Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
Home Blog Page 121

आईजीपि राजु अर्यालद्वारा वीरगंज–रक्सौल मितेरी पुल क्षेत्रको सौन्दर्यकरण निरीक्षण

वीरगंज । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक आईजीपि राजु अर्यालले वीरगञ्ज–रक्सौल अन्तर्राष्ट्रिय मितेरी पुल क्षेत्र वरिपरि भइरहेको सौन्दर्यकरण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सीमा क्षेत्रको सुरक्षा, सरसफाइ र व्यवस्थित पूर्वाधार विकासलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् । उनले नेपाल–भारत सीमा क्षेत्र संवेदनशील भएको हुँदा यहाँ वातावरणीय सौन्दर्य, स्वच्छता र सुरक्षा व्यवस्थापन सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले सीमा क्षेत्रमा हरियाली प्रवद्र्धन, सार्वजनिक स्थानको संरक्षण र दीर्घकालीन व्यवस्थापनमा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

सौन्दर्यकरण अभियान वीरगञ्ज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर र सशस्त्र प्रहरी बल १३ नम्बर गण, वीरगञ्जको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ । अभियानले वीरगञ्जलाई हराभरा, स्वच्छ र वातावरणमैत्री सहर बनाउने लक्ष्यमा सहयोग पु¥याइरहेको वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले बताए ।

निरीक्षणका क्रममा सशस्त्र प्रहरीबल नेपाल पर्साका प्रमुख प्रहरी उपरीक्षक पुरन चन्द भट्ट, सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी, रक्सौल सीमा सुरक्षाबलका पदाधिकारी, सशस्त्र प्रहरीका प्रतिनिधि, नगरप्रहरी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले सीमा क्षेत्रको सौन्दर्यकरणले सुरक्षा मात्र नभई पर्यावरण संरक्षण र नागरिक सचेतनामा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

नेकपाद्वारा पर्साका चारै क्षेत्रका लागि प्रतिनिधि सभा उम्मेदवार सिफारिस

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। पार्टीको विशेष सर्कुलरअनुसार पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका प्रत्यासीहरूको नामावली सिफारिस गरी केन्द्रमा पठाइएको नेकपाका नेता गंगा खड्काले जानकारी दिए।

नेकपाले पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ रामदरस कुशवाहा, सुरेन्द्र गुप्ता, प्रभु यादव र सब्बा अंसारीको नाम सिफारिस गरेको छ। त्यसैगरी क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ मनोज चौधरी, सत्यनारायण रौनियार र प्रभाकर गुप्ताको नाम सिफारिस गरिएको छ।

यस्तै, क्षेत्र नं. ३ बाट प्रत्यक्ष तर्फ रामबाबु बैठा, छोटेलाल यादव, बिक्रम चौरसिया तथा क्षेत्र नं. ४ बाट प्रत्यक्ष तर्फ बलराम साह, जयप्रकाश थारु र मैनेजर साहको नाम सिफारिस गरिएको नेता खड्काले बताए।

समानुपातिक तर्फ पर्सा क्षेत्र नं. १ बाट बालगोपाल थापा, बाबुराम कौशिक, हिरा भट्टराई, दुर्गा क्षेत्री, अफसाना खातून, डा. राजू बैठा, नन्द किशोर पंजियार, गजाधर पटेल, कदम रसूल, मंजुर समानी, मंजू आलम, सलाम अंसारी र राजकुमार यादवको नाम सिफारिस भएको छ।

त्यसैगरी, पर्सा क्षेत्र नं. २ बाट समानुपातिक तर्फ चिरञ्जीवि आचार्य, रामाश्रे राम, बलराम उपाध्याय, रामस्वरुप राम, सावित्री पोखरेल, बृजलाल पसवान, मेवालाल साह, विपिन यादव र रामेश्वर धानुकको नाम सिफारिस गरिएको छ। पर्सा क्षेत्र नं. ३ बाट समानुपातिक तर्फ किशोरी प्रसाद कुशवाहा, शिवजी प्रसाद सोनी, बालेश्वर थारु, सुनिता चौरसिया, लाल बिहारी राम, प्रहलाद गिरी र निरोज अहमदको नाम सिफारिस गरिएको छ।

यस्तै, पर्सा क्षेत्र नं. ४ बाट समानुपातिक तर्फ विजय प्रसाद महतो, शेषचाँद तारा कुमारी, हरेन्द्र हजरा, प्रतिमा गुप्ता, भोला महतो थारु, जियाउल हसन र लोकमान थापाको नाम सिफारिस गरिएको छ।

सिफारिस पत्रमा नेकपा माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो थारु, जिल्ला संयोजक रामदरश कुशवाहा, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, सह–इन्चार्ज मनोज चौधरी, जसपाका केन्द्रीय सदस्य शिवजी प्रसाद सोनी, जनसमाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य सत्यनारायण रौनियार तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य फिरोज बादशाहले हस्ताक्षर गरेका छन्।

पर्सामा सशस्त्र प्रहरीद्वारा ९ केजी भन्दा बढी गाँजा सहित दुई जना पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्ने अभियानलाई तीव्र बनाउँदै ९ केजी ३०० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा नं. २ छिन्नमस्ता बाहिनीको नीति तथा निर्देशनअनुसार पर्सा जिल्लामा लागुऔषध ओसारपसार नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीले नियमित गस्ती र कडा निगरानीमार्फत सीमा अपराध नियन्त्रणमा सक्रियता बढाएको जनाएको छ।

सोही क्रममा शनिबार पर्साको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकमा सुरक्षा बेस पोखरीयाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले चेकपोइन्ट राखी सवारी साधन चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरेको दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलबाट लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पकाहाँ मैनपुर गाउँपालिका–५ सबैठवा निवासी अन्दाजी ४३ वर्षीय रबिन्द्र महतो सवार बिआर२२यु ११७८ नम्बरको मोटरसाइकलको डिकीभित्र लुकाइछिपाइ राखिएको करिब ५ केजी गाँजा तथा भारतको बेतिया जिल्ला बेहरा झुम्का–१४ निवासी अन्दाजी ३७ वर्षीय अशोक महतो सवार बिआर२२ए ५३०२२ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइ राखिएको करिब ४ केजी ३०० ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको गाँजा, दुवै मोटरसाइकल, दुई थान मोबाइल फोन तथा भारतीय रुपैयाँ १ हजार ४ सय ५० सहित उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको छ।

यसअघि पनि सशस्त्र प्रहरी बल, पर्साले विभिन्न समयमा जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै आएको छ। गत मंसिर महिनामा मात्रै ३२३ केजी गाँजा, पुस ९ गते १२० केजी गाँजा तथा पुस १० गते ७३८ फायल नाइट्राभेट बरामद गरी नेपाल प्रहरीलाई बुझाइएको थियो।

सशस्त्र प्रहरी बल, पर्साले सीमावर्ती क्षेत्रमा हुने लागुऔषध तथा अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा परिचालनलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

पुराना दल भोट माग्न आए प्रश्न गर्न आमजनतामा सभापति पन्तको आग्रह

वीरगंज । आगामी निर्वाचनमा पुराना दलहरू पुनः भोट माग्न आए उनीहरूलाई कडा प्रश्न गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरी पन्तले आमजनतासँग आग्रह गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ र ५ को प्रथम भेलालाई सम्बोधन गर्दै पन्तले विगत ३५ वर्षदेखि पटक–पटक शासन सत्ताको केन्द्रमा रहेका पुराना दलहरूले अब जनतासमक्ष मत माग्ने नैतिक अधिकार समेत गुमाइसकेको बताए।

उनले देश र जनताको अपेक्षा पूरा गर्न असफल पुराना दलहरूलाई अब जनताले जवाफदेही बनाउनु आवश्यक रहेको उल्लेख गरे। परिवर्तन चाहने नागरिकहरू संगठित भई वैकल्पिक राजनीतिक शक्तिलाई मजबुत बनाउनुपर्नेमा पनि उनले जोड दिए।

उक्त भेलाले राष्ट्रिय स्वतन्त्र पार्टीको वीरगञ्ज महानगरअन्तर्गत वडा नम्बर ४ र ५ मा संगठन विस्तार गरेको छ। भेलाबाट वडा नम्बर ४ मा सञ्चारकर्मी मुकेश सिंहको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ। समितिको उपसभापतिमा संगीता जोशी, सचिवमा पुकार थापा तथा सदस्यहरूमा शेख सहजाद, कृस्टा थापा, सुनिल दर्लामी, विजय चौहान, रोजन जोशी, प्रितम श्रेष्ठ, शंकर थापा र सरु जोशी रहेका छन्।

त्यसैगरी वडा नम्बर ५ मा इमरान शेखको सभापतित्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपसभापतिमा अरुण मानन्धर, सचिवमा सकील अहमद तथा सदस्यहरूमा अमित जोशी, जमिर अख्तर, सुनिल सरार्फ, सरस्वती गुरुङ, जावेद अख्तर, शनि मानन्धर, सजाद अहमद र ओमी गुरुङ रहेका छन्।

रास्वपा वीरगञ्ज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोदले गरेका थिए। भेलामा महानगर उपसभापति परितोष द्विवेदीले स्वागत मन्तव्य राखेका थिए भने क्षेत्रीय सभापतिहरू राम आर्य, फैयाद मियाँ, महानगर सचिव गौतम श्रेष्ठ तथा नेताहरू परवेज अख्तर, नितु खड्गी, सुदिश प्रजापति, मुन्ना साहलगायतले मन्तव्य व्यक्त गरेका थिए।

संविधानसभा सदस्य जयप्रकाश थारु एमाले परित्याग गरी नेकपामा प्रवेश

वीरगंज । संविधानसभाका सदस्य जयप्रकाश थारु नेकपा (एमाले) परित्याग गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

एमाले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै थारुले पार्टी छोड्ने निर्णय गरेका हुन्। उनीसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सयौँ नेता तथा कार्यकर्ता पनि एमाले परित्याग गरी नेकपामा सामेल भएका छन्।

थारुसँगै शालीन नेता लेखमान थापा, एमाले मधेश प्रदेश कमिटी सदस्य हरिन्द्र हाजारा, नेता नजमुदिन राउत गद्दी, विजय महतो थारु, कमल दास तात्वा, हरिशंकर पंजियार, रामजनम खवास, श्रीकान्ती देवी थारु, उर्मिला चौधरी, कुनाल थारुलगायतका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरीले जानकारी दिएका छन्।

उनीहरू नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष समारोहमार्फत औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

नेकपा (एमाले) पर्साका पूर्व अध्यक्षसमेत रहेका थारु दोस्रो संविधानसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका रमेश रिजाललाई पराजित गर्दै विजयी भएका थिए। त्यसपछि भएका दुवै निर्वाचनमा भने उनी पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका शंकर चौधरीसँग पराजित हुँदै आएका छन्।

थारुको नेकपा प्रवेशले पर्सा जिल्लाको कम्युनिस्ट राजनीतिमा नयाँ तरङ्ग ल्याउने अनुमान गरिएको छ। यसअघि पनि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, बिन्दवासिनी गाउँपालिकाका पूर्व अध्यक्ष श्रीलाल साह कानुसहित सयौँ नेता तथा कार्यकर्ता एमाले त्यागेर नेकपामा प्रवेश गरिसकेका छन्।

कालिकामाईकाे नयाँ प्रमुख प्रशासकीय अधिकृतमा कुशवाहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले शुक्रबार औपचारिक रूपमा हाजिर भई कार्यभार सम्हालेका छन् । यसअघि पर्साकै जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत कुशवाहाको कालिकामाई गाउँपालिकामा सरुवा भएपछि उनी हाजिर भएका हुन्।

हाजिर हुन गाउँपालिकाको कार्यालय पुगेका कुशवाहालाई एक कार्यक्रमका बीच गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गरेका थिए । कार्यभार सम्हालेपछि उनले जनप्रतिनिधि र कर्मचारीहरूबीच परिचयात्मक कार्यक्रमसमेत गरेका छन् ।

कालिकामाई गाउँपालिकाको सभा हलमा सम्पन्न परिचयात्मक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी बरैनसहितका जनप्रतिनिधि तथा कर्मचारीहरूले गमछा र फूलमाला लगाई प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको स्वागत गरेका थिए।

कार्यभार सम्हाल्दै कुशवाहाले गाउँपालिकाको कामकारबाही नियमसंगत रूपमा अघि बढाउने र विकासले तीव्रता पाउनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् । स्वागत तथा परिचयात्मक कार्यक्रममा वडाअध्यक्षहरू लालबाबु चौरसिया, सोनालाल चौरसिया, संजय पटेल, संजय प्रसाद गोढलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

ठोरीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दो, पर्यटन व्यवसायमा चहलपहल

सेढवा । मधेश प्रदेशको एक मात्र प्रमुख पर्यटन गन्तव्यका रूपमा परिचित पर्साको ठोरी क्षेत्रमा पछिल्लो करिब एक सातादेखि आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्दै गएको छ। मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाबाट स्वदेशी पर्यटकसँगै छिमेकी मुलुक भारतको बिहार र उत्तर प्रदेश राज्यबाट समेत पर्यटकहरू ठोरी भित्रिने क्रम तीव्र बनेको हो।

डिसेम्बर र जनवरी महिना वनभोज, घुमघाम तथा मनोरञ्जनका लागि उपयुक्त मौसम मानिने भएकाले यस अवधिमा ठोरी क्षेत्रमा पर्यटकको चाप बढ्ने गरेको स्थानीयवासी बताउँछन्। विशेषगरी पुस १० गते परेको क्रिसमसको अवसरमा मात्र एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ठोरी पुगेको अनुमान गरिएको छ।

जिराभवानी गाउँपालिका वडा नं. २ सेढवाका स्थानीय महेश महतो थारुका अनुसार बिहीबार सार्वजनिक बिदा परेकाले उनी परिवारका सबै सदस्यसहित ठोरी घुम्न गएका थिए। ठोरीका विभिन्न भ्यू प्वाइन्टहरूको अवलोकन गर्दै रमाइलो समय बिताई राति घर फर्किएको उनले बताए।

ठोरी गाउँपालिका वडा नं. १ र २ मा पर्यटकका लागि आकर्षक मानिने राई धारा, रानीवन इच्छानगर, चौतारास्थित बुलबुल पार्क, भगवाननगरको जमुनाघारी, गोलेडाँडा, सितागुफा, सेतो पहाड, सिन्ही पर्वत लगायतका स्थानहरू प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छन्।

सरस्वती मध्यवर्ती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार विगत एक सातादेखि ठोरीमा आउने आन्तरिक तथा विदेशी पर्यटकको संख्या निरन्तर बढिरहेको छ। इस्वी संवत् अनुसार नयाँ वर्ष जनवरी १ नजिकिँदै जाँदा पर्यटकको चाप अझ बढ्ने अपेक्षा गरिएको उनले बताए। पर्यटकको आगमनसँगै होटल, रेस्टुरेन्ट तथा अन्य व्यापारिक गतिविधिमा समेत उल्लेखनीय चहलपहल बढेको पौडेलले जानकारी दिए।

यस्तै, ठोरीस्थित गाम बेसी फेमिली रेस्टुरेन्ट तथा लजका सञ्चालक मनिष प्याकुरेलले पछिल्लो समय पर्यटक बढेसँगै व्यवसाय राम्रो चलिरहेको बताए। स्वदेशी तथा विदेशी पर्यटकका लागि खाना, खाजा र बास बस्ने उचित व्यवस्था रहेकाले कारोबारमा वृद्धि भएको उनको भनाइ छ। लजमा भारतको बेतिया, मोतिहारी, गोरखपुर, नरकटियागञ्ज, जमुनिया तथा मधेश प्रदेशका विभिन्न जिल्लाबाट पाहुनाहरू आउने गरेको उनले जानकारी दिए।

पर्यटकको बढ्दो चापले ठोरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव परेको स्थानीयवासीहरूको विश्वास छ।

स्थानीय अधिकार कार्यक्रमबाट महिलाको आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव

वीरगंज । दिव्य विकास स्रोत केन्द्र पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत जिल्ला स्तरीय अनुगमन बिहीबार सम्पन्न भएको छ।

अनुगमन टोलीले पर्साको पटेर्वा सुगौली गाउँपालिकाका वडा नं. १, २ र ४ का विभिन्न टोलमा पुगेर कार्यक्रमबाट भएका उपलब्धि, प्रभाव तथा चुनौतीबारे स्थलगत रूपमा अवलोकन तथा लाभान्वित परिवारहरूसँग प्रत्यक्ष भेटघाट गरेको हो। टोलीले लक्षित वर्गसँग भलाकुसारी गर्दै कार्यक्रमले पारेको सामाजिक तथा आर्थिक प्रभावबारे जानकारी लिएको थियो।

कार्यक्रमअन्तर्गत वडा नं. २ स्थित श्री नेरा प्रा.वि. लक्ष्मीपुरमा खेल सामग्री, शौचालय मर्मत तथा बालविकास शिक्षण–सिकाइमा सहयोग पुग्ने शैक्षिक सामग्री वितरण गरिएको छ। साथै, सोही वडाकी रिमाकुमारी साहलाई तरकारी खेती प्रवर्द्धनका लागि ३० हजार रुपैयाँ नगदसहित मोटर र बिउबिजन सहयोग प्रदान गरिएको छ। बसन्ती देवी रामलाई किराना पसल सञ्चालनका लागि २५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराइएको छ।

लाभान्वित परिवारहरूले कार्यक्रमबाट सहयोग प्राप्त भएपछि आफ्नो आर्थिक अवस्था सुधार भएको र आत्मनिर्भर बन्न सफल भएको प्रतिक्रिया अनुगमन टोलीसमक्ष व्यक्त गरेका छन्।

यस्तै, वडा नं. १ मा गठन भएको महिला श्रमिक समूहको पहलमा ज्यालामा उल्लेख्य वृद्धि भएको पाइएको छ। पहिले १५० देखि २५० रुपैयाँसम्म पाउँदै आएका श्रमिकहरूले हाल ५०० रुपैयाँसम्म ज्याला पाउन थालेको महिला श्रमिकहरूले जानकारी दिएका छन्। सो वडामा पनि कार्यक्रमअन्तर्गत केही महिलालाई आर्थिक सहयोग प्रदान गरिएकाले उनीहरू तरकारी खेती तथा किराना पसल सञ्चालनमार्फत राम्रो आम्दानी गर्न सफल भएका छन्।

महिला श्रमिक समूहकी अगुवा आलमा खातुनले कार्यक्रम लागू भएपछि महिलाहरूको आर्थिक रूपान्तरण भएको र उनीहरू आफ्नै खुट्टामा उभिन सक्षम बनेको बताइन्।

अनुगमन टोलीले वडा नं. ४ स्थित श्री नेरा माविमा किशोरीहरूका लागि निर्माण गरिएको आराम कक्ष तथा छात्रामैत्री शौचालयको समेत अवलोकन गरेको थियो।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, उपसभापति परन पटेल, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो थारु, वडा नं. २ का वडा अध्यक्ष विजय गैरे, नेपाल पत्रकार महासंघ पर्साका प्रतिनिधि रितेश झा, दिव्य विकास स्रोत केन्द्रका महासचिव सोनालाल राउत, कोषाध्यक्ष देवनाथ ठाकुर, कार्यकारी निर्देशक रामाकान्त पटेल, कार्यक्रम संयोजक रिना चौधरीलगायत फोकल पर्सन तथा स्थानीय अधिकार कार्यक्रमका कर्मचारीहरूको सहभागिता रहेको थियो।

अनुगमनमा सहभागी जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफले कार्यक्रमबाट विशेषगरी पटेर्वा सुगौलीका महिलाहरू तथा लक्षित परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए। गाउँपालिका अध्यक्ष दिनेश चौधरीले दिव्य विकास स्रोत केन्द्रले आफ्नो पालिकालाई कार्यक्रमका लागि छनोट गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमले स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरे।

वीरगंज नाका सौन्दर्यकरण अभियान विस्तार, शंकराचार्य गेटदेखि भन्सार क्षेत्रसम्म वृक्षारोपण

वीरगंज । भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगंजको सौन्दर्यकरण अभियानलाई निरन्तरता दिँदै वीरगंज महानगरपालिकाले शंकराचार्य प्रवेशद्वारदेखि वीरगंज भन्सार क्षेत्रसम्म वृक्षारोपण तथा सरसफाइ अभियान सुरु गरेको छ।

बुधबार मुख्य सडकको दायाँ–बायाँ दुबै किनारमा सरसफाइ गर्दै विभिन्न जातका बिरुवा रोपिएको हो। यसअघि वीरगंज–रक्सौल नाकास्थित मितेरी पुल क्षेत्रमा सरसफाइ, घाँस रोपण तथा वृक्षारोपण गरी सौन्दर्यकरण गरिरहेको महानगरपालिकाले उक्त अभियानलाई अब भन्सार क्षेत्रसम्म विस्तार गरेको जनाएको छ। नाका क्षेत्रलाई हराभरा, स्वच्छ तथा आकर्षक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको महानगरपालिकाको भनाइ छ।

सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसिटीको आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सहरलाई स्वच्छ, हरित र वातावरणमैत्री बनाउने अभियान निरन्तर जारी रहने बताए। विकाससँगै वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै उनले यसका लागि सबै नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिए।

मेयर सिंहले स्वच्छ वातावरण भावी पुस्ताका लागि छोड्नु वर्तमान पुस्ताको सामूहिक दायित्व भएको धारणा व्यक्त गरे।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी, वीरगंज भन्सार कार्यालयका कृष्णप्रसाद मैनाली, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, ट्राफिक प्रहरी निरीक्षक प्रमुख युवराज कटुवाल लगायतको सहभागिता रहेको थियो।

सिद्धार्थ बैंकद्वारा वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंजस्थित सिद्धार्थ बैंकले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्।

वीरगन्जस्थित सिद्धार्थ बैंकको मुख्य शाखा र मुर्ली शाखाले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ जना महिलासहित ५३ जना रक्तदाताले उत्साहपूर्वक सहभागिता जनाएका हुन्।

कार्यक्रमबारे जानकारी दिँदै सिद्धार्थ बैंक वीरगन्ज शाखाकी श्वेता मानन्धरले सामाजिक सेवाको भावनालाई आत्मसात गर्दै वार्षिकोत्सवलाई मानवीय सेवामार्फत मनाइएको बताइन्। त्यसैगरी सिद्धार्थ बैंक मुर्ली शाखाका प्रमुख भरत पौडेलले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

पौडेलले बैंक केवल वित्तीय कारोबारमा मात्र सीमित नभई समाजका पीडामा साथ दिने जिम्मेवार संस्थाका रूपमा अघि बढिरहेको उल्लेख गर्दै रक्तदानजस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। भविष्यमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।

रक्तदान कार्यक्रममा सिद्धार्थ बैंकका मधेस प्रदेश प्रमुख ज्ञानेन्द्र कार्की, वीरगन्ज शाखा प्रमुख मात्रिका खनाल, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहल, पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठक लगायतको समेत उपस्थिति रहेको थियो।