Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 123

उज्यालो नेपाल पार्टीको मधेश प्रदेश अध्यक्षमा राम किशोर सिंह ‘पराग’ सर्वसम्मत चयन

0

वीरगंज । उज्यालो नेपाल पार्टीको मधेश प्रदेश अध्यक्षमा राम किशोर सिंह ‘पराग’ सर्वसम्मत रूपमा चयन भएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं. १ का उम्मेदवारसमेत रहेका परागलाई प्रदेश समितिको भेलाले सर्वसम्मत रूपमा मधेश प्रदेशकाे नेतृत्वको जिम्मेवारी दिएको हो।

शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न प्रदेश स्तरीय भेलाले परागको नेतृत्वमा ४६ सदस्यीय प्रदेश समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सिराहाका तारा चौधरी र महोत्तरीका डा. दिपेन्द्र साह चयन भएका छन् । त्यसैगरी सचिवमा धनुषाका बैजनाथ राम, सहसचिवमा सप्तरीका बिश्व कुमार यादव र कोषाध्यक्षमा सर्लाहीकी ममता अचार्य चयन भएका छन् ।

समितिका सदस्यहरूमा पर्साका डा. घनश्याम यादव, मनिष श्रीवास्तव, मधु यादव, सन्दीप पुरी, बाराका भिमबहादुर रुम्बा, सन्तोष कुमार गुप्ता, प्रमोद साही, दीप नारायण यादव, चतुरमान स्याङ्बो, रामनरेश चौधरी, सर्लाहीका हरि प्रसाद देवकोटा, शेरबहादुर भोञ्जन, पंचमान गोले, बलबहादुर गोले लगायत रहेका छन् ।

पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थितिमा प्रदेश समिति गठन गरिएको प्रदेश अध्यक्ष परागले जानकारी दिए । उनले नवगठित समितिले मधेश प्रदेशमा पार्टी संगठन सुदृढ गर्दै जनताको मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे ।

ओली र लेखकको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, साेमबार सुनुवाइ

0

काठमाडौँ । केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। उक्त रिटमाथि भोलि साेमबार सुनुवाइ हुने जनाइएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वगृहमन्त्री लेखकलाई पनि गैरकानुनी रूपमा थुनामा राखिएको जिकिरसहित दायर गरिएको रिटमाथि भोलि नै सुनुवाइ हुने भएको छ।

पीडित हरिकलाका अभिभावकलाई ५० हजार सहयोग

0

वीरगंज । श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काटिएको घटनाकी पीडित हरिकला देवी सहनीका अभिभावकलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

पर्साको पर्सागढी नगरपालिका–३, विरुवा टोल निवासी ३० वर्षीय विश्वनाथ सहनीले घरायसी विवादका कारण आफ्नी करिब २५ वर्षीया श्रीमती हरिकला देवी सहनीमाथि धारिलो हतियार (दाउ) प्रहार गरी बायाँ खुट्टा काटेर गम्भीर घाइते बनाएका थिए।

उक्त घटनापछि पीडित परिवारको आर्थिक अवस्था दयनीय रहेको देखिएपछि जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति कोषबाट पीडितका बुवा–आमालाई रु. ५० हजार १०५ रुपैयाँ सहयोग उपलब्ध गराइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले उक्त रकमको चेक पीडितका अभिभावकलाई हस्तान्तरण गरेका हुन्।

यस सम्बन्धमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले पीडित परिवारलाई राहतस्वरूप उक्त सहयोग प्रदान गरिएको बताएका छन्।

श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमान पक्राउ

0
अस्पतालमा उपचारत घाइते श्रीमती र श्रीमान पक्राउ बारे जानकारी गराउँदै पर्साका एसपी सुदिप राज पाठक । तस्बिर : कालिका टाईम्स

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमानलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार मिति २०८२ चैत १ गते बिहान करिब ८:३० बजे पर्सागढी नगरपालिका–३, विरुवा टोल बस्ने ३० वर्षीय विश्वनाथ सहनीले घरायसी विवादका कारण आफ्नी करिब २५ वर्षीया श्रीमती हरिकला देवी सहनीमाथि धारिलो हतियार (दाउ) प्रहार गरेका थिए । आक्रमणका क्रममा उनले श्रीमतीको बायाँ खुट्टा काटेर गम्भीर घाइते बनाएका थिए भने घटनापछि फरार भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र स्थानीयवासीको सहयोगमा घाइतेलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटल प्रालिमा पठाइएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा फरार रहेका आरोपित विश्वनाथ सहनीलाई शनिबार दिउँसो करिब १२:३० बजे सोही स्थानबाट जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी बडनिहारबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सुदिप राज पाठकले जानकारी दिए ।

उक्त घटनामा संलग्न सहनीमाथि ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक पाठकले वताए ।

ओलीको रिहाइ माग्दै एमालेद्वारा देशभर ज्ञापनपत्र, पर्सामा मोटरसाइकल र्‍याली

0

वीरगंज । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। एमालेले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको हो।

यसैक्रममा नेकपा एमाले पर्सा जिल्ला कमिटीले पनि अध्यक्ष ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ। पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

ज्ञापनपत्र बुझाउँदै अध्यक्ष शर्माले अध्यक्ष ओली र नेता लेखकलाई सूर्योदय अघि नै “प्रतिशोधपूर्ण ढंगले” पक्राउ गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले तत्काल रिहा गर्न माग गर्दै सरकारको कदमलाई “राजनीतिक पूर्वाग्रह र प्रतिशोधयुक्त” भएको आरोप लगाए। साथै उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्नुपर्ने माग पनि राखे।

कार्यक्रममा एमाले मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, सचिव महेश दास, ओबीसीका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निषाद, नेता शम्भु गुप्ता, रिमा यादव, मानदेव हजरा लगायत सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। ज्ञापनपत्र बुझाउनुअघि वीरगंजमा मोटरसाइकल र्‍यालीसमेत आयोजना गरिएको थियो।

गौरबहादुर कार्की आयोगले दोषी ठहर गरेको आधारमा अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमाले सचिवालय बैठकले त्यसको विरोध गर्दै देशव्यापी रूपमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दीपक खड्का पक्राउ

0

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई पक्राउ गरिएको जानकारी दिएका छन्।

प्रहरीका अनुसार खड्कामाथि अवैध सम्पत्ति आर्जन तथा शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ।

यता गृहमन्त्री सुदन गुरुङले आफ्नाे फेसबुकमा लख्दै “पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आइतबार नियन्त्रणमा लिइएको जानकारी गराएका छन् ।

दुसाद समाजको नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी टोलमा अन्तर्राष्ट्रिय दुसाद समाजको पहलमा नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल पासवान संघ, पर्साको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पासवान समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि डा. बिरेन्द्र पासवानले पासवान समुदायबीचको एकताले सिङ्गो दलित मुक्ति आन्दोलनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले नेपालका पासवानहरूको हकहितका लागि आफूहरूको संस्था सधैं साथ र सहयोगमा रहने प्रतिबद्धता जनाए।

नेपाल पासवान संघ, पर्साका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिश्वेन्द्र पासवान, महेन्द्र पासवान, रन्जित पासवान, विशाल आनन्द, सुमन पासवान लगायतका अतिथिहरूले मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी दलित अगुवा राजाराम पासवान, मटुक पासवान, सोनी देवी, जयकुमार पासवान, कमलेश पासवान, अमरदेव पासवान, श्याम पासवान लगायत स्थानीय अगुवाहरूले पनि समुदायको एकता, नेतृत्व विकास तथा सामाजिक सशक्तीकरणमा जोड दिएका थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा, नेतृत्व विकास र आपसी सहकार्यलाई मजबुत बनाउँदै दलित समुदायको अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने धारणा राखेका थिए।

ओली पक्राउको विरोधमा वीरगंजमा एमालेको प्रदर्शन, तत्काल रिहाइको माग

0

वीरगंज । केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले शनिबार वीरगंजमा प्रदर्शन गरेका छन्। अध्यक्ष ओलीलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको विरोधमा घण्टाघर चोकमा भेला भई कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

एमाले मधेश प्रदेशका उपाध्यक्ष विचारी यादवले पार्टीको निर्णयअनुसार जनवर्गीय संगठनहरू प्रदर्शनमा सहभागी भएको वताए । उनले अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइ गर्न माग गरे।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा विद्यार्थीहरूको ज्यान गएको घटनासँग जोडेर प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको बताइएको छ। उक्त समयमा ओली प्रधानमन्त्री रहेका थिए भने रमेश लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए। सोही घटनासँग सम्बन्धित विषयमा अनुसन्धानका लागि दुवै नेतालाई पक्राउ गरिएको जनाइएको छ।

ओली र लेखक पक्राउ परेपछि एमालेले देशभर विरोध कार्यक्रम घोषणा गरेको छ। सोही कार्यक्रमअन्तर्गत वीरगंजमा पनि प्रदर्शन गरिएको हो।

प्रदर्शनमा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा, नेता जालिम मियाँ, तेज प्रकाश निसाद लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रदर्शनका क्रममा कार्यकर्ताहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै पक्राउ परेका नेताहरूको अविलम्ब रिहाइको माग गरेका थिए। स्थिति सामान्य रहे पनि सुरक्षा व्यवस्थालाई कडा बनाइएको थियो।

वीरगंजमा ‘मोटिभेशनल ट्रेनिङ’ सम्पन्न, विद्यार्थीमा आत्मविश्वास र नेतृत्व विकासमा जोड

0

वीरगंज । वीरगंज पब्लिक स्कुल प्यल २ कलेजद्वारा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘मोटिभेशनल ट्रेनिङ प्रोग्राम २०८२’ भव्य रूपमा सम्पन्न भएको छ।

कलेजका एकेडेमिक डाइरेक्टर दिपक पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन नेपाल आर्मी अन्तर्गत श्री जंग गण वीरगंजका प्रमुख सेनानी लोकेन्द्र कार्कीले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल राष्ट्र बैंक वीरगंज शाखाका प्रमुख सुशील पौडेल सहभागी भएका थिए।

प्रमुख अतिथि लेफ्टिनेन्ट कर्णल कार्कीले विद्यार्थीहरूलाई प्रेरणादायी प्रशिक्षण दिँदै जीवनमा अनुशासन, लक्ष्य निर्धारण तथा सकारात्मक सोचको महत्वबारे प्रकाश पार्नुभएको थियो। त्यस्तै प्रशिक्षक सन्तोष कुमार कर्ण ले आत्मविश्वास अभिवृद्धि र सफलताको मार्गबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको सुरुवात विद्यार्थीहरूले प्रस्तुत गरेको स्वागत नृत्यबाट गरिएको थियो भने स्वागत मन्तव्य कलेजका निर्देशक राजेन्द्र चौधरी ले व्यक्त गर्नुभएको थियो। कलेज तथा कार्यक्रमको उद्देश्यबारे सन्दिप कुशवाहा ले जानकारी गराउनुभएको थियो।

वीरगंजस्थित नगर सभा गृहमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल प्रभात मेहता सहित लालबाबु चौरसिया, अनिल वर्णवाल, हरिन्द्र कुशवाहा, विशेष द्विवेदी, आकाश पटेल, रवि यादव, दिपेन्द्र कानु, दिपक खत्री, शुभम तुल्स्यान, रेश्मा पटेल, सदीक्षा सुवेदी, अंगद यादव, राजेश्वर पटेल, विरेन्द्र केशरी, लालबाबु सिंहलगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमले उनीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

ओली अस्पतालमा भर्ना, रमेश लेखक पुनः हिरासतमा फर्काइए

0

काठमाडौँ । केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् भने पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले पुनः हिरासतमा फर्काएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार लेखकलाई स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगिएको थियो । परीक्षणपछि उनलाई महाराजगञ्जस्थित प्रहरीको नम्बर–२ गणमा राखिएको जानकारी दिइएको छ।

शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा परीक्षणका रिपोर्टहरूको प्रतीक्षा भइरहँदा उहाँलाई भर्ना गरिएको हो।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार ओलीको आधारभूत स्वास्थ्य परीक्षणहरू भइरहेको छ। “दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका र ज्येष्ठ उमेरका कारण चिकित्सकहरूले रिपोर्ट आउनुअघि नै भर्ना गरेका हुन्,” उनले बताए।

उनका अनुसार ओलीमा मुटुसम्बन्धी परीक्षणहरू समेत गरिएको छ र रिपोर्ट राम्रो आएमा अस्पतालमा राख्न आवश्यक नपर्ने, अन्यथा उपचार जारी रहनेछ। अस्पतालले मध्याह्नसम्म परीक्षणको नतिजा आउने अपेक्षा गरेको जनाएको छ।

यसैबीच, प्रहरीका अनुसार बाँकी कानुनी प्रक्रिया ओलीको स्वास्थ्य अवस्था, चिकित्सकको सल्लाह र कानुनी व्यवस्थाअनुसार अघि बढाइनेछ।