Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 114

महुवनमा मध्यराति आगलागी : तीन घर जले, १५ लाखको क्षति

0

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा सोमबार मध्यराति भएको आगलागीमा तीन वटा घर जलेर नष्ट भएका छन्। विद्युत सर्टसर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार राति करिब १२:४५ बजे स्थानीय संजय रामको घरबाट आगो सुरु भई छिमेकी मन्जय रामको घरमा समेत फैलिएको थियो।

आगलागीबाट संजय रामको बास र खरले छाएको तीन कोठे फुसको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको ना ३ प ९७९१ नम्बरको हिरो होण्डा मोटरसाइकल, फ्रिज, एक तोला सुन, नगद १ लाख ५० हजार, लत्ताकपडा, भाँडाकुँडा तथा भिभो कम्पनीको मोबाइल जलेर करिब ८ लाख बराबरको क्षति भएको पीडितले बताएका छन्।

त्यसैगरी मन्जय रामको घरमा पनि आगलागी हुँदा तीन कोठे फुसको घर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीबाट काठको खाट ४ थान, साइकल २ थान, लत्ताकपडा, भाँडाकुँडा, घरभित्र रहेको धान–चामल, एक तोला सुन, १० तोला चाँदी, भिभो मोबाइल र नगद २ लाख गरी करिब ७ लाख बराबरको क्षति भएको जनाइएको छ।

स्थानीयवासी, प्रहरी चौकी महुवनका प्रमुख प्रहरी सहायक निरीक्षक उमेश यादवको कमाण्डमा खटिएको प्रहरी टोली तथा पोखरियाबाट गएको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।

कालिकामाईमा निःशुल्क भिडियो एक्स–रे सेवा सुरु, गाउँपालिका अध्यक्ष गुप्ताद्वारा सुभारम्भ

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क भिडियो एक्स–रे (USG) स्क्रिनिङ सेवा सुरु गरिएको छ।

एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले उक्त सेवाको शुभारम्भ गरेका हुन् । सोही कार्यक्रम अन्तर्गत सोमबार बिरन्चीबार्वा स्वास्थ्य चौकीमा २५ जना गर्भवती तथा सुत्केरी महिलाले भिडियो एक्स–रे सेवा लिएका छन्।

गाउँपालिका अध्यक्ष गुप्ताका अनुसार गाउँपालिका अन्तर्गत रहेका सबै स्वास्थ्य चौकीहरूमा गर्भवती तथा सुत्केरी आमाहरूका लागि भिडियो एक्स–रे (USG) स्क्रिनिङ सेवा निःशुल्क रूपमा सञ्चालन गरिने व्यवस्था गरिएको छ।

गाउँपालिकाबाट जारी सार्वजनिक सूचना अनुसार अब सबै स्वास्थ्य चौकीहरूमा यो सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

उक्त कार्यक्रममार्फत गर्भवती तथा सुत्केरी सेवाग्राहीहरूलाई लक्षित गरी भिडियो एक्स–रे सेवा प्रदान गरिनेछ। स्थानीय तहबाट स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै मातृ स्वास्थ्य सुधार गर्ने उद्देश्यले यस्तो सेवा सञ्चालन गरिएको जनाइएको छ।

गाउँपालिकाले यस्ता कार्यक्रममार्फत ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आम नागरिकको स्वास्थ्य अवस्थालाई सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ।

पर्सामा एमाले संगठन सुदृढ बनाउनेबारे छलफल

0

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल र सचिव योगेश भट्टराईसँग पर्सा जिल्लामा पार्टी संगठनलाई अझ मजबुत र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ।

छलफलमा एमाले केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, पर्सा क्षेत्र नं. ३ का युवा उम्मेदवार रुपेश पाण्डेय तथा राष्ट्रिय युवा संघ नेपाल पर्साका सचिव राकेश महतो लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा वर्तमान राजनीतिक परिवेशलाई ध्यानमा राख्दै जनताको भरोसा जित्ने, युवालाई आकर्षित गर्ने, संगठनलाई जनमुखी बनाउने तथा पार्टी गतिविधिलाई गाउँ–गाउँसम्म विस्तार गर्ने विषयमा गम्भीर छलफल गरिएको जनाइएको छ।

संगठन बलियो भए मात्र विचार बलियो हुने र त्यसबाट मात्रै सकारात्मक परिवर्तन सम्भव हुने निष्कर्ष निकाल्दै पर्सामा एमालेको उपस्थिति अझ सशक्त र प्रभावशाली बनाउने दिशामा अघि बढ्ने दृढ संकल्प व्यक्त गरिएको छ।

सशस्त्र प्रहरीको गाडीको ठक्करबाट मोटरसाइकल चालक घाइते, स्थानीयको आक्रोश

0

वीरगंज । सशस्त्र प्रहरी बलको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।

सोमबार बिहान वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुर चोकभन्दा करिब १०० मिटर अगाडि सडकमा सशस्त्र प्रहरीको ना. १ झ १५३१ नम्बरको स्कार्पियो गाडीले प्रदेश २–००१–प १६२९ नम्बरको प्लाटिना मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक वीरगंज–३२ चोर्नी निवासी दिपेन्द्र श्रीवास्तव घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाका अनुसार घाइते श्रीवास्तवको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

स्थानीयका अनुसार ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको हो। चिनी र तेल लोड गरिएको मोटरसाइकललाई परवानीपुरबाट ड्राइपाेर्ट तर्फ विपरित लेनमा आइरहेकाे सशस्त्रकाे गाडीले जानाजान घुमाएर ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले आरोप लगाएका छन्।

घटनापछि स्थानीयले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई जानकारी गराएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) धिरेन्द्र थपलियाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। तर, स्थानीयले घटना विवरण दिँदा सई थपलियाले उल्टै थर्काएको आरोप समेत लगाएका छन्।

यस विषयमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक नविन थापा मगर विदामा भएकाे कारण सई थपलियासँग बुझ्न फोनमार्फत सम्पर्क गर्न खोजिए पनि सम्पर्क हुन सकेन।

विकास चौरसिया हत्या प्रकरण : श्रीमान, श्रीमती र भारतीय नागरिक सहित ४ जना पक्राउ

0

वीरगंज । विकास चौरसिया हत्या आरोपमा प्रहरीले एक महिला सहित चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ पर्नेहरूमा रौतहटको माधवनारायण नगरपालिका–१ निवासी २६ वर्षीय सन्तोष साह, उनकी श्रीमती २४ वर्षीया सोनि कुमारी, बारागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारतको दिल्ली निवासी २१ वर्षीय ओमवीर प्रजापति रहेका छन्।

प्रहरीका अनुसार सन्तोष र सोनि श्रीमान–श्रीमती हुन् भने विशाल सन्तोषका नातामा पर्ने भाइ र ओमवीर उनका साथी हुन्।

आइतबार साँझ कालिकामाई गाउँपालिका–१ मुडली निवासी २७ वर्षीय विकास चौरसियाको वीरगंज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडिको एक घरमा कुटपिटबाट मृत्यु भएको हो। घटनापछि तत्कालै पुगेको प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

मृतक चौरसिया नेपाल प्रहरीका कर्मचारी रहेको र उनी सप्तरीमा कार्यरत प्रहरी जवान भएको बताइएको छ। उनी विदामा घर आएका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार, वीरगंजमा डेरा लिएर बसेका सन्तोष दम्पतीको कोठामा भएको विवादका क्रममा झगडा बढ्दै जाँदा कुटपिट भएको र सोही क्रममा रड प्रहारबाट चौरसियाको ज्यान गएको खुलेको छ।

मृतक उक्त स्थानमा किन पुगेका थिए भन्ने विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

वीरगंजमा अवैध असुलीविरुद्ध अनुगमन, १३ स्थानका ढाटबाट रसिद नियन्त्रणमा

0

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा आइतबार वीरगंजस्थित त्रिभुवन राजमार्ग क्षेत्रमा भइरहेको अवैध असुलीविरुद्ध अनुगमन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दाहालसहित पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक लगायतको सहभागिता रहेको अनुगमन टोलीले वीरगंज ड्राइपोर्ट, बहुअरी, जगरनाथपुर, परवानीपुर लगायतका १३ स्थानमा सञ्चालन हुँदै आएका ढाटहरूबाट कबाडी कर र सवारी करका रसिदका ठेलीहरू नियन्त्रणमा लिएको हो।

अनुगमन टोलीले राजमार्गमा कुनै किसिमको अवैध असुली नगर्न सम्बन्धित पक्षलाई कडा चेतावनी समेत दिएको जनाएको छ।

एकीकृत जाँच चौकी (आईसीपी) वीरगंजबाट बाहिरिने मालवाहक सवारीसाधनबाट अवैध रूपमा रकम असुली हुँदै आएको विषयमा कालिका टाइम्स लगायत केही सञ्चारमाध्यमहरूले निरन्तर समाचार प्रकाशन गर्दै आएका थिए। त्यसपछि पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले प्रमुख जिल्ला अधिकारीसँग फोनमार्फत कुराकानी गर्दै अवैध असुली रोक्न समेत निर्देशन दिएका थिए।

ड्राइपोर्टदेखि परवानीपुरसम्म विभिन्न स्थानमा गुम्ती राखेर ‘कबाडी कर’, ‘ढाट’ तथा ‘सवारी व्यवस्थापन शुल्क’ जस्ता नाममा जबर्जस्ती रकम उठाइँदै आएको स्थानीयहरूले बताएका छन्।

अमित ठेक्का पट्टा र प्रभु कन्स्ट्रक्सनले लामो समयदेखि मालवाहक ट्रक, बस, ट्याक्टर तथा अन्य सवारीसाधनबाट अवैध रूपमा रकम असुल्दै आएका थिए। अहिलेको अनुगमनपछि यस्तो गतिविधि नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।

“कुटपिट आरोप अस्वीकार गर्दै वडाध्यक्ष थारूको स्पष्टीकरण: ‘घटनामा मेरो संलग्नता छैन’”

0

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष राजेश्वर दास थारुले आफ्नो भाउजु सुगान्धी देवीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप अस्वीकार गरेका छन्।

वडाध्यक्ष थारुले सुपौलीमा पत्रकार सम्मेलन गर्दै केही मिडिया तथा सामाजिक सञ्जालमा आफूलाई जोडेर समाचार प्रसारण गरिएकोप्रति आपत्ति जनाएका हुन्। उनले यस्ता समाचारले आफ्नो प्रतिष्ठामा गम्भीर असर पुगेको दाबी गर्दै सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न सञ्चारकर्मीलाई आग्रह गरे।

उनका अनुसार शनिबार दिउँसो भाउजु सुगान्धी देवी र उनका जेठा छोरा कृष्ण दास थारुबीच खेतको बाली बुझ्ने विषयमा विवाद भएको थियो। उक्त विवादमा आफ्नो कुनै संलग्नता नरहेको उनले स्पष्ट पारे। “घटना भएको बेला म धान खेतमा सिँचाइ गरिरहेको थिएँ,” उनले भने, “सहभागिता नै नभएको घटनामा आरोप लगाउनु गलत हो।”

कार्यक्रममा वडा सचिव महेश राउत कुर्मीले करिब डेढ बिघा जग्गाको बालीसम्बन्धी विवाद लामो समयदेखि चल्दै आएको जानकारी दिए। उनका अनुसार गत कार्तिक महिनामा धान बाली बुझ्ने विषयमा विवाद हुँदा प्रहरी चौकी सुपौलीमा आमा सुगान्धी देवीले धानबाली बुझ्ने र छोरा कृष्ण दास थारु तथा उमेश दास थारुले गहुँबाली बुझ्ने सहमति भएको थियो।

तर हाल गहुँबाली बुझ्ने क्रममा सुगान्धी देवीले उक्त बाली पनि आफ्नो दाबी गरेपछि पुनः विवाद उत्पन्न भएको कुर्मीले बताए। विवादपछि बाली यथास्थितिमा छाडिएको छ भने जग्गा अंशसम्बन्धी मुद्दा विगत चार वर्षदेखि अदालतमा विचाराधीन रहेको छ।

स्थानीय लक्ष्मी दास थारुका दुई छोरा ब्रह्मन्द दास थारु (जेठो) र राजेश्वर दास थारु (कान्छो) रहेका छन् । उनीहरू वर्षौंअघि अंशबन्डा गरी अलग बस्दै आएका छन्। ब्रह्मन्द दास थारुको पहिलो श्रीमतीबाट दुई छोरा—कृष्ण दास थारु र उमेश दास थारु—रहेका छन् भने कान्छी श्रीमती सुगान्धी देवीबाट तीन छोरी र एक छोरा रहेका छन्। परिवारबीचको यही अंश तथा बाली सम्बन्धी विवादका कारण पछिल्लो घटना भएको बताइएको छ।

वीरगंजमा कुटपिटबाट प्रहरी कर्मचारीको मृत्यु, ३ पुरुष र एक महिला पक्राउ

0

वीरगंज । वीरगंजमा एक समूहको कुटपिटबाट एक युवकको ज्यान गएको छ । वीरगंज महानगरपालिका वडा नं. ९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडिको एक घरमा भएको कुटपिटबाट पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मुडली निवासी २७ वर्षीय विकास चौरसियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार घटनामा संलग्न तीन जना पुरुष र एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु हुने चौरसिया नेपाल प्रहरीका कर्मचारी रहेको बताइएको छ ।

राैतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा भएको विवादका क्रममा झगडा बढ्दै जाँदा कुटपिट भएको र सो क्रममा भएकाे रड प्रहार उनको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप विवरण बुझ्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतसँग सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कावेरी एकेडेमीमा यूकेजी विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न

0

:वीरगंज । नेपाल कावेरी एकेडेमीले यूकेजी कक्षाका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ।

साना कक्षाका विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गर्दै उनीहरूलाई शैक्षिक यात्राको नयाँ चरणतर्फ उत्साहजनक रूपमा अग्रसर गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका निर्देशक श्याम तुल्स्यान प्रमुख अतिथिका रूपमा उपस्थित भई दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरे। कार्यक्रममा निर्देशक श्रीमती आयुषी तुल्स्यानको समेत उपस्थिति रहेको थियो।

समारोहका क्रममा साना बालबालिकाहरूले आत्मविश्वासका साथ स्वागत मन्तव्य प्रस्तुत गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रममार्फत आफ्नो प्रतिभा देखाएका थिए। उनीहरूको प्रस्तुतीले कार्यक्रममा उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रम विद्यालयका प्रिन्सिपल दिलीप गुप्ता, उप-प्रिन्सिपल प्रफुल सर्राफ तथा संयोजक सलोनी रौनियारको नेतृत्वमा सफलतापूर्वक सञ्चालन गरिएको थियो।

अभिभावकहरूले विद्यालयको समग्र विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएका थिए। साथै कार्यक्रममा नयाँ शैक्षिक नीति, रणनीति तथा प्रि-प्राइमरीबाट प्राइमरी तहमा विद्यार्थीहरूको रूपान्तरणसम्बन्धी विषयमा समेत छलफल गरिएको थियो।

विद्यालय प्रशासनका अनुसार समारोह विद्यार्थीहरूको शैक्षिक प्रगति, आत्मविश्वास र समग्र विकासको खुसीयालीका साथ सम्पन्न भएको हो।

कुखुरा फर्मका कामदारलाई लठ्ठीले कुटपिट गर्ने शाहु पक्राउ

0

वीरगंज । कुखुरा फर्ममा काम गर्ने एक कामदारमाथि निर्घात कुटपिट गर्ने साहुलाई प्रहरीले पक्राउ गरेको छ। कामदारमाथि कुटपिट गरेको आरोपमा वीरगंज–१७ निवासी ३० वर्षीय सकिन लाल देवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

परवानीपुर प्रहरी चौकी नजिक रहेको “साबिर फ्रेस हाउस एण्ड सप्लायर्स” का सञ्चालक देवानले आफ्नै पसलमा कार्यरत २० वर्षीय कामदार नुर आलम देवानलाई लठ्ठीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

भाइरल भिडियोमा साहु देवानले कामदार नुरले पसलबाट कुखुरा चोरी गरेर बिक्री गरेको आरोप लगाउँदै निर्घात रूपमा कुटपिट गरिरहेको देखिन्छ। उक्त घटना सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको छ।

मानव अधिकारविरुद्धको कार्य भएको भन्दै सरोकारवालाहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।