वीरगंज । रोटर्याक्ट डिस्ट्रिक ३२९२ को १६ औँ राष्ट्रिय सम्मेलन अर्थात् १६ औँ रोटर्याक्ट डिस्ट्रिक कन्फ्रेस यही जनावरी १९ र २० तारिख काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान हलमा आयोजना हुने भएको छ ।
उक्त कार्यक्रममा देश भरका १५०० भन्दा बढी युवाहरूको सहभागिता रहने छ । रोटर्याक्ट डिस्ट्रिक ३२९२ को आयोजनामा हुन लागेको यस कार्यक्रमलाई रोटर्याक्ट क्लब अफ रुद्रमती-बबरमहल-काठमाडौं र रोटर्याक्ट क्लब अफ रुद्रमतीले होस्ट गरेका छन् ।
रोटर्याक्ट डिस्ट्रिक ३२९२ मा अहिले नेपाल भरका करिब ८००० युवाहरू सक्रिय सदस्य छन् । देश भरमा १८० वटा रोटर्याक्ट क्लबहरू अहिले सक्रिय रूपमा काम गरिरहेका छन् । वार्षिक रूपमा आयोजना हुने रोटर्याक्ट डिस्ट्रिक कन्फ्रेस, रोटर्याक्ट डिस्ट्रिक ३२९२ ले आयोजना गर्ने सबै भन्दा ठूलो कार्यक्रम हो ।
यस कार्यक्रममा देश भरका प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति रहने गरेको छ । यस वर्ष पनि हरेक क्षेत्रबाट अग्रणी व्यक्तिवहरूको आतिथ्यतामा कार्यक्रम आयोजना हुने आयोजकहरूले जानकारी दिएका छन् ।
यस वर्षको कन्फ्रेसको विषय “Nurturing Brain Gain” रहेको छ । “अग्रगामी सोच भएका, प्रभावशाली व्यक्तित्वहरूलाई एकै ठाउँमा ल्याउने क्षमताको लागि चिनिएको यस सम्मेलनले नेपालमा एउटा महत्वपूर्ण समस्यालाई सम्बोधन गर्न तयारी गरेको छ ।
दक्ष व्यक्तिहरू विदेश जाने ट्रेन्ड, जसलाई सामान्यतया ‘ब्रेन ड्रेन’ भनिन्छ, त्यसलाई कसरि न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित रहने छ,” रोटर्याक्ट डिस्ट्रिक ३२९२ का कार्यकरी डि.आर.आर. रोशन कार्कीले भनिन ।
नेपालका आगामी नेतृत्वहरूको दृष्टिकोणलाई प्रभाव पार्न उद्योग विशेषज्ञहरूको नेतृत्वमा रोमाञ्चक कार्यशालाहरू, रोटर्याक्ट क्लबहरूले गरेका ग्राउन्डब्रेकिंग परियोजनाहरू र पहलहरू हाइलाइट पनि सम्मेलनमा प्रस्तुत गरिने छ ।
यस सँगै रोटर्याक्ट डिस्ट्रिक ३२९२ को आउने वर्षको नेतृत्व चयन पनि यही सम्मेलनबाट गरिने छ । रोटरी डिस्ट्रिक ३२९२ नेपाल-भुटानका डिस्ट्रक रोटर्याक्ट प्रतिनिधि रोशन कार्कीले सम्मेलनभन्दा बाहिर पनि सकारात्मक प्रभाव पार्ने सक्ने गरि कार्यक्रमको दृष्टिकोण तय गरिएकोमा जोड दिए । ‘”ब्रेन गेन’ मार्फत, हाम्रो लक्ष्य युवाहरूलाई नेतृत्व लिन, रचनात्मक सोच्न र नेपालको भविष्यलाई आकार दिने सम्भावनाहरू सिर्जना गर्न उत्प्रेरित गर्ने हो”, उनले भने।
प्रतिक्रिया लेख्नुहोस