बारा । बाराको सिम्रौनगढ नगरपालिकामा बुधबार प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुने स्थानीय सिम्रौनगढ-१ का २५ बर्षीय लक्ष्मी मुखिया बिन रहेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । अर्का १ जना गम्भीर घाइते भएका छन् ।
मृतकको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन । अर्का घाइते हरियरपुरका रहेको र उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा आन्दोलनरत कर्मचारीहरुले हाजिर गर्न नदिएपछि सुरु भएको विवादले भिडन्तको रुप लिएको थियो ।
प्रदर्शनकारीले नगर प्रमुख साह र प्रमुख प्रशासकिय अधिकृत सवार नगरपालिकाकाे बा २ झ ४३५४ नम्बरकाे स्कार्पियाे गाडीमा ढुंगामुडा गरेका थिए ।
प्रदर्शनकारीको ढुंगामुडाबाट १० जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।
प्रतिपक्षी समुह तथा अनशनमा बसेका व्यक्तिहरुकाे उग्र प्रदर्शन बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास तथा हवाइ फायर गरेको थियाे । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।
नगरपालिकाकामा कार्यरत स्थायी, करार र ज्यालादारी कर्मचारीहरुले लामो समयसम्म तलव नपाएपछि अनशन बसेका थिए ।
अनशनरत कर्मचारीहरुले वार्तापछि मात्र कार्यकारी अधिकृतलाई हाजिर गराउनुपर्ने माग गरेका थिए । तर नगर प्रमुख साहले प्रशासकिय अधिकृतलाई हाजिर गराउन खोजेपछि भिडन्त भएकाे थियाे ।