Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

सहोदरा मेलासँगै ठोरीमा पर्यटकको चहलपहल दोब्बर

spot_img
spot_img

सेढवा । आदिशक्ति माँ सहोदरा मन्दिर मा चैत्र १३ गतेदेखि सुरु भएको दश दिने मेलासँगै ठोरी क्षेत्रमा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ।

नेपालका पर्सा, बारा, चितवन लगायत जिल्लाका साथै भारतका विभिन्न स्थानबाट मेला भर्न आउने श्रद्धालुहरू नजिकै रहेको सोफा मन्दिर र रमणीय ठोरी क्षेत्रको भ्रमणमा पुग्ने क्रम तीव्र बनेको हो। सहोदरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेपछि अधिकांश भक्तजनहरू ठोरी र सोफा मन्दिरतर्फ आकर्षित हुने गरेका छन्।

भारतको बिहार राज्यमा मदिरा निषेध लागू भएकाले पनि धेरै भारतीय पर्यटकहरू ठोरीतर्फ आकर्षित हुने गरेका छन्। ठोरी पुग्ने पर्यटकहरूले राईधारा, रेड हिल भ्यू प्वाइन्ट, रानीवन इच्छानगर, बुलबुल पार्क, जमुनाघारी, सीता गुफा, सेतो पहाड, सिनही पर्वत, स्टोन पार्क तथा ठुटेखोलाको पुल जस्ता आकर्षक स्थलहरूको अवलोकन गर्ने गरेका छन्।

ठोरी गाउँपालिका–२ स्थित मानवीर होटल का सञ्चालक वीरबहादुर तामाङका अनुसार मेला सुरु भएयता सामान्य अवस्थाको तुलनामा करिब १०० प्रतिशतले आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएको छ। मेला सुरु भएको दुई–तीन दिनपछि पर्यटकको चाप झन् बढेको उनले बताए। होटलमा आउने पाहुनाहरूले खाना, खाजा तथा मदिरा सेवा समेत लिने गरेका छन्।

बिहारको नरकटियागंजका अमित कुमारले सहोदरा मेला भर्न आउने क्रममा ठोरी भ्रमण गरेको बताए भने अर्का पर्यटक सुभाष कुमारले गर्मीका बाबजुद ठोरीको शीतल, शान्त र हरियाली वातावरणले आफूलाई आकर्षित गरेको अनुभव सुनाए।

त्यस्तै, बाराको करैयामाई गाउँपालिकाका साजन चौधरीले पहिलो पटक मेला भर्न आएको र सोफा मन्दिर तथा ठोरीको नाम सुनेर यहाँसम्म आइपुगेको बताए। उनले भ्रमणबाट राम्रो अनुभूति भएको प्रतिक्रिया दिए।

यसैबीच, सोफा मन्दिरमा पनि दर्शनार्थीहरूको संख्या बढ्दै गएको छ। सहोदरा मन्दिरदेखि करिब आठ किलोमिटर उत्तर–पश्चिममा पर्ने उक्त मन्दिर ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। किंवदन्तीअनुसार प्राचीनकालमा राजा हेतु कुँवरको पालामा मन्दिर स्थापना गरिएको हो। मन्दिरभित्र रहेको सुरुङ भारत सरकारले बन्द गरेको बताइन्छ।

मन्दिर नजिकै बग्ने पण्डई खोलासँग पाण्डवहरूको वनवासकालीन कथा जोडिएको छ। जनविश्वासअनुसार पाण्डवहरूले यस क्षेत्रमा बसोबास गरी नित्यकर्म गर्ने गरेका कारण खोलाको नाम पण्डई रहन गएको हो। नेपालतर्फको ठुटे खोला भारत प्रवेश गरेपछि पण्डई खोलाकै नामले चिनिन्छ।

वीरगंज–ठोरी हुलाकी सडक निर्माण भएसँगै नेपालबाट सहोदरा मेला भर्न जाने करिब ८० प्रतिशत यात्रु ठोरी नाकाबाट आवतजावत गर्ने गरेका छन्। साथै, बिहार प्रहरी प्रशासनले चारचक्के सवारीका लागि ठोरी र इनर्वा नाका मात्र खुला राखेकाले पनि ठोरी हुँदै आवागमन गर्नेको संख्या बढेको देखिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री...

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना...

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै...