Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

पर्सामा गहुँ उत्पादन घट्दा किसान मारमा, मूल्यसमेत सन्तोषजनक छैन

spot_img
spot_img

सेढवा । पर्सा जिल्लाको ग्रामीण भेगमा किसानहरूले दोस्रो मुख्य बालीका रूपमा रहेको गहुँबाली भित्र्याउन सुरु गरेका छन्। जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रअन्तर्गत ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकाका किसानहरू यतिबेला गहुँ कटानी र भित्र्याउने कार्यमा व्यस्त रहेका छन्।

यस वर्ष धेरै किसानहरूले परम्परागत विधिको सट्टा आधुनिक कृषि प्रविधिको प्रयोग बढाएका छन् । विशेषगरी हार्भेस्टर मेसिनमार्फत गहुँ काट्ने र थ्रेसिङ गर्ने कार्य भइरहेको छ, जसले समय बचत गर्नुका साथै मजदुर अभावको समस्या पनि केही हदसम्म समाधान गरेको किसानहरूको भनाइ छ।

तर, आधुनिक प्रविधिको प्रयोग बढे पनि यस वर्ष गहुँ उत्पादनमा उल्लेखनीय गिरावट आएको छ । जिराभवानी गाउँपालिका–१ भवानीपुरका किसान सत्यदेव चौधरीका अनुसार गत वर्षको तुलनामा उत्पादन करिब ५० प्रतिशतसम्म घटेको छ। उनले गत वर्ष १२ कट्ठा जमिनमा १४ क्विन्टल गहुँ उत्पादन गरेकोमा यस वर्ष सोही जमिनबाट जम्मा ७ क्विन्टल ७० केजी मात्र उत्पादन भएको जानकारी दिए।

अन्य किसानहरूको पनि यस्तै गुनासो छ। किसानहरूका अनुसार गहुँको बाला निस्किने संवेदनशील समयमा परेको असमयको वर्षाले गहुँको फूल झर्ने समस्या निम्त्याएको थियो। यसका कारण दाना राम्रोसँग विकसित हुन नसकी उत्पादनमा प्रत्यक्ष असर परेको हो। साथै केही स्थानमा रोग तथा कीराको प्रकोप पनि देखिएकाले उत्पादन घट्न थप योगदान पुगेको उनीहरूको भनाइ छ।

यता खेती लागत भने निरन्तर बढ्दो क्रममा छ। मल, बीउ, सिँचाइ र मजदुरी खर्चमा वृद्धि भइरहे पनि उत्पादन घट्दा किसानहरू आर्थिक रूपमा प्रभावित भएका छन्। खेत तयारीदेखि कटानीसम्मको लागत बढ्दा आम्दानी घट्ने देखिएको छ। हार्भेस्टर मेसिनले केही राहत दिएको भए पनि यसको भाडा महँगो हुँदा साना किसानहरू अझै पूर्ण रूपमा मेसिनमा निर्भर हुन सकेका छैनन्।

उत्पादन घटे पनि गहुँको बजार मूल्य अपेक्षित रूपमा बढ्न सकेको छैन। ठोरी गाउँपालिका–५ सुवर्णपुरका किसान प्रेम लामाका अनुसार यस वर्ष गहुँको मूल्य सुरुमा प्रतिक्विन्टल ३,७०० रुपैयाँ रहेकोमा हाल करिब ३,८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत वर्ष यही मूल्य ४,५०० रुपैयाँबाट सुरु भएको थियो भने अघिल्लो वर्ष ४,००० रुपैयाँ आसपास थियो।

उत्पादनमा कमी र मूल्यमा गिरावटका कारण किसानहरू चिन्तित बनेका छन्। मेहनत, समय र लगानीको उचित प्रतिफल नपाउँदा कृषिप्रति निराशा बढ्दै गएको उनीहरूको गुनासो छ।

किसानहरूले समयमै मल र बीउको उपलब्धता, सिँचाइ सुविधा विस्तार तथा गहुँको उचित समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन्। साथै मौसमजन्य जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।

समग्रमा, यस वर्ष पर्साका किसानहरूले गहुँ उत्पादनमा दोहोरो मार खेपिरहेका छन्—एकातिर उत्पादन घटेको छ भने अर्कोतिर बजार मूल्य पनि सन्तोषजनक नहुँदा उनीहरूको आम्दानीमा प्रत्यक्ष असर परेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...