Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्सामा चैते धानको रोपाइँ सुरु, हर्दिनाथ–१ जातप्रति किसानको आकर्षण बढ्दो

spot_img
spot_img

सेढवा । पर्साको ग्रामीण भेगमा चैते धानबाली अन्तर्गत हर्दिनाथ–१ (१४४२) जातको धानको रोपाइँ सुरु भएको छ।

जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रमा पर्ने ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका तथा वीरगञ्ज महानगरपालिकाका केही वडाका किसानहरूले यस धानको रोपाइँ थालेका छन्।

तोरी, कार्तिकी सुर्ती लगायत अन्य बाली भित्र्याइसकेपछि खाली भएको जमिनमा किसानहरूले हर्दिनाथ–१ धान रोप्न थालेका हुन्।

जिराभवानी गाउँपालिका–४ सुपौलीका किसान दीपक दासका अनुसार फागुनको पहिलो सातामा ब्याडमा राखिएको बीउ रोपाइँका लागि तयार भएसँगै किसानहरू खेतमा जुटेका हुन्। यस धानको उत्पादन राम्रो हुने र स्वादसमेत मिठो हुने भएकाले पछिल्ला वर्षहरूमा यसको खेती विस्तार हुँदै गएको उनले बताए।

कतिपय किसानहरूले रोपाइँ सम्पन्न गरिसकेका छन् भने केही किसानहरू अझै बीउ तयार पार्ने, खेतमा पानी हाल्ने तथा आली लगाउने काममा व्यस्त छन्।

ठोरी गाउँपालिकामा भने वैदेशिक रोजगारी र शहरतर्फको बसाइँसराइका कारण स्थानीय श्रमिक अभाव देखिएको छ। त्यहाँ जिराभवानी तथा सीमावर्ती भारतीय गाउँबाट मजदुर ल्याएर रोपाइँ गरिने गरेको किसानहरूले बताएका छन्।

पटेर्वासुगौली गाउँपालिका–२ मकवानीटोलका किसान बिगा महरा चमारका अनुसार सो गाउँपालिकाको करिब ७५ प्रतिशत खेतीयोग्य जमिनमा हर्दिनाथ–१ को खेती गरिन्छ भने बाँकी २५ प्रतिशत जमिनमा सुर्ती र मकै लगाइन्छ।

हालसम्म बीउ तयारी नहुँदा केही क्षेत्रमा रोपाइँ सुरु नभए पनि किसानहरू खेत तयारी, मल व्यवस्थापन लगायतका काममा जुटिरहेका छन्।

सखुवाप्रसौनी गाउँपालिका–१ सखुवनियाका सुरेन्द्र महतो थारुले पनि आफ्नो क्षेत्रमा करिब ५० प्रतिशत जमिनमा चैते धान खेती हुने गरेको र केही किसानहरूले रोपाइँ सुरु गरिसकेको जानकारी दिए।

किसानहरूका अनुसार हर्दिनाथ–१ धान समयमै रोप्न सकिने भएकाले कतिपयले अहिले नै ब्याडमा बीउ छर्ने काम गरिरहेका छन्। गहुँ बाली कटानीपछि सोही जमिनमा यो धान रोप्न मिल्ने सुविधा रहेको छ।

करिब ९० दिनमै तयार हुने यस धानबालीबाट कटानीपछि पुनः धान (दतुरा) लगाउन सकिने हुँदा किसानहरूमा यसको आकर्षण बढ्दै गएको छ। पछिल्ला २–३ वर्षदेखि किसानहरूले प्रति कट्ठा ५ मन (करिब २ क्विन्टल) देखि ८ मन (करिब साढे ३ क्विन्टल) सम्म उत्पादन गर्दै आएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...