Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
Home Blog Page 122

मिडिया काउन्सिलद्वारा ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक गाेष्ठि सम्पन्न

कलैया । बाराको कलैयामा बुधबार ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा सम्पन्न उक्त गोष्ठीको उद्घाटन पूर्व मुख्यमन्त्री एवं प्रदेश सांसद जितेन्द्र सोनलले गरेका थिए।

गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री सोनलले देश विकासका लागि सकारात्मक सोच अपरिहार्य रहेको बताए । सञ्चार माध्यमको विकासका लागि पनि सकारात्मक सोचसँगै विषयगत विज्ञता आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सोनलले पत्रकारितामा समाचारको विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले राज्यले सञ्चारमाध्यमको नियमन गर्दै संरक्षण र प्रवर्द्धनको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरे ।

राजनीतिक सन्दर्भमा बोल्दै सोनलले तोकिएको मितिमै निर्वाचन हुनुपर्ने बताए । तोकिएको समयमा चुनाव नभए मुलुक थप द्वन्द्वमा फस्न सक्ने चेतावनी दिँदै उनले समयमै निर्वाचन गराउन सबै पक्षको प्रयास र पहल आवश्यक रहेकोमा जोड दिए ।

मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, कोषाध्यक्ष अनिल गौरो, पर्साका अध्यक्ष ओमप्रकाश खनाल, मिडिया काउन्सिल मधेस प्रदेशकी सदस्य बन्धना कुमारी झा, रिंकु मिश्र लगायतले सञ्चार क्षेत्रका अवस्था र चुनौतीबारे आफ्ना धारणा राखेका थिए ।

कलैयास्थित होटल सर्वोत्तममा सम्पन्न उक्त कार्यक्रममा पर्सा र बाराका चार दर्जनभन्दा बढी विभिन्न सञ्चारमाध्यमका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

इप्रका पाेखरियाद्वारा गाँजासहित भारतीय युवक पक्राउ, मोटरसाइकल र नगद बरामद

पाेखरिया । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नम्बर २ मा चेकजाँचका क्रममा लागुऔषध गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब २:१५ बजे इलाका प्रहरी कार्यालय पाेखरिया तथा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले जगरनाथपुरबाट जानकीटोला तर्फ आउँदै गरेको बीआर २२ बीएल ०६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकल चालक भारत बिहार राज्य पश्चिम चम्पारण जिल्ला ग्राम पञ्चायत नरकटिया वडा नम्बर ११ निवासी अन्दाजी २६ वर्षीय सुमित कुमारको शरीर तलासी गर्दा प्लास्टिकले शरीरमा बेरेर ल्याइएको ३.१२० किलोग्राम लागुऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ । साथै चालकको साथबाट भारु २६ हजार ५०० नगदसमेत बरामद गरिएको छ ।

लागुऔषध, नगद तथा मोटरसाइकलसहित सुमितलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई थप कडा बनाइएको जनाएको छ ।

सशस्त्र प्रहरीद्वारा धुतहा खोलाबाट १२० के.जी. गाँजा बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले १२० के.जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल विओपी प्रसौनिभाठाबाट बुधबार खटिएको गस्ती टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनिभाठा गाउँस्थित धुतहा खोलाको किनारबाट साे गाँजा बरामद गरेको हो।

गस्तीका क्रममा नेपालबाट भारततर्फ प्रतिबन्धित लागुऔषध बोकेर लैजाँदै गरेका केही व्यक्तिहरुले सुरक्षाकर्मीलाई देख्नासाथ ८ वटा प्लास्टिकका पोका छोडी फरार भएका थिए । उक्त पोकाहरु खोल्दा जम्मा १२० के.जी. लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिए ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा गस्तीलाई थप कडा बनाइएको जनाएको छ ।

जगरनाथपुरकाे सुहपुर सोहरीमा स्वास्थ्य सेवा इकाईकाे स्थापना, पूर्वमन्त्री रिजालद्वारा उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुर सोहरीमा स्थानीय नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गाउँपालिकाले बुधबारदेखि सामुदायिक स्वास्थ्य सेवा इकाई सञ्चालनमा ल्याएको छ।

सुहपुर सोहरीमा नवनिर्मित सामुदायिक स्वास्थ्य सेवा इकाईको कार्यालय पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं पर्सा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद रमेश रिजालले बुधबार औपचारिक रूपमा उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री रिजालले गाउँघरमै सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा उपलब्ध हुने भएकाले त्यसप्रति विश्वास राखी सेवा लिन स्थानीय बासिन्दालाई आग्रह गरे। शहरबजारका निजी अस्पतालमै मात्र राम्रो उपचार पाइन्छ भन्ने मानसिकता परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बोल्दै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले सामुदायिक स्वास्थ्य सेवा इकाईको स्थापनासँगै स्थानीय नागरिकले आफ्नै वडामै गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे। उनले गाउँपालिकाले जनताको स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवामा प्राथमिकता दिँदै विकासका कामलाई अघि बढाइरहेको बताए।

यसअघि वडा नम्बर ४ कै जगरनाथपुरमा मात्रै स्वास्थ्य चौकी सञ्चालनमा रहेकाले सोहपुर, सोहरी र हरपुर गरी तीन गाउँका स्थानीयबासीलाई उपचारका लागि जगरनाथपुर नै जानुपर्ने बाध्यता रहेको थियो। सो बाध्यतालाई हटाउन गाउँपालिका अध्यक्ष यादवको पहल र अग्रसरतामा सुहपुर सोहरीमा सामुदायिक स्वास्थ्य सेवा इकाईको कार्यालय निर्माण गरी सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले जानकारी दिए। उनका अनुसार यस इकाईबाट तीन गाउँका करिब २ हजारभन्दा बढी स्थानीय जनता लाभान्वित हुनेछन्।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा पूर्वमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्ष प्रभुनाथ नुनिया लगायतको उपस्थिति रहेको थियो।

उद्घाटनका अवसरमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । शिविरमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा टिबी/छाती रोग विशेषज्ञ डा. मनोज कुमार गुप्ता, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. निरेश कुमार कर्ण लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले जानकारी दिए।

सिमरामा दुईदिने ओएसएच औद्योगिक तालिम सुरु

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ र ENSSURE/Helvetas Nepal को संयुक्त आयोजनामा बारा जिल्लाको सिमरा स्थित क्लासिक होटलमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्य (OSH) विषयक दुईदिने औद्योगिक तालिमको औपचारिक उद्घाटन सम्पन्न भएको छ।

बारा–पर्सा औद्योगिक क्षेत्रअन्तर्गतका १८ वटा उद्योगबाट २७ जना अफिसरहरूको सक्रिय सहभागितामा सञ्चालन भएको उक्त तालिमको उद्घाटन वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले गरेका थिए । साे अवसरमा जितपुर–सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा लगायतकाे पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष आशिष कुमार लाठ, ENSSURE/Helvetas Nepal परियोजनाका PSE Specialist लोक राज जोशी, मधेस प्रदेश प्राविधिक संयोजक भरत सहनी लगायत उद्योग तथा परियोजनासँग आबद्ध विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तालिममार्फत उद्योगहरूमा कार्यरत श्रमिक तथा कर्मचारीहरूको कार्यस्थल सुरक्षा, स्वास्थ्य मापदण्ड, जोखिम न्यूनीकरण र सुरक्षित कार्य संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। कार्यक्रमले उद्योग क्षेत्रमा सुरक्षित र दिगो उत्पादन प्रणाली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शीतलहर र बाक्लो हुस्सुबाट बच्न पर्सा प्रशासनको सतर्कता अपनाउन आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले यस वर्ष शीतलहर तथा कडा जाडो सुरु भइसकेको र पर्सा जिल्लाका सबै क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको अवस्थामा यसबाट विशेषगरी बालबालिका, जेष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, सीमान्तकृत वर्ग, गरीब तथा पिछडिएको समुदाय प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने भन्दै सबै जिल्लाबासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

शीतलहरका कारण जनस्वास्थ्य, पशुपन्छी तथा दैनिक जनजीवनमा नकारात्मक असर पर्न सक्ने भएकाले जोखिम न्यूनिकरणका लागि विभिन्न सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी सूचनामा नागरिकलाई न्यानो कपडा प्रयोग गर्ने, अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहिर ननिस्कने, सुत्दा सिरक–कम्बल प्रयोग गरी छाती र टाउको ढाक्ने, तातो पानी तथा पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्न सुझाव दिइएको छ।

त्यसैगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा बिरामीको विशेष हेरचाह गर्न, ज्वरो, खोकी, दम बढ्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा जान आग्रह गरिएको छ । चिसो समयमा आगो ताप्दा वा विद्युतीय हिटर प्रयोग गर्दा कोठामा पर्याप्त अक्सिजन आवतजावत हुने व्यवस्था गर्न र सुत्नुअघि आगो निभाई तथा विद्युतीय उपकरण बन्द गर्न समेत सचेत गराइएको छ।

प्रशासनले चिसो तथा हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले कुहिरो लागेको समयमा सवारी साधन चलाउँदा गति सीमित राख्न, फग लाईट प्रयोग गर्न र आवश्यक परे हेडलाईट तथा हर्न प्रयोग गर्न आग्रह गरेको छ।

यस्तै, घरेलु पशुपन्छीलाई चिसोबाट जोगाउन गोठ भित्र राखी पर्याप्त घाँस, पराल तथा दाना उपलब्ध गराउन र बिरामी भए नजिकैको पशु चिकित्सालय वा स्थानीय तहको पशु सेवा शाखामा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले शीतलहरको अवधिमा सबै नागरिकलाई उच्च सतर्कता अपनाउन र आफू तथा परिवारको स्वास्थ्य सुरक्षामा ध्यान दिन हार्दिक आग्रह गरेको छ।

प्याब्सन टी–१० क्रिकेट: छैटौं दिन ब्लु हेभनसहित पाँच स्कुल विजयी

वीरगंज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार छैटौँ दिन पाँच वटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।

छैटौँ दिनको पहिलो खेल छात्रातर्फ सनलाइट सेकेन्डरी स्कुल र माउन्ट एडमन्ड सेकेन्डरी स्कुलबीच सम्पन्न भयो। उक्त खेलमा माउन्ट एडमन्ड सेकेन्डरी स्कुलले सनलाइट सेकेन्डरी स्कुललाई १० विकेटले पराजित गर्दै शानदार जित दर्ता गर्‍यो। खेलकी उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) स्मृति बुलन घोषित भइन्।

त्यसैगरी, जुनियर छात्रतर्फको दोस्रो खेलमा ब्लु हेभन स्कुल र नेशनल ओपन मोडल स्कुलबीच प्रतिस्पर्धा भएको थियो। खेलमा ब्लु हेभन स्कुलले ४७ रनको फराकिलो जित हात पार्‍यो। यस खेलका प्लेयर अफ द म्याच सिद्धान्त पटेल घोषित भए।

तेस्रो खेल छात्रातर्फ मिनिल्यान्ड सेकेन्डरी स्कुल र मनकामना सेकेन्डरी स्कुलबीच सम्पन्न भयो। रोमाञ्चक खेलमा मिनिल्यान्ड सेकेन्डरी स्कुलले मनकामना सेकेन्डरी स्कुललाई १९ रनले पराजित गर्‍यो। खेलकी उत्कृष्ट खेलाडी प्रिमा थारु घोषित भइन्।

चौथो खेल जुनियर छात्रतर्फ गुरुकुल एकेडेमी र सूर्योदय सेकेन्डरी स्कुलबीच भएको थियो। उक्त खेलमा सूर्योदय सेकेन्डरी स्कुलले ७ विकेटको सहज जित दर्ता गर्‍यो। यस खेलका प्लेयर अफ द म्याच सोहाइल देवान बने।

छैटौँ दिनको अन्तिम खेल छात्रातर्फ आचार्य एकेडेमी र लिटल एन्जेल्स सेकेन्डरी स्कुलबीच सम्पन्न भयो। खेलमा लिटल एन्जेल्स सेकेन्डरी स्कुलले ३३ रनको जित हात पार्‍यो। उक्त खेलका प्लेयर अफ द म्याच आदित्य कुमार साह घोषित भए।

आयोजक प्याब्सन वीरगंजका अनुसार, वीरगंजमा सञ्चालन भइरहेको यस प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूको प्रतिभा प्रस्फुटन, खेलकुद भावना विकास, अनुशासन तथा टिमवर्क अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ।

पूर्व प्रदेश सांसद गिरीसहित एमाले पर्साका एक दर्जनभन्दा बढी नेता नेकपामा प्रवेश

वीरगंज । नेकपा एमालेका नेता तथा पूर्व प्रदेशसभा सदस्य प्रहलाद गिरीसहित पर्साका एक दर्जनभन्दा बढी नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेहरूमा बिन्दवासिनी गाउँपालिकाका पूर्व अध्यक्ष श्रीलाल साह कानु (मोदी), वडा अध्यक्षका प्रत्यासी तथा एमाले पर्सा जिल्ला सचिवालय कमिटी सदस्य हनिफ अंसारी, नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य एवं पोखरिया नगरपालिकाकी उपमेयर पदकी प्रत्यासी बिना देवी बैठा, एमाले नेता लक्ष्मण चौरसिया, बिन्दवासिनी गाउँपालिका उपाध्यक्ष उमेश चौरसिया, एमालेबाट निर्वाचित पूर्व वडा अध्यक्ष संजय चौहान, लोसपाका नेता सुदामा चौहान, स्थानीय नेता हारुन अंसारी, अमित पाण्डे, राजेन्द्र साह कलवार, शिवशंकर गोढ, भोला साहलगायत रहेका छन्।

नव प्रवेशी नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव नेपालले खादा लगाई पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा नेकपाका नेता मात्रिका यादव, पर्साका नेता छोटेलाल यादव, पी.एल. श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

नेकपा प्रवेश गरेका प्रहलाद गिरी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएका थिए। पर्सा क्षेत्र नं. ३ का प्रभावशाली नेताहरूको सामूहिक प्रवेशसँगै साे क्षेत्रमा नेकपाको संगठन थप बलियो हुने नेताहरूको दाबी छ।

प्याब्सन वीरगंज अन्तर विद्यालय टी–१० क्रिकेट: पाँचौँ दिन पाँच खेल सम्पन्न

वीरगंज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको अन्तर विद्यालय टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार पाँचौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् ।

वीरगंजको आदर्शनगर रङ्गशालामा सम्पन्न खेलहरूमा छात्र तथा छात्रा दुवै तर्फका विद्यालय टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरूलाई उत्साहित बनाएका थिए ।

पाँचौँ दिनको पहिलो खेल केटी तर्फ विकन स्कुल र रोयल एकेडेमीबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा विकन स्कुलले रोयल एकेडेमीलाई ३ विकेटले पराजित गर्दै जित हात पारेको हो । उक्त खेलमा रोशिका बस्नेत ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

दोस्रो खेल केटा तर्फ साउथजोन र न्यु वेभबीच सम्पन्न भयो । साउथजोनले सशक्त प्रदर्शन गर्दै न्यु वेभलाई २८ रनले पराजित गर्‍यो । यस खेलमा नितेश पटेल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

तेस्रो खेल केटी तर्फ गोल्डेन फ्युचर र मुनलाइटबीच भएको थियो । मुनलाइटले उत्कृष्ट खेल प्रदर्शन गर्दै गोल्डेन फ्युचरलाई ३४ रनले पराजित गर्‍यो । मुस्कान गुप्ता ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

चौथो खेल केटा तर्फ लिटिल फ्लावर र श्री आदर्शबीच सम्पन्न भयो । लिटिल फ्लावरले ७ विकेटले सहज जित दर्ता गर्‍यो । उक्त खेलमा अभि कुमार यादव ‘प्लेयर अफ द म्याच’ बने ।

पाँचौँ दिनको अन्तिम खेल केटी तर्फ चिल्ड्रेन्स वर्ल्ड र मास्कट एकेडेमीबीच भएको थियो । चिल्ड्रेन्स वर्ल्डले मास्कट एकेडेमीलाई २६ रनले पराजित गर्दै प्रभावशाली जित हासिल गर्‍यो । यस खेलमा चन्दनी साह ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी विद्यालय टोलीहरूबीचको प्रतिस्पर्धा दिनप्रतिदिन थप रोमाञ्चक बन्दै गएको छ । प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर जारी रहनेछ ।

वीरगंज–३० लालपर्सामा २४ घण्टा प्रसूती सेवा सहित बर्थिङ सेन्टर सञ्चालन

वीरगंज । वीरगंज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा प्रसूती सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गर्दै सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ग्रामीण भेगका वडाहरूमा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै गाउँमै सुरक्षित प्रसूती सेवा उपलब्ध गराउने उद्देश्यका साथ यस्तो व्यवस्था मिलाएको जनाएको छ । यसका लागि स्वास्थ्य चौकीहरूको भौतिक संरचना स्तरोन्नति, सेवा विस्तार तथा आवश्यक जनशक्ति थप गर्दै आइरहेको महानगरपालिकाले जनाएको छ ।

यसै योजनाअनुसार वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा आइतबारदेखि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । यसअघि गएको शुक्रबार मात्रै वडा नम्बर १८ भवानीपुरस्थित स्वास्थ्य संस्थामा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो ।

बर्थिङ सेन्टरको समुद्घाटनसँगै अब लालपर्सास्थित स्वास्थ्य चौकीबाट २४ सै घण्टा निरन्तर प्रसूती सेवा उपलब्ध हुने महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीकै भवनबाट आवश्यक सम्पूर्ण सेवाहरू प्रदान गरिनेछ ।

बर्थिङ सेन्टर सञ्चालनका लागि तालिमप्राप्त दुई जना अतिरिक्त अनमीसहित आवश्यक जनशक्ति व्यवस्थापन गरिएको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार सो स्वास्थ्य चौकीमा पछिल्लो दुई महिनादेखि जनस्वास्थ्य प्रयोगशाला पनि सञ्चालनमा रहेको छ, जहाँ हाल ३७ प्रकारका विभिन्न स्वास्थ्य परीक्षण सेवा प्रदान हुँदै आएका छन् ।

यसअघि नै वीरगंज महानगरपालिकाका वडा नम्बर २८ बगही तथा वडा नम्बर २१ लिपनीस्थित स्वास्थ्य चौकीमा पनि बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् ।

आइतबार आयोजित लालपर्सा बर्थिङ सेन्टर समुद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा नम्बर ३० का वडाध्यक्ष मनोजकुमार यादव, स्वास्थ्य चौकीका इन्चार्ज मेवालाल ठाकुर लगायतको उपस्थिति रहेको थियो ।