Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 115

वीरगंजमा २० वर्षीया युवतीको आत्महत्या, वैवाहिक तनाव कारण हुन सक्ने आशंका

0

वीरगंज । वीरगंज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी एक युवतीले आफ्नै कोठामा आत्महत्या गरेकी छन्। रौतहटको दिपही निवासी २० वर्षीया माही गुप्ता (पवन कुमारी गुप्ता) को शव आइतबार बिहान फेला परेको हो।

प्रहरीका अनुसार आज बिहान आफ्नै कोठाभित्र पासो लगाएको अवस्थामा उनको शव फेला परेको हो। उनी मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन् भने टिकटकमार्फत पनि चर्चित व्यक्तिका रूपमा चिनिन्थिन्।

प्रारम्भिक जानकारीअनुसार उनले आफ्नै गाउँका विवेक गुप्तासँग प्रेम विवाह गरेकी थिइन् । पछिल्लो समय दुवैबीच वैवाहिक सम्बन्धमा तनाव बढ्दै गएको र श्रीमानले दोस्रो विवाहको तयारी गरिरहेको कारण उनी मानसिक तनावमा रहेको उनका नजिकका साथीहरूले बताएका छन्।

आत्महत्या गर्नु अघि उनले आफ्नो टिकटक आइडीमार्फत भिडियो पोस्ट गर्दै आफ्नो भावनात्मक पीडा व्यक्त गरेकी थिइन्।

घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

परवानीपुर गोल्डकपको तयारी तीव्र, खेल मैदान सरसफाइ सम्पन्न

0

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगितालाई लक्षित गर्दै आइतबार बिहान खेल मैदान सरसफाइ गरिएको छ । आगामी वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीस्वरूप आयोजक क्लबका पदाधिकारी, सदस्य तथा खेलाडीहरू सक्रिय रूपमा मैदान सरसफाइमा जुटेका हुन् ।

शक्ति युवा क्लब परवानीपुरको आयोजनामा हुने उक्त प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक संजय मण्डलले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा आयोजक शक्ति युवा क्लबसँगै वीरगंज युनाइटेड क्लब, वीरगंज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब, बारा, रौतहट, सर्लाही, चितवन र एपीएफ बर्दिवासका टिमहरू सहभागी हुनेछन् ।

‘राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद’ भन्ने नारासहित सञ्चालन हुने परवानीपुर गोल्डकप–२०८३ वैशाख ५ देखि १२ गतेसम्म परवानीपुर खेल मैदानमा दैनिक अपराह्न ३ बजेदेखि ५ बजेसम्म हुने सह–संयोजक दिपक यादवले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ र द्वितीय हुने टिमलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । साथै उत्कृष्ट डिफेन्डर, फरवार्ड तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तवले जानकारी दिए । प्रतियोगिताभरका उत्कृष्ट खेलाडीलाई ५१०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्न गर्न आयोजकले पर्सा–बाराका जनप्रतिनिधि, सुरक्षा निकाय, उद्योगी–व्यवसायी, खेलप्रेमी तथा सञ्चारकर्मीहरूलाई सहयोगका लागि आग्रह गरेको छ ।

सरसफाइ कार्यक्रममा क्लबका पूर्वअध्यक्ष राजमहम्द मियाँ, उपाध्यक्ष हुलास यादव, महासचिव ध्रुव साह, कोषाध्यक्ष सोनालाल मण्डल, प्रशिक्षक पंकज चौधरी, पूर्व फुटबल खेलाडी बिनोद न्यौपाने तथा सदस्यहरू तिवारी यादव, राजेश यादव, दिपेश यादवलगायतको सहभागिता रहेको थियो ।

जिराभवानीमा आगलागी पीडित परिवारलाई राहत, घर निर्माण गर्ने प्रतिबद्धता

0

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका वडा नं. १ बलुवामा आगलागीबाट घर गुमाएका एक पीडित परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ भने घर निर्माण गरिदिने प्रतिबद्धता पनि गरिएको छ।

स्थानीय मोटर मुखियाको घर गत बिहीबार राति करिब ११ः३० बजे लामखुट्टे भगाउन बालिएको मच्छरधुपबाट सल्किएको आगोका कारण पूर्ण रूपमा जलेर नष्ट भएको थियो।

आगलागी पीडित परिवारको अवस्थाबारे जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा जगरनाथपुर गाउँपालिका–२, जानकीटोल निवासी सन्तोष कुमार आफैं घटनास्थल पुगेर राहत सामग्री वितरण गरेका हुन् । उनले २ बोरा चामल, १ बोरा आलु, १ प्याकेट प्याज र १ बोरा चिउरा लगायतका खाद्यान्न सामग्री सहयोग गरेका छन्।

यससँगै उनले आफ्नै लगानीमा पीडित परिवारका लागि झोपडी घर निर्माण गरिदिने प्रतिबद्धता समेत जनाएका छन्।

आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । केही दिनअघि मात्र लघुवित्त विकास बैंकबाट घर निर्माणका लागि लिइएको करिब ६ लाख रुपैयाँ पनि आगोमा जलेर नष्ट भएको पीडितले बताएका छन् । साथै आगलागीका कारण चार वटा बाख्रा र एक गाईको समेत मृत्यु भएको छ।

हाल पीडित परिवार अत्यन्त कठिन अवस्थामा रहेको छ र थप सहयोगको खाँचो रहेको स्थानीयहरूले बताएका छन्। उनीहरूलाई सकेसम्म सहयोग गर्न सर्वसाधारणसँग अपिल समेत गरिएको छ।

एनएमएसआरए वीरगंजको निर्वाचनमा सौरव वर्णवाल प्यानल विजयी

0

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईको अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सौरव वर्णवाल नेतृत्वको प्यानल विजयी भएको हो।

संघको अध्यक्षमा सौरव वर्णवाल १९१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी चन्दशेखर पंजियारले ११९ मत प्राप्त गरेका छन्।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा विकास कुशवाहा १७१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अमित कर्णले १३९ मत पाएका छन्। उपाध्यक्ष पदमा अजय पटेल १५८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी अर्जुन सर्राफले १४७ मत प्राप्त गरेका छन्।

सचिव पदमा बब्लु चौधरी १६९ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी दीपेन्द्र लाल साह कलवारले १३५ मत पाएका छन्।

सहसचिव पदमा सुमित वर्णवाल १६१ मत र गौरव पटेल १५७ मत ल्याएर विजयी भएका छन्। उनीहरूका निकटतम् प्रतिस्पर्धीहरू सुनिल भगत मालीले १४६ मत र बैजनाथ ठाकुर लोहारले ११२ मत प्राप्त गरेका छन्।

कोषाध्यक्षमा दीपेन्द्र यादव १७४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नितेश पटेलले १३४ मत पाएका छन्। सह-कोषाध्यक्ष पदमा सिद्धार्थ पाण्डे १७७ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी प्रमोद प्रसादले १३६ मत प्राप्त गरेका छन्।

त्यस्तै सदस्यहरूमा जय प्रकाश पटेल १७८ मत, सौरभ कुमार साह १७८ मत, हिमान्सु गुप्ता १६२ मत, सुशान्त सिंह १६० मत र अभिषेक गुप्ता १४६ मत ल्याएर विजयी भएका छन्।

पत्रकार महासंघद्वारा सरकारी विज्ञापन निर्णयविरुद्ध दलहरूलाई ध्यानाकर्षण

0

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई ध्यानाकर्षण पत्र पठाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहाल का अनुसार शनिबार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह लगायत अन्य दलका नेताहरूलाई छुट्टाछुट्टै पत्र पठाइएको हो।

यसैगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का संसदीय दलका नेताहरूलाई पनि ध्यानाकर्षण गराइएको महासचिव दाहालले जानकारी दिए।

महासंघले सरकारको उक्त निर्णय प्रेस स्वतन्त्रताको सिद्धान्त, सूचनाको हक, खुला अर्थनीति र संघीयताको मर्मविपरीत रहेको ठहर गर्दै संसद्मा यस विषयलाई गम्भीर रूपमा उठाउन आग्रह गरेको छ।

पत्रमा सरकारको निर्णयले प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष नियन्त्रणको जोखिम बढेको, निजी तथा सामुदायिक सञ्चारमाध्यमको अस्तित्वमाथि प्रश्न उठेको, श्रमजीवी पत्रकारहरूको रोजगारी संकटमा परेको तथा सूचनाको पहुँचमा असन्तुलन र केन्द्रीकरण बढ्ने खतरा रहेको उल्लेख गरिएको छ।

महासचिव दाहालका अनुसार निर्णय खारेज गर्न माग गर्दा पनि सरकार गम्भीर नदेखिएकाले सबै दललाई संसद्मा आवाज उठाउन आग्रह गरिएको हो। साथै सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी जारी रहे महासंघले केन्द्रीय समिति बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी समेत गरेको जनाएको छ ।

रास्वपा नेता तथा सांसद तापेश्वर यादव वीरगंजमा सम्मानित

0

वीरगंज । नेशनल इन्जिनियर एसोसिएसन नेपाल पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सभापति एवं प्रतिनिधि सभा सदस्य इन्जिनियर तापेश्वर यादवलाई सम्मान गरेको छ।

एसोसिएसनले आफ्ना केन्द्रीय महासचिव समेत रहेका यादवलाई वीरगंजमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो। सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित यादवले इन्जिनियरिङ पेशाबाट राजनीति क्षेत्रमा महत्वपूर्ण उचाइ हासिल गर्दै अघि बढिरहेको उल्लेख गर्दै इन्जिनियरहरूको हक–अधिकारका लागि सधैं आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा एसोसिएसन पर्साका अध्यक्ष शिवचन्द्र यादवले इन्जिनियर तापेश्वर यादवले स्वतन्त्र रूपमा इन्जिनियरहरूको संगठन निर्माण गर्दै राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिरहेकाले सम्मान गरिएको जानकारी दिए। उनका अनुसार देशभर रहेका स्वतन्त्र तथा सक्रिय इन्जिनियरहरूलाई एकताबद्ध गर्न यादवले महत्वपूर्ण योगदान दिएका छन्।

यादवले भदौ २३ र २४ को जेनजी आन्दोलनपछिको राजनीतिक परिवेश र वर्तमान जनचाहनाअनुसार युवाहरूको प्रतिनिधिसभामा बढ्दो सहभागिताले देश निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

पर्साका चार सांसद विभिन्न संसदीय समितिमा मनोनित

0

वीरगंज । पर्सा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू विभिन्न संसदीय समितिमा मनोनित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला सभापति तथा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) र क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्य उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यमा मनोनित भएका छन् ।

त्यसैगरी, पर्सा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु कानून, न्याय तथा मानवअधिकार समितिको सदस्यमा चयन भएका छन् ।

यसैबीच, पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामाकान्त प्रसाद चौरसिया नेपाल सरकारको पूर्वाधार विकास समितिमा मनोनित भएका छन् ।

उक्त मनोनयनसँगै पर्साका सांसदहरूले आ-आफ्नो क्षेत्रमा नीतिगत तथा विकास सम्बन्धी कार्यहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

गहुँबालीपछि छवाली जलाउने क्रम बढ्दा ग्रामीण क्षेत्रमा आगलागी जोखिम उच्च

0

सेढवा । गहुँबाली भित्र्याएपछि खेतमा बाँकी रहेका छवाली तथा ठुट्टा जलाउने क्रम बढेसँगै ग्रामीण क्षेत्रमा आगलागीको जोखिम तीव्र रूपमा बढ्न थालेको छ। हालसम्म करिब ८० प्रतिशतभन्दा बढी गहुँबालीको कटानी सम्पन्न भइसकेको छ भने बाँकी २० प्रतिशत बाली भित्र्याउन अझै बाँकी रहेको छ।

गहुँ भित्र्याइसकेका खेतहरूमा बाँकी रहेका छवाली र ठुट्टा दैनिक रूपमा जलाउने गरिएको छ। दिनहुँ दर्जनौं बिघा जमिनमा आगो लगाइँदा चर्को घाम र पछुवा हावाका कारण सानो आगोसमेत अनियन्त्रित भई फैलिने गरेको छ। यसले नजिकका बस्ती तथा अन्य बालीमा समेत ठूलो क्षति पुर्‍याउने जोखिम बढाएको छ।

करिब एक साता अघि पर्सागढी नगरपालिका–५ मा छवाली जलाउने क्रममा भित्र्याउन बाँकी रहेको गहुँबालीमै आगलागी भएको थियो। उक्त आगो पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाको बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिइएको थियो।

हरेक वर्ष यस्तै लापरवाहीका कारण बिघौं जमिनमा लगाइएको गहुँबाली जलेर नष्ट हुने गरेको छ। जिल्ला विपद् व्यवस्थापन समिति पर्साका विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका सदस्य कृष्णकुमार कुशवाहाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी तीव्र पारिएको जानकारी दिए। उनका अनुसार आउँदो सोमबार जिल्लाका १४ वटै पालिकाका जनप्रतिनिधि तथा सम्बन्धित कर्मचारीसँग बैठक गरी सचेतना र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ।

किसानहरूका अनुसार छवाली र ठुट्टा सुकेको अवस्थामा जलाउन सजिलो हुने भएकाले अहिले आगो लगाउने गरिएको हो। पानी परेपछि जलाउन कठिन हुने भएकाले समयमै व्यवस्थापन गर्न खोजिएको उनीहरूको भनाइ छ। साथै, खेतमा बाँकी रहेको भुसले नयाँ बाली, विशेषगरी धान रोपाइँमा असर पार्ने विश्वासका कारण पनि आगो प्रयोग गर्ने गरिएको छ।

तर विज्ञहरूले गहुँको छवाली संकलन गरी भुस बनाएर पशु आहारका रूपमा प्रयोग गर्न सकिने सुझाव दिएका छन्। यसले आगलागी जोखिम कम गर्नुका साथै पशुपालन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनीहरूको भनाइ छ।

वित्तीय साक्षरता बिना आर्थिक समृद्धि असम्भव : राष्ट्र बैंक

85

वीरगंज । नेपाल राष्ट्र बैंक वीरगंजको आयोजनामा शनिबार एक दिने वित्तीय साक्षरता प्रवर्द्धन सम्बन्धी पत्रकार अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा सहभागी सरोकारवालाहरूले मुलुकको आर्थिक विकासलाई गति दिन नागरिकमा वित्तीय साक्षरता अनिवार्य रहेको बताएका छन्।

कार्यक्रममा विज्ञहरूले नागरिकको बैंकिङ कारोबार गर्ने क्षमता अभिवृद्धि नभएसम्म आर्थिक समृद्धि सम्भव नहुने धारणा व्यक्त गरे। उनीहरूले वित्तीय ज्ञान अभावकै कारण बैंकिङ प्रणाली प्रभावकारी रूपमा प्रयोग हुन नसकेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक सुशील पौडेलले वित्तीय साक्षरताको कमीका कारण बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिए पनि कर्जा लिने क्षमतामा वृद्धि हुन नसकेको बताए। उनका अनुसार बैंकिङ पहुँच पुगेका क्षेत्रमा समेत वित्तीय ज्ञान अभावका कारण कर्जाको माग घट्दो क्रममा रहेको छ।

निर्देशक पौडेलले आधारभूत तहसम्म बैंकिङ पहुँच विस्तार गर्न तथा सुरक्षित वित्तीय कारोबार सुनिश्चित गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताए। उनले मधेस प्रदेशमा पछिल्लो समय बैंकिङ अपराध बढ्दै गएको उल्लेख गर्दै वीरगंज कार्यालयमा दैनिक ५४ वटासम्म बैंकिङ स्क्यामका उजुरी आउने गरेको जानकारी दिए।

उनले समयमै बिल भुक्तानी, खर्च व्यवस्थापन, बचत तथा स्वास्थ्य बीमा र आपतकालीन कोष निर्माण जस्ता उपायले आर्थिक सुरक्षा सुनिश्चित हुने बताए।

अनुशिक्षण कार्यक्रममा बैंकका सहायक निर्देशक नरेश सर्राफले पत्रकारहरूलाई वित्तीय साक्षरतासम्बन्धी विषयमा लेखनमार्फत जनचेतना फैलाउन आग्रह गरे। पर्सा, बारा, रौतहट, मकवानपुर र चितवनका करिब ९० जना पत्रकार तथा कर्मचारी सहभागी कार्यक्रममा बैंक र सञ्चारकर्मीबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको थियो।

यस्तै, सहायक निर्देशक विनय केशरीले बैंकिङ कारोबारका प्राविधिक तथा व्यावहारिक पक्षबारे जानकारी दिँदै नक्कली नोटबाट बच्न सतर्कता अपनाउन सुझाव दिए। उनले मुद्रास्फीति र विनिमय दरलाई ध्यानमा राखेर मात्र खरिद निर्णय गर्न तथा अनलाइन कारोबार गर्दा विश्वसनीयता सुनिश्चित गर्न आग्रह गरे।

कार्यक्रममा उपभोक्तालाई अनावश्यक खर्च नियन्त्रण, सेवा लागत तुलना, बैंक खाताको नियमित निगरानी तथा कागजातमा हस्ताक्षर गर्नुअघि आवश्यक परामर्श लिनुपर्नेमा जोड दिइएको थियो। साथै वस्तु खरिद गर्दा त्यसको उत्पत्ति र वातावरणीय प्रभावलाई समेत ध्यान दिन आग्रह गरिएको छ।

वीरगंजमा मालवाहक सवारीबाट अवैध असुली अझै रुकेन, सांसद पन्तको आपत्ति

0

वीरगंज । एकीकृत जाँच चौकी (आईसीपी) वीरगंजबाट निस्किने मालवाहक सवारीसाधनबाट अवैध रूपमा रकम असुली गर्ने कार्य अझै रोकिएको छैन। केन्द्र सरकारले पटक–पटक निर्देशन दिँदा पनि त्रिभुवन (ड्राइपाेर्ट–परवानीपुर) राजमार्ग खण्डमा हुँदै आएको अवैध असुली निरन्तर जारी रहेको पाइएको छ।

ड्राइपोर्टदेखि परवानीपुरसम्म विभिन्न स्थानमा गुम्ती राखेर ‘कवाडी कर’, ‘ढाट’ तथा ‘सवारी व्यवस्थापन शुल्क’ जस्ता नाममा रकम उठाइँदै आएको स्थानीयहरूले बताएका छन्। यस कार्यमा केही युवासहित ठेक्का सञ्चालन गर्ने समूह र प्रहरीको मिलेमतो रहेको आरोपसमेत लगाइएको छ।

स्थानीयका अनुसार, अमित ठेक्का पट्टा र प्रभु कन्स्ट्रक्सनले लामो समयदेखि मालवाहक ट्रक, बस, ट्याक्टर तथा अन्य सवारीसाधनबाट जबर्जस्ती रकम असुल्दै आएका छन् । भारतीय नम्बर प्लेटका सवारीबाट प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म र कतिपय अवस्थामा ५ सयदेखि १ हजार रुपैयाँसम्म असुली हुने गरेको गुनासो छ। नेपाली किसानका धान, गहुँ बोकेका ट्र्याक्टरबाट समेत रकम उठाइँदै आएको बताइएको छ।

यस विषयमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले कडा आपत्ति जनाएका छन् । उनले शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी भोलादाहालसँग कुरा गर्दै तत्काल यस्तो अवैध असुली बन्द गर्न निर्देशन दिएका छन्। “कानुनविपरीत कुनै पनि शीर्षकमा कर वा शुल्क उठाउन पाइँदैन, दोषीमाथि कारबाही हुनुपर्छ,” उनले भने।

गृह मन्त्रालयले यसअघि नै यस्तो असुली पूर्ण रूपमा अवैध भएको स्पष्ट गर्दै तत्काल रोक्न निर्देशन दिएको थियो। तर स्थानीय तह र सरोकारवाला निकायको संलग्नतामा असुली जारी रहेको गुनासो आएको छ।

वीरगंज महानगरपालिकालाई आफ्नै क्षेत्रभित्रका सडकमा मात्र कर उठाउने अधिकार भए पनि भन्सार क्षेत्रसँग जोडिएका मुख्य मार्गहरूमा समेत अवैध रूपमा चेकपोइन्ट राखी असुली भइरहेको व्यवसायीहरूको आरोप छ। आईसीपी, जगरनाथपुर, श्रीपुर, बहुअरी, लक्ष्मणवा चोकलगायत क्षेत्रमा यस्ता गतिविधि भइरहेको जनाइएको छ।

विशेषगरी त्रिभुवन राजपथ हुँदै आवतजावत गर्ने मालवाहक सवारीसाधनहरूबाट जबर्जस्ती रकम असुली हुँदा ढुवानी लागत बढ्नुका साथै उपभोक्ता मूल्यमा समेत असर परेको व्यवसायीहरूले बताएका छन्।

नेपालको संविधानअनुसार भन्सार, राजस्व तथा ढुवानीसँग सम्बन्धित कर तथा शुल्क निर्धारण गर्ने अधिकार संघीय सरकारसँग मात्र रहने व्यवस्था छ। स्थानीय तहले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर यस्तो शुल्क उठाउनु अवैध मानिन्छ।

यसअघि अर्थमन्त्री स्वर्णिम बाग्ले वीरगंज भ्रमणमा आएका बेला अस्थायी रूपमा असुली रोकिएको भए पनि त्यसपछि पुनः पुरानै अवस्था दोहोरिएको स्थानीयको भनाइ छ। विशेषगरी साँझ ७ बजेदेखि राति १० बजेसम्म ड्राइपोर्टदेखि जगरनाथपुर खण्डमा सवारीसाधनको लामो लाइन लाग्ने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

व्यवसायीहरूले लामो समयदेखि गुनासो गर्दै आए पनि सम्बन्धित निकाय मौन बस्दा समस्या झनै बढ्दै गएको उनीहरूको भनाइ छ।