वीरगंज । बाराको कलैयामा झन्डै दुई महिना अगाडि बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोप लागेका मुख्य सुटर सुजित कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
स्वर्णकारको हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका सुजित सिंहलाई बारा प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । बारास्थित बिश्रामपुर गाउँपालिका–३ डम्पिङ साईटमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको भारतीय नागरिक सिंह अहिले अस्पतालमा छन् ।
मंगलबार राति मुठभेट हुँदा २ राउण्ड गोली चलाएर उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले बताए । अहिले उनको बारा सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार हुँदैछ ।
सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । कार्तिक १३ मा स्वर्णकारको हत्या भएको थियो ।
दुई वटा माेटरसाइकलमा आएका चार जनाकाे समुहले स्वर्णकारलाई गाेली प्रहार गरि हत्या गरेका थिए । त्यस मध्येका ३ जना अझै फरार छन् ।
भारत मोतिहारी जिल्लाको छौडादानो पञ्चायतस्थित तिनकुनि घर भएका सिंह सार्प सुटर हुन् । ३२ वर्षीय सिंह ‘कन्ट्याक्ट किलर’ को रुपमा मधेशमा विभिन्न हत्यामा संलग्न रहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।
बारास्थित भुताही पुलमा भएको हत्यामा सिंहले गोली चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०७९ फागुनमा भारतबाट नेपालमा आएर बसेका एक जना पुरुषको बारामा हत्या भएको थियो । सो हत्यामा सिंहले नै गोली चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
२०८० असोज ९ मा पचरौतामा गोली प्रहार गरेर भारतीय नागरिक अजित कुमार सिंहको हत्या भएको थियो । आरोपीतहरुले भारतबाट नेपालमा ल्याएर अजितको हत्या गरेका हुन् । सुजितले प्रहार गरेको गोलीबाट अजितको हत्या भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
भारतीय सुटर सिंह विगत ५ वर्ष देखि बारा र रौतहटमा घटेका विभिन्न घटनामा गोली हानी हत्या गर्ने सार्प सुटर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए । निज उपर थप अनुसन्धान भईरहेको उनले बुधबार प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
पक्राउ परेका सिंहको साथबाट प्रहरीले १ थान घरेलु हतियार (पेस्तोल) बरामद गरेको छ । उनी विगत ५ वर्षदेखि बारा, रौतहट र सर्लाहीमा भएका हत्याको घटनामा ‘कन्ट्याक्ट किलर’को रुपमा संलग्न भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।