Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 116

प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

0

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुरले अत्यधिक मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। सभामुख डोलप्रसाद अर्यालले उहाँको निर्वाचन भएको घोषणा गर्नुभयो।

मतदानमा ठाकुरको पक्षमा २२९ मत खसेको थियो भने प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले ५ मत मात्र प्राप्त गर्नुभयो। ‘कसैलाई मत नदिने’ विकल्पमा २२ मत खसेको थियो।

हाल प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा २५६ जना सांसद मतदानमा सहभागी भएका थिए।

निर्वाचित भएपछि सभामुख अर्यालले ठाकुरलाई बधाई दिनुभएको थियो। २६ वर्षीया ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपाको समर्थन प्राप्त भएको थियो।

यसैबीच, प्रतिनिधिसभाको पहिलो अधिवेशन शुक्रबार राति १२ बजेदेखि समाप्त हुने जनाइएको छ।

सिमरामा जेनजी युथकाे कार्यक्रममा १ सय ३७ जनाद्वारा रक्तदान

0

वीरगंज । बाराको सिमरामा जेनजी युथ नेपाल बाराको आयोजनामा शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा १ सय ३७ जनाले रक्तदान गरेका छन्।

सिमरा बिजनेश सेन्टर परिसरमा आयोजित कार्यक्रममा १६ जना महिलासहित कुल १ सय ३७ जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए।

रक्तदान गर्नेहरूमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेश, प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी नायब निरीक्षक नवराज दानी क्षेत्री, स्थानीय उमेश चौलागाईं, ठाकुर खतिवडा, सुजन स्याङतान, द्वारिका पौडेल, सन्तोष दाहाल, निशान श्रेष्ठ, किसन ढकाल, केदार ढकाल, रिता कंडेल, कविता सापकोटा, झलकनाथ भट्टराई, अमृत बस्याल, सुशान्त शाह, बबिन सुब्बा, आयुश न्यौपाने, अस्मित क्षेत्री, मिसन श्रेष्ठ, सुलभ पौडेललगायत रहेका छन्।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराले पनि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सक्रिय सहभागिता जनाएको जेनजी बाराका अध्यक्ष सम्राट उपाध्यायले बताए।

फाेटाे पत्रकार महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित गुप्ता सम्मानित

0

वीरगंज । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक कार्यक्रमका बीच सम्मान गरेको छ।

गत फागुन २० र २१ गते चितवनमा सम्पन्न नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशनमा पर्साबाट केन्द्रीय सदस्यमा निर्वाचित गुप्तालाई जिल्ला समितिले शुक्रबार बधाई तथा शुभकामना दिँदै सम्मान गरेको हो।

फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष सफल खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला कार्यसमितिका कोषाध्यक्ष शम्भु कुमार सुमन, पूर्व सचिव एवं नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य तिवारी यादव, जिल्ला कार्यसमिति सदस्य आरोहण साहलगायतले गुप्तालाई खादा ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले गुप्तालाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको कार्यकाल सफल रहोस् भन्ने कामना गरेका थिए।

नवनिर्वाचित केन्द्रीय सदस्य राहुल गुप्ताले आफूलाई गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै फोटो पत्रकारहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका लागि सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता जनाए।

वीरगंज–८ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, अब आफ्नै भवनबाट सेवा प्रवाह

0

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ८ को नवनिर्मित वडा कार्यालय भवन शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नुभएको हो।

महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा टेण्डर आह्वान गरी निर्माण प्रक्रिया सुरु गरेको उक्त भवन एसडी कन्स्ट्रक्सनले करिब ७९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको हो। भवन तयार भएसँगै वडा कार्यालयले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ।

दुई तले पक्की संरचनामा निर्माण गरिएको यस भवनले वडा कार्यालयको सेवा प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। यसअघि वडा कार्यालयको आफ्नै भवन नभएकाले विद्यालयको कोठाबाट सेवा सञ्चालन हुँदै आएको थियो, जसका कारण सेवाग्राहीले विभिन्न समस्या भोग्दै आएका थिए।

अब भने नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह छिटो, सहज र नागरिकमैत्री हुने विश्वास लिइएको छ।

उद्घाटन समारोहमा बोल्दै महानगर प्रमुख राजेशमान सिंहले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारको विकास अत्यावश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले नयाँ भवनले वडा स्तरका सेवाहरूलाई अझ सुलभ बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, विभिन्न वडाका अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

वीरगंजमा वैशाख ५ गते ‘भविष्य मेला’ आयोजना हुँदै, ८ हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा

0

वीरगंज । पर्सा, बारा, रौतहटलगायत आसपासका जिल्लाका माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै ‘भविष्य मेला २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ।

गत वर्षको सफलतापछि यसपटक मेला अझ भव्य, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने लक्ष्यसहित आगामी वैशाख ५ गते शनिवार वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मेला आयोजना गरिनेछ।

वीरगञ्जकै एड्स बी मिडियाको आयोजनामा हुने एकदिने शैक्षिक तथा करियर मेलामा आठ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रम निर्देशक नवीन कार्कीका अनुसार ‘भविष्य मेला’ केवल शैक्षिक प्रदर्शनी नभई विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक र व्यक्तिगत भविष्य निर्माण गर्ने एक परिवर्तनकारी मञ्च हो।

उनले मेलाले वीरगञ्ज र आसपासका क्षेत्रमा शैक्षिक जागरूकता अभिवृद्धि गर्नुका साथै सामाजिक–आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। मेलाको मुख्य उद्देश्य ग्रामीण तथा सहरी क्षेत्रका विद्यार्थीलाई विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा तथा विभिन्न प्राविधिक शिक्षाका क्षेत्रबारे विस्तृत जानकारी प्रदान गर्नु रहेको छ।

मेलामा विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता, पारिवारिक आर्थिक अवस्था र दीर्घकालीन लक्ष्यअनुसार विषय तथा कलेज छनोट गर्न विशेषज्ञमार्फत मार्गदर्शन दिइनेछ। यसले शैक्षिक समानता प्रवर्द्धन गर्नुका साथै करियर निर्माणमा सहयोग पुर्‍याउने आयोजकको दाबी छ।

पहिलो संस्करण गत वर्ष वीरगञ्ज नगर सभागृह (टाउन हल) मा आयोजना भएको थियो, जहाँ १० जिल्लाबाट ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। उक्त मेलामा २८ वटा कलेजले स्टल राखी विद्यार्थीलाई परामर्श, छात्रवृत्ति, खर्च र रोजगारीका अवसरबारे जानकारी दिएका थिए।

यस वर्षको संस्करणमा थप आकर्षणहरू समेटिएको छ। उत्कृष्ट कलेज छनोट गर्ने अवसरसँगै एक जना विद्यार्थीले मोबाइल फोन, पाँच जनाले एयरबड्स र १० जनाले पावर बैंक तथा हाते घडी जित्ने अवसर पाउनेछन्। सहभागी कलेजहरूले पूर्णदेखि आंशिक छात्रवृत्तिसमेत उपलब्ध गराउनेछन् भने निःशुल्क करियर काउन्सिलिङ सेवा पनि प्रदान गरिनेछ।

काउन्सिलिङमार्फत विद्यार्थीहरूले उपयुक्त विषय छनोट, भविष्यका रोजगारीका अवसर, छात्रवृत्ति तथा आफ्नो क्षमता अनुसारको अध्ययन मार्गबारे विशेषज्ञबाट व्यक्तिगत सुझाव पाउनेछन्।

मेलामा शैक्षिक संस्थाहरूले आफ्ना शैक्षिक कार्यक्रम, प्रयोगशाला, पुस्तकालय, खेलकुद, उद्योग साझेदारी, अन्तर्राष्ट्रिय आदानप्रदान तथा छात्रवृत्ति योजनाहरू प्रस्तुत गर्ने अवसर पाउनेछन्। साथै, करियर कार्यशाला, प्रत्यक्ष प्रदर्शनी र पूर्व विद्यार्थीका सफलताका कथामार्फत संस्थाहरूले आफ्नो विश्वसनीयता प्रस्तुत गर्न सक्नेछन्।

विद्यार्थी तथा अभिभावकका लागि मेलामा विभिन्न निःशुल्क सुविधाहरू पनि उपलब्ध गराइनेछ। आयोजकका अनुसार निःशुल्क डिम्याट खाता, बैंक खाता, आँखा जाँच शिविर तथा नेपाल टेलिकमको सिम कार्ड वितरण गरिनेछ। यसका साथै स्टेशनरी किट, शैक्षिक पुस्तक र विभिन्न टेक ग्याजेटसमेत प्रदान गरिनेछ।

वीरगञ्ज महानगरपालिका, प्याब्सन पर्सा, एनप्याब्सन पर्सा, हिसान पर्सा तथा वीरगञ्ज उद्योग वाणिज्य संघलगायत संस्थाहरूको सहकार्यमा मेला आयोजना हुन लागेको हो।

आयोजक नवीन कार्कीले दोस्रो संस्करणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै यसलाई युवाको उज्ज्वल भविष्यतर्फ उन्मुख गर्ने अभियानका रूपमा विकास गर्ने बताएका छन्।

मेलामा सहभागी हुन एसइई दिएका विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा स्थानीय व्यवसायीलाई आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।

जनतासँग जोडिन वीरगञ्जमै सांसद पन्तको निजी सचिवालय स्थापना

0

वीरगंज । चुनाव जितेपछि राजधानी केन्द्रित भएर जनताबाट टाढा हुने प्रवृत्तिलाई तोड्दै पर्सा क्षेत्र नम्बर १ का सांसद तथा रास्वपा पर्सा सभापति हरि पन्तले वीरगञ्जमै निजी सचिवालय स्थापना गरेका छन्।

बिहीबार पर्सा–१ का अगुवा नेताहरूको उपस्थितिमा आयोजित एक समारोहबीच वीरगञ्ज–८ मा उक्त सचिवालयको उद्घाटन गरिएको हो। उद्घाटन गर्दै सांसद पन्तले आफू क्षेत्रबाहिर रहँदा पनि जनताका समस्या समाधानका लागि सचिवालयले सक्रिय भूमिका खेल्ने बताए।

उनले सचिवालयलाई सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय टोलीमार्फत सञ्चालन गरिने जानकारी दिँदै केही दिनभित्रै पूर्ण टोली गठन गरेर सदस्यहरूको नाम र मोबाइल नम्बर सार्वजनिक गरिने बताए।

सांसद पन्तले सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई सहज सेवा दिन निर्देशन दिइसकेको उल्लेख गर्दै अनावश्यक ढिलासुस्ती भए सचिवालयमा जानकारी गराउन आग्रह गरे। “अब जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्नेछन्,” उनले भने।

उद्घाटन कार्यक्रममा रास्वपा पर्साका उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यसैगरी, युबराज पटेल, दीपेन्द्र मण्डल, रामबाबु सिंह, महबुब आलम, सगिर अन्सारी, विशाल कुमार, सुमित चौरसिया, राजु गुप्ता, दिनेश गुप्ता, राम लामा, त्रिनेश गिरि, पूर्ण सापकोटा, सम्साद आलम, शन्नी गुप्ता, रामेश्वर साह, आलोक मिश्र, सालिक पौडेलसहित १९ वटै वडाका निर्वाचन परिचालन समितिका संयोजक, उपसंयोजक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए।

लैङ्गिक समानता र डिजिटल सुरक्षाबारे महिला जनप्रतिनिधिलाई तालिम

0

वीरगंज । वीरगंजमा महिला जनप्रतिनिधिहरूका लागि लैङ्गिक उत्तरदायित्व, समावेशी शासन तथा डिजिटल हिंसासम्बन्धी तीन दिने तालिम बिहीबारदेखि सुरु भएको छ।

बारा र पर्सा जिल्लाका निर्वाचित महिला जनप्रतिनिधिहरूलाई लक्षित गर्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक) नेपालले उक्त तालिम सञ्चालन गरेको हो। महिला जनप्रतिनिधिहरूलाई आफ्नो जिम्मेवारीप्रति अझ सचेत बनाउनुका साथै बढ्दो डिजिटल हिंसाबाट सुरक्षित रहन आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ।

तालिममा बाराको आदर्शकोतवाल गाउँपालिका तथा पर्साको वीरगंज महानगरपालिका, पकाहमैनपुर गाउँपालिका र बिन्दबासिनी गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको छ।

ओरेक नेपालकी परियोजना संयोजक मिलन कार्कीका अनुसार तालिममार्फत सहभागीहरूलाई उनीहरूको अधिकार, कर्तव्य र भूमिकाबारे जानकारी गराइनेछ। साथै डिजिटल माध्यमको सुरक्षित र प्रभावकारी प्रयोग, अनलाइन दुर्व्यवहारबाट जोगिने उपाय तथा डिजिटल साक्षरतासम्बन्धी विषयमा पनि प्रशिक्षण दिइने उनले बताइन्।

तालिममा जेसी विज्ञ गीता सुवेदीले प्रशिक्षण दिइरहेकी छन्। उनले स्थानीय तहमा नीति तथा कार्यक्रम कार्यान्वयन, लैङ्गिक संवेदनशील योजना निर्माण तथा पालिकाबीच समन्वयका विषयमा प्रशिक्षण दिँदै डिजिटल माध्यमको सचेत प्रयोग आवश्यक रहेको बताइन्। “डिजिटल प्लेटफर्म अवसर पनि हो, जोखिम पनि। त्यसैले सचेत भएर प्रयोग गर्न सके महिलाहरूको आवाज अझ सशक्त बन्न सक्छ,” उनले भनिन्।

ओरेक नेपाल मधेश प्रदेश संयोजक बीना कुमारी सिंहका अनुसार तालिममा लैङ्गिक हिंसा न्यूनीकरणमा जनप्रतिनिधिहरूको भूमिका, लैङ्गिक मैत्री बजेट निर्माण तथा समावेशी योजना तर्जुमालगायतका विषय समेटिएका छन्।

यसैबीच, ओरेक नेपालले मधेश प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकाहरूमा पनि लैङ्गिक हिंसा नियन्त्रण तथा महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

तालिमले स्थानीय तहमा महिला नेतृत्व सशक्त बनाउन, लैङ्गिकमैत्री नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्‍याउन तथा सुरक्षित डिजिटल वातावरण निर्माणमा टेवा पुग्ने सहभागीहरूको अपेक्षा रहेको छ।

वीरगंज रिपोर्टद्वारा सांसद कानु सम्मानित

0

वीरगंज । वीरगंज रिपोर्ट मिडियाले पर्सा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुलाई सम्मान गरेको छ।

वीरगंजबाट सञ्चालित वीरगंज रिपोर्ट डटकमले आयोजना गरेको कार्यक्रममा सांसद कानुलाई बधाई तथा सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको हो । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएपछि उनलाई सम्मान गरिएको बताइएको छ।

वीरगंज रिपोर्टका सञ्चालक प्रदीप साहसहित संवाददाता अनुज गुप्ता, रोहित वर्णवाललगायतको टोलीले घडिअर्वा पोखरीस्थित रास्वपाकाे पार्टी कार्यालयमै पुगेर सांसद कानुलाई बधाई दिँदै मायाको चिनो प्रदान गरेका थिए।

सांसद कानु यसअघि वीरगंज महानगरपालिका वडा नं. १० का वडाध्यक्षसमेत रहिसकेका छन् । वडास्तरमा जनताको अपेक्षाअनुसार विकास निर्माणका कार्य गरेको कारण नै जनताले उनलाई सांसदमा निर्वाचित गरेको स्थानीयको भनाइ छ।

सम्मान कार्यक्रममा बोल्दै सांसद कानुले वडाध्यक्ष रहँदाका अनुभव स्मरण गर्दै जनताको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गरे । उनले अब पर्सा क्षेत्र नं. २ का जनताको हितमा जनमुखी काम गर्ने र जनताका समस्या संसदसम्म उठाएर दीर्घकालीन समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारी सूचना सम्बन्धी परिपत्रको विरोधमा पर्सामा पत्रकारहरूको छलफल, निर्णय फिर्ता लिन माग

0

वीरगंज । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिपत्रको विरोधमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले बिहीबार जिल्लाका पत्रकारहरूसँग छलफल गरेको छ।

सरकारले संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहलाई सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन गर्न निर्देशन दिएको परिपत्रको विरोध गर्दै उक्त निर्णय तत्काल फिर्ता गराउन दबाब सिर्जना गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो । कार्यक्रममा पर्सा जिल्लाबाट प्रकाशित तथा प्रसारित दैनिक, साप्ताहिक र अनलाइन सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकहरूको सहभागिता रहेको थियो।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरूले सरकारको उक्त निर्णयले निजी सञ्चारमाध्यम र त्यहाँ कार्यरत पत्रकारहरू अन्यायमा परेको बताएका छन्। उनीहरूले सरकारी विज्ञापनलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा उल्टै निजी सञ्चारमाध्यमलाई नै वञ्चित गर्ने प्रयास भएको भन्दै आपत्ति जनाए।

वक्ताहरूले यस्तो निर्णय कार्यान्वयन भए धेरै निजी सञ्चारमाध्यम बन्द हुने अवस्था आउन सक्ने र ठूलो संख्यामा पत्रकारहरूको रोजगारी समेत गुम्न सक्ने चेतावनी दिएका छन्। त्यसैले सरकारले उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने माग उनीहरूको रहेको छ।

सरकारले आफ्नो निर्णयबाट पछि नहटे पत्रकार महासंघको नेतृत्वमा आन्दोलनमा उत्रनुपर्ने धारणा समेत कार्यक्रममा व्यक्त गरिएको थियो।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ मधेश प्रदेशका सचिव दिपक गौतम, प्रेस चौतारीका केन्द्रीय सदस्य विजय भण्डारी, प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासंघ पर्साका सचिव विजय चौहानले गरेका थिए।

छिपहरमाईमा विद्यालयको बाउन्ड्री वाल विवादमा झडप, चार जना घाइते

0

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिहुकीमा विद्यालयको बाउन्ड्री वाल निर्माणको विषयलाई लिएर दुई पक्षबीच भएको झडपमा चार जना घाइते भएका छन्।

श्री ने.रा.प्रा.वि. टिहुकीको बाउन्ड्री वाल निर्माणबारे भइरहेको छलफल (पंचायती) का क्रममा विवाद चर्किँदा कुटाकुट भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । झडपमा बडकी टिहुकीका ४० वर्षीय रमेश साह, २० वर्षीय राजकुमार गिरी, ४३ वर्षीय संजय साह कानु र ४९ वर्षीय बुचुन मियाँ घाइते भएका छन्।

घाइतेमध्ये रमेश साह र राजकुमार गिरीको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रारम्भिक उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल लगिएकोमा थप उपचारका लागि वीरगंज न्युरो अस्पताल रिफर गरिएको छ।

स्थानियका अनुसार विद्यालय नजिक रहेको सिँचाइको जमिनलाई समेटेर बाउन्ड्री वाल निर्माण गर्ने विषयमा एक पक्ष अडानमा रहेकाले अर्को पक्षसँग विवाद उत्पन्न भई झडपमा परिणत भएको हो। विद्यालय प्रशासनले विद्यालयको स्वामित्वमा रहेको जग्गाभित्र मात्र बाउन्ड्री वाल निर्माण गर्न खोजे पनि केही स्थानीय राजनीतिक व्यक्तिहरूले नजिकको सिँचाइ जमिनसमेत समेट्न दबाब दिँदा विवाद चर्किएको हो।

घटनामा संलग्न व्यक्तिहरू झडपपछि फरार रहेको र उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएको छ ।