस्था नगरी सामाजिक सञ्जाल बन्द गर्नु नागरिकको मौलिक हकप्रति धक्का भएको भन्दै महासंघले सरकारको कदमप्रति आश्चर्य व्यक्त गरेको छ।

विज्ञप्तिमा सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्नुपर्ने पक्षमा महासंघ पनि रहेको तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर पर्ने गरी सञ्चार माध्यमलाई नियन्त्रण गर्ने प्रयास अस्वीकार्य हुने स्पष्ट पारिएको छ। साथै, महासंघले नागरिकको सूचनाको हकलाई सम्मान गर्दै लगाइएको प्रतिबन्ध हटाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारसँग जोडदार माग गरेको छ।

मधेस प्रदेश स्तरीय किशोर–किशोरी भेला २०८२ बर्दिबासमा सम्पन्न

वीरगंज । मधेस प्रदेश स्तरीय किशोर–किशोरी भेला २०८२ बर्दिबासस्थित रेड क्राउन होटलमा बिहिबार सम्पन्न भएको छ । किशोर राष्ट्रिय किशोर सञ्जाल र राष्ट्रिय किशोरी सञ्जालकाे आयोजनामा भएकाे कार्यक्रमकाे संयोजक सिविन नेपाल र Girls Not Brides संस्था रहेका थिए । कार्यक्रममा Save the Children ले सहयोग गरेको थियो।

राष्ट्रिय किशोरी सञ्जालकी महासचिव कृतिका धितालकाे अध्यक्षता र खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधान, NIRN Nepal का अध्यक्ष भिक्षु पियादशी, Girls Not Brides Nepal की अध्यक्ष निरजिना भट्ट, राष्ट्रिय किशोर सञ्जालका केन्द्रीय सदस्य रुपेश दासलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

मन्त्री जयसवालले आफ्नो मन्तव्यमा मधेस प्रदेशमा असमानता, विकृति, जातीय विभेद, बालविवाह र छिट्टै हुने विवाह जस्ता समस्याहरू समाधान गर्न संघीय, प्रदेश र स्थानीय सरकार तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए । उनले बालिका सशक्तिकरणका लागि बालिका संरक्षण ऐन, नीति तथा बालिका कोष जस्ता कार्यक्रम पहिलोपटक मधेस प्रदेशले सञ्चालन गरेको उल्लेख गर्दै महिलामैत्री कार्यक्रमहरूमा विशेष प्राथमिकता दिइएको जानकारी दिए ।

साथै, यस वर्षको बजेटमा पर्याप्त स्रोत छुट्याइएको र सामूहिक विवाह कार्यक्रमलाई समेत नीति तथा कार्यक्रममा समावेश गरी दहेज प्रथा, बालविवाह र छिट्टै हुने विवाह न्यूनीकरणमा जोड दिएको बताए ।

दुई दिनसम्म चलेको कार्यक्रममा साइबर सुरक्षासम्बन्धी चेतना, यौन तथा प्रजनन स्वास्थ्य, बालविवाह र बालश्रम अन्त्यका उपाय, साथै आठ जिल्लाका समस्याहरू प्रदर्शन गरिएको थियो।

हैजा नियन्त्रणका लागि वीरगंज महानगरपालिकाद्वारा अन्तरक्रिया

वीरगंज । हैजा रोग नियन्त्रणका लागि वीरगंज महानगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उपप्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको बैठकमा हैजासम्बन्धी सचेतना, रोकथाम र नियन्त्रणका उपायबारे सुझाव संकलन गरिएको थियो।

बक्ताहरूका अनुसार झाडापखाला जस्तो देखिने हैजा गम्भीर प्रकृतिको रोग हो, जसको लक्षण संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र देखापर्न सक्छ । हैजाको मुख्य स्रोत फोहोर र दूषित पानी भएको बताउँदै सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइयो । हैजाबाट बच्न शौचालय प्रयोग गर्ने, हात साबुनपानीले राम्रोसँग धुने, उमालेको वा फिल्टर गरिएको पानी मात्र खाने, तरकारी तथा सलाद सफा पानीले धोएर मात्र खाने जस्ता सुझावहरू प्रस्तुत गरिए ।

महानगरपालिकाले झाडापखाला र हैजाको प्रकोप देखिएपछि आफ्नै प्रयोगशालामार्फत खानेपानी परीक्षण सुरु गरेको छ। वडा नं. १०, ११ र १२ का विभिन्न धाराबाट पानीका नमुना संकलन गरी माइक्रोबायोलोजिस्ट अजय मण्डल नेतृत्वको प्राविधिक टोलीले परीक्षण कार्य अगाडि बढाएको उपप्रमुख आलमले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, नारायणी अस्पतालका मे.सु. डा. चुमन लाल दास, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्साल, महानगरपालिकाका प्रशासन शाखा प्रमुख सुनिल कुमार कर्णलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।

मन्त्रीलाई धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहलाई धरौटीमा छाडने आदेश

0

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमा धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहलाई पर्सा जिल्ला अदालतले धराैटी छाेडन आदेश दिएकाे छ ।

न्यायाधीश कमलकान्त जोशीको इजलाशले कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुर स्थायी घर भएकी हाल वीरगंज १३ मुर्ली निवासी साहलाई ५ हजार धराैटीमा छाेडन आदेश दिएकाे पर्सा जिल्ला अदालतका सूचना अधिकारी रामनरेश महतोले जानकारी दिए ।

मन्त्री यादवका स्वकिय सचिव हरिन्द्र साहकाे जाहेरी दरखास्तकाे आधारमा टिकटकर समेत रहेकी साहलाई गत शनिबार प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे थियाे । जिल्ला प्रहरी कार्यालय पर्साले विधुतिय काराेबार सम्बन्धि कसुर लगायतकाे मुद्दाकाे फाइल सरकारी वकिल कार्यालयम बुझाएपछि बिहिबार पर्सा जिल्ला अदालतमा थुनछेक बहस भएको थियाे ।

पक्राउ परेकी किरणकाे तर्फबाट अधिवक्ताहरु विनोद कुमार मल्लिक, राकेश मल्लिक र अजय स्वर्णकारले बहस गरेका थिए । किरणसंगै राैतहटका पत्रकार अभिमन्नु पटेल भन्ने अभिमनु राउतमाथी पनि सरकारी वकिलको कार्यालयले अदालमा अभियोग पत्र दर्ता गरेको छ ।

किरणले वीरगंजमा फैलिएकाे हैजा संक्रमण विषयमा मन्त्री यदावसंग फाेनमा चक्राे अवाजमा बहस गरेकी थिइन । आक्राेशित देखिएका किरणले बहस कै क्रममा मन्त्री यादवलाई ज्यान मार्ने धम्की समेत दिएकाे अडियाे समाजिक संजालमा भाइरल भएकाे थियाे ।

लायन्स क्लबहरूद्वारा हैजा नियन्त्रणका लागि सचेतना

वीरगंज । हैजाको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीको आयोजनामा विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लायन्स क्लब अफ वीरगंज सुप्रिम, ह्युम्यानिटी, गेटवे, संस्कृतिगोल्डको सहआयोजनासहित नाटा वीरगंज र स्काउट वीरगंजले सहयोग गरेका थिए।

कार्यक्रम इन्दु लखा आधारभूत विद्यालय, कञ्चनजंघा इंग्लिस स्कूल र श्री माईस्थान विद्या पीठ माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा प्रथम उप–जिल्ला गर्भनर लायन रामबिहारी पाण्डे, लायन अशोक बेरीवाल र लायन नरोत्तम पाण्डेको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीका अध्यक्ष तथा समन्वयकर्ता लायन उमेशकुमार शाह, सबै क्लब अध्यक्षहरू र सदस्यहरूको सक्रियता उल्लेखनीय रह्यो । साथै विद्यालयका प्राचार्य मार्टिन मोक्तान तथा प्रशासनको सहयोगप्रति विशेष आभार व्यक्त गरिएको छ।

लायन्स क्लब अफ वीरगंज सुप्रिमका अनुसार हैजा नियन्त्रण र सचेतनामार्फत सुरक्षित र स्वस्थ समुदाय निर्माण गर्न निरन्तर प्रतिबद्धता जनाइएकाे छ।

किरण साहको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहको मुद्दामा बहस सकिएको छ ।

मन्त्री यादवका स्वकिय सचिव हरिन्द्र साहकाे जाहेरी दरखास्तकाे आधारमा प्रहरीले कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुर स्थायी घर भएकी हाल वीरगंज १३ मुर्ली बस्दै आएकी टिकटकर साहलाई गत शनिबार नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय पर्साले विधुतिय काराेबार सम्बन्धि कसुर लगायतकाे मुद्दाकाे फाइल सरकारी वकिल कार्यालयम बुझाएपछि आज जिल्ला अदालत पर्सामा थुनछेक बहस भएको हो । आवश्यक अनुसन्धान सम्पन्न भएपछि फाइल बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेपछि आज जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलाश नं. ९ मा थुनछेक बहस सम्पन्न भएको अदालत स्रोतले जनाएको छ । स्रोतका अनुसार आजै अदालतबाट साहलाई धरौटीमा रिहा वा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश आउने सम्भावना छ।

प्रहरी हिरासतमा रहेकी साहसंगै राैतहटका पत्रकार अभिमन्नु पटेल भन्ने अभिमनु राउतमाथि पनि सरकारी वकिलकाे कार्यालयले विधुतिय काराेबार सम्बन्धि कसुरमा अभियाेग पत्र दर्ता गरेकाे छ । साहकाे तर्फबाट आज तिन जना अधिवक्ताहरुले बहस गरेका छन् ।