वीरगंज । पञ्जीकरण शाखा राख्ने विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समूह बिच भएको विवाद पश्चात् बिहीबार बसेको कार्यपालिका बैठक कुनै निष्कर्ष नै ननिकाली टुङ्गिएको छ ।
उपमेयर आलमको कार्यकक्षसँगै टाँसिएको प्रमुख प्रशासकीय अधिकृतको कोठा खालि भएपछि त्यहाँ पञ्जीकरण शाखा राख्नेकी उपमेयरको सचिवालय भन्ने विषयमा भएको विवादलाई सुल्झाउन बिहीबार बसेको कार्यपालिका बैठक निष्कर्षविहीन टुङ्गिएको हो ।
महानगरस्थित सभागृहमा झन्डै डेढ घण्टासम्म चलेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि समस्या समाधान गर्ने जिम्मा सुशासन समितिलाई दिइएको छ । वीरगंज महानगरपालिका – ५ का वडाध्यक्ष प्रदीपकुमार चौरसिया संयोजक रहेको समितिलाई सोमबारसम्म कोठाको विषयमा निर्णय लिने जिम्मा दिइएको वीरगंज महानगरपालिका – १० का वडाध्यक्ष सुशील कुमार कानुले जानकारी दिए ।
वडाध्यक्ष कानुका अनुसार खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको कोठामा के राखिने विषयलाई अध्ययन गरेर आवश्यकताको आधारमा समितिले सोमबार भित्र कार्यपालिका बैठकमा प्रतिवेदन बुझाउने छ ।
कार्यपालिका बैठक पूर्व महानगर परिसर भित्र बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सम्भावित झडपलाई आङ्कलन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।
यसअघि आइतबार कोठाको विषयलाई लिएर मेयर सिंह र उपमेयर आलम समूहबिच विवादसँगै झडप समेत भएको थियो । झडपका क्रममा केही व्यक्तिलाई सामान्य चोटपटक समेत लागेको थियो ।